एक दिन कार्यालयबाट फर्केर निवासमा चिया लिँदै थिएँ, एउटा फोन आयो अपरिचित नम्बरबाट । धेरै फोन, त्यसमा पनि नमिल्ने कामका लागि केही थ्रेटको कल पनि आएकाले कलर आइडी हेरेर फोन उठाउन थालेको थिएँ । कल उठाइन । तत्काल एउटा मेसेज टेक्स्ट आयो । ‘फोन त नउठा न, तँलाई के गर्छु’ । अलि डर लाग्यो । आफैले कल गरेँ, उताबाट फोन उठ्यो । उहाँ मलाई पद्योदयमा पढाउने सर हुनुहुँदो रहेछ । काम सोधेँ, केही पनि छैन, त्यत्तिकै तिम्रो हाल के छ भनेर फोन गरेको भन्ने जवाफ आयो । चालिस वर्षपछि उहाँको आवाज सुनेँ । काम केही रहेन छ । म भेट्न आउँछु भनेँ, उहाँले नआऊ भन्नु भो । लोकेशसन पनि भन्नु भएन । ‘तिमी कुर्सीमा कसरी बसेका रहेछौ, मलाई हेर्न मन छ, हेर्न आउँछु । म शिक्षक, तिमी सचिव, हिजो म तिम्रो अभिभावक आज तिमी हामी सबै शिक्षकको अभिभावक । तिम्रो कार्यकक्षमा कसरी बसेका छौ हेर्न आउँछु’ । एक छिन अचम्म परेँ ।
गुरुहरु सधैँ शिष्यको प्रगति चाहन्छन् । अनुशासित र जेहेन्दार विद्यार्थीलाई मन पराउने शिक्षकहरूको गुण हो । आमा बुबाले जसरी आफ्ना सन्तानले प्रगतिमा निस्वार्थ गौरव गर्दछन्, शिक्षक पनि आफ्ना विद्यार्थीको सफलता र प्रतिष्ठामा खुसी मान्ने गर्छन् । शिक्षक नै यस्तो व्यक्ति हो जसले आफ्ना विद्यार्थीले आफूलाई उछिनेकोमा गर्व गर्छ । विद्यार्थीको प्रगति शिक्षकको सफलता हो । असल शिक्षकले कहिल्यै पनि विद्यार्थीसँग प्रतिस्पर्धा गर्दैनन् । तर मैले प्रगति गरेको होइन, मात्र राष्ट्रसेवक बनेको थिएँ, सरले के सम्झनु भयो कुन्नि र मलाई कल गर्नु भएको ?
एक दिन सानुकाजी बज्राचार्य आफ्नी श्रीमती गुमपछिको सम्झनालाई शब्दमा उतारेको पाण्डुलिपि ‘सानु जीवन दर्पण’ लिएर मैले नै भूमिका लेखिदिनुपर्छ भनी अनुरोध गर्न आउनु भो । आफूले धेरै आदर गरेका व्यक्तिको पुस्तकमा भूमिका लेख्न शर्म पनि लाग्यो तर टार्न सकिन । उहाँले मैले नै भूमिका लेख्नुपर्छ भनी जिद्दी गर्नु भो ।
एक छिन उहाँको किताबको चर्चा गरौँ । आफ्नी धर्मपत्नी स्व.लक्ष्मी हीरा बज्राचार्यप्रति समर्पित ‘पुनर्मिलनको पुकार’ बाट शुरु भएको सानुकाजी बज्राचार्य सरको जीवन दर्पण उहाँको जीवनका सबै उकाली ओरली समष्टि हो । पुस्तक पढ्दा उहाँको बाल्यकालका लत–कुलतदेखि पेशाकर्म, खेलकुद, पारिवारिक समस्या, पेशा निवृत्त भएपछिका दिनचर्याको फ्ल्यासव्याकमा पुगिन्छ । अक्षरसँगै एकएक गरी दृश्यहरू आउँछन् । यो कृति सानुकाजी सरको जीवन अनुभूतिको संगालो हो । मलाई थाह छैन ती अनुभूतिलाई अक्षरहरूले पूरै उतार्न सके कि सकेनन् ।
पुस्तकले उहाँको जीवनमा विपन्नता, अभाव, हीनताबोधजन्य स्थिति रहेको कुरा उल्लेख गर्दछ । तर म उहाँको जीवनको सबै आयाममा परिचित छैन । एउटा विद्यार्थी आफ्नो शिक्षकका सबै पाटापटाक्षेपमा जानकारी राख्न चाहे पनि सक्दैन । मैले चिन्दा त्यो विपन्नता, अभाव र यदाकदा कुलतमा लागेको ‘सानुकाजी’ हट्टाकट्टा, हृष्टपुष्ट, कक्षामा चकडस्टर लिएर हामीहरूलाई शिक्षा दिने तर कडा स्वभावको ‘सानुकाजीसर’ को व्यक्तित्वमा पुगिसक्नु भएको थियो ।
उहाँ पद्योदय हाइस्कुलको लेखा शिक्षक, म पद्योदयको विद्यार्थी । चार दशक अगिको गुरु–शिष्यको सम्बन्ध हो हाम्रो । शान्त पहाडी प्रकृतिबाट भिडभाड र कोलाहलको काठमाडौँको पद्योदय हाइस्कुलमा कक्षा आठमा भर्ना भएदेखि सानुकाजी सरसँग मेरो चिनजान र सामीप्यता बढ्यो । पद्योदय त्यति वेलाको नाम चलेको विद्यालय, विद्यार्थी धेरै थिए, धेरैजसो पूर्वीभेगबाट काठमाडौँ पढ्न आउने पहाडी विद्यार्थी र केही हुनेखानेका छोराहरू, जो बोर्डिङ स्कुलबाट निकालिएका हुन्थे अनि केही काठमाडौँ शहरका मध्यपूर्वी भागका विद्यार्थीले पद्योदय हाइस्कुल खचाखच हुन्थ्यो । उत्कृष्ट नतिजा ल्याउने, खेलकुद, निबन्ध हाजिरी जवाफ लगायतका अतिरिक्त क्रियाकलापमा विजेता बन्ने र यदाकदा ग्याङफाइट लगायत हुल्लड काममा पनि पद्योदयले नाम कमाएको थियो । विद्यालयलाई पहिचानमा पुऱ्याउने काम शिक्षकहरूको हो । त्यतिखेर नाम चलेका शिक्षकहरू कृष्णबहादुर मानन्धर, झङ्कबाहुर श्रेष्ठ, निलरत्न, पुष्परत्न, नरेश गोपाल, प्रेमबहादुर कंसाकार, नरेन्द्र पौडेल, उपेन्द्र प्रेमी, विजायलक्ष्मी प्रधानाङ्ग, ईश्वरी खड्का, सूर्यमान मानन्धर, विजयलाल नरसिंह लगायतका सरहरुको बिचमा अलि ठुलो स्वर र प्रस्ट बोल्ने, परिश्रमीजस्तो देखिने, नमिलेको जिङ्गरिङ कपाल र पोसाकमा पनि त्यति ध्यान नदिने पहिचानमा सानुकाजी सर पर्नुहुन्थ्यो । अर्को विशेषता उहाँ खेलकुद शिक्षक पनि हुनहुन्थ्यो । हाफ टाइम वा कुनै लिजर समयमा विद्यार्थीलाई स्कुल अगिल्तिरको चौरमा फुटवल र भलिबलमा उफार्नु उहाँको अर्को काम हुन्थ्यो । भलिबल हान्दा कहिलेकाहीँ उफ्रेर नेटभन्दा माथि पुग्नु हुन्थ्यो । सर खेलकुदमा पारङ्गत देखिनुहुन्थ्यो, कुनै गोल हुँदा उफ्रेर कराउनु पनि हुन्थ्यो । भलिबल हान्दा वा शारीरिक खेलमा अंक पाएपछि कराउनु पर्छ भन्ने कुरा मैले त्यही बेलादेखि बुझेको हुँ ।
कक्षामा मेरो व्यावसायिक विषय लेखा र कार्यलय सञ्चालन । सानुकाजी सर लेखा पढाउनु हुन्थ्यो । मैले जानेको लेखा, लेखापालन, डेविट–क्रेडिट, लेजर, बुक किपिङ्मा उहाको योगदान छ । कक्षालाई निकै अनुशासनमा राखेर लेखाका सूत्र र सिद्धान्त पढाउनु हुन्थ्यो, गोश्वारा भौचर र सरकारी कारोवारमा आइरहने अन्य लेखा (मलेप) फारमहरु भर्न लगाउनु हुन्थ्यो । वासलात, सन्तुलन परीक्षण, नाफा नोक्सान लेखा, ¥हासकट्टी हिसाव र अनुपात विश्लेषण लगायतका कुराहरु कक्षामा अभ्यास गराउनु हुन्थ्यो । तिनै प्रकारका लेखाका डेविट–क्रेडिटको सिद्धान्त अहिले पनि कण्ठ छ । डेविट–क्रेडिट भन्ने वित्तिकै अंकभन्दा अघि सानुकाजी सरको आकृति मेरो अगिल्तिर आइपुग्छ । त्यही लेखाको जगमा पछि म नेपाल सरकारको आयव्ययको हिसाव राख्ने महालेखा नियन्त्रक बने र सरकारी लेखा प्रणाली शुरु भएको साठी बर्षपछि क्रियाकलापमा आधारित लेखा प्रणाली (सिगास) र सम्पत्ति लेखा प्रणाली (पाम्स), डिजिटल वालेट लगायत विद्युतीय भुक्तानीको प्रयोग लागू पनि गराए ।
सानुकाजी सर संधै उत्साहमा रहने, सिकाउन तत्पर रहने एक आदर्श शिक्षक हुनुहुन्थ्यो । आदर्श गुरुहरु शिष्यलाई आफूभन्दा अघि बढाउन, आफूभन्दा जान्ने बनाउन र आफूभन्दा बढी प्रगति भएको हेर्न चाहन्छन् । विद्यार्थीको सफलतामा आफ्नो प्रयास र ज्ञान रहेको सम्झन्छन् । यो गुण सानुकाजी सरमा मैले देखे । कृष्णबहादुर सर, झङ्क बहादुर सर आफ्ना विद्यार्थी प्रधानमन्त्री, मन्त्री, सचिव भएको प्रसंग उठाउदै खुसी हुने गर्नुहुन्थो ।
२०७३ सालमा म निर्वाचन आयोगको सचिव थिएँ, मुलुकले नयाँ संविधान पाएपछि संविधान कार्यान्वयनको पहिलो निर्वाचन गराउन अहोरात्र खटिरहेको थिएँ । मेरो निजी सचिव आएर स्लीपमा नाम देखाउदै कोही सानुकाजी नामको मानिस भेट्न आउनु भएको छ, पाँच मिनेट समय दिनु प¥यो, काम केही छैन भन्नु हुन्छ भन्नुभो । उहाँले मेरो निजी सचिवलाई सचिवको गुरु भन्नु भएको थिएन, त्यसो भन्नु भएको थियो भने उहालाई लिन म आफै बाहिर जानेथिएँ । त्यो मौका दिनु भएन, त्यो उहाको महानता थियो । उहा मेरो कार्यकक्षमा आउनु भयो । पहिला त ठम्याउन सकिन, चिनेपछि आदरभाव व्यक्त गरेँ । उहाँलाई आफ्नो विद्यार्थी मुलुकको प्रशासनिक नेतृत्वको कुर्सीमा बसेको हेर्ने इच्छा थियो शायद । यस्तै भाव नरेन्द्र सर र उपेन्द्र सरले पनि व्यक्त गर्नु भएथ्यो तर अहिलेसम्म भेट भएको छैन । म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिवमा रहँदा पनि सरले फोन गर्नु भयो तर भेट भएन । पछिल्लो पटक मेरो कार्यकक्षमा आएर ‘सानु जीवन दर्पण’ मा केही लेखिदिनु आग्रह गर्नुभो र केही दुखका घटना (कृतिको रचनागर्भ, उहाकी धर्मपत्नीको निधनको कथा) पनि सुनाउनु भो तर सजिलो गरी । मेरो आदर्श, संधै उत्साही र ज्ञान बाड्न दत्तचित्त हुने सरप्रति अक्षरमा सादर प्रणाम गर्ने अवसरबाट म गौरवान्वीत छु ।
एक दिन आफ्नो कितावको पनि विमोचन र केही विद्यार्थीलाई मायाको चिनो दिने कार्यक्रम राख्नु भएछ । कल गर्नु भो । हुन्छ त भने उही समय कर्मचारीहरुले सम्मानीय प्रधानमन्त्रीको हातबाट मलाई सम्मान गर्ने कार्यक्रम राखेका थिए । मैले एक घण्टा ढिला आउने अनुरोध गरेँँ, सरले स्वीकृति दिनुभो । प्रधानमन्त्रीको कार्यकक्षमा आफ्नै लागि सम्मान गर्ने कार्यक्रममा प्रवेश गरेपछि निस्कन भएन, मन भने सानुकाजी सरको घरमा छ । सम्माननीय प्रधानमन्त्री ढिला आउनु भो, आएपछि नेता कृष्ण सिटौला र अर्को नेता रामचन्द्र पौडेलले बोल्नु भो । रामचन्द्र पौडेलले मेरा विषयमा अलि लामो बोल्नु भो, बिशेषतः मेरा लेखहरुको विषयमा । उतापट्टि कार्यक्रम सकिइसक्यो भन्ने थाहा पाएँ । केही दिनपछि अर्को कार्यक्रममा साथी राम कपुरजीलाई लिन पठाउनु भएछ, गएँ । उहा भाव विभोर भएर मलाई चाँदीको तक्मा लगाइ दिनु भो । व्यक्तिले पनि तक्मा लगाइ दिन्छन् र ? भन्ने लाग्यो । केही भनीन, स्वीकारेँ ।
अर्को कार्यक्रममा प्रमुख अतिथिको रुपमा निम्ता गर्नु भो । पद्योदयका उहालाई मन पर्ने विद्यार्थीहरु पनि बोलाउनु भएको रहेछ । केही शब्द बोलेँ । सर आफ्ना भाषणहरुमा जहिले पनि आफू मृत्यु नजिक पुगेको, छिटै परमधाम पुगेर आफ्नी अद्र्धाङ्सगनीसँग मिलनमा पुग्ने कुरा गर्नुहुन्थो । बहकिनुहुन्थ्यो, हामी फकाउथ्यौं । उहामा कम्प्रोमाइज नगर्ने स्वभाव थियो ।
गत दशैंमा मलाई टिका लगाइ दिने मनशायले दक्षिणा समेत ठिक गरेर राख्नु भएको रहेछ तर मलाई त्यो कुरा थाहा थिएन । उहाँले फोनमा के भन्नु भाथ्यो, थाहा भएन । पछि एक दिन तिमी टिका लगाउन किन नआएको ? मलाई दिक्क लाग्यो भन्नु भो । मैले क्षमा मागेँ । फुर्सद मिलाएर आउ मात्र भन्नु भो । त्यसपछि केही दिनका लागि म जनकपुर, महोत्तरी तिर कामले गएको थिएँ, साथी राम कपुरले सर विचेत हुनुहुन्छ, सैनिक अस्पतालको वेडमा भेन्टिलेटरमा राखिएको छ भनेर खवर गर्नु भो । तीन दिनपछि काठमाडौं आएर अस्पताल गएँ । उहा कृतिम रुपमा मात्र जीवित हुनुहन्थ्यो, मलाई चिन्न सक्नु भएन । ईश्वरसँग प्रार्थना गरेर फर्किएँ । अरु साथीहरुलाई पनि खवर गरेँ, इच्छा भएका काठमार्डौमा उपलव्ध साथीहरु गए पनि ।
चार पाँच दिनपछि सर स्वर्गीय हुनु भएको खवर सुनेँ । उहाँले शरिर पनि धरानको विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानलाई दान दिनु भएको रहेछ । अन्तिम संस्कार पनि कुशको बनाएर गरियो । एउटा असल र भावुक शिक्षक सँधैका लागि हामीबाट विदा हुनुभो । तर एउटा कुराले मलाई कोक्याइरहको छ, दशैमा उहाले मलाई टिका लगाइदिने धोको पूरा गर्न सकिन ।
मनिसका जीवनमा असजिला र सजिला क्षणहरु आइनै रहन्छन् । कतिपयलाई भने जीवन सरल रुपमा जिउभन्दा पनि जीवनभरि नै दुख र विपत्तीले पछ्याइ रहन्छ । सानुकाजी सरको बाल्यकालदेखि पछिसम्मका भोगाइहरु सजिला थिएनन, तर यस्तै जटिलताबाट मानिस खारिने हो । जीवन भनेको धेरै अर्थमा संघर्ष हो । नियति स्वीकार्नु हो र त्यसैसंग अनुकूलित हुनु हो । कक्षाको पाठजस्तो जीवनका सिद्धान्त र सूत्रहरु हुँदैनन् । सानुकाजी सरले पनि जीवनमा अभाव, आवश्यकता, जटिलता र विपत्तीहरु भेग्नु भएको छ । यिनै असजिलाबीच परिपक्व रुपमा उभिएको शिक्षक, अभिभावक, खोलाडी, खेल प्रशिक्षक र समाज सुधारक हो सानुकाजी बज्राचार्य । उहाँबाट आत्माले स्वीकृति नदिएका कुरा भएका थिएनन्, त्यसैले उहाँको व्यक्तित्व निश्छल थियो, उहाको जीवन सफल भन्ने मलाई लाग्छ । एउटा शिक्षक वा व्यावहारिक मानिस कसरी बाँच्छ भन्ने खुला किताव पनि हो उहाको जीवन ।
उहाको सोच, शैली र चिन्तनमा राष्ट्रप्रेमले ओतप्रोत भेटिन्थ्यो । मुलुकमा देखिएका लगातारका घटनाक्रमले उहा सन्तुष्ट हुनुहुन्नथ्यो । यो सुन्दर देशलाई शान्त, सुन्दर र समुन्नत देख्न चाहने उहाँको मनोकामना पूरा भएन । त्यसैले निराश हुनुहुन्थ्यो र सोच्नुहुन्थ्यो जीवन अमूल्य भनेको त मृत्यु अमूल्य लाग्यो, मृत्यु आए सवै दुख र जटिलताबाट मुक्त हुनेथिएँ । एक विद्यार्थीका नाताले सरबाट व्यक्त निराशाका शव्दहरु जीवनप्रतिका विरक्त नभै जीवनलाई खुसी बनाउने चिन्ता हुन् भन्ने ठान्नुको विकल्प थिएन । एउटा असल शिक्षकले चिन्ता र चिन्तन गर्नु सामान्य कुरा थियो ।
अव स्मृति बन्नु भएका आरणीय सानुकाजी सरप्रति हार्दिक नमन गर्दछु र यीनै शव्दमार्फत भेटी चढाउछु । यसैलाई मैले यहाको हातबाट थापेको गत बर्षको दशैको टिका सम्झनु हुनेछ ।
मैनाली निवास
क्षितिज मार्ग, शंखमूल
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend