बाबु, आज तिमी तीस वर्षमा प्रवेश गर्दैछौ । म यति खुसी छु कि बताउन सक्दिन, शब्दले पनि बोक्न नसक्ने खुसीहरु मनमा गमेर आनन्दित छु । तिमीलाई थाहै होला सन्तानको प्रगति, खुसी देखेर सन्तान भन्दा उसका आमाबुबा खुसी हुन्छन् । तिमी खुसी हुँदा तिमीभन्दा खुसी अम्मी र म हुन्छौं । तिमीले ग्राएजुएसन गर्दा, जागिर शुरु गर्दा खुसीले रातभरि अम्मीसँग कुरा गरेर बसेँ । आफ्नै कर्म र कत्र्तव्यमा अगि बढेकोमा खुसी बाहेक हामीसँग अरु केही थिएन ।
अँ, आज तिमीलाई तिमी जन्मनु भन्दा पनि अघिको कुरा सुनाउँछु । विगत अगिल्तिर ल्याएर विचरण गर्दा मिल्ने खुसी छुट्टै हुने रहेछ । तिमी जन्मनु अघि नै हामीले तिमीलाई माया गर्न थालेका थियौं । तिमी जन्मिएलाऊ, बामे सर्लाऊ, तोते बोलिमा मसँग खेल्लाऊ यस्तै यस्तै कुराको एउटा कल्पनाको विम्ब मेरो मनमा आउथ्यो । ती दिनमा पुगेर विचरण गर्दा अहिले पनि कति आनन्द लाग्छ !
अम्मीलाई विवाह गरेपछि तिमी जन्मनु अघि आफ्नो सानो बासस्थान हुनुपर्छ भन्ने सोचेँ, हतार हतारमा सानै भएपनि आफ्नै कुटी बनाउन थालेँ । घर पूरा नहुँदै तिमी जन्म्यौ । तिमी गर्भमा रहँदा अम्मी सँधै विमारी हुन्थी, मैले झन खट्नुपर्ने भो । जिल्लाबाट काठमाडौं सरेँ । तिमी जन्मदा हाम्रो घर बनिसकेको पनि थिएन, जस्तो थियो त्यसैमा बस्न थाल्यौं । अव अफ्नै घरमा बस्न पाइने भयो । अम्मी र मबीच तिमी भयौ, बस्ने जसोतसो ठाउ भयो । आफ्नोपनको खुसीले परिवेश नै उत्सवमय थियो । सबै दिन उत्सवमय ।
तिमी जन्मेको दिनको भावनालाई स्मृतिमा ल्याउँछु । त्यो खुसीलाई म कसरी बताऊँ, अस्पतालमा पहिलो पटक तिमीलाई देख्दा कल्पना गरेभन्दा बेग्लै थियौं । त्यो बालरुप भन्दा पनि मेरो मायाको पुञ्ज थियो, खुला आकाशमा भर्खर उदाएको कलिलो सूर्य जस्तो । उज्यालो, सफा, निश्छल । गालामा टाँसिरहन मन लाग्थ्यो, त्यसो गर्दा दुख्छ कि भनेर सतर्क हुन्थेँ । काखमा राख्दा मेरै खुट्टाले विजाउला भनी डराउथँे । कपडा पनि मुलायाम ल्याउँथ्यौं । तिमी माया हो कि, खेलौना हो कि, सहारा हो कि, साथी हो वा अरु यस्तै के के के के सोच्थेँ । रोशीमा बाख्रीले आफ्नो पाठोलाई चाटेर माया गरेका दृश्यहरु मनमा सिनेमाका मोन्टाज जसरी टाँगिन्थे । चिया खाँदा औला चोपेर चटाइ दिन्थे । पास्नी नगरी खाना ख्वाउन हुन्नथ्यो, त्यही दिनको प्रतीक्षा गर्थेँ, ओठ र आँखाका इशारा गर्दा अम्मीलाई देखाएर खुसी साट्थेँ । कहिले बोल्लाउ, पहिलो शब्द के बोल्लाउ कल्पना गर्थे । विस्तारै बोल्न थाल्यौ, तिमीले बोलेको पहिलो शब्द के थियो, न अम्मीलाई थाहा छ न मलार्ई । वाताङ उतुङ, धातार धुतुर पछि तिमीले पापा नै भनेको हुनुपर्छ ।
अलिअलि बोल्न सक्ने भएपछि मीठा शब्दहरु सिकाउन थाल्यौं । थररी उभिन थालेपछि कुन कपडामा राम्रो देखिएला, कुन कपडामा सजाउने भनेर अम्मीको काम नै तमीलाई कपडा खोज्ने भयो । त्यतिबेलाका तिम्रा र सानोका कतिपय लुगाहरु अहिले पनि अम्मीले जतन गरेर बाक्साभरि राखेकी छ । ती कपडा ऊ फाल्दिन । ती कपडाहरुमा तिमीहरुका बच्चा सजिएलान–नसजिएलान थाहा छैन, शायद त्यही कल्पनामा अम्मीले माया गरेर राखेकी होली । ती जे जस्ता भएपनि उसका भावना संहालिरहेका छन् ।
विदाको दिन तिमीलाई काखमा खेलाएर बसेको थिएँ, अचानक देवराज पाठक दाइ आएर तिमीलाई आफ्नो काखमा राखेर गमिनु भो र भन्नु भो –यो बच्चा सूर्य जस्तो ओजस्वी तेजमा छ, यो तिम्रो भाग्य हो, अव सवै राम्रो मात्र हुन्छ । उहाँले के सोचेर, के देखेर भन्नु भएथ्यो म के थाहा पाऊँ तर आफ्नो बच्चाको प्रशंसा सुन्दा खुसीको सीमा रहेन् । तिमी निदाएपछि तिम्रो चेहरामा लीन भएर के के सोचे के के !
सबै आमा बुबालाई त्यस्तै लाग्ला, मलाई थाहा छैन । तिमी जति राम्रो कुनै बच्चा देख्दिनथे । तिम्रो अनुहार हेर्दा पनि मनभरि आनन्दको सञ्चार हुन्थ्यो । अफिसबाट आउने वित्तिकै मेरो थकान तिम्रो चेहराले हराइ दिन्थ्यो ।
तिमी बामे सर्न थालेपछि, अलिअलि उभिन थालेपछि जतिखेर पनि तिमी लड्लाऊ कि भनेर डराइरहन्थे । अफिसमा रहँदा यही सोचले सताइरहन्थ्यो, अम्मीलाई फोन गरिरहन्थे । एक दिन त मेरै सामु वाकरबाट भरेङ्मा तीन बल्ड्याङ लड्यौं । तिमी त्यति रोएनौ, हामी भने रोयौं, हामीलाई कति दुख्यो कति ।
अझ एउटा घटना अहिले सम्झिदा पनि मन सिरिङ्ग हुन्छ । सानो जन्मिसकेको थियो,तिमीलाई मोटरसाइकलको अगिल्तिर राखेर रमाइलो मेला लगेँ । तिमीमा कौतुहल थियो, त्यो ठूलो रोटेपिङ चढ्ने भनेपछि देव्रे हातले तिमीलाई छातीमा टाँसेर दाया हातले पिङको वार समाएर मच्चिन के थालेको थिएँ, २०, ३० फिट माथि पुगेपछि म अचनाक कराएँ र पिङ रोक्न लगाएँ । ओर्लिएपछि बल्ल बाँचियो भन्ने भयो । तिमी मबाट उछिट्टेलाउ भन्ने डरले म निकै कामेको थिएँ, होसहवास नै हराए जसरी । तिमीभन्दा म निकै डराएँ । घर आइपुग्दा पनि मेरो खुट्टा कामिरहेका थिए, मोटरसाइकल चलाएर घरसम्म आउन पनि निकै डराएँ । अहिले पनि त्यो सम्झिदा मेरो मन सिरिङ्ग गर्छ । त्यसपछि तिमीलाई रोलरकेष्टर, पिङ चढ्न कहिल्यै दिइन । स्कुलमा भने यस्तै पिङमा खुट्टा अड्काएर भाँचेछौ । हामी कति दुखी भयौँ । तिम्रो खुट्टा ठीक हुन तीन महिना बढी लाग्यो ।
तिम्रो नामको प्रसंग पनि गज्जवको छ बाबु । जन्मनु अघि नै तिम्रो नाम के राखौ भनेर सोचिरहेको थिएँ । घरमा बच्चाको नाम राख्न म अघि सर्थे । सुयोग, स्नीधाको नाम मैले राखेको थिएँ । नाम र काममा के सम्बन्ध छ भन्ने मेरो चेत मनले सोचेको थिएन, तर तिम्रो नाम विशेष हुनुपर्छ, त्यो बर्णमालाको पहिलो अक्षरबाट हुनुपर्छ भन्ने मनोआग्रह थियो । धेरै नाम सोचेँ । आर्यावर्त राखौं भन्ने मनको निर्णयमा पुगेँ, नेपाली, अङ्ग्रेजी दुवै वर्णमालाको पहिलो अक्षरबाट शुरु हुने, एउटा ठूलो भूगोल र पूर्वीय संस्कृतिलाई सर्लक्कै जनाउने नाम । तर दिदीहरुले त्यो नाम राख्ने र ? भन्नुभएपछि के गरौ भन्दै थिएँ । हामी कहा बस्ने कुमारजीकी बच्ची मुनाले तिमीलाई खेलाउदा खेलाउदै शुभम भन्न थालेकी रहेछिन् । तिमीभन्दा डेढदुई बर्ष ठूली मुनाले राखेको नाम नै तिम्रो नाम हुन गयो, तिमी शुभम बन्यौं । मुनाले बालसुलभ बोलावटमा शुभम भनेकी हुनुपर्छ, मैले उनको चित्त दुखाउन चाहिन । जे होस तिमी शुभम बन्यौ । मैले तिम्रो नाम राख्न नपएकोमा अहिले पनि अचम्म लाग्छ । नाम पनि अचम्मको संयोगमा बन्दो रहेछ । तिमीलाई शुभम नाम राख्ने मुना विदेशतिरै छन् रे, भेट भए सोध्ने विचार थियो ।
तिमी ठूलो हुँदै गयौ, सानोले तिमीलाई पछ्याउदै गयो । पिता हुनुको नाताले माया साथ कत्र्तव्यले थिच्दै गयो । माया मात्रै गरेर कत्र्तव्य पूरा हुँदैनथे । तिमीहरुका रहर, पढाइ र हाम्रा आवश्यकता पूरा गर्न अफिस मात्र गरेर पुग्दैनथ्यो । कमाउने र रमाउने समय एकै भएपछि एकलाई छाड्नुपथ्र्यो, त्यसै गरेँ । तर तिमीहरुको माया, झगडा, रमाइलो मेरा खुसी बने । विहान, बेलुकी पढाउन र नियमित रुपमा स्तम्भ लेख्न थालेँ । लेख, कितावको रोयल्टी र पढाइको पारिश्रमिकबाट तिमीहरुलाई पढाउन थालेँ । तिमीहरुलाई पढाउने सामथ्र्य जुटाउने क्रममा म र अक्षरसंगको सम्बन्ध जवर्दस्त गाढा बन्यो । तिमीलाई थाहा छैन होला, मैले निकै राम्रा भनिएका विद्यालयमा तिमी र सानोलाई पढाउन चाहेको थिएँ । जसका लागि म घडीको सुइ जत्तिकै दौडिन्थे । मेरो दैनिकी सखारै पाँच बजे शुरु भएर रात दश बजेसम्म पनि हुन्थ्यो । तिमीहरु ननिदाउँदै घर आइपुग्दा एकै काखमा दुईजनालाई राखेर आनन्द मान्थेँ । सम्झिन्थे तिमीहरुलाई मैले सोचेजति समय दिन सकिन, आवश्यकता पूरा गरे पनि इच्छा पूरा गर्न सकिन । कतिपय दिनमा त म कुपण्डोल, पुतलीसडकबाट हिड्नु अघि अम्मीलाई खाना पस्कन भन्थे र ठाड्ठाडै खाएर अफिस जान्थे । त्यो दौडाइ, हतार सवैमा एउटा खुसी र अपेक्षा लुकेको थियो । त्यसैले ती दिन सम्झदा कत्ति पनि दिक्क लाग्दैन, खुसी हुन्छु । कत्र्तव्यमा गरिएका कर्महरु प्रायश्चित खोज्दैनन् । ती त हाम्रै सपनाका लागि थिए । हामीजस्तो मिडिल क्लास परिवारका लागि यी सामान्य जीवनका भाग थिए ।

म खट्दा, दौडिदा, लेख्दा सँधैभरि आफ्ना सपना र खुसीलाई थाती राखेर परिश्रम गरिरहेको हुन्थे । मात्र यत्ति थियो कि मेरा सपना, खुसीहरु भन्नु नै तिमीहरु थियौं । त्यो मिहेनत र अथक दौडाईमा तिमीहरुका रहर भुलेकि भनेर भने कहिलेकाही दिक्क मान्छु । सम्झ त, भाइले एक पटक भनिहाल्यो, पापा शनिवार पनि विदा हुन्न र ? उसलाई चिडियाखाना जान मन लागेको रहेछ, म भने शनिवार चार ठाउमा पढाएर झनै व्यस्त हुन्थे । भाइले त्यसो भन्दा म झल्यास्स भएथेँ । तिमीहरुलाई पढ्न छुट्टै कोठा दिन सकिन । तिमीहरुकै भविष्यका आधार खोज्न पसिना बगाउदा तत्कालको तिमीहरुको रहर भुलेछु । विहान नीर नफाट्दै शुरु गरेको दिनचर्यालाई छिटोमा साढे आठतिर विदा दिएर तिमीहरुलाई खाना खुवाएर म पढ्न थाल्थे । म पढ्दा तिमी ननिदाएसम्म काखमै हुन्थ्यौ, तिम्रो एउटै माग हुन्थ्यो –किताव बन्द गरिदिनु । म पनि विद्यार्थी थिएँ, वृत्ति विकासका लागि पनि उच्च शिक्षा पढ्नुपथ्र्यो । तिमीलाई काखमा खुलाउदै पढ्दा मेरो ध्यान भने दुईतिर खिचिन्थ्यो होला । त्यसैले तिमीले किताव बन्द गर्न भनेको हुनुपर्छ । नियतिले ल्याएका दुखहरु, असफलताहरुमा हार मान्ने छुट मलाई थिएन । मिहनेत गर्दै, सघंर्ष गर्दै ढलेको ठाउबाट उठ्नु पथ्र्यो । कत्र्तव्यले हार मान्ने छुट, खुसीमा रमाएर विन्दास हुने छुट पापाहरुलाई हुँदैन । पाठक दाइले भनेको सम्झन्थे –तिम्रो जीवनमा खासै सफलता हँुदैन । मिहनेतको फल लिन पनि पटकपटक प्रयास धैर्य गर्नुपर्छ । अव भने यो बच्चाको भाग्यले तिमीलाई पनि तान्नेछ । नियतिले जे दिएपनि चुपचाप सहन्थे, अविश्रान्त मिहनेत गर्थे । चुपचाप रहन्थे । तिमी सानो थियौ, भाइ भर्खर ताताङतुतुङ गर्देथियो, अम्मी तिमीहामी सबैको स्याहार सुसुस्रामा व्यस्त हुन्थी । दाजुभाइ आआफ्नै संघर्षमा व्यस्त थिए । कसलाई के बताउने ? मन पढ्ने आमा पहिल्यै गुमाएको थिएँ । आफ्ना दुख बताएर अरुलाई दुखी बनाउन पनि चाहन्नथेँ । चुपचाप आफैभित्र गुम्फिएर तिमीहरुको चेहरामा आफ्ना सपना रोप्दै, भविष्य खोज्दै पढाउन, लेख्न, अफिसमा खट्न निरन्तर रहेँ । दुख भुल्न साहित्य लेख्न थालेँ । जति नै समस्या परेपनि तिमीहरुको इज्जतमा धक्का लाग्ने काम गर्न नपरोस भने सोच्थेँ । त्यसैले आत्माले स्वकिृति नदिएको काम कहिल्यै गरिनँ र परिश्रम रोजेँ । मबाट केही कमजोरी भयो भने म नरहे पनि मेरा सन्तानको इज्जत र मर्यादालाई आँच पुग्छ भनी सावधान रहेँ । इमान र कर्मले कमाएको इज्जत तिमीहरुलाई सम्पत्तिको रुपमा दिनु पर्छ भन्ने मान्यतामा रहँे ।
मनभित्र एउटा लोभ भने पालेको थिएँ, अम्मीको असल पति, तिमी दुईको असल पिता, अझ भनौ एउटा असल अभिभावक र साथीसंगातिको असल साथी बन्ने अभिष्ट । अहोरात्र खटाइ त्यही अभिष्ट र अभिभावकत्वका लागि थियो । तिमीहरुको असल अभिभावक बन्न सकेँ सकिन, तिमीहरुले के सोच्छौ कुन्नि, मेरो मन भने त्यसो गर्न सकेकोमा गर्व गर्छ, पूरा गर्न नसकेका कुरामा मन कोक्याएको पनि छ । जे होस, तीन दशकलाई अघिल्तिर ल्याएर सम्झिदा खुसी लाग्छ, एउटा अजङ्गको पहाड उक्ले जस्तो लाग्छ । प्रत्येक पिताहरु आफ्ना बाबानानीका लागि यसै गर्छन् भन्ने विश्वास लिएको छु ।
बाल्यावस्था स्वप्नावस्था हो । त्यतिवेलाका अनुुभूति र कल्पनाको सम्मिश्रणले एउटा छुट्टै मनोलोकको सृष्टि हुन्छ, त्यही मनोलोकलाई युवावस्थामा कर्म गरेर यथार्थको संसार बनाउछौ भनेर म प्रेरणादायी कथाहरु सुनाउथेँ । आविस्कार र सिर्जनाका कथाहरु सुनाउथेँ । खोज अनुसन्धानको सिनेमाहरु देखाउथेँ । स्टीभ जव्सको कथा दोहो¥याइ तेहो¥याइ सुनाएको थिएँ । जेफ विजोस, ज्याक मा, अलोन मस्क, खेलाडी पेले, पिट साम्प्रास, कलाकार ब्राड पिट, वैज्ञानिक अब्दुल कलाम, सीभी रमन, रेने बेकेट, आर्य भट्ट र आफ्नै परिश्रम अनि पैतालाले भविष्य बनाएका महान व्यक्तिहरुको कथाहरु सुनाउथेँ । तिलस्मीका कथा कहल्यै सुनाइन । ज्याक मासँग मकाउमा भेट हुँदाको तस्विर देखाएर उनको कथा बताएथेँे । तर मैले किन यसो गरेँ भन्ने कहिल्यै बताइन । सिर्जनात्मक चेतको विजारोपण तिमीहरुको मनमष्तिष्कमा होस भन्ने चाहनाले त्यसो गर्थे । मानिस आफ्नै सङ्कल्प र आस्थाले यथार्थमा मानिस बन्छ भन्ने भावना जगाउन म त्यसो गर्थे । मलाई थाहा थियो सपनाहरु मैले लाद्न हुँदैन । त्यसैले आफूले हिड्ने बाटो आफै बनाउन मनका कुनामा सङ्कल्प आफै बनाउ भनेर नै म त्यसो गर्थे । मनोरञ्जनका साथ ज्ञान पनि होस भन्ने चाहन्थे । त्यो राम्रो थियो कि थिएन थाहा थिएन, तर आफ्ना बच्चा सङ्कल्पले आफ्नै बाटो बनाउन भन्नेमा म दृढ थिएँ । त्यो आफूले बाल्यावस्थामा नपाएको अवसरको कारण पनि थियो होला । मनोवैज्ञिानिक क्षतपूर्तिले पनि त्यसो ग¥यो होला ।
बाबु एउटा कुरा भन्छु, आशावादी मानिसहरु जीवनरेखा कोर्न विषम भूमिमा खेल्छन् । चट्टानी पहाड कोतर्छन्, चुनौती मोल्छन्, खतरासंग खेल्छन् र पनि थाक्दैनन् । जस्तै दुखमा पनि रुदैनन् । पापाहरुलाई रुन पनि छुट हुँदैन । कतिवार ठूला चोटहरु सहन नसकेर म रोएँ, पुरुष भएकोले, पिता र पति भएकोले देख्नेगरी रोएर तिमीहरुलाई कमजोर बनाउन हुँदैनथ्यो । जव तिमीहरु सबै निदाउथ्यौ मेरो मन खोक्रो भएर ममाथि एउटा विशाल पहाडले थिचेजस्तो हुन्थ्यो । तिमीहरुलाई उच्च शिक्षा कसरी दिलाउने ? आफै कमजोर बन्नु पनि हुन्नथ्यो । मभन्दा विषम परिस्थितिमा पनि त कोही होलान नी भनेर मन बाँध्थँे । त्यसरी मन बाध्न नसकेको भए तिमीहरु यस अवस्थामा हुन्थ्यौ र ? समाज अरुको दुखमा रमाएर आफू आनन्द मान्छ । समाज र साथीहरुले मेरो बाध्यताको, असफलताको मजाक उडाउँदा मन एक तमासको हुन्थ्यो, कठोर भएर दा¥हा किट्न मन लाग्थ्यो । पहिचान, शक्ति, सम्बन्ध, पैसाको आधारमा आफ्नै समाज र साथीहरुबाट अपमानित हुँदा, वास्ता नगरिदा कसलाई दिक्दारी लाग्दैन ? यस्ता कैयन विषम अवस्थामा तिमी, भाइ र अम्मीलाई नियाल्थे, त्यतिबेला मनमा असीम आनन्दको सञ्चार हुन्थ्यो । तिमी र भाइलाई काखका दुई भागमा राखेर गाला सुम्सुम्याउथेँ । तिमीहरु आआफ्नै शब्दमा खुसीको प्रतिस्पर्धा गथ्यौं, म सीमाहीन आनन्दको क्षितिजमा पुुग्थेँ । अहिले तिमी आफै गर्नसक्ने, त्यति मात्र होइन मलाई सम्झाउन सक्ने भएका छौ । त्यसैले म निकै खुसी छु ।
तिमीहरुलाई पढाउन विदेश लगेको याद आउछ । यहाँका अवस्था र मेरो सामथ्र्य त्यस्तै थियो । सानै थियौ, तीमीहरु दुईको वीचमा रहेर तेइस घण्टा हवाइजहाजमा यात्रा गर्दा तिमीहरु कति थाकेका थियौं ? दुवैजना ज्वरोले निस्लोट थियौं । म पनि लखतरान थिएँ । एउटा सपनाको खोजीमा दुई साना बालकलाई समुद्रपार पु¥याएर उतै छाडेर फर्किदा यात्राभरि म कति रोएँ होला ? अम्मी त बच्चासँग झगडा गर्ने समयबाट बञ्चित हुँदा अहिले पनि सम्झिदै भावविह्ल हुन्छे । हाम्रा कुरा तिमीहरुलाई बताउने समय अहिले पनि पाएको छैनांै । कहिले काही मोवाइल, कम्पुटरमा अनुहार हेरेर हामी हाम्रा विगत खोज्छौ, भविष्य नियाल्छौ । म त केही बोल्छु, अम्मी त तिमीहरुको अनुहारमात्र हेरेर बस्छे । यसो गर्न पनि सँधै समयले साथ दिदैन । तिमीहरु कसरी बसेका छौ हेर्ने तिम्रो अम्मीको रहर कसरी पूरा गर्ने ?
तिमीहरुका उपलव्धि मेरा लागि जीवन वाच्ने र रमाउने साहस हुन् । तिमीहरुलाई देख्दा, सुन्दा मन मष्तिस्कमा एकप्रकारको उर्जा सञ्चार हुन्छ । बोल्दा, बोल्दाबोल्दै मेरा शब्दहरु पनि अकमकाउछन् । अव त म जस्तै तिमीहरु पनि परिश्रममा अविश्रान्त जागा छौ । इलममा छौ, हतारमा छौ । असल कर्ममा छौं । खटेको खट्यै छौ । यो मिहेनत गरेको देख्दा आनन्दको सीमा रहन्न । यो उमेर काम गर्ने उमेर हो, काम जीवन निर्वाहको माध्यम मात्र होइन, आफै सिर्जना हो । तिमीहरु काममा रमाउनु मेरो सफलता, अझ भनौ वंशाणुको निरन्तरता हो । उन्तिस बर्षअघि, अझ तिमी नजन्मदै मैले यस्तै र योभन्दा पनि धेरै कल्पना गरेको थिएँ । आपूmले पूरा गर्न नसकेको सपना, गर्न नसकेको कर्म र अधुरा सिर्जनाहरु पूरा हुँदा म आफैभरि रमाएको छु । त्यसैले तिम्रो जन्मदिनमा खुसीले भावविह्वल छु । कल्पना गर्छु तिमीलाई फेरि त्यै दुई बर्षको काखे बालक बनाएर काखमा कथाहाल्दै खेलाउन पाए कस्तो हुन्थो !
भन्छन् सो¥हमा रमाउने, वीसमा सपना देख्ने तीसमा भविष्य बनाउने । थर्टीज टर्निङ पनि हो जीवनको । त्यसले दायित्वबोध र परिपक्वता ल्याउछ । कत्र्तव्यमा जागा गराउने र परिक्वतालाई गम्भीर बन्ने समय । यो अर्को खसीको टर्निङ हो ।
बाबु शुभम तिमीलाई एक भूगोल शुभकामना । तिमी सँधै रमाउ, खुसी बन र मिहनेत गर । तिमीले सँधै असल बन्नुपर्छ । तिम्रो सफलता चोखे लाग्ने बनोस् । वस यत्ति ।
तिम्रो पापा
श्रावण २९, २०८३ ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend