सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

लल्लेश्वरी:वाखकी जननी तथा आत्मज्ञानकी अमर साधिका

लल्लेश्वरी:वाखकी जननी तथा आत्मज्ञानकी अमर साधिका

89
Shares
89
Shares

लेख
किताब मानिसको सबैभन्दा असल साथी, मौन गुरु र ज्ञानको अमूल्य स्रोत हो।पुस्तकले हामीलाई केवल अक्षरहरू पढ्न सिकाउँदैन, यसले जीवन बुझ्न, सही–गलत छुट्टाउन र आफूभित्रको सम्भावनालाई पहिचान गर्न पनि प्रेरित गर्छ।एउटा राम्रो किताबले हाम्रो सोच, व्यवहार र व्यक्तित्वलाई सकारात्मक रूपमा परिवर्तन गर्न सक्छ।

किताब पढ्ने क्रममा स्वामी अनुपम पोख्रेल “लल डेद” किताब पढ्दै त्यसको व्याख्या पनि गर्दै जानुहुन्छ । हामी सबै सुन्दै मनन गर्दै जान्छौँ। त्यही किताबको लेखिका र उनले लेखेको कविताको बारेमा यो लेख तयार भएको छ ।

लल्लेश्वरी काश्मीरको इतिहासमा १४औँ शताब्दीमा जन्मिएकी एक अद्वितीय सन्त, कवयित्री र आध्यात्मिक साधिका हुन। उनलाई लल योगेश्वरी, लल्ला वा लल आरिफा, लल डेद, पनि भनिन्छ।उनको जन्म काश्मीरको पाण्ड्रेथन गाउँमा भएको मानिन्छ।

उनको बाल्यकालको नाम “लल्लेश्वरी” थियो।उनी एक सामान्य ब्राह्मण परिवारमा जन्मिएकी थिइन्। लल्लाको जीवन सुरुमा सामान्य गृहस्थ जीवनजस्तै थियो। उनी सानैदेखि अत्यन्त जिज्ञासु, संवेदनशील र आध्यात्मिक स्वभावकी थिइन्। त्यति बेला समाजमा बालविवाह प्रचलित थियो, त्यसैले उनको विवाह कम उमेरमै गरियो। उनका श्रीमानको नाम सोनपण्डित भनेर उल्लेख गरिएको पाइन्छ।तर वैवाहिक जीवन सुखद रहेन।

भनिन्छ, सासु र परिवारबाट उनले धेरै दुःख र अपमान सहनुपर्‍यो। विवाहपछि पनि लल्लाले आफ्नी सासूको कठोर व्यवहार र अत्याचारलाई ठुलो धैर्यका साथ सहिन्।

एक दिन उनी पानी लिन गएकी थिइन्। उनकी सासूले आफ्ना छोरालाई उनको जासुसी गर्न उक्साइन्। सोनपण्डित (उनका श्रीमान्) लट्ठी लिएर उनीतर्फ नजिकिँदै गर्दा, लल्ला घैँटो काँधमा बोकेर फर्किरहेकी थिइन्। उनले घैँटोमा प्रहार गरे, र त्यो फुट्यो, तर पानी भने कुनै अदृश्य दिव्य शक्तिले सम्हालेझैँ आकाशमै स्थिर रह्यो।

लल्लाले त्यही पानीले घरका भाँडाहरू भरिन्। बाँकी रहेको पानी उनले झ्यालबाट बाहिर फ्याँकिन्, जसले एउटा पोखरी बन्यो जुन आज पनि काश्मीरमा छ र “लल नाग”को रूपमा चिनिन्छ । यी कठिनाइहरूले उनको आत्मिक खोजलाई अझ गहिरो बनायो। सांसारिक दुःखले उनलाई सत्य, शान्ति र आत्मज्ञानको मार्गतर्फ प्रेरित गर्‍यो । यसै कारण भित्रबाट सत्यको खोजमा उनी गहिरिँदै गइन् ।
जब सोनपण्डितले आफ्नी पत्नी लल्ला दिनप्रति दिन सांसारिक जीवनबाट टाढिँदै गएको देखे, उनले गुरु सिद्धमोलसँग उनलाई फेरि संसारतर्फ फर्काउन आग्रह गरे ।

एक दिन गुरु सिद्धमोल उनको घरमा आए, जहाँ सोनपण्डित, सिद्धमोल र लल्लाबीच एक गहिरो र अर्थपूर्ण संवाद भयो। त्यस संवादका मुख्य विषयहरू थिए:
सबैभन्दा ठुलो उज्यालो के हो ?
सबैभन्दा पवित्र तीर्थ कुन हो ?
सबैभन्दा प्रिय सम्बन्ध को हो ?
सबैभन्दा ठुलो सुख के हो ?

यो संवाद केवल सामान्य प्रश्न-उत्तर मात्र थिएन,तर जीवन,आत्मा र सत्यबारे गहिरो आध्यात्मिक खोज थियो।

लल्लाले अत्यन्त गहिरो आध्यात्मिक उत्तर दिइन्:
सबैभन्दा ठुलो उज्यालो आत्म–बोध हो,
सबैभन्दा पवित्र तीर्थ जिज्ञासा हो,
सबैभन्दा साँचो सम्बन्ध भगवान् हो,
सबैभन्दा ठुलो आनन्द भगवान् प्रति श्रद्धा हो।

घरायसी जीवनमा भोग्नुपरेका दुःख, अपमान र संघर्षहरूले लल्लाको अन्तर्मनमा जीवनप्रतिको नयाँ दृष्टिकोण जागृत गरायो। ती गहिरा आध्यात्मिक अनुभूतिहरू क्रमशः कवितात्मक अभिव्यक्तिका रूपमा प्रकट भए, जसलाई ‘वाख’ भनिन्छ।’वाख ‘ संस्कृत ‘बाच्’ बाट व्युत्पन्न शब्द हो, जसको अर्थ ‘वाणी’ वा ‘वचन’ हुन्छ।

सन्त कबीरले झैँ लल्लाले पनि आफ्ना वाणीहरू लेखेर होइन, मौखिक रूपमा अभिव्यक्त गरिन्। उनका वाखहरू पुस्तौँसम्म गाउँदै, सुनाउँदै र स्मरण गर्दै जोगाइए। पछि विद्वानहरूले तिनलाई संकलन गरी लिखित रूप दिए।

भाषाविद् डा. जर्ज अब्राहम ग्रियर्सनले पण्डित मुकुन्द राम शास्त्रीको सहयोगमा लल्लाका १०६ वटा वाखहरू संकलन गरे। यी वाखहरू सन् १९२० मा लन्डनस्थित रोयल एशियाटिक सोसाइटीद्वारा प्रकाशित ‘ललवाक्यानी’ नामक ग्रन्थमा समावेश गरिएका थिए।

यसपछि विद्वान् रिचर्ड कार्नाक टेम्पलले लल्लाका वाखहरूको विस्तृत अध्ययन र विश्लेषण गर्दै ‘द वर्ड अफ लल्ला’ शीर्षकको पुस्तक सन् १९२४ मा क्याम्ब्रिज युनिभर्सिटी प्रेसबाट प्रकाशित गरे।

यसपछि पनि अनेकौँ विद्वानहरूले लल्लाका वाखहरूको संकलन, सम्पादन, अनुवाद र अनुसन्धान गरी उनको आध्यात्मिक तथा साहित्यिक सम्पदाको संरक्षण र विश्वव्यापी प्रचार-प्रसारमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्। आज लल्लाका वाखहरू कश्मीरी साहित्यका अमूल्य निधि मात्र नभई विश्व आध्यात्मिक साहित्यका अनुपम धरोहरका रूपमा सम्मानित छन्।

यिनै सन्त-कवयित्री लल्लाका कविता(वाख) हरूको संग्रह सन २०१३ मा कवि रञ्जित होस्कोटेले पनि अंग्रेजीमा अनुवाद गरी प्रकाशित गरे। यही पुस्तकको नाम “लल डेद” हो। यो किताब २४६ पानाको छ । यसमा १४६ वटा वाखहरू छन्।

लल्लाका लल डेदमा भएका १४६ कविताहरू दार्शनिक गहिराइ, काव्यिक सौन्दर्य र आध्यात्मिक सार्वभौमिकताको अद्भुत मिश्रण हुन्। उनका अभिव्यक्तिहरूमा विरोधाभास, संकेत, र दैनिक जीवनसँग जोडिएका प्रतीकात्मक बिम्बहरूको प्रयोग पाइन्छ।

उनका वाखहरूले शान्त रस अर्थात् शान्ति, मौनता र आन्तरिक स्थिरताको सौन्दर्य भावलाई जागृत गर्छन्। यस रसले पाठकलाई बाहिरी हलचलबाट हटाएर भित्री शान्तिमा प्रवेश गराउँछ। यसले गर्दा उनका शब्दहरू सरल तर अत्यन्त गहिरा छन् ।

लल्लाका कविता सुन्दा लाग्छ,हामी सुनिमात्र रहेका छैनौँ,एक मिठो यात्रा गरिरहेका छौँ।सुन्न बन्द हुँदा पनि मन खुलिरहन्छ।

लल डेदको भाषा संस्कृतमा आधारित छ, तर त्यसमा फारसी र अरबी शब्दहरूको पनि मिश्रण पाइन्छ। उनले संस्कृत शब्दहरूलाई मूल वा थोरै रूपान्तरित रूपमा प्रयोग गरेकी छन् ।त्यस्तै, फारसी–अरबी शब्दहरूको प्रयोग पनि उनका वाखहरूमा देखिन्छ,यस भाषिक मिश्रणले उनको कवितालाई केवल धार्मिक वा दार्शनिक मात्र होइन, सांस्कृतिक रूपमा पनि अत्यन्त समृद्ध र बहुभाषिक बनाउँछ।

लल्लाका कविता(वाख) दक्षिण एसियाको सबैभन्दा पुरानो आध्यात्मिक कवितामध्ये एक पनि हो ।यो हिन्दु र सूफी दुवै परम्परासँग जोडिएको छ।उनका विचारहरूले पछि काश्मीरका प्रसिद्ध सूफी सन्त नुन्द ऋषिलाई समेत प्रभावित गरेको थियो।

नन्द ऋषि कश्मीरका महान् सन्त, कवि र आध्यात्मिक गुरु हुनुहुन्थ्यो। उहाँलाई कश्मीरको ऋषि परम्पराका प्रमुख प्रवर्तक मानिन्छ। उहाँले प्रेम, करुणा, सरलता, अहिंसा, प्रकृति प्रेम र धार्मिक सद्भावको सन्देश दिनुभयो। उहाँका वचनहरू आज पनि कश्मीरको आध्यात्मिक सम्पदाका रूपमा आदरपूर्वक स्मरण गरिन्छ। ।आज पनि ध्यान र साधनामा लल्लाको कविता धेरै उपयोगी छन्।

उनको जीवनका मुख्य विशेषता:बाहिरी नियमभन्दा भित्री सत्यमा जोड, स्वतन्त्र र निर्भीक जीवनशैली ,गुरुबाट प्रेरणा लिएर आत्मबोधको खोज हो।

लल्ला हिन्दु शैव परम्पराबाट प्रभावित थिइन्, तर उनका शिक्षाहरू कुनै एक धर्ममा सीमित थिएनन्। उनले मानिसलाई धर्म, जात, सम्प्रदाय र बाह्य पहिचानभन्दा माथि उठेर मानवताको दृष्टिले हेर्न सिकाइन्।

उनलाई हिन्दु तथा मुस्लिम दुवै समुदायले अत्यन्त श्रद्धाका साथ सम्झन्छन्।उनको जीवन केवल धार्मिक साधनाको कथा मात्र होइन, आत्मिक स्वतन्त्रता, सत्यको खोज र मानव एकताको अनुपम उदाहरण हो।

लल्लाको दर्शनका मुख्य आधारहरू आत्मज्ञान, ध्यान र साधना, प्रेम र करुणा हुन । यही कारणले हिन्दु र मुस्लिम दुवैले उनलाई आफ्नो आध्यात्मिक गुरुका रूपमा सम्मान गर्छन्।

उनले मानिसलाई आफ्नै अन्तरात्मा चिन्न प्रेरित गरिन्। उनका अनुसार साँचो ज्ञान बाहिरबाट होइन,भित्रबाट प्राप्त हुन्छ।उनले नियमित ध्यान र आत्म निरीक्षणलाई जीवनको आधार मानेकी थिइन्।उनका शिक्षा प्रेम नै सर्वोच्च शक्ति हो। प्रेमले नै मानिसलाई ईश्वरसँग जोड्छ।

उनी बाहिरी कर्मकाण्ड, देखावटी पूजा र धार्मिक अहङ्कारको विरोध गर्थिन्। उनका अनुसार शुद्ध हृदय नै सबैभन्दा ठुलो मन्दिर हो।लल्लाले अन्धविश्वासलाई चुनौती दिइन् र मानिसलाई आफ्नै अनुभवबाट सत्य खोज्न प्रेरित गरिन्।

आजको संसारमा मानिसहरू तनाव, विभाजन, मपाइता र असहिष्णुताले ग्रस्त छन्। यस्तो समयमा लल्लाका सन्देशहरू अझ सान्दर्भिक देखिन्छन्। उनले सिकाएको आत्म चिन्तन, प्रेम, करुणा र मानव एकताको शिक्षा आज पनि उत्तिकै आवश्यक छ।

उनको जीवनले हामीलाई सिकाउँछ कि साँचो आध्यात्मिकता बाहिरी पहिरन, पूजा वा पदमा होइन, हृदयको निर्मलता र चेतनाको जागरणमा हुन्छ।

उनको जीवन एउटा उज्यालो दीपक जस्तै छ, जसले शताब्दीयौँदेखि साधक, कवि र सत्यका खोजकर्ताहरूलाई मार्गदर्शन गरिरहेको छ। लल्लाको सन्देश आज पनि उस्तै ताजा छ-“आफ्नो अन्तरात्मालाई चिन्नु, त्यहीँ परम सत्यको ढोका खुल्छ।”

लल्लाले समाजका नियमभन्दा माथि उठेर सत्य खोजिन् ।भगवान् (विशेष गरी शिव) लाई भित्रै खोज्न सिकाइन् ।उनले सत्य बाहिर होइन, आफ्नै मनभित्र हुन्छ,गुरुले मार्ग देखाउँछन्,तर अनुभव आफैँले गर्नुपर्छ,

आफ्नो शरीर र आत्मालाई सम्मान गर्नुपर्छ,आशक्ति कम गर्दा मन शान्त हुन्छ,साँचो ज्ञान अनुभवबाट आउँछ, केवल पढाइबाट होइन भन्ने आत्म बोध गराइन्।

उनको जीवन परम्परागत समाजमा बाँधिएको थियो, तर उनको मन सधैँ गहिरो आध्यात्मिक सत्यतर्फ तानिएको थियो।अन्ततः उनले बाहिरी नियम, बन्धन र औपचारिकता त्यागेर स्वतन्त्र साधनाको बाटो रोजिन।

लल्ला कुनै औपचारिक धर्म वा नियममा बाँधिन चाहिनन्।उनी स्वतन्त्र भएर, कहिलेकाहीँ नग्न अवस्थामै, गाउँ–गाउँ घुम्दै आध्यात्मिक सन्देश दिन्थिन्।यसले के देखाउँछ भने उनी बाहिरी रूपभन्दा भित्री सत्यलाई महत्त्व दिन्थिन्।

आजको व्यस्त जीवनमा पनि लल्लाको सन्देश धेरै गहिरो छ-शान्ति बाहिर होइन, आफ्नै भित्र खोज, कम बोल, बढी अनुभव गर ।साधना भनेको कुनै नियम मात्र होइन,जीवन बाँच्ने तरिका हो।

उनले अहंकार र द्वैतभन्दा परको अवस्था प्राप्त गरेकी थिइन्। उनमा “म” र “अरू” बिच कुनै भेद रहेन, न त सम्मान र अपमान बिच नै कुनै अन्तर थियो।

उनको अनुभूतिमा सम्पूर्ण अस्तित्व एउटै चेतनाको रूप थियो। उनले आफूलाई परम सत्यसँग एकाकार भएको रूपमा अनुभव गरिन्,जहाँ आत्मा र परमात्मा अलग छैनन्।

उनको आत्मसाक्षात्कारको सर्वोच्च अभिव्यक्ति यही थियो कि उनले स्वयंलाई शुद्ध चेतना, शिव स्वरूप अस्तित्वको रूपमा देखिन् जहाँ सबै विभाजनहरू समाप्त हुन्छन् र केवल एक अद्वैत सत्य मात्र बाँकी रहन्छ।

लल्लाको मृत्यु करिब १३९० तिर भएको मानिन्छ।उनको जीवनको अन्त्य पनि त्यत्तिकै रहस्यमय र शान्त थियो, जसरी उनको साधना थियो।

उनी विश्वका महान् आध्यात्मिक प्रकाश पुञ्जहरू मध्ये एक मानिन्छिन्। परम्परागत व्याख्याअनुसार, उनले जीवनमै आत्मज्ञान प्राप्त गरिन् र परम चेतनासँग एकत्वको अनुभूति गरेकी थिइन्।

उनका लागि जीवन अर्थपूर्ण भयो, र मृत्युको डर पनि समाप्त भयो, किनभने उनले अस्तित्वलाई जन्म–मृत्यु भन्दा परको निरन्तर चेतनाको रूपमा बुझेकी थिइन्। उनी पूर्ण हृदयले ईश्वरप्रति समर्पित थिइन् र ईश्वरलाई बाहिर होइन, आफ्नै भित्र अनुभव गरिन्।

यस दृष्टिले, उनको आध्यात्मिक यात्रा भक्ति, ज्ञान र अद्वैत अनुभूतिको एक अद्वितीय संगम हो,जहाँ साधक र साध्य बिचको दूरी अन्ततः समाप्त हुन्छ।

अतः पुस्तक पढ्नु र सुन्नु भनेको नयाँ संसार देख्नु मात्र होइन, आफ्नै अन्तरमनलाई नयाँ आँखाले हेर्न सिक्नु पनि हो।यसैले पढ्न,सुन्न र सिर्जनात्मकतामा सधैँ प्रोत्साहन गरिरहने बुद्धत्वप्रति नमन गर्दछु !! अस्तु:!!

  • प्रतिक्रिया दिनुहोस

    रमा दुलाल का अरू रचना

    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend