विकलको औपन्यासिक प्रयोग विश्वका महान् आधुनिक उपन्यासकारका समकक्षमा छन् । कतिपय प्रयोग सन्दर्भ जस्तो कथाबस्तुको पारिवेशीकरण र स्थानीय रङ्गको संयोजनमा त विकल अझै शीर्ष स्थानमा देखिन्छन् । तर नेपाली समालोचनाले यो कुरालाई अहिलेसम्म भुलेको छ । त्यसैले विश्वका केही महान् उपन्यास र विकालका उपन्यासलाई यहाँ साङ्केतिक रूपमा तुलना गरिन्छ ।
तिखी दोन र अविरल बग्दछ इन्द्रावती ः महान् रुसी उपन्यासकार मिखायल शोलोखोभको ‘तिखी दोन’ (क्वाइट फ्लोज द दोन/दी सालिएन्ट दोन) र महान् नेपाली आख्यानकार रमेश विकलको ‘अविरल बग्दछ इन्द्रावती’ बिचको कथा, समय र सन्दर्भ फरक भए पनि यी दुईले उतारेको सोसल पोर्टेइङ् तुलनायोग्य छ । अविरल बग्दछ इन्द्रावतीमा आदिवासी माझी समाज छ, तिखी दोनमा दोन नदी किनारामा पुस्तौँ बिताएका कोसाक समुदाय छ । दुवै कथा नदी सभ्यता याने कि नदी किनाराका श्रम, सीप र संस्कारमा विकास भएका छन्, पुस्ता पुस्तामा परिष्कृत हुँदै आएका छन् । दुवैको जीवन वृत्तिमा प्राकृतिकपन छ । तिखी दोनको नायक ग्रिगोरी मेलोखोभ हो, नायिका अक्क्षिण्या आस्ताखोभा हुन् । अविरल बग्दछ इन्द्रावतीको नायक शोभिते र नायिका लाल गेडी हो । पहिलोमा प्रेम स्पष्ट देखिन्छ, आस्ताखोभा विवाहिता हो, तर दोस्रोमा प्रेम आत्मिक छ । लाल गेडी पवित्र छ । आत्मिक निष्ठा र प्राकृतिक प्रेम उसभित्र हुर्किएको छ । भनिएला प्रेम सबै पवित्र र आत्मिक उत्सर्गमा हुन्छ । तर लाल गेडी र शोभिते ग्रिगोरी र आस्तखोभा भन्दा सुसांस्कृत छन्, धेरै अवस्थामा प्रेम मौन छ तर एक अर्कालाई थाहै नपाई मायामा छन् । आस्ताखोभा र ग्रिगोरीमा भोक छ, भोगमा छन् । ग्रिगोरी साहसी यद्धनायक हो, उसले तनि चार पटक युद्ध गरेको छ, शोभिते शोषण र सम्भ्रान्तताका खिलाफ पटक पटक युद्ध गरिरहेको छ । उता दोन, यता इन्द्रावती सङ्घर्ष र सभ्यताका अविरल साछी हुन्, प्रेरक हुन् । दुवै उपन्यासमा नदीको शालीनता र प्रकृतिलाई प्रतीकको रूपमा लिइएको छ र अमूर्त सन्देश नदीजस्तै बन भन्ने आग्रह छ । दुवै अघिल्लो शताब्दीका महान् उपन्यास हुन् । तिखी दोनको विमोचन सन् १९५७ मा भएको थियो, अविरल बग्दछ इन्द्रावतीको प्रकाशन त्यसको २६ वर्षपछि सन् १९८३ मा । दुवै उपन्यास आआफ्ना भाषा बाहेक अरूमा पनि प्रकाशित छन्, दुवैको कथा छायाङ्कन भएको छ । दुवैले आआफ्नो समय र समाजलाई उतारेका छन् । दुवै उपन्यास आआफ्ना नदी सभ्यताका जीवन्त इतिहास हुन् । दुवैले प्रकाशित हुनुसाथ समाजमा तहल्का ल्याएका थिए । यस अर्थमा दुवै महान् आधुनिक उपन्यास हुन् ।
जीवन र मृत्युको दोसाँध र सागर उर्लन्छ सगरमाथा छुन ः करिब एकै समयको फरक समाजको कथा बस्तुको सामाजिक तस्बिर हुन् चिनिया उपन्यासकार मो यानको ‘जीवन र मृत्युको दोसाँध’ (लाइफ एण्ड डेथ वेरिङ मी आउट) र रमेश विकलको ‘सागर उर्लन्छ सगरमाथा छुन’ । मो यानले सन् १९५०–२००० को चिनी समाज, शासन र शैलीको चित्रण गरेका छन्, विकलले पञ्चायत व्यवस्थाको नेपाली शासन, समाज, संस्कृतिको प्रकाशन गरेका छन् । मो यानले २००६ मा उपन्यास प्रकाशन गरे, विकलले १९९५ (वि स २०५२) मा । साम्यवादी चीनमा सबै व्यक्तिहरू सामुहिक रूपमा काम गर्छन्, सामुहिक जीवन बिताउँछन्, तर लान लीन एकल श्रमिक बनेर कसैको पर्बाह नगरी जीवन बिताउँछन् । यो उसको आफ्नै तालको विद्रोह हो, मो यान लान लीनको यही विशेषताबाट प्रभावित छन् । ‘सागर उर्लन्छ सगरमाथा छुन’ मा विकल राणा परिवार, इलेन, हाइनरिख वान गोल्ड म्यान, कृष्ण राजा, चेतना जस्ता दुई प्रतिस्पर्धी कित्ताका पात्रहरू मार्फत सङ्घर्ष र सुधारको सन्देश दिन्छन् । मो यान र रमेश विकल दुवै मूलतः सामाजिक संस्कृति परिवर्तनको पक्षमा छन् । फरक विकलको राणा पात्र चीनमा भुमिपति शोषक सिमेन नाओ हो । विकलको पञ्च कार्यकर्ता मोयानका कम्युनका मालिकहरू हुन् । विकलका पात्रहरू स्वाभाविक भूमि नेपालका विभिन्न शहर बस्तीमा छ, मो यानको भुमिपति चीनको शान्डोङमा छ र उ मारिएपछि गधा, सुँगुर, गाई, कुकुर र बाँदरमा अवतार लिएर आफ्ना पूर्वजको कथा भन्छ । एउटा गधा पुजीवादीहरु समाजसेवी परिणत हुँदाका पीडा, कम्युन र सहकारीको कुरा, जनमिलिसियाका कुराहरू प्रतीकात्मक रूपमा भन्दै हिँड्छ । त्यतिखेरका समाजमा आफ्ना कुराहरू भन्न पनि पशुमा अवतार बदल्न प¥यो । विकलका पात्रहरू अलि खुला समाजका छन्, विकृति विरुद्ध बोल्न सक्छन् । विकलका लागि सङ्घर्ष गर्ने साहसमा हाइनरिख, कृष्ण राजा, कमल र चेतनाहरू छन् । यस अर्थमा दुवै उपन्यासले समाजमा लुके लुकाइएका व्यवहारलाई उधिनिरहेका छन् । विकल राणा परिवारलाई प्रतीक बनाएर समग्र संस्कृति परिवर्तन गर्न खोज्छन्, मो यान कम्युनको जमिनदार सिमन नाओबाट शुरु हुन्छन् । दुवै उपन्यासकारले समाज र संस्कृतिलाई निक्खर रूपमा उतारेका छन् । प्रस्तुति भिन्न भए पनि धेरै घटनाक्रम, परिवेश र पात्रहरूमा समानता छ । दुवैको निकालेको एउटै निष्कर्ष– सांस्कृतिक विकृतिमुक्त समाज हो ।
लोलिता र सुनौली: भ्लाडिमिर नोवाकोभको ‘लोलिता’ बिसौँ शताब्दीको एउटा महान् उपन्यास हो । यसले रुस र पश्चिमी समाजमा तहल्का नै मच्चाएको थियो । उपन्यासमा किशोरावस्थाको उग्रयौनचेत (हेवेफेलिया) लाई लोलिताको माध्यमबाट व्यक्त गरिएको छ । दुरुपयोग भएको यौनाकाङ्क्षा, सम्बन्ध र बेपर्बाहले जीवनलाई वर्वाद भएको छ । रमेश विकलको सुनौली कि सुनौलीमा पनि उग्रयौनचेत छ, जुन उसको पिता गोरे बम्जनक पुलपुल्याइबाट विकास भएको छ । ‘यो मेरो छोरी लर्तरी छैन । यो त गजब की पो छे त । शहर हुँदो र ठुला ठाउँमा जन्मेकी भए यो रानी बन्ने थिई’ भन्ने भनाई, सुनौलीको चेहरामा रहेको मादकतामा लोभिएर कृष्णेले ‘शहर भनेको स्वर्ग हो’ भनेर सुनौलीको प्रति राखेको कुदृष्टि र गुनुमैयाको सङ्गतले सुनौलीको मनमा शहर जाने उग्र रहर जाग्न गई आफ्नो यौवन दुरुपयोग गर्न पुग्छे । दुवै उपन्यासले किशोरावस्थाको अपरिपक्व यौन उत्कण्ठा र त्यसको दुरुपयोगको चित्र उतारेको छ । अवचेत तहको लिविडो ऊर्जा भएर पनि अविवेक र दुरुपयोग हुनसक्छ भन्ने देखाएको छ । सौन्दर्य र यौवन नारी शक्ति हो । तर त्यसलाई सही उपयोग गर्न नसक्दा अभिसाप बन्न सक्छ । दुवै केन्द्रीय चरित्रले आफ्नै सौन्दर्य, यौवन र वर्जित व्यवहारको ख्याल नगर्नाले आफैलाई ववाद गराएका छन् । सामाजिक यथार्थ र शिक्षालाई सरल प्रस्तुति गरेर समाजलाई शिक्षा दिइएको छ ।
विक्रम र नौलो ग्रह र नाइन्टिन एटी फोर ः विषयवस्तुको चयन र प्रस्तुति शैलीको नवीनताका कारण रमेश विकलको ‘विक्रम र नौलो ग्रह’ र जर्ज अर्वेलको ‘नाइन्टिन एट्टी फोर’ मा समान तहको विशिष्टता पाइन्छ । एरिक आर्थर ब्लेयर र रामेश्वर चालिसे बिच धेरै समानता पाइन्छ । चालिसे विकल बने, ब्लेयर अर्वेल । सुरुवाती दिनमा दुवै स्रष्टाले समाज, शोषण, अधिनायकीयता विरुद्ध लेखे, पछि दुवै विस्तृत भए, बिम्बात्मक प्रस्तुतिमा पनि लागे । एनिमल फार्म र नाइन्टिन एट्टी फोर र विकलको सुनौली, अविरल बग्दछ इन्द्रावती र विक्रम र नौलो ग्रहबिच यही प्रयोग समानता पाइन्छ । दुवैको साहित्य प्रयोग विशौ शताब्दीको साहित्य हो, दुवैले आफ्नै समयलाई बोकेका छन् । साथै दुवैले आउने समयको कल्पना गरेका छन् । विकलको विक्रम र नोनौ ग्रहमा प्रयोगमा अर्को शताब्दी खोज्छ, अर्वेलको नाइन्टीन एटीफोर नाइन्टिन फोर्टी एटबाट एट र फोर उल्टाएर झन्डै चार दशकपछिको समाजको कल्पना गर्छ । सालको अङ्क यतायता पारेर परिवर्तनको अनुमान गरिएको छ । दुवै उपन्यासले कल्पनाशीलताको प्रयोग छ, कौतुहलको सिर्जना गर्छ र नयाँ समयको जीवन खोज्छ । दुवैले कल्पना गरेका कुराहरू प्राप्त भएका छन् । दुवै कृतिले कल्पनाको जगमा प्रवर्तन र परिवर्तन हुन्छ भन्ने देखाएको छ ।
आकाशगङ्गाका नागरिक र विक्रम र नौलो गह ः रवर्ट ए हाइनलेनको आकाशगङ्गाका नागरिकहरू (सिटिजन अफ ग्यालेक्सी) र विक्रम र नौलो ग्रहलाई पनि तुलना गर्न सकिन्छ । जस्तै विक्रम र नौलौग्रहमा बाल कौतुहल सुलभ छ । आकाश गंगाका नागरिक र विक्रम र नौलो ग्रहमा धेरै समानता छन् । आकाशगंगाको नागरिकमा अर्को ग्रहमा पनि दासत्व रहेको र अस्तित्व खोज्नुपरेको कुरा किशोर पात्र थोर्वीका माध्यमबाट देखाइएको छ, जसरी विक्रम र नौलो ग्रहमा विक्रमले नौलो ग्रह गएर शासकीय सुधारका लागि त्यस्तै गर्छ । अन्तिममा विक्रम नोगुम्वालाई सहयोग गरेर पृथ्वी फर्क्यो, आकाशगंगाको नागरिकमा थार्वीले स्वतन्त्रता पायो । थोरै समानता ‘व्टीङ्कल इन टायम’ सँग पनि छ । यसमा अन्तरिक्षका हावामा ढोका खुल्ने, ग्रह अन्तरिक्षमा तीव्र रूपमा ढलपलाईरहेन र त्यहाँ पानी र समयको उपलब्धता भएको देखाइएको छ । यस्ता बाल उपन्यासले अन्तरिक्ष, अर्को ग्रह, ब्रह्माण्ड र आकांशगंगाहरुप्रति चाख जगाएर आविष्कारमुखी दिमाग निर्माण गर्दछ ।
लेडिज च्यटर्लीज लभर र सुनौली ः करिब समकालीन तर भिन्न संस्कृति र समाजका डेभिड हर्वट लरेन्स र रमेश विकलबिच प्रयोग, दृष्टि सङ्क्षेत्र र विषयवस्तुमा थुप्रै तुलना योग्यता छ । दुवैका प्रयोगमा आधुनिकता, सामयिकता, सामाजिकता, मनोविश्लेषणात्मकता पाइन्छ । विशेषतः पात्रमा लिविडोमा अधिरत, प्रेम, कामुकता, यौनिक उत्कर्ष पाइन्छ । मनभित्र गुम्सिएको व्यक्तिलाई मनबाट बाहिर उदात्त रूपमा बाहिर ल्याउने वा भौतिकी र भावनाबिचको दूरी घटाउने प्रवृत्ति सुनौली र लेडी च्याटर्लीज लभरमा देखिन्छ । दुवैका प्रमुख पात्रहरू यौनिक आनन्दलाई आत्मिक अभीष्ट ठान्दछन् । फ्रायडीय मनोविज्ञान र ओशो दर्शनमा प्रमुख नारी पात्रहरू कार्य व्यापार गरिरहेका छन् । लेडिज च्याटर्लीले नारीहरू आफ्नै जीवनमा बाँच्छन्, त्यसमा पश्चात्ताप भए पनि भन्ने सन्देश यौन उत्कर्ष, अनजान यौन सम्बन्ध र त्यसले क्षतविक्षत पारेको जीवनबाट देखाउँछन् । कामुकता, जीवन वृत्ति र सम्बन्धको अस्मेल अवस्थाको विश्लेषण गर्दछन् । सुनौलीमा पनि प्रेम, कामुकता, अवचेत उत्साह र अस्मेल आशक्ति छ । सुनौलीमा मुख्य पात्र गरिब र पुरुष सहपात्रहरु धनी र बिग्रिएकाहरू छन् । लेडिज च्याटर्लिजमा प्रमुख पात्र नारी धनी छ र सह पात्र पुरुष श्रमिक छ । लरेन्स कि कोन्नी बिबाहित छे, विकलकी सुनौली पनि वास्तविक अर्थमा विवाहित हो । फरक यत्ति हो कि कोन्नीले यौनिकतालाई छाडा मानेर आधुनिक भनिएका मुलुकहरू क्यानडा, अष्टे«लिया, जापान र भारतमा केही समय प्रतिबन्ध गरियो । पारम्परिक भएर पनि नेपाली समाजमा यसलाई प्रतिबन्ध लगाइएन ।
विश्वेश्वर र विकलको नारी पात्रहरूको मनोविश्लेषण ः समाजले विश्वेश्वर र विकललाई विचार र वृत्तिका कोणमा कित्ताकाट गरे पनि यथार्थमा गहिरिँदा दुवैका नारी पात्रहरूको मनोदशा चित्रणमा समानता पाइन्छ । नारीहरू मन र मस्तिष्कमा फरक रहेर आफ्नै आकाश, आफ्नै जीवन र आफैभित्र सङ्घर्ष गर्दछन् । जीवनमा सहनशीलता र सङ्घर्षको सौर्य नारीको विष गुण हो । विश्वेश्वरको इन्द्रमाया र विकलको सुनौली यसका प्रतिनिधि हुन् । दुवै महान् स्रष्टाका उपन्यासका नारी पात्रहरूमा सामाजिक भोगाइ र मानसिक उकुसमुकुस समान छन् । अवेचेत तहमा रहेको प्रैमिक भावना र यौनिक अभिष्टलाई सामाजिक सम्मतिमा व्यवहार गर्दछन्, सामाजिक सम्मतिको सीमालाई भत्काएर पनि व्यवहार गर्छन् । श्लीलता र सम्मतिमा बाहिरिन मनोद्वन्द्व छ, प्रेम र विग्रह छ, वरवादी पनि छ । फ्रायडले विभाजन गरेको मनको अवचेत, अद्र्धचेत र सचेत तहमध्ये चेत र अवचेत तहबिच भीषण द्वन्द्व छ । लिविडो (काम शक्ति) गाढा छ । यो लिविडो शक्ति पनि अवस्था केन्द्रित (अवचेतन लिविडो) र आत्म केन्द्रित (नार्सिस्टिक) छ । सामाजिक व्यवहारमा दुवैका नारी चरित्र बहिर्मुखित छन् यौनिक व्यवहारमा निकै अन्तर्मुखी । नारी चरित्रको व्यक्तित्व संरचना इद, इगो र सुपर इगोको फ्रायडीय कार्यमा रहन्छ ।
रमेश विकलका उपन्यासलाई शताब्दीका धुरन्धर उपन्यासकारहरूका सांस्कृतिक समानताका आधारमा प्रेम चन्दको ‘निर्मला’, चेतन भगतको ‘फाइभ प्वाइन्ट समवन’, झुम्पा लेहरीको ‘नेमसेक’, खुसवन्त सिंहको ‘ट्रेन टु पाकिस्तान’ र ‘मानो मजारा’ को सापेक्ष्यतामा विश्लेषण गर्न सकिन्छ तर नेपाली समालोचना समाजले केवल नेपाली परिवेश र नेपालको सिर्जनाका आधारमा मात्र हेर्ने गरेको छ । हेर्ने दृष्टिकोण पनि आलोचनात्मक सामाजिक यथार्थ भनेर सीमित गरिएको छ । समालोचकीय सङ्क्षेत्र फराकिलो नहुँदा, न्यायिक मूल्याङ्कन नहुँदा सबैजसो नेपाली शीर्ष स्रष्टाहरूलाई झैँ उपन्यासकार विकललाई अन्याय भएको छ । प्राज्ञिक जिम्मेवारीका संस्थाहरूले ध्यान नदिँदा नेपाली वाङ्मयको विस्तारलाई बाधा परेको छ । जस्तो कि नोवाकोभको ‘लोलिता’ धेरै भाषामा प्रकाशित भयो, हारुकी मुराकामीमो ‘नर्वेजियन उड’ धेरै भाषाका पाठकले पढ्न पाएका छन् । ‘तिखी दोन’ र ‘लेडी चेटर्लिज लभर’ धेरै भाषामा पढिएको, लेखिएको र पर्दामा छायाङ्कित छ । विश्वव्यापी कृत समाज व्यवस्थामा विषयवस्तु र प्रकाशन पनि विश्वव्यापी हुने अवसरबाट नेपाली साहित्य भने पछि परेको छ । यसो भन्नु नेपाली पहिचान विस्तार नहुनु र नेपाली मौलिकताको स्वाद बाह्य समाजले लिन नपाउनु पनि हो ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend