सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

हे भोटेकोशी

हे भोटेकोशी

29
Shares
29
Shares

हे भोटेकोशी,
एकछिन रोकिएर सुन न—
तिमी त जीवन दिने नदी थियौ,
तिम्रो निर्मल पानीमा
हामीले भविष्य देख्थ्यौँ,
तिम्रो कलकल आवाजमा
आशाको गीत सुन्थ्यौँ।

तर आज किन
त्यही आवाज चीत्कार बनेको छ?
किन तिम्रो किनारमा
हाँसो होइन, आँसु भेटिन्छ?
किन आमाहरू
आफ्ना सन्तान खोज्दै
टाढाटाढासम्म आँखा बिछ्याइरहेका छन्?

हे भोटेकोशी,
तिमीले पानी मात्र बगाएनौ,
कति घरका सपना बगायौ,
कति परिवारका खुसी बगायौ,
कति आमाबुबाको काख रित्तायौ।

कसैको घर रहेन,
कसैको सहारा रहेन,
कसैको प्रिय मान्छे हरायो।
कोही घाइते भएर
पीडासँग लडिरहेका छन्,
कोही अझै बेपत्ता छन्—
“फर्केर आउँछन् कि?” भन्दै
परिवारका आँखाहरू
बाटोतिर टोलाइरहेका छन्।

आज तिम्रो पानीमा
केवल पानी बगेको छैन,
कति परिवारका आँसु बगेका छन्,
कति अधुरा सपना बगेका छन्।
हरेक छालले मानौँ सोधिरहेको छ—
“मैले किन यति ठुलो पीडा दिएँ?”

हे भोटेकोशी,
तिमी त नेपालको सुन्दरता थियौ,
नेपाल आमाको मुहार फेर्ने
एउटा आशा थियौ।
तर आज तिम्रो किनारमा
नेपाल आमा नै रोइरहेकी छिन्।

जसले आफ्नो मान्छे गुमायो,
उसको पीडा शब्दले कहाँ बुझाउँछ र?
जसको घर उजाडियो,
उसको मन कसरी सम्झाउँछ र?
जसको प्रियजनको खबर छैन,
उसको प्रतीक्षाको पीडा
कसले बुझ्न सक्छ र?

त्यसैले हे भोटेकोशी,
अब शान्त भएर बग्नु है—
तिम्रो किनारमा फेरि
आँसु होइन,
बालबालिकाको हाँसो गुन्जिन देऊ।
उजाडिएका घरमा फेरि
दियो बल्न देऊ,
र नेपाल आमाको आँखाबाट
आँसु होइन—
खुसीका थोपा बग्न देऊ।

लेखक परिचय
शंकर भण्डारी हाल अमेरिकामा बसोबास गर्नुहुन्छ। उहाँ राजनीतिक शास्त्रमा विद्यावारिधिका विद्यार्थी हुनुहुन्छ। उहाँका कविता, लेख तथा विभिन्न साहित्यिक रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन्। सामाजिक विषयवस्तु, मानवीय संवेदना र समसामयिक घटनालाई आफ्ना रचनामार्फत अभिव्यक्त गर्नु उहाँको लेखनको विशेषता हो।

  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend