कार्यकक्षमा काम गरिरहेको थिएँ । झट्ट देख्दा हृष्टपुष्ट भलाद्मी मानिस मेरो कार्यकक्षमा आएर नमस्कारको अभिवादन गर्दै आफ्नो परिचय दिन थाल्नु भयो –म विजय चालिसे । देखभेट नभए पनि उहाँको नामबाट भने म परिचित थिएँ, उहाँ पनि त्यसैगरी मप्रति जानकार हुनुहुँदो रहेछ । चिया मगाएँ र २० मिनेटजति कुराकानी ग¥यौं । उहाँ एउटा अनुरोध गर्न आउनु भएको रहेछ । रमेश विकल प्रतिष्ठानको निर्माणका लागि स्रोत आवश्यक भएकोले सरकारका तर्फबाट केही अनुदान पाए हुने भन्ने उहाँको चाहना रहेछ । प्रतिष्ठानको लेटरप्याडमा राष्ट्रिय योजनालाई बार्षिक बजेटमा समावेश गर्न अनुरोध गरिएको पत्र हस्तान्तरण गर्नु भो । मैले आयोगका पदाधिकारीलाई पनि भेटेर भन्ने कि भनी अनुरोध गरेँ । तर विजय दाइले मान्नु भएन र भन्नुभयो – म तपाईलाई अनुरोध गर्न आएको, साहित्यिक संस्थालाई गैरसाहित्यिक मानिसहरु अनुत्पादक ठान्छन् । गर्नैपर्छ भन्ने होइन, सकेमा तपाईले गरिहाल्नुहुन्छ, नसके बोली किन खेर फाल्ने ! गर्न सक्नु भएन भनेपनि विकलप्रति भाइको सम्मान मेरालागि सहयोग भैसक्यो । उहाँको भनाईमा मप्रतिको विश्वास थियो ।
विजय चालिसे दाइसंग मेरो औपचारिका चिनजान यही नै थियो । पहिलो भेटघाटमा नै हृदय खोलेर कुरा गर्नुभयो । यसले मलाई नैतिक सङ्कटमा पनि पार्यो, मैले सहयोगलाई बार्षिक कार्यक्रममा समावेश गर्न नसके के गर्ने ?
बजेटको विकास निर्माणको अनुसूची तयार गर्ने काम राष्ट्रिय योजना आयोग थियो । देशभरिबाट माग भएका आयोजनाहरुलाई प्राथमिकीकरण गरेर रातो कितावमा समावेश गर्ने काम आयोगको थियो । म पूर्वाधार विकास महाशाखा प्रमुखका रुपमा कार्यरत भएकाले सूची तयार गरी आयोगमा पेश गर्ने जिम्मेवारी मेरो हुन्थ्यो । आयोगले तयार पारेको सूचीलाई नेपाल सरकारले स्वीकृत गरेपछि बजेटमा समावेश हुन्थे । मैले तयार गरेको प्रस्तावमा केही लाख रकम रमेश विकल प्रतिष्ठानका नाममा, केही लाख रकम मैत्रीसेवा आश्रम लप्सेफेदीका नाममा र केही रकम युगकवि सिद्धिचरण प्रतिष्ठानका नाममा थिए । अन्य प्रस्तावहरु परित हुने क्रममा यी सबै प्रस्ताव पारित भएका थिए ।
केही बर्षपछि म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिव भएको सममया सुरभि साहित्य प्रतिष्ठानको सम्मान समर्पण तथा कृति लोकार्पण कार्यक्रममा मलाई प्रमुख अतिथिका रुपमा निमान्त्रणा गरिएको थियो, विजय दाइ पनि विशेष अतिथिमा मसंगै हुनुहुन्थयो । उहाँले भाषण गर्ने क्रममा रमेश विकल प्रतिष्ठानका लागि सहयोग गरेकोमा मेरो प्रंशंसा गर्नुभयो । सामान्य चिनजान भएकै दिनको अनुरोधलाई मैले प्राथमिकतामा लिएर सहयोग गरेको भन्ने कुरा उल्लेख गर्नुभयो । मैले धेरै संस्थाहरुको सहयोग सूत्र भएर काम गरेको थिएँ, तर कसैले सम्झेका थिएनन् । सम्झिनु पर्छ भन्ने अपेक्षा सहयोग गर्नुे मेरो सोच पनि थिएन । आफू स्वयम्ले भुलिसकेको कुरालाई विजय दाइले सम्झाइदिनु भयो । त्यसदिनदेखि विभिन्न साहित्यिक कार्यक्रम, जमघटहरुमा भेट हुन थाल्यो । हामी विस्तारै नजिकिन थालेछौ तर हामीलाई भने त्यो नजिक्याइ थाहा थिएन । उहा पनि सरकारी सेवाबाट निवृत्त हुनु भएको र रमेश विकल पनि निजामती सेवामा रहेका कारणले पनि होला कुराकानीमा साहित्य र सार्वजनिक सेवा साथसाथ आउथ्यो,यसले पनि वेभलेन्थ मिलेको हुनसक्थ्यो ।
२०७८ मा निजामती सेवाबाट निबृत्त भएँ । साहित्यका कार्यक्रममा सहभागी हुन समय अलि लचक बन्दै गयो । यसै समयमा गोकर्णेश्वर नगरपालिका र सुरभि साहित्य प्रतिष्ठानले गोकर्णलाई कार्यक्षेत्र बनाएका दुई विशिष्ट स्रष्टा रमेश विकल र भैरव अर्यालका विषयमा अनुसन्धानमुलक कृति प्रकाशन गर्ने कार्यक्रम राखेछ । त्यसमध्ये विशिष्ट आख्यान साधक स्व.रमेश विकलको मैले अनुसन्धानमूलक कृति तयार पार्नेगरी नाम प्रस्ताव भएछ । छलफलमा सुरभि साहित्य प्रतिष्ठानका सल्लाहकार द्वय विजय दाई र बरिष्ठ समालोचक युवराज मैनाली (मेरो दाजु) तथा प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलबाट मरो नाम रमेश विकालका विषयमा शोध–समालोचना गर्न र यसैगरी विशिष्ठ हास्यव्यङ्र्ग्यकार स्व.भैरव अर्यालका विषयमा यसैगरी अध्ययन गर्न बरिष्ठ समालोचक ठाकुर शर्मा भण्डारीको नामका विषयमा छलफल भई अन्तिम रुप दिइएको रहेछ । उहाँहरुले मेरो नाम किन लिनु भयो ? त्यति महान स्रष्टाका विषयमा मैले शोध, समालोचना र अध्ययन गर्न सक्छु कि सक्तिन भन्ने चिन्तामा परेँ । जिम्मेवारी पूरा गर्न नसकिए महान स्रष्ट विकल र मप्रति पनि अन्याय हुन्थ्यो । दिइएको जिम्मेवारी फत्ते गर्न लागि, करिव एक बर्षको लगाएर मैले ‘रमेश विकाल: समालोचनात्मक अन्वेषण’ कृति पूरा गरेँ । २०७९ मा सुरभि साहित्य प्रतिष्ठानले कृति प्रकाशन पनि ग¥यो । एक प्रकारले मप्रति गरिएको विश्वास पूरा गरेको अनुभव गरे, विकलप्रति न्याय गर्न सकेँ कि सकिन मैले भन्ने विषय भएन तर विजय दाइ लगायत भाइ महेन्द्र र आलोकजी, बाजुरामजी र नगरपालिकाका पदाधिकारी खुसी भएको पाएँ । ‘रमेश विकाल: समालोचनात्मक अन्वेषण’ एक ऐतिहासिक उपलव्धि भएको कुरा उहाहरुबाट व्यत्ति भैरहन्थयो ।
‘रमेश विकाल समालोचनात्मक अन्वेषण’ तयार गर्ने क्रममा विकलका कृति, वार्ता, अडियो रेकर्डहरु संकलन गर्ने क्रममा विजय दाइसंग चारपाँच पटक भेटघाट भयो । एक दिन रमेश विकल प्रतिष्ठानमा नै दिनभरि विजय दाइसंग बसेर कृति संकलन गरेँ । उहासंग पनि बार्ता गरेँ । विकल प्रतिष्ठानका डकुमेन्टहरु फोटो खिचेँ । भित्ता, वोर्ड र सूचना पाटी पढेँ । दाइको निवासमा रहेर पनि विकलका विषयमा छलफल गर्यौं । कृति प्रकाशन भएपछि लोकार्पणको समयमा बोल्ने क्रममा मेरो विषयमा कहिल्यै भुल्न नसकिने कुरा उहाले उठाउनु भयो । रमेश विकल समालोचनात्मक अन्वेषण निकै उत्कृष्ठ कृति रहेको प्रशंसा मात्र गर्नु भएन, नेपाली समालोचनाको वेगल धार मेरा समालोचना पाइने कुरा पनि उल्लेख गर्नुभएको थियो । नेपाली समालोचना प्राध्याकपकीय धारबाट प्राज्ञिक र विस्तृत आयाममा पुगेको, समालोचना कस्तो हुनुपर्छ भन्ने दृष्टान्त गोपी मैनालीका सामलोचनामा पाइने भनी मुक्तकण्ठले प्रशंसा गर्नु भयो । उहाले अन्य कार्यक्रममा पनि मेरो प्रशंसा यसरी नै गर्न थालेपछि भने दाइलाई त्यसो नगर्न अनुरोध गरेँ तर दाईले आफूलाई लागेको कुरा भनी भन्न छाड्नु भएन । कतिपय स्वनामधन्य सामलोचकलाई यो कुरा मन परेको थिएन होला, तर दाइले आफ्नो कुरा भन्न छाड्नु भएन । दाइले मेरो युगकवि सिद्धिचरणका विषयमा लेखेको समालोचना लगायत अन्य समालोचना पनि पढ्नु भएछ ।
अर्को बर्ष रमेश विकलको समग्र कृतिहरु (कथा, उपन्यास, नाटक र बालसाहित्य) चार भोलुममा प्रकाशन भए । ती कृतिहरुमध्ये रमेश विकलका उपन्यासहरुमा मलाई प्रमुख समालोचकीय बक्ताका रुपमा बोल्न जिम्मेवारी दिइयो । त्यही समयमको हाराहारीमा विजयदाइद्वारा अनुवाद गरिएको जापानीकाथहरुको संग्रहमा ‘अभिसप्त रात’ मा पनि मैले प्रमुख बक्ता बनेर बोलेँ । ‘रमेश विकलः समालोचनात्मक अन्वेषण’ का विषयमा नौपटक रेडियो–टेलिभिजन कार्यक्रममा र ३५ पटक पत्रिका र विभिन्न अनलाइन प्रकाशनमा म संलग्न भएछु । त्यसपछि विजय दाइ निकै खुसी हुनुभएछ । उहा नभुली मेरो लेख, समालोचना र वार्ताहरुलाई साझा गर्ने गर्नुहुन्थ्यो र ती विषयहरुमा टेलिफोन पनि गर्नुहुन्थ्यो । यी क्रियकलापबाट हामी आपसमा निकै नजिकिइ सकेका थियौ ।
२०८१ म उहाले उत्तरवैदिक काललाई आधार बनाएर ‘युगसन्धि’ उपन्यास प्रकाशन गर्नुभो । उक्त उपन्यासको लोकार्पण कार्यक्रम २०८१ असाज १२ गते राखिएको थियो । मैले नै ‘युगसन्धि’का विषयमा प्रमुख बक्ताको भूमिका लिनुपर्ने भयो । तर उक्त दिन वर्षाका कारण उपत्यका र आसपासका क्षेत्रमा ठूलो क्षति पुगेकोले कार्यक्रम अर्को दिन गर्न अनुरोध गरेँ, दाइले स्वीकार्नुभो र एकहप्तापछि होटेल यलो प्यागोडा कान्तिपथमा पुस्तक लोकार्पण कार्यक्रम आयोजना गर्नुभो । कति मिनेट बोल्ने होला भनेर दाइलाई सोधेँ, उहाले तपाईलाई समयको सीमा छैन भनेपछि मैले एक घण्टा बोल्छु र सबै वैदिक–पौराणिक विषयमा आधारित उपन्यासको तुलनात्मक चिरफार गर्छु भनेँ । उहाँले सहमति जनाउनु भो । खचाखच भरिएको हलमा कार्यक्रम लाइभ प्रसारण भैरहेको थियो । मैले ४३ मिनेट युगसन्धिको विषयमा बोलेपछि बोलाई धेरै लामो नहोस भनी टुङ्ग्याएँ । मैले बोल्न बाँकी कुरा र तुलनात्क अध्ययनको विषय यही नामको समालाृेचनामा प्रकाशन गरेँ । विजय दाइ त्यो दिन जति खुसी मैले कहिले पनि पाएको थिइन । उहा निकै खुसी हुनुहुन्थ्यो । रमेश विकालको सच्चा साहित्यिक सन्तान मात्र होइन, विकलले हात नहालेको वैदिक विषय र घटनालाई हात हालेर नयाँ विषयमा प्रवेश गर्नुभएकोमा म, बरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, बरिष्ठ सालोचक युवराज मैनाली, समालोचक ज्ञानु पाण्डे, गोकर्णेश्वरका मेयर दीपक रिसाल सबैले बधाई दियौं । वास्तवमा त्यो दिन उहाका लागि मात्र नभएर हामी सबैका लागि उल्लसामय थियो ।
यसबीच मैले पनि आफ्नो समालोचकीय मान्यतामा कथा यस्तो भए हुने भन्ने सोचका साथ एउटा कथासङ्ग्रह प्रकाशन गर्न लागेको थिएँ । विजय दाइलाई हेरेर भूमिका लेखिदिन पाण्डुलिपि पठाएँ । आफू भूमिका लेख्न हैसियतमा नरहेको बरु मैले प्रस्ताव गरेका नामहरुमध्ये ‘विशृङ्खलित सपना’कथासङ्ग्रहको नाम राख्न उपयुक्त भएको सल्लाह दिनु भयो । उहाँको सल्लाह अनुसार कृतिको नाममा सहमति जनाए र भूमिका लेख्न पुन अनुरोध गरेँ । दाइले कथाका प्रत्येक पात्र र अक्षरभित्र पसेर ‘विशृङ्खलित सपना’ को भूमिका लेखिदिनु भयो । एउटा कथासङ्ग्रहको भूमिका कस्तो हुनुपर्छ भन्ने मानक त्यस भूमिकाले देखाएको छ ।
‘विशृङ्खलित सपना’ को विमोचनमा दाइ आफ्ना भाइ महेन्द्र चालिसे, सुपुत्र आलोक चालिसे लगायतको गोकर्णको समूहमा आएर हर्षसाथ लामो समय रहेर मलाई शुभकामना र हौसला दिनु भयो । आफ्नो भूमिका रहेको कृतिका विषयमा बोल्नुभो पनि । बोल्दा पनि दाइमा निकै उत्साह र आत्मिक सौर्य देखिन्थ्यो ।
किताव, समालोचना, साहित्यिक जमघट र अन्य अनौपचारिक जमघटका क्रमले हामी धेरै नजिक भएका थियौं । गोकर्ण र चालिसे परिवारका सबै साहित्यिक कार्यक्रममा हाम्रो उपस्थिति अपरिहार्यजस्तो भैसकेको थियो । सुरभि, विकल प्रतिष्ठान लगायतबाट आयोजना हुने कार्यक्रम र कृति विमोचनमा बोल्ने क्रममा म छुटाइन्न थिएँ । महेन्द्र चालिसकोको ‘लेकबेसीको सुगन्ध’ नियात्रा सङ्ग्रह विमोचन र साहित्यिक भ्रमण इन्द्रवाती तिरमा नै आयोजना भयो । स्वास्थ्यका कारण दाइ जानु भएन, म भने त्यस कार्यक्रममा पनि साथीहरुसंग गएँ र कृतिको समालोचनात्क टिप्पणीकार बनेँ । विकलले अविरल बग्दछ इन्द्रावती रचना गरेको आधारभूमि पुगेँ, माझी बस्ती पुगेँ । हामीहरुले इन्द्रावती किनारमा पिपलको रुखमुनि काव्य गोष्ठि पनि गर्यौ ।
विजय चालिसे, बाजुराम पौडेल, वेदमणि घिमिरे, वसन्त रिजालहरुका कारण गोकर्ण क्षेत्र साहित्यको हव (पार्क) बनेको थियो । रमेश विकल प्रतिष्ठान, सुरभि साहित्य प्रतिष्ठान, अभिनव साहित्य समाज, साहित्य सदन, भैरव अर्याल प्रतिष्ठानका गतिविधिहरु हप्तैपिच्छे पालैपालो हुन्थे । यी सबै गतिविधिको नेतृत्व विजय चालिसेले गर्नुहुन्थ्यो, नेपथ्यमा युवराज मैनाली, ठाकुर शर्मा भण्डारी, म लगायत पनि हुन्थ्यौं । आफ्ना पिता रमेश विकललाई जनस्तरमा पु¥याउन, विकल साहित्य प्रष्ठिानलाई संस्थागत जीवन्तता दिन र विकलका कृतिहरुको अनुवाद, अभिनय, मञ्चन, छायाङकन गर्न–गराउन विजय दाइ निकै क्रियाशील हुनुहुन्थ्यो । विजय दाइले केही बर्षअघि जीवनसंगिनीलाई गुमाउनु भएको थियो । बेलाबेलामा एकान्तता, एकलोपान र जीवनसाथीको यादको प्रसंग पनि उठाउनुहुन्थ्यो, जीवन यस्तै हो भनेर हामी सम्झाउथ्र्यौ र साहित्यिक गतिविधिमा अरु सक्रिय भएर जीवनलाई उर्जामय बनाउन भन्थ्यौ ।
विजय दाइ दर्जनौं कृतिका लेखक हुनुहुन्थ्यो । उहाँका कथा, उपन्यास, बालसाहित्य, नाटक, अनुवाद, संस्मरण, निबन्ध, नियात्रा र पत्रकारिताका गरी करिव ६ दर्जन कृति प्रकाशित भैसकेका थिए । यस हिसावले उहाँ पोलिम्याथ लेखक हुनुहुन्थ्यो । तर आफ्ना पिता रमेश विकलको व्यक्तित्वले उहालाई केही छायामा पारेको थियो । आफ्ना पिताको कृति र नामबाट गर्व गर्ने, पिताको कृति प्रकाशन प्रसारणमा निरन्तर लाग्ने थोरै सन्तानहरुमा विजय चालिसे, महेन्द्र चालिसे पर्नुहुन्छ । यस्ता सन्तान भए हुने भन्ने सामाजिक दृष्टान्त पनि उहाहरु हुनुहुन्छ । उहा रमेश विकल प्रतिष्ठानलाई सहयोग र सद्भाव दिने व्यक्ति, स्थानीय सरकार र सरकारी निकायको दाई खुलेर प्रशंसा गरिरहनुहुन्थ्यो ।
मेरा दाजु युवराज मैनाली र उहाको सम्बन्ध निकै हार्दिक थियो । एक प्रसंगमा दाजुले विजयादाइलाई उहाको नाममा पुरस्कार राख्न अनुरोध गर्नुभएछ, विजयदाइले पनि तत्काल पचास हजार रुपैयाको विजय चालिसे पुरस्कार स्थापना गर्नुभयो । विकलको नाममा त यस अघि नै पुरस्कार, सम्मानको व्यवस्था भैसकेको थियो । उहालई भाइ महेन्द्र चालिसे र छोरा आलोक चालिसेले सहयोग र समर्थन गर्दै आउनु भएको थियो । लाग्थ्यो चालिसे परिवार विकल प्रतिष्ठान र साहित्य सेवामा पूर्णतः समर्पित थियो । सेवाको भावना भित्रैबाट नआइ साहित्यप्रति समर्पित हुन सकिदैन ।
विजय चालिसेको अगुवाईमा गोकर्णेश्वर नगरपालिका साहित्यको केन्द्र, देशकै लाृभलाग्दो साहित्य हव बन्न सकेको छ । उहाको व्यक्तित्व र व्यवहारका कारण स्थानीय सरकार प्रमुखहरु (पूर्व मेयर सन्तोष चालिसे, मेयर दीपक रिसाल) ले साहित्य सेवामा बार्षिक बजेट व्यवस्था गर्ने कामको शुरुवात गर्नु भएको छ, जसले संस्थागत निरन्तरता पनि प्राप्त गरेको छ । त्यसको सहजीकरणमा युवराज मैनलीको पनि हात रहेको छ । परिणामतः बर्षिक एक एक लाख रुपैयाको दुई पुरस्कार स्थापना भएका छन् । गोकर्ण नगरवासीका कृृतिहरु प्रकाशनमा स्थानीय सरकारले सघाउदै आएको छ । साहित्यिक प्रतिष्ठानहरुलाई बार्षिक कार्यक्रम अनुदान दिने व्यवस्था भएको छ । राष्ट्रिय स्तरका संस्थाले गर्न नसकेको कामहरु यहाबाट भएका छन् । गोकर्ण साहित्य गतिविधमा देशकै नमूना स्थानीय सरकार हो । यसका गतिविधि अन्य पालिकाका लागि पनि लोभका विषय हुन् । यसका पछि विजय दाइको महत्वपूर्ण योगदान रहेको छ ।
गत बर्षको माघतिर हुनुपर्छ, विजय दाइले आफू पटक पटक बेहोस भएको, शरिर एकदमै शिथिल भएकोले साहित्य लेखनमा सक्रिया हुन नसकेको भनी दुखेसो व्यक्त गर्नु भो । उहा र मेरो कुराकानी केही दिनको अन्तरालमा भैरहन्थ्यो । प्रत्येक कुराकानीमा आफू शिथिल हुँदै गएको बताउनु हुन्थ्यो । आफू विमार भएको भन्दा पनि साहित्य सिर्जनामा लाग्न नसकेकोमा उहाँ चिन्तित हुनुहुन्थ्यो । आफू अस्वस्थ्य हुँदै गएपछि सुपुत्र आलोक र भाइ महेन्द्र चालिसेले साहित्य गतिविधि र रमेश विकल प्रतिष्ठानलाई निरन्तरता दिने कुरा कुरा पनि उहाले गर्नुहुन्थ्यो । सुपुत्र र भाइ नेपाल रहेर साहित्यमा लागिरहे हुने भन्ने उहाको कुराको निष्कर्ष हुन्थ्यो ।
पछिल्लो समय फोन गर्न म अलि डराउन थालेको थिएँ । फोन गर्दा असिजिलो त पर्दैन, कतै आराम वा उपचारमा त हुनुहुन्न भन्ने मलाई लाग्थ्यो । त्यसपछि मेसेज गर्न थाले । अनुकूल समयमा अलि मधुरो बोलीमा कुरा गर्नुहुन्थ्यो । उहाको आत्मबल निकै गिरेको जस्तो लागेपछि एकदिन मैले आलोकजीलाई रोगकको प्रकृति र स्वाथ्योपचारको विषयमा सोधेँ । बुबालाई असध्यै रोग (क्यान्सर) लागेको र त्यो पनि अन्तिम चरणको भएकोले अव उपचार नलाग्ने र समय पनि धेरै बाँकी नरहेको बताउनु भयो । म छाँगाबाट खसेजस्तो भएँ । उहाँको इच्छा अनुसार काम गर्न दिने, जे गर्दा रमाइलो मान्नुहुनछ, त्यसको व्यवस्था गर्ने भन्ने सोच आलोकजीको रहेछ । साहित्यको एउटा विशाल धरोहर र हामीहरुको अभिभावक गुमाउनु पर्ने नियतिले हामीहरु सबै चिन्तित थियौं ।
यसैबीच गोकर्णेश्वर नगरपालिकाले साहित्यिक पुरस्कार र सम्मान अर्पण गर्ने कार्यक्रम आयोजना गर्यो । स्थानीय सरकारका तर्फबाट पहिलोपटक प्रदान गरिने सम्मान र रु १ लाखको पुरस्कारमा बरिष्ठ स्रष्टा विजय चालिसे र पालिका बाहिरका अर्का बरिष्ठ स्रष्टा डा.वासुदेव त्रिपाठी हुनुहुन्थ्यो । साथै उहाका विषयमा लेखिएका समालोचनाहरु समावेश भएको ‘द्रष्टा दृष्टिमा विजय चालिसे’ कृति पनि विमोचनको कार्यक्रम थियो, जसभित्र उहाको उत्तरवैदिक समयको विषयबस्तु समावेश भएको ‘युगसन्धि’ उपन्यास अर्को निवन्धसङ्ग्रह ‘सर्पदंसित मेरो जीवन’ को अर्को समालोचना पनि समावेश थिए । उक्त कार्यक्रममा विजय दाइको कृतिका विषयमा बोल्न मलाई तोकिएको थियो । विजय दाइ राम्रोसँग हिडडुल गर्न नसक्ने अवस्थामा पुगिसक्नु भएको रहेछ । उहाको चेहरा मलिन र निकै शरिर शिथिल देखिन्थ्यो । मञ्चमा विजय दाइ र म सँगै बसेका थिर्यौ । उहालाई उठ्न बस्न पर्दा म सघाउथेँ । केही मिनेटको अन्तरमा पानीले मुख भिजाउनु हुन्थ्यो, शायद त्यो पोषिलो पानी थियो । उहाँलाई डोर्याएर ल्याउदा आलोकजीले त्यो पानीको वोतल पनि साथै ल्याउनु भएको थियो । स्थानीय सरकारले रु १ लाख रकम सहित सम्मान, त्यो पनि पहिलो पटक दिन लाग्दा खुसी हुनुपर्ने तर उहाँले असजिलो महशुस गरिरहनु भएको थियो । खुसी हुन शरिरले दिइरहेको थिएन, उहा निकै कमजोर हुनुहुन्थ्यो । म बेलाबेलामा कुरा गर्थे । करिव दुईघण्टा ज िहामी सँगै मञ्चमा रह्यौं । कार्यक्रम सकिनासाथ आलाृचकजी र म भएर मञ्चबाट तलसम्म दाइलाई डो¥यायौं । आलोकजीले निवास लैजानु भो । उहाभन्दा उमेरमा पाका डा.बासुदेव त्रिपाठी र रोचक घिमिरे तन्दुरुस्त हुनुहुन्थ्यो, केही महिना अघिसम्म निकै सक्रिय विजाय दाइ भने मलिन र शक्तिहीन । उहाको अघिल्तिर आत्मवल बढाउने कुरा गरेपनि मनमा चिन्ता बढेको थियो । उहाँ निवास गएपछि पनि महेन्द्र चालिसे लगायत साथीहरुसंग उहाको स्वास्थ्यको विषयमा करा गयौं । हामी चिन्ता लिन बाहेक के गर्न सक्थ्र्यौ र ?
हामीहरु उहाँको स्वास्थ्य स्थितिबारे अपडेट लिइरहन्थ्यौं । प्रतिदिन उहालाई रोगले च्याप्दै लगेको थियो । गत बर्षको पोषण पाण्डे पुरस्कार हाम्रा दाजु बरिष्ठ कथाकार युवराज मैनालीलाई अर्पण गर्ने कार्यक्रममा विजय दाइ आउने हुनु भएछ । आरुबारीबाट काठमाडौंसम्म, उहाको स्वास्थ्य अवस्था, उहाको इच्छालाई परिवारले नरोक्ने विचार गरेछ । आलोकजीले कार्यक्रम स्थलसम्म ल्याउनु भएछ । उहको स्वास्थ्यस्थितिलाई ध्यानमा राखेर कार्यक्रम नै आयोजकले भुइतल्लामा राखेको रहेछ । त्यहा पनि बोल्ने क्रममा उहाँलाई असजिलो भएछ । मलाई त्यस कार्यक्रममा जाने इच्छा भएपनि हाम्री स्वर्गीय भाउजूहरुको नाममा स्थापित रमा–हरिप्रिया शैक्षिक पुरस्कार वितरण गर्ने अर्को कार्यक्रममा दाजु उमेश मैनालीसंग म कान्पुर, तिमालतिर गएको थिएँ । विजय दाइको भने सम्ववतः यो पोषण पाण्डे पुरस्कार वितरण कार्यक्रम नै अन्तिम साहित्यिक कार्यक्रम भएछ । त्यसपछि उहाँ अन्यत्र जान सकेको मलाई थाहा भएन ।
उहाँको स्वस्थ्य स्थिति निकै विग्रेपछि मेरा दाजु युवराज मैनाली र म उहाँको निवासमा गयौं । उहाँ अडेस लगाएर वरिपरि साहित्यकार र छोराछोरीलाई राखेर खुसीभावमा रमाएको हनुहुदो रहेछ । छोटो अवधि मात्र दाइसँग कुरा गरेर फर्कने विचारमा गएका हामी केही घण्टौ त्यही रह्यौं, उहाँको खुसीपन, साहित्य छलफल देखेर अचम्म लाग्यो । विमारी अवस्थामा पनि साहित्यकारहरुसँग छलफल गर्न पाउदा उहाँ खुसी हुनुहुँदो रहेछ । उहाका पिता रमेश विकल पनि अन्तिम अवस्थासम्म साहित्यकै कुरामा रहमाउनु भएको सुनेको थिएँ, विजय दाइबाट । दाइमा पनि साहित्यिक बंशाणु उस्तै रहेछ । हामीसंग रमेश विकल प्रतिष्ठान, सुरभि साहित्य प्रष्ठिान, त्यहाबाट वितरण हुने पुरस्कारका विषयमा कुरा गर्नुभयो । साहित्यका पुरस्कारहरु सही व्यक्तिले पाउन छाडेको प्रसंग उठाउनु भो । आफूमा अझै लेख्ने मन भएको तर स्वास्थ्यले गर्दा नसकेको कुराहरु गनुभो । त्यहाको कुराकानीका आधारमा विजय दाइले आफूबाट हरेस खाएको आभाष पाइन्थ्यो । आफूपछि साहित्यिक संस्साथको जिम्मेवारी सिर्जनाको लिगेसी आलोक चालिसेले लिइदिएहुन्थ्यो भन्ने उहाको चाशना थियो । त्यस दिन उहाको अर्को छोरा र छोरी पनि विदेशबाट आउनु भएको रहेछ । यसले पनि उहा अव धेरैदिन रहनु हुन्न कि भन्ने लाग्यो । त्यस बसाइमा भने उहाले हामीसँग धेरै लामो कुराकानी गर्नु भयो । उहाँको जीवनको बक्ररेखा संस्मरण पढेर बाल्यकालदेखिका कुराहरु त थाहा पाएको थिएँ, थाहा नपाएका कुराहरु पनि थाहा पाएँ । वास्तवमो उहाको जीवन एउटा बक्ररेखा जस्तै थियो । उहाका उकाली ओराली, चावहिलको पढाइ, बुबाको कडा अनुशासन, उहाको विवाहपछि भाइको पौडी खेल्ने क्रममा भएको निधनपछि उहाको जीवनसंगीलाई घरमा हेरिएको दृष्टिकोण, गोरखापत्रको जागीर, स्वदेश तथा विदेश यात्रा, साहित्य सिर्जना र पुरस्कार सम्मान बक्ररेखाले बताएको थियो ।
त्यसको दुईहप्ताजति पछि होला मलाई दाजुुले फोन गर्नुभो, विजय दाइले भौतिक शरिर डाडेर ब्रह्लीन हुनुभए जस्तो छ, आउ उता जाऔ । महेन्द्रजीलाई कल गरेँ, उहा वित्नु भएको पुष्टि भयो । दाजु, म र ठाकुर शर्मा भण्डारी गोकर्णेश्वर गएर फूलमाला सहित दाइको पार्थिव शरिरमा श्रद्धान्जली अर्पण ग¥यौं । पदाधिकारी सहति गोकर्णेश्वर नगरपालिकाको सम्मान टुकडीले अन्तिम शोक सलामी दियो । उहाँको चाहना अनुसार राजनैतिक दललाई झण्ड ओढाउन परिवारले असहमति जनायो । पहिला बामपन्थी दलसंग नजिक भएपनि पछिल्लो समयको गतिविधिबाट उहा वाक्क भएर राजनीतिदेखि असंलग्न हुनुभएको कुरा हामीसंग पनि पटक पटक भन्ने गर्नुहुन्थ्यो । नेकपा एमालेका नेता र मन्त्री रघुजी पन्त दाहसंसकारमा आउनु भएपनि दलका तर्फबाट श्रन्जलीको कार्यक्रम गर्न पाउनु भएन । उहा त्यसैले पार्टीको होइन, सबैको भएर जानु भयो ।
गोकर्ण र व्यक्तिगत रुपमा हाम्रा लागि एउटा विशाल छहारी दिने बृक्ष ढल्यो । हामीले साहित्यिक अभिभावक नै गुमायौं । उहाका कृति र छाडेर गएका यशस्वी कामले उहालाई हामी विस्मृतिमा पर्न दिदैनौ भन्ने प्रण ग¥यौं । अहिले पनि चावहिलबाट गोकर्णतिर लाग्दा उहाको ठूलो कदको आकृति मेरो अगिल्तिर आइहाल्छ । मेरो अवचेत मनले साहित्यिक कार्यक्रमहरुमा उहाँको व्यक्तित्वको खोजी समेत गरिरहेको हुन्छ । उहाले दिएको मायाका चिनोहरु र मेरो बिशृङ्खलित सपनाको भुमिका मसंग सुरक्षित छन् र दाइको संस्मरणलाई ताजा बनाइरहेका छन् । एउटा स्रष्टा बाच्ने भनेको उसको सिजनामा हो, पाठकको मनमा हो र उसलको व्यवहारमा हो । यी आधारबाट विजय चालिसे हामीसँग सँधै साथ छन्, पाठकहरुको मनमा सुरक्षित छन् ।

–मैनाली निवास, क्षितिज मार्ग,
शङ्खमूल, काठमाडौं ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend