सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

परदेशी नेपालीको आवाज

परदेशी नेपालीको आवाज

39
Shares
39
Shares

आज संविधान दिवस हो ।
तर विदेशमा बसेको एउटा नेपालीको मनले
आज एउटा प्रश्न सोधिरहेको छ

हामी आफ्नै देशमा फर्केर
आफ्नै माटोमा कहिले रमाउन पाउनेछौँ?

हामी परदेशमा रहरले आएका होइनौँ,
बाध्यताले आएका हौँ।
आफ्नो घर छोड्यौँ,
आमा–बुवाको काख छोड्यौँ,
दाजुभाइ–दिदीबहिनीको माया छोड्यौँ,
आफ्नो गाउँको बाटो छोड्यौँ।

तर मन?
मन त आज पनि नेपालमै छ।

हामीलाई त्यस्तो संविधान चाहिएको छ,
जसले कागजमा अधिकार मात्र नलेखोस्
हाम्रो जीवनमा अधिकारको अनुभूति गराओस्।

नेपालमै रोजगारी होस्,
नेपालमै राम्रो शिक्षा होस्,
बिरामी पर्दा उपचार पाइयोस्,
र भविष्य खोज्न
छोराछोरीले विदेशको विमानस्थलमा लाइन बस्न नपरोस्।

हामीलाई त्यो दिन चाहिएको छ
जब परदेशको झोला बिसाएर
आफ्नै गाउँ फर्किन सकौँ।

बुवा–आमासँग बसेर हाँस्न सकौँ,
आफ्नै खोलामा पौडी खेल्न सकौँ,
आफ्नै डाँडा–काँडामा गीत गाउन सकौँ,
र गर्वका साथ भन्न सकौँ

“म आफ्नो देशमा छु।
म आफ्नै माटोमा छु।
यहीँ मेरो भविष्य छ।”

त्यही दिनको प्रतीक्षामा छौँ हामी,
संसारभर छरिएर बसेका नेपालीहरू।

त्यसैले आजको संविधान दिवसमा
हाम्रो शुभकामना केवल शुभकामना होइन

एउटा सपना हो।
एउटा पीडा हो।
एउटा प्रार्थना हो।

संविधान कागजमा मात्र होइन,
नेपालीको जीवनमा लागू होस्।
र चाँडै त्यो दिन आओस्
जब हामी परदेशी होइन,
आफ्नै देशका नागरिक भएर
आफ्नै माटोमा फर्किन पाऊँ।

सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा
संविधान दिवसको हार्दिक शुभकामना।

लेखक परिचय
शंकर भण्डारी हाल अमेरिकामा बसोबास गर्दै आउनुभएको छ। उहाँ राजनीतिक शास्त्रमा विद्यावारिधि अध्ययनरत हुनुहुन्छ। कविता, लेख तथा विभिन्न समसामयिक रचनाहरू विभिन्न पत्रपत्रिका तथा सञ्चारमाध्यममा प्रकाशित हुँदै आएका छन्।

  • प्रतिक्रिया दिनुहोस

    शंकर भण्डारी का अरू रचना

    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend