सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

नानीहरूको हाँसो गुञ्जिनेछ

नानीहरूको हाँसो गुञ्जिनेछ

19
Shares
19
Shares

आज भोटे कोशी मात्र उर्लेको छैन,
हाम्रा घर-आँगनहरु बगेका छन्,
हाम्रो सपनाहरू चुँडिएका छन्,
वर्षौँको पसिना हाम्रो
माटोसँगै मिलेका छन्।

हिजो जहाँ हाम्रो चुल्हो बल्थ्यो,
आज भग्नावशेषसम्म छैनन्,
जहाँ नानीहरूको हाँसो सुनिन्थ्यो,
आज हिलोका लेतोमात्र बग्छन्!
हामीले घर गुमायौँ,
हामीले खेत गुमायौँ ,
अझ त्योभन्दा पनि
आमा-बुबा, सिउँदोको सिन्दुर
र कलिला नानी गुमायौँ,
हामीले आफ्नो सम्पूर्ण संसार गुमायौँ ।

यसैले त यी आँसुहरू
निरन्तर बगिरहन्छन्।
प्रकृतिको प्रहार हो यो,
मानवताको परीक्षा हो यो,
अब कसैलाई दोष नदिऊँ,
दोष होइन, हात चाहिएको छ,
हामी सबैको साथ चाहिएको छ,
सहानुभूतिको शब्द मात्र होइन,
बाँच्ने आशा र भरोसा चाहिएको छ।

यसैले,
आँसु पुछ्ने हात बनौँ,
भोको पेटका लागि अन्न बनौँ,
भत्किएका घरका लागि
इँटा थप्ने आधार बनौँ।
किनकि,
बाढीले घर बगाउन सक्छ,
मानवता बगाउन सक्दैन ।

बाटो भत्काउन सक्छ,
हृदय भत्किन सक्दैन ।
र एक दिन,
यही हिलो माटोबाट
हरियो अंकुर उम्रनेछ,
भत्किएका घर-आँगन छेउमा
नानीहरूको हाँसो गुञ्जिनेछ।

  • प्रतिक्रिया दिनुहोस

    रमा दुलाल का अरू रचना

    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend