सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

नारीको जीवनमा स्वतन्त्रता कहिले ?

नारीको जीवनमा स्वतन्त्रता कहिले ?

16
Shares
16
Shares

फेसबुकको वाल हेर्ने क्रममा पार्वती शर्माजीले लेख्नु भएको शब्दहरू बिस्तारै पढ्दै जान्छु । एक-एक शब्दले मन छुन्छ । उहाँलाई नभेटेको धेरै भयो । केही वर्ष अगाडि अर्थ मन्त्रालयमा अन्तिम पटक भेटेकी थिएँ। हामीबिच भलाकुसारी भएको थियो । त्यो बेलामा उहाँ उपसचिव हुनुहुन्थ्यो। अहिले यो पढ्दै जाँदा उहाँ सहसचिव भएको केही वर्ष बितिसकेछ । बधाई दिन पाएकी थिइन । यही लेखमार्फत उहाँलाई बधाई पनि दिन्छु । उहाँले लेखेका फेसबुकका शब्दहरूले मभित्र उहाँको सम्झना बिउँझाइदिएको छ ।

केही वर्ष अगाडि महालेखा परीक्षकको कार्यालयमा पहिलो पटक उहाँलाई भेट्दा र आजको उहाँलाई पढ्दा धेरै कुराहरू मभित्र जन्मिरहेका छन् । एउटा चुलबुले पार्वती र आजको यो दार्शनिक पार्वती…, हामी नारीहरू कसरी आफूलाई परिमार्जन गर्दै लान्छौँ ? कसरी भौतिक संसारबाट आध्यात्मिक संसारमा पस्दै जान्छौँ। उहाँको यो लेखले हामीलाई प्रस्टै देखाउँछ ।

उहाँ लेख्नुहुन्छ –“हाम्रो जीवनको अमूल्य ऊर्जा अरूलाई बुझाउन, मनाउन र खुसी पार्न मात्र खर्च नगरौँ। जहाँ सम्मान छैन, त्यहाँ दूरी रोजौँ, जहाँ सुनिँदैन, त्यहाँ मौनता रोजौँ, जहाँ निरन्तर गलत बुझिन्छ, त्यहाँ हरेक पटक आफूलाई सही प्रमाणित गर्न नखोजौँ। हामी अरूको सोच, बोली, व्यवहार र निर्णय नियन्त्रण गर्न सक्दैनौ तर आफ्नो सीमा, दृष्टिकोण, प्रतिक्रिया, व्यवहार र जीवन जिउने कला र शैली छनौट गर्न सक्छौ। अरूलाई बदल्ने प्रयासभन्दा आफूलाई बदल्नु नै बुद्धिमानी हो। अरूको स्वीकृति खोज्नुभन्दा आत्म स्वीकृति नै महत्त्वपूर्ण हो र अझ स्वाभिमान झन् महत्त्वपूर्ण हो। जीवनको सुन्दरता सबैलाई बुझाउन सक्नुमा होइन, आफूलाई नहराई आफ्नो शान्ति, आत्मसम्मान र स्वतन्त्रतासहित बाँच्न सक्नु हो। त्यसैले त हरेक सम्बन्धलाई उत्कृष्ट बनाउन सकिँदैन, हरेक मन जित्न सकिँदैन, हरेक व्यक्तिलाई खुसी पार्न सकिँदैन, हरेक गलत बुझाइलाई स्पष्ट पार्दै हिँड्न पनि सकिँदैन तर आफू खुसी हुन सकिन्छ जुन आफैसँग र आफैभित्र छ। जय होस!!”
यो पढ्दै जाँदा मनमा धेरै भावहरू आउँछन्। साँच्चै नारीलाई केवल उमेरका अंकले मापन गर्न सकिँदैन।उनको जीवन त छोरी, बुहारी, श्रीमती, आमा, दिदी, बहिनी, महिला कर्मचारी जस्ता अनगिन्ती भूमिकाहरूको लामो यात्राको नाम हो।

उनले आफ्नो जीवनका धेरै वर्ष अरूका लागि समर्पित गरेकी हुन्छिन्।तर एउटा प्रश्न हामीले गम्भीरतापूर्वक सोच्नै पर्छ कि यी सबै भूमिकाभन्दा बाहिर एउटी नारी स्वयंका रूपमा कहिले बाँच्न पाउँछिन्? नारीको जीवनमा आत्म चेतना,स्वाभिमान र स्वतन्त्रताको नयाँ अध्याय सुरु हुने उमेर कुन हो त? आफ्नो जीवनको निर्णय आफैँले गर्ने समय कुन हो?

वर्षौँसम्म नारीलाई परिवारको केन्द्र भनियो, तर विडम्बना के छ भने केन्द्रमा बसेर पनि निर्णयको अधिकार सधैँ उनको हातमा रहेन।उनले घर सम्हालिन, सन्तान हुर्काइन, वृद्धहरूको सेवा गरिन्, श्रीमानको साथ दिइन्, सम्बन्धहरू जोगाइन् र आफ्नो करियर, रुचि वा सपनाहरू धेरै पटक पछाडि सारिन्।

उनको श्रमलाई “कर्तव्य” भनियो।उनको त्यागलाई “नारीको धर्म” भनियो।
उनको मौनतालाई “संस्कार” भनियो।अब समय आएको छ-यी परिभाषाहरूलाई पुनः लेख्ने।घर सम्हाल्नु उनको कर्तव्य मात्र होइन, श्रम हो।
सन्तान हुर्काउनु उनको स्वाभाविक जिम्मेवारी मात्र होइन, अमूल्य योगदान हो। आफ्नो लागि बाँच्नु कुनै अपराध होइन, जीवनको धर्म हो।

उमेरले धेरै कुरा सिकाएको हुन्छ। उमेर सँगसँगै अनुभवहरू हुन्छन्, भोगाइहरू हुन्छन्, दुखाइहरू हुन्छन्। पचास वर्ष पार गरिसकेपछि एउटी नारीले पहिलो पटक निडर भएर भन्न सक्नुपर्छ-“मेरो जीवनको बाँकी समयमा मेरो पनि बराबर अधिकार छ।”

नारीलाई सानैदेखि अरूलाई खुसी बनाउन सिकाइन्छ।धेरै नबोल, धेरै नहाँस, धेरै नखोज, धेरै प्रश्न नगर, परिवारका लागि सहु, सम्बन्धका लागि झुक,यस्ता असंख्य अदृश्य नियमले उनको व्यक्तित्वलाई आकार दिन्छ।

तर परिपक्व उमेरमा पुगेपछि नारीले बुझ्नुपर्छ कि सधैँ सहनु महानता होइन।आफूलाई हराएर सम्बन्ध जोगाउनु प्रेम होइन।
आफ्नो आवाज दबाउनु संस्कार होइन।

जहाँ आवश्यक छ, त्यहाँ “होइन” भन्न सक्नु पनि आत्मसम्मान हो।कसैलाई दुख नदिने प्रयास राम्रो हो, तर त्यस क्रममा आफूलाई नै निरन्तर दुखाइरहनु आवश्यक छैन।घर र कार्यालयमा बिताएका वर्षहरूलाई “के नै गरियो र?” भनेर सानो नठानौँ।खाना पकाउनु, घर सफा गर्नु, बिरामीको हेरचाह गर्नु, सन्तानको भविष्य निर्माण गर्नु, परिवारका भावनात्मक संकट सम्हाल्नु,यी सबै अदृश्य श्रम हुन्।

यसको अलावा पनि कार्यालयमा गएर पुरुष कर्मचारीको दाँजोमा एउटी नारीले सबै भूमिका निभाउँछे। पुरुष कर्मचारीको भन्दा बढी मेहनत, बढी लगनशील, बढी इमानदारी, बढी कर्मठ भएर उनले आफ्नो कर्तव्य पालना गर्छिन्।

धेरै नारीले आफ्नो जीवनको ठुलो हिस्सा बिना तलब, बिना बिदा र बिना प्रशंसा परिवारका लागि खर्च गरेकी पनि हुन्छिन्।त्यसैले पचास वर्षपछि आफ्नो योगदानलाई आफैँले सम्मान गर्नुपर्छ।
हामीले कमाएको पैसा मात्र सम्पत्ति होइन, हामीले निर्माण गरेको जीवन पनि सम्पत्ति हो।आफ्नो आम्दानी, आफ्नो बचत र आफ्नो आर्थिक निर्णयमाथि अधिकार हुनु नारी स्वतन्त्रताको महत्त्वपूर्ण पक्ष हो ।

पचास वर्षपछि शरीर बदलिन्छ। तर शरीरमा आएको परिवर्तनलाई लिएर लज्जित हुनुपर्ने कुनै कारण छैन।सेतो हुँदै गएको कपाल, अनुहारका रेखाहरू, बदलिएको शरीर-यी कमजोरी होइनन्।यी त बाँचेका वर्षहरूको हस्ताक्षर हुन्।

समाजले नारीलाई लामो समयसम्म जवान, सुन्दर र आकर्षक देखिनुपर्ने दबाब दियो। तर नारीको मूल्य उनको अनुहार, शरीर वा उमेरले निर्धारण गर्दैन।

आफ्नो शरीरलाई माया गर्नुपर्छ। स्वास्थ्यको ख्याल गर्नुपर्छ। आवश्यक स्वास्थ्य परीक्षण गराउनुपर्छ। व्यायाम गर्नुपर्छ। आराम गर्नुपर्छ।तर अरूलाई सुन्दर देखिनका लागि होइन,आफूलाई स्वस्थ, स्वतन्त्र र सहज महसुस गर्नका लागि हो।

श्रीमान्, छोराछोरी, परिवार साथीहरू र कार्यालय महत्वपूर्ण छन्। तर कुनै सम्बन्धले आफ्नो सम्पूर्ण अस्तित्वलाई विस्थापित गर्नु हुँदैन।नारी श्रीमती भएर पनि आफू हुन सक्छिन्।आमा भएर पनि सपना देख्न सक्छिन्।

हजुरआमा भएर पनि नयाँ कुरा सिक्न सक्छिन्। कार्यालयमा कुर्सीमा बसेर निर्णय पनि गर्न सक्छिन्। पचास वर्षको उमेरमा प्रेम गर्न, यात्रा गर्न, सिर्जना गर्न र नयाँ सुरुवात गर्न सक्छिन्।
नारीको जीवन कुनै एक सम्बन्धको उपशीर्षक होइन।उनी स्वयं एउटा पूर्ण कथा हुन्।त्यसैले प्रेम गर्नुपर्छ, तर आफ्नो अस्तित्व गुमाएर होइन।

हाम्रो समाजमा एउटा धारणा अझै बलियो छ-आमाको जीवन छोराछोरीका लागि हो।तर छोराछोरी हुर्किसकेपछि आमाको जीवन समाप्त हुँदैन।उनीहरूको आफ्नै संसार हुनु स्वाभाविक हो। आमाको पनि आफ्नै संसार हुनु त्यत्तिकै स्वाभाविक हो।

छोराछोरीलाई माया गर्नुपर्छ, तर उनीहरूको जीवनको प्रत्येक निर्णय आफ्नो काँधमा बोक्नु हुँदैन।उनीहरूलाई स्वतन्त्र बनाउनुपर्छ र आफू पनि स्वतन्त्र हुनुपर्छ।आमा हुनु एउटा महान् पहिचान हो,तर आमाको पहिचान मात्र भएर नारीको सम्पूर्ण जीवन पूरा हुँदैन।

एक्लै बस्नुपर्ने सम्भावनालाई डरका रूपमा मात्र नहेरौँ।एक्लै चिया पिउन सक्नुपर्छ।एक्लै किताब पढ्न सक्नुपर्छ।एक्लै चलचित्र हेर्न सक्नुपर्छ।
एक्लै यात्रा गर्न सक्नुपर्छ।आफ्नै निर्णयमा हिँड्न सक्नुपर्छ।किनकि आत्मनिर्भरता भनेको अरूको आवश्यकता नपर्नु होइन, अरूको उपस्थितिबिना पनि आफू अपूर्ण नठान्नु हो।आफ्नो आकाश आफैँ रोजौँ।

अब मन लागेको ठाउँमा यात्रा गरौँ। लुम्बिनीको शान्तिमा केही समय बिताऔँ। पोखराको तालमा आफूलाई प्रतिबिम्बित भएको हेरौँ। सौराहाको प्रकृतिसँग रमाऔँ। इलामका हरिया डाँडासँग संवाद गरौँ।
कहिलेकाहीँ एउटा राम्रो क्याफेमा बसेर आफ्नै लागि कफी मगाऔँ।किनभने,आफूलाई खुसी पार्न सधैँ कसैको निम्तो पर्खिरहनु पर्दैन।
जीवनका साना आनन्दहरूका लागि अनुमति मागिरहनु पर्दैन।पचासपछि प्रश्न बदलिनुपर्छ।

पहिले प्रश्न हुन्थ्यो-“परिवारले के चाहन्छ? समाजले के भन्ला? छोराछोरीलाई के ठिक होला? मान्छेहरूले के सोच्लान्?”
अब प्रश्न हुनुपर्छ-“म के चाहन्छु? मलाई के कुराले शान्ति दिन्छ? म आफ्नो बाँकी जीवन कसरी बाँच्न चाहन्छु?” यो स्वार्थ होइन।यो आत्म स्वीकृति हो।

आफ्नै नाममा लेखिएको पहिलो पचास वर्षसम्मको पानामा एउटी नारीले अरूका कथामा धेरै भूमिका निभाइन।अब आफ्नै कथा लेख्ने पालो हो।
अब उनी कसैकी श्रीमती मात्र होइन,कसैकी आमा मात्र होइन,कसैकी बुहारी मात्र पनि होइनन्। कार्यालयकी कर्मचारी मात्र होइनन्, उनी स्वयं उनी हुन। उनका आफ्नै सपना छन्।आफ्नै रुचि छन्।आफ्नै विचार छन्।आफ्नै आकाश छ।

त्यसैले पचास वर्षको उमेरमा जीवनलाई “अब के बाँकी छ र?” भनेर नहेरौँ।बरु सोधौँ-“अब के–के गर्न बाँकी छ?”सायद अझै एउटा किताब पढ्न बाँकी छ।एउटा यात्रा गर्न बाँकी छ।एउटा सपना पूरा गर्न बाँकी छ।

आफूलाई क्षमा गर्न बाँकी छ।आफ्नो आवाज निडर भएर बोल्न बाँकी छ।
र सबैभन्दा महत्वपूर्ण-आफूलाई आफ्नै आँखाले फेरि प्रेम गर्न बाँकी छ।

पचास वर्षपछि नारीको जीवन साँझ होइन।यो त्यो बिहान हो,जहाँ पहिलो पटक उनले अरूको बाटो होइन,आफ्नो बाटो रोज्न सक्छिन्।र सायद नारी स्वतन्त्रताको सबैभन्दा सुन्दर परिभाषा यही हो-“जिन्दगीले मलाई जे भूमिका दियो,ती सबै मैले निभाएँ,अब बाँकी जीवन म आफ्नै नाममा बाँच्नेछु।” किनकि नारीको जीवनको अन्तिम अध्याय त्यागको कथा भएर सकिनु हुँदैन। यो स्वतन्त्रता, आत्मसम्मान र आफ्नै उज्यालोमा बाँच्ने सबैभन्दा सुन्दर अध्याय बन्नु पर्छ।

पार्वतीजीको सानो लेख पढ्दै जाँदा, त्यसका शब्दहरूले मेरो मनभित्र लुकेर बसेका यस्ता अनेकौँ विचारहरूलाई बिस्तारै उजागर गरिदियो। कतिपय भावनाहरू मैले पनि आफैँभित्र लुकाएर राखेको रहेछु । तर आज उहाँको लेखले मलाई आफूभित्र हेर्न र आफूलाई खुलेर स्विकार्न सिकायो।किनकि साँचो स्वतन्त्रता अरूले दिएको उपहार होइन,आफैँभित्रबाट जन्मिएको एउटा सुन्दर सिर्जना हो।

  • प्रतिक्रिया दिनुहोस

    रमा दुलाल का अरू रचना

    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend