सबै मानिसका आफ्नै यात्रा र अनुभव हुन्छन् । सुख–दुख, संगत–समाज, अनुभव–अनुभूति, संवेग–आवेग, पीडा–प्राप्ति, संघर्ष–सफलताहरु आआफ्नै हुन्छन् । कसैले त्यसलाई अब्यिक्ति दिन्छन्, अक्षर, शब्द र स्वर चित्रहरुमा उतार्छन् । कसैले यी कुरा उतार्न पनि पाएका हुँदैनन्, चाहेका हुँदैनन् । कहिले त यसो गर्न अक्षरले अनुमति दिदैन, समयले सम्मति दिदैन । राम खत्रीले भने ती अनुभव–अनुभूतिलाई विस्मृतिमा पर्न दिएनन्, स्मृतिविम्बमा ल्याएर अक्षरमा कुदि दिए ‘जीवन एक: यात्रा अनेक’ मा । हो सबैले पाएको जीवन एउटै हो, धेरै यात्राले जीवनको महायात्रालाई पूर्ण बनाएको हुन्छ । अरुका यात्रा र जीवनका अनुभवले अर्को समय, पुस्ता र समाजलाई जोड्ने सेतुको काम गर्दछ । राम खत्रीका स्मरणहरु नलेखिन्जेल उहाँका थिए, अव हामी सबैका भए, अनन्त समयसम्मका लागि सम्झना ताजा गराउने आकृति भए ।
संस्मरणलेख भनेको विगतलाई अहिले सम्झिनु र सम्झानालाई सुरक्षित र ताजा बनाउनु हो । अनुभव, आत्मीयता र भावनात्मक सत्यलाई उजागर गर्नु स्मरणको उद्देश्य हो । स्मरणमा विशेष घटनाहरु समेटिएका हुन्छन्, आफ्नै कथाको क्रम हुन्छ, प्रथम पुरुषमा प्रस्तुुत गरिएको हुन्छ । घटनागतिविधिको शृङ्खला हुन्छन् । स्मरणकार घटना र पात्रहरुप्रति सावधान र इमान्दार हुन्छ । स्मरणकार संघर्ष र विजय (प्राप्ति) का कुरालाई सगौरव प्रस्तुत गर्दछ । राम खत्रीको जीवन एक: यात्रा अनेक यही शृङ्खलाको एउटा इट्टा हो ।
राम खत्रीको संस्मरणको शुरु उनकै बाल्यावस्थाबाट हुन्छ । कुनै पनि संस्मरणकारले आफ्नो स्मृतिको सबैभन्दा पहिला घटनाहरु, जसले उसलाई प्रभाव पारेको हुन्छ, त्यहीबाट शुरु गर्दछ । सम्झिन सक्ने समयसम्म पुग्छ । बाल्यावस्थाको आमाबुबाको माया, साथीहरुसँगको खेल, विद्यालयको पढाइ राम खत्रीका पनि स्मरणका प्रारम्भिक पाना हुन् । सस्मरणहरु त्यतिखेर लेखिदैनन्, स्मृतिलाई वर्तमानमा ल्याएर विचरण र विरेचन गरेर आनन्द लिइन्छ । राम खत्री यसको अपवाद होइनन्, त्यसै गरेका छन् ।
समय अनुसार मानिसको उमेर बदलिनु, जिम्मेवारी बदलिनु, स्वभाव र कर्म बदलिनु स्वाभाविक हो । राम खत्री स्मरणमा त्यसरी नै फेरिदै गएका छन् । तर समयले राम खत्री, समाज र समयलाई मात्र बदलेको छैन, प्रकृति र यसको परिचय पनि बदलिदिएको छ । जस्तो कि आज लुभु खोला भनिने सानो नदी उतिखेर श्रृङ्मती रहेछ । हिजो मनमा केही तुस राखेका आफन्त र साथीहरु आज अर्कै स्वरुपमा पुगेको छन् । हिजो लुभु, पाटन, कठमाडौं रहने राम खत्री आज न्यूयोर्क बसेर विश्वभरको यायावर बनेको छ । हिजोका बालसखाहरु कत्र्रव्यका पछिल्ला चरणमा छन् । सन्दर्भ, समय र कर्म फेरिएका छन् । संस्मरणका शुरुवाती दिन सम्झदा स्मरणकारलाई पनि अचम्म र आनन्द दिँदो हो ।
स्मरण साहित्य आफैमा इतिहास हो । खोला–खोल्सा, प्रकृति–परम्परा, आनवानी र समाज–शासनको इतिहासलाई थाहा नपाउने गरी स्मृतिविम्बमा उतार्न राम खत्री माहिर छन् भन्ने उनको यो पहिलो कृतिमा नै देखिएको छ । उनेको संस्मरण लुभु, सानेपा, पाटन, काठमाडौं र विस्तारै नेपालकै विकास संस्कृतिको नजानिदो अनुक्रमणिका पनि हो । संस्मरण मूलत अनुक्रमणिका नै हो, जसलाई कलाले सुन्दर बनाइएको हुन्छ तर कल्पनाको कथ्य हुँदैन ।
संस्मरण, आत्मकथा, नियात्रा जस्ता निबन्ध साहित्यका प्रविधाहरु आपसमा केही उस्तै र कतिपय फरक अवयवमा रहन्छन । ‘जीवन एक ः यात्रा अनेक’ संस्मरण साहित्य भएर पनि कहिले यात्राको अनुभूति गराउँछ त कहिले आत्मकथाको झल्को दिन पुग्छ । पढाइ र वृत्ति यात्रामा लुुभुबाट थालिएको यात्रा ल्हासा पुग्दै न्यूयोर्कतिर हानिन्छ र यात्रा साहित्यको झल्को दिन्छ । आफ्ना जीवनका आरोह–अवरोह आफैले बताएका छन्, त्यसैले आत्मकथा जस्तो हुने नै भयो । संस्मरण यस अर्थमा कि विगतका आफ्ना घटना अनुभूतिलाई वर्तमानमा विचरण गरेका छन् । यो समय यात्रा पनि हो ।
जीवनबाट दिक्दार हुने, अपनाइएको पेशावृत्तिमा असन्तोष राख्ने र अरुलाई आरोप गर्ने, ईष्र्या राख्ने काम राम खत्रीबाट भएको छैन । कतिपय संस्मरणकारहरु असन्तोष र आरोपका भाषा लेख्छन् । राम खत्रीका लागि पेशा, जागिर, संगत, साथी, भूगोल सबै नै सन्तोषका विषय हुन्, प्राप्तिका विषय हुन् । जे प्राप्ति छ, त्यसमा राम खत्री खुसी छन् । प्रायतः मानिसहरु प्राप्तिबाट खुसी हुँदैनन्, आकाङ्क्षाका उरुङमाथि उभिएर असन्तोष गर्दछन् । राम खत्री त्यसबाट विल्कुल असंलग्न छन् ।
संस्मरण, आत्मकथा वा नियात्रा साहित्यमा सर्जक आत्मरति र आत्मश्लाघाबाट निथ्रुक्क हुने प्रवृत्ति नेपाली साहित्यमा छ । सबैले आफ्ना यस्ता आलेखमा आफ्नै गौरवगाथा र भए नभएका कुराहरुको अपत्यारिलो शृङखला बुन्छन् । तर राम खत्रीले आफूप्रति अन्याय गरेका छैनन् । आफ्ना आनीवानी, साथीसँगको सम्बन्ध, विफलता, परिवारको कुरा र आफ्नै कमजोरीलाई नढाँटीकन प्रस्तुत गर्न इमान्दारिता उनीमा देखिन्छ । स्कुलमा विफलता पनि पाएका रहेछन्, सानोमा अलि लोभी पनि रहेछन्, स्कुलबाट फर्किदा केराउ, बकुल्ला चोरेर पनि खाएका रहेछन्, लोकसेवाको परीक्षामा अनुत्तिर्ण पनि भएका रहेछन्, अनुत्तिर्ण हुँदा अर्कोले विगारेको हो कि भन्ने पनि लागेछ, पैसाको अभाव पनि परेछ । जागिरको पछिल्लो समय अमेरिकातिरै बस्न होला, राजिनामा दिएछन् । यी सबै कुरा इमान्दार भएर उल्लेख गर्नु चानचुने कुरा होइन । संस्मरण लेख्ने मानिसहरु यस्ता कुरालाई अर्को रङ्गरोगनमा राखेर आफैलाई उचाल्ने गर्दछन् । अन्य पात्रहरुप्रति अन्याय गर्न पनि पछि पर्दैनन् ।
जीवनयात्राका सबै घटना स्मृतिमा आउँदैनन् । अनगिन्ती घटनागतिविधि दैनिकीका नियमित भाग मात्र हुन । त्यसभित्रका केही घटनाहरु मात्र खास हुन्छन् र स्मरणमा भरिन्छन् । राम खत्रीका बाल व्यवहारदेखि विद्यालय, विदेश, वृत्तिका खास घटनाले मात्र संस्मरणमा स्थान पाएका छन् । धेरै साथीसँग संगत गरेका छन्, मधुवन पौडेल, युवराज मैनाली, कृष्ण विष्टहरु मात्र सम्झिएका छन् । धेरै हाकिमहरु थिए, मन नपराउने तीनचार र माया गर्ने पाँच सातले पनि पटक पटक स्थान पाएका छन् । शम्भु गौतम, स्थानेश्वर देवकोटा, अर्जुनबहादुर सिंहहरुले मात्र स्थान पाएका छन् । धेरै ठाउ डुले पनि एक दर्जनजति स्थानले प्रभाव छाडेका छन् । तिनै उनको जीवनका टर्निङप्वाइन्ट थिए, त्यसको निरन्तरताको उर्जा थिए । सबै घटनाले स्मृति जगाउँदैनन्, केही खास भएर प्रभाव छाड्छन् । संस्मरणमा मुख्य पात्रका सहपात्र हुने थोरै मात्र हुन्छन् । राम खत्रीले आफ्नो संस्मरणमा त्यसै गरेर संस्मरणलाई प्रभावदायी बनाएका छन् ।
समाज ससानो स्वार्थ–लोभमा गुजल्टिएको छ । स्वार्थ र आग्रहले आफन्तहरु नै अन्यायमा पर्दै आएका छन् । समाज राम्रो मात्र कहा छ र ? यदि त्यसो मात्र हुन्थ्यो भने कथा–व्यथाहरु किन लेखिन्थे ? जस्तो कि राधा भाउजू र गोपीदाइको प्रसंगबाट त्यसलाई औल्याएका छन् । आफ्नै परिवार समाजबाट बहिस्कृत जस्तो भएर बस्नु पर्ने अवस्था देखिएको छ । आफूले श्रद्धा–आदर गरेका ठुलोबुबाबाट सम्पत्तिमाथि छलकपट हुन्छ । कार्यालयमा अवसर र स्वार्थका लागि उछिनापछिन छ । यस्ता प्रतिनिधि घटनाहरुले समाजलाई परिस्कृत हुन सन्देश दिन्छन् ।
राम खत्रीले आफ्नो संस्मरणमा काठमार्डौको काँठ संस्कृतिको निख्खर चित्र उतारेका छन् । काँठमा गरे खान पुग्छ, नगरे खान पाइदैन । गाउ–काँठ पसिनाले जीवन सिञ्चिने स्थान हो । शहरले काँठलाई सहजै स्वीकार्दैन, कठले शहरलाई सम्मान गर्दछ । काठका मानिसहरु शहरमै अवसरको खाजीमा जान्छन्, शहरबाट काठतिर आपूर्ति विस्तार हुन्छ । संस्मरणकार काँठबाट शहरमा डेरा गरेर डेढदशक बस्छन् । उपत्यकामा नेवारी संस्कृति छ । त्यही संस्कृतिभित्र जागिरे संस्कृतिको अर्को चित्र पनि छ । काठका मानिसका लागि जागिर अवसर र बाध्यता, पहिचान र दुखको संयोग हो भन्ने चोखो साछी राम खत्रीको संस्मरण हो । ललितपुरको डेरा, पाटनको केले केशर महल र कितावखानाको जागिर आआफ्नै व्यथा र अवसरमा मिश्रित छन् । संस्मरणको अर्को विषय स्थानीयताको मीठो माया हो । आफूले दुख संघर्ष गरेका सबै स्थान राम खत्रीलाई प्यारा छन्, किनकी ती नै जीवन संघर्ष सिकाउने सन्दर्भ थिए । त्यसैले तीसको दशकको डेराघर देखाउन पाँच दशकपछि संस्मरणकार आफ्नी धर्मपत्नीसाथ मंगलबजारमा जान्छन् ।
प्रायजसो संस्मरणहरु एउटा सिलसिलामा उनिन्छन् । घटना, यात्राका मीठा नमीठा, सजिला असजिला जेजस्ता गतिविधि, सहपात्र खलपात्र जे जस्ता कारक छन् एउटा सिलसिलामा आउनु संस्मरणको सामान्य धर्म हो । राम खत्रीको ‘जीवन एक यात्रा अनेक’ का घटनागतिविधिको प्रस्तुतिमा सँधै लय मिल्दैन । विद्यालयबाट कलेज पुग्छ, जागीरको निवृत्तिपछि एकैचोटी विद्यालयमा ओर्लिन्छ, पछिल्लोबाट पहिलेतिर पनि झर्छन् । घटना संस्मरणहरु दोहोरिएका छन् । किनकी ती शुरु दिनदेखिका दैनिकीमा टिपिएका थिएनन् । त्यसैले अहिलेबाट उहिलेलाई हेर्दा समय र घटनाहरु यताउता मिसिएका छन् । त्यसले छुट्टै षड्सर स्वाद दिएको छ ।
घर परिवारमा हुने इमान–वेइमान, ममता–अहम र निष्ठा र छलको चित्र पनि हो जीवन एक यात्रा अनेक । जग्गामा हुने जालझेल र न्यायका नौसिङले नेपालको जग्गा प्रशासन पहिलेदेखि नै सुशासित रहेन छ भन्ने देखिन्छ । ठुलोबुबाले आफ्ना बुबालाई गरेको छल परिवारका अर्थमा सामान्य छल मात्र होला तर सुशासनमा यो गम्भीर घटना हो । यसले समाज र शासकीय व्यवस्थालाई गहिरो प्रश्न उठाएको छ । राहदानी प्रशासनको अर्को घटना पनि देखाएका छन् । यी दुई घटनाले राज्य प्रशासनलाई चुनौती उदएको छ । खुसीको कुरा राहदानी प्रशासनमा धेरै सुधार आएको संस्मरणकारले देखाएका छन् । तर कर्मचारी पदस्थापन, अवसर वितरण, जग्गा प्रशासन र जनजीविकाका दैनिकीसँग गाँसिएका अनेकन कुरा सेवामा बदलिएका छैनन् । यस्ता प्रतिनिधि घटनाले शासन, समाज र संस्कृतिको सादा संकेत गरेको छ ।
राम खत्रीले अर्थतन्त्रको संरचनागत पक्षमा आएको बदलावलाई नजानिदो रुपमा संस्मरणमा देखाएका छन् । नेपालको अर्थतन्त्र विशेषतः उत्पादन व्यापारमा नेवारी समुदायको बर्चस्व थियो भने लगानीमा मारवाडी समुदायको । उत्पादन र आपूर्तिमा रहेको केवल दुई समुदायको पकडलाई राजाको मनाङबासीप्रति सहयोग गर्ने विशेष नीतिका कारण संरचनागत परिवर्तन आयो । त्यो नीति परिवर्तनलाई न्यायपूर्ण विस्तार नगरिएकाले अहिले पनि नेपालको अर्थतन्त्र साँघुरो र निश्चित घरानाको नियन्त्रणमा छ । कर्मचारी व्यवस्थापनमा एउटा नीति अर्को व्यवहारको ज्वलन्त उदाहरण परराष्ट मन्त्रालयको उदाहरणबाट देखाइएको छ । यसर्थ संस्मरणले यति धेरै नीति परिमार्जनका क्षेत्रहरु उद्घाटन गरेको छ कि ती सबै नेपाली शासनलाई सशुासनमा लैजान र नेपाली समाजलाई सुसांंस्कृत बनाउन आवश्यक छन् ।
संस्मरण पढ्दा सरल भाषा र छरितो संरचनाले सलल्ल बग्छ । राम खत्री जागिरको सिलसिलामा पेरिस, हङकङ, ल्हासा, छेङ्दू, सिगात्से, न्यूयोर्क यात्रा गरिहरको छन्, पाठक आफै यात्रा गरेबो महशूसमा हुन्छ । यतिखेर सर्जक संस्मरणकार भन्दा निबन्धकार बनेका छन् तर निबन्धको जस्तो बैचारिक उच्छाल र स्वेरकल्पना राख्न संस्मरणले अनुमति दिएको छैन । ल्हासामा रहँदा पटक पटक मुना मदनका मदनलाई सम्झेर देवकोटाका झ्याउरे श्लोकलाई उतारेका छन् । यसले उनको देशप्रेम र साहित्य अनरागलाई एकसाथ देखाएको छ ।
संस्मरण पढ्दा मलाई भने मेरै अनुभव र यात्रालाई पनि नवीकरण गर्न पुग्यो । उनले लेखेका देश विदेशका सबैजसो स्थानमा मेरो पनि लामो छोटो अनुभव रहेछ । उनले लिएका नामहरु धेरैजसोसँग मैले पनि संगत गरेको रहेछु । उनलाई अन्याय गर्नेमध्ये धेरैलाई मैले पनि व्यहोरेको रहेछु, झण्डै त्यस्तै अनुभव मसँग पनि रहेछ । उनी प्रभावित भएका व्यक्तिले ममाथि पनि प्रभाव छाडेका रहेछन् । यसले संस्मरणकार घटना र पात्रप्रति कति न्याय गर्दछन् भनेर विश्लेषण गर्न निकै सजिलो बनायो । साथै संस्मरणकारसँगको मेरो विचारआयतन (वेभलेन्थ) मिलेको रहेछ भन्ने आफैले सोच्न पुगें ।

संस्मरणलाई विवरणात्मक र अभिव्यञ्जनात्मक हन्छ । विवरणत्मकमा तथ्य र घटनाहरको बाहुल्यता हुन्छ भने अभिव्यञ्जनात्मकमा चाँहि भावना र अनुभूतिको बर्चस्व रहन्छ । राम खत्रीको जीजन एक: यात्रा अनेक पहिलो कोटीको संस्मरण हो जहाँ अनेकन घटना र तथ्यहरु र थोरै भावनाका कुराहरु छन् । यस प्रकारको संस्मरणले संस्मरणकार घटना र पात्रहरुलाई सजिलै न्याय गर्न पुग्छ । अनुभूति र आवेगका आयतन साँघुरो हुनेवित्तिकै तथ्य बाहिर जान सर्जकलाई छुट हुन्न । राम खत्रीको पहिलो सिर्जनामा यो विशेषता पाइनु परिपक्वताको पुष्टि पनि हो । यसले आउने दिनमा उनीबाट यसभन्दा पनि ओजनदार कृतिहरु पाउने संभावना देखाएका छ । नेपाली साहित्यको श्रीबृद्धिमा एउटा सुनौलो इट्टा थपिएकोमा राम खत्री बधाइका पात्र छन् । प्रशासन, साहित्य र समाज बुझ्न चाहने पुस्ताका लागि यो एउटा शिक्षा हो । संघर्ष गर्नेका लागि त प्रेरणा नै हो ।
मैनाली निवास, क्षितिज नगर,
शङखमूल ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend