बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 30, 2026 Thursday

निराश शहरमा चेतनाको उदय हुन्-ग्याड्सबी

निराश शहरमा चेतनाको उदय हुन्-ग्याड्सबी

190
Shares
190
Shares

लेख

आज शनिवारको दिन। हुन त प्रत्येक दिन नै नयाँ दिन हो। जीवनले केही न केही प्रत्येक दिनले सिकाउँछ,केही मेटाउँछ पनि ।जीवनको चक्र हो-यो। यो शनिवार पनि एउटा नयाँ शनिवार बनेर उदाएको छ । अघि-पछी भन्दा आज विशेष फुर्सदको दिन । अझ भनु आज आफ्नो दिन।यही आफ्नो भित्र मैले १० वटा मन पर्ने शीर्षकमा प्रश्न बनाउनु पर्ने दिन।

कुनै बेला लोकसेवा आयोगको परीक्षा तयारी गर्नु पर्दा कता-कता दिन पढेकी थिए-अङ्ग्रेजीमा “इ” अक्षर बिना एउटा उपन्यास लेखिएको छ। जसको नाम हो- “ग्याड्सबी”। झलक्क सम्झे। ग्याड्सबीको सेरोफेरोमा प्रश्न बनाए। तर त्यो किताब मैले पढेकी थिइन। त्यो किताबभित्र के थियो ? केको लागि त्यो किताब लेखिएको थियो ? मलाई थाहा थिएन । जान्ने जिज्ञासा भयो।

सोचे, खोज्नु नै त जीवन हो । खोजे पछि त पाइन्छ। पाए पछि अनुभूति हुन्छ ।अनुभूति नै त जीवनको लक्ष्य हो। विज्ञानको चमत्कार! खोजेपछि के पाइँदैन र..? एक सय पाँच पानाको यो किताब धेरै अद्भुत छ। जति पढ्यो उति पढ्न मन लागिरहने। किताब पढ्दै गए ।

त्यही किताबको एउटा सानो झिल्को यहाँ म प्रस्तुत गर्दै छु।

अर्नेस्ट भिन्सेन्ट राइट एक अमेरिकी लेखक हुन।उनी विशेष गरी आफ्नो “ग्याड्सबी” नामक उपन्यासका लागि प्रसिद्ध छन्, जसमा अंग्रेजीको सबैभन्दा धेरै प्रयोग हुने अक्षर “इ” बिना नै पूर्ण कथा लेखिएको छ। यसलाई “लिपोग्राम” लेखन शैली भन्छन्, जहाँ कुनै निश्चित अक्षर वा शब्दहरूलाई जानाजानी प्रयोग नगर्ने नियम हुन्छ। जुन अंग्रेजीमा असाधारण उपलब्धि मानिन्छ।

यो उपन्यास ५०,००० भन्दा बढी शब्दहरूबाट बनेको छ। यो कथाले जोन ग्याड्सबी नामक पात्रको माध्यमबाट युवा शक्ति, नेतृत्व, एकता र चेतनाको जागरणको सन्देश दिन्छ । अर्नेस्ट भिन्सेन्टको जन्म सन १८७२ मा भएका थियो भने निधन सन १९३९ मा भएको थियो।

उपन्यास मुख्यतः जोन ग्याड्सबी पात्रका वरिपरि घुम्छ। जहाँ उनको सानो काल्पनिक शहर ब्रान्टन हिल्स बिग्रँदै गएको छ। उनले स्थानीय युवाहरूसँग मिलेर त्यो शहरलाई फेरि जीवन्त, ऊर्जा र प्रगतिशील बनाउने प्रयास गर्छन्।

यो उपन्यास धेरैलाई थाहा थिएन, तर पछि यसले साहित्यिक चर्चा पायो।

पुस्तकमा कुनै पनि शब्दमा ‘इ’ अक्षर छैन। लेखकले यसको लागि आफ्नो टाइपराइटरको ‘इ’ कुञ्जी थिचेर भित्र पसाएका थिए। ताकि त्यो अक्षर गल्तीले पनि प्रयोग गर्न नसकियोस्।

यसले लेखनलाई अत्यन्त चुनौतीपूर्ण बनायो, किनभने धेरै साधारण शब्द जस्तै “The”, “He”, “She”, “Were”, “Have”, “There” आदि शब्द त्यो उपन्यासमा प्रयोग नै गरिएको छैन।

यो उपन्यास सन १९३९ मा विटजेल पब्लिसिङ कम्पनीले प्रकाशित गर्‍यो।प्रकाशनका बेलामा धेरैले ध्यान दिएनन् र यसले धेरै चर्चा पाएन। पछि सीमाबद्ध लेखन मन पराउने पाठकहरू र संग्रहकर्ताहरू माझ यसलाई निकै रुचाइयो र यो एउटा दुर्लभ र संग्रहयोग्य पुस्तक बन्यो।

लिपोग्राम शैलीले लेखकलाई भाषा र शब्द चयनमा निकै कल्पनाशील बनाइदिन्छ तर पढ्दा कहिलेकाहीँ शब्द चयन अलिक अनौठो जस्तो लाग्न सक्छ।भाषा अलि असामान्य लाग्छ। लेखकले घुमाएर कुरा भन्नुपर्छ। साधारण शब्द नपाउँदा नयाँ शब्द संरचना गरेको देखिन्छ। यो एउटा चुनौतीपूर्ण शैली हो, जहाँ लेखकले जानाजानी एक वा बढी अक्षरहरू प्रयोग नगर्ने प्रयास गर्छन्।

फ्रान्सेली लेखक जोर्ज पेरिकले पनि सन १९६९ मा “ल डिस्परिसन” भन्ने उपन्यास लेखे। यसमा पनि ‘इ’ अक्षर छैन।ग्याड्सबी उपन्यासबाट प्रभावित भएर उनले यो लेखेको मानिन्छ।

ग्याड्सबी उपन्यास भाषाको प्रयोगको कारणले यसलाई अनौठो कृतिको रुपमा लिइन्छ।यो उपन्यास विश्व साहित्यमा एक चर्चित उदाहरण बनेको छ, जसले पाठक र लेखक दुवैलाई भाषा र सिर्जनात्मक सीमाबारे सोच्न प्रोत्साहित गर्छ।

पाठकलाई “अहो! “इ” बिना पनि यस्तो कथा?” भन्ने अचम्म लाग्न सक्छ।तर यसले भाषा केवल अभिव्यक्ति मात्र होइन, साधना पनि हो भन्ने देखाउँछ।किनकि यसले धैर्य, अनुशासन र सृजनशीलताको उदाहरण पेस गरेको छ।

आध्यात्मिक दृष्टिले हेर्दा जसरी “ग्याड्सबी” ले एक अक्षर त्यागेर पनि कथाले पूर्णता पायो,त्यसरी नै जीवनमा एक आशक्ति त्याग्दा गहिरो स्वतन्त्रता जन्मिन्छ, बाँच्नुको साँचो आनन्द भेटिन्छ भन्ने बोध गराउँछ

ग्याड्सबी” उपन्यासको कथा जोन ग्याड्सबी नामका एक वृद्ध तर दूरदर्शी व्यक्तिको वरिपरि घुम्छ। उनी अमेरिकाको एउटा सानो, काल्पनिक शहर ब्रान्टन हिल्समा बस्छन्।यो शहर पहिले समृद्ध थियो, राम्रो थियो। तर समय बित्दै जाँदा उद्योग र व्यवसाय सुस्त हुन्छन्, युवाहरू निष्क्रिय र दिशाहीन हुन्छन्, नेतृत्व कमजोर हुन्छ । सहरको विकास रोकिन्छ।नागरिकहरूमा आशा र उत्साह हराउँदै गएको छ। उनीहरूमा उद्देश्यको अभाव छ।

शहर जडता र निराशा मा फस्दै गएको हुन्छ।

तर,जोन ग्याड्सबी उमेरले वृद्ध भए पनि आत्मबल र चेतनाले जवान छन् । शहरको भविष्यप्रति चिन्तित छन्। उनी विश्वास गर्छन् कि युवा शक्ति नै परिवर्तनको मूल आधार हो।त्यसैले उनी युवाहरूलाई एकताबद्ध गर्न अगाडि बढ्छन्।

ग्याड्सबीको पहलमा युवाहरू मिलेर समूह बनाउँछन्। शिक्षा, खेल, कला र सामाजिक सेवामा सक्रिय हुन्छन् ।नेतृत्वको विकास हुन्छ। शहरमा नयाँ ऊर्जा र आशा फैलिन थाल्छ।युवाहरूले आफैँ जिम्मेवारी लिन थालेपछि शहरको रूप परिवर्तन हुन थाल्छ।

समयसँगै शहरको प्रशासन सुध्रिन्छ । नागरिकमा गर्व र आत्मविश्वास आउँछ ।नयाँ योजना र संरचना बन्छ । ब्रान्टन हिल्स फेरि उन्नत, सक्रिय र प्रेरणादायी शहर बन्छ।यो परिवर्तन कुनै चमत्कारबाट होइन, सामूहिक चेतना, अनुशासन र सकारात्मक सोचबाट सम्भव हुन्छ।

ग्याड्सबी” बाट “हामीले सानो पहलले ठुलो परिवर्तन सम्भव छ,युवालाई सही दिशा दिन सकियो भने समाज बदलिन्छ, नेतृत्व उमेरले होइन, दृष्टिले मापन हुन्छ, सीमाभित्र रहेर पनि सृजनशीलता फुल्न सक्छ” भनेर सिक्न सक्छौँ ।

यो कथाले जीवनको गहिरो अर्थ प्रस्ट्याउँछ। लेखकले अङ्ग्रेजीमा नभै नहुने स्वर(Vowel) ए. इ. आइ. ओ. यु. मध्ये एउटा अत्यन्त आवश्यक अक्षर ‘इ’ प्रयोग नगरी पूर्ण तथा अर्थपूर्ण कथा लेखे, त्यसरी नै जीवनमा पनि केही आशक्ति, अहङ्कार वा डर छोड्दा जीवन अझ सरल, स्वतन्त्र र पूर्ण बन्छ।

यो ग्याड्सबी कथाले सामान्य मानिसले पनि असाधारण परिवर्तन गर्न सक्छ भन्ने नैतिक शिक्षा दिएको छ। जोन ग्याड्सबी कुनै शक्तिशाली पात्र होइनन्, तर दृढ इच्छाशक्ति र दुर-दृष्टिले उनले पूरा शहर बदल्छन्।युवा शक्ति नै समाज परिवर्तनको आधार हो। सही मार्गदर्शन पाए युवाहरू निष्क्रिय होइन, परिवर्तनका वाहक बन्छन्। यो कथाले- एकताले जडता तोड्छ , फुट्दा कमजोर र मिल्दा समाज बलियो हुन्छ भन्ने मिठो सन्देश पनि दिएको छ।

त्यस्तै सीमाभित्र पनि सृजनशीलता फुल्छ। ‘इ’ बिना लेखिएको कथा जस्तै सीमाले सिर्जनालाई रोक्दैन, झन् धार दिन्छ भन्ने पाठ सिकाएको छ।

आज हामी पदको लागि लडिरहेका छौँ। तर नेतृत्व पदको लागि होइन जिम्मेवारीको लागि हुनु पर्ने हो। तर जिम्मेवारी पन्छ्याउँदै पदको लागि लडिरहेका छौँ । तर यो कथाले नेतृत्व पद होइन, जिम्मेवारी हो,नेतृत्व भाषणमा होइन, कर्म र उदाहरणमा देखिनुपर्छ भन्ने तितो सत्यलाई उजागर गरेको छ।

आशा र सकारात्मक सोचले भविष्य बनाउँछ। निराश शहर पनि चेतनाले उज्यालो बन्न सक्छ। किनभने एउटा बुढो पात्रले पनि निराश भइसकेको शहरलाई चेतनाको उज्यालो दिएका छन् ।

“ग्याड्सबी” ले सबैभन्दा आवश्यक ‘इ’ अक्षर त्यागेर पनि पूर्ण कथा रचे। त्याग नै पूर्णताको मार्ग हो भन्ने सन्देश पनि दिन्छ।किनकि जीवनमा पनि आशक्ति, अहङ्कार र अपेक्षा त्याग्दा आत्मिक पूर्णता प्रकट हुन्छ।

अक्षरको अभावले लेखकको चेतना झन् जागृत बनाएको छ। यसैले, सीमा बाधा होइन, साधना हो।जीवनका सीमाहरू पनि सही दृष्टिले आत्म विकासका साधन बन्छन्।

शहर परिवर्तन हुनु अघि चेतना बदलिन्छ । यही अध्यात्मको मूल सूत्र हो। किनकि परिवर्तन बाहिर होइन, भित्रबाट सुरु हुन्छ ।

व्यक्तिहरू अलग हुँदा अहँ बलियो हुन्छ,मिल्दा चेतना विस्तार हुन्छ। अतः एकताको अनुभूति नै आत्मिक जागरण हो।

कथामा ग्याड्सबी कम बोल्छन्, कर्म धेरै गर्छन् । यही निष्काम कर्मको मार्ग हो। कर्मयोगको सन्देश हो ।

जोन ग्याड्सबी उमेरले बुढा हुन्।तर सोच, चेतना र दृष्टिले अत्यन्त जागरूक छन्। उनी राजनीतिज्ञ पनि होइनन्, न कुनै शक्तिशाली पदमा छन् ।तर उनीसँग समाज बदल्न सकिन्छ भन्ने दृढ विश्वास छ ।

ग्याड्सबीलाई थाहा छ कि शहरको पतनको मूलकारण युवाहरूको निष्क्रियता हो । युवामा शक्ति छ, तर दिशा छैन । नेतृत्व केवल पदधारीहरूमा सीमित छ ।त्यसैले उनी निष्कर्ष निकाल्छन् कि“यदि युवाहरू जागे, शहर आफैँ उठ्छ।”

युवाहरूलाई जागृत गर्ने प्रयास गर्छन् ।ग्याड्सबी युवाहरूसँग संवाद सुरु गर्छन्। उनीहरूलाई आफ्नो शहरप्रति गर्व गर्न सिकाउँछन् । जिम्मेवारी बोध गराउँछन् ।सानो कामबाट ठुलो परिवर्तन सम्भव छ भन्ने बुझाउँछन्।यसै क्रममा युवाहरू मिलेर एक क्लब गठन गर्छन्।यो क्लबले शिक्षा, खेलकुद, सांस्कृतिक कार्यक्रम, सार्वजनिक स्थानहरूको सरसफाइ, नेतृत्व,चरित्र विकास, र सामाजिक सेवामा सहभागिता जस्ता विभिन्न क्षेत्रमा काम गर्न थाल्छ।युवाहरू अब केवल दर्शक होइनन्,सक्रिय सहभागी बन्छन्।

शहरमा परिवर्तनको लहर आउँछ । नयाँ ऊर्जा देखिन थाल्छ। प्रशासनमा सुधार आउँछ । नागरिकमा आत्मसम्मान बढ्छ। नयाँ योजना र विकासका काम सुरु हुन्छन् । शहर पुनः जीवित, सचेत र प्रगतिशील बन्छ।

तर पनि ग्याड्सबी कहिल्यै अगाडि देखिँदैनन्।भाषणभन्दा कर्मलाई प्राथमिकता दिन्छन् ।श्रेय आफैँ लिँदैनन्।उनको नेतृत्व मौन, सरल र प्रभावकारी छ।

कथाको अन्त्यमा ब्रान्टन हिल्स एउटा आदर्श शहरको उदाहरण बन्छ । युवाहरू नेतृत्वमा स्थापित हुन्छन् ।समाजमा आशा र उद्देश्य फर्किन्छ

ग्याड्सबीको सपना साकार हुन्छ।

यो कथाले “समाज परिवर्तन बाहिरबाट होइन, चेतनाबाट सुरु हुन्छ,सही दिशा पाए युवा शक्ति चमत्कार गर्न सक्छ, नेतृत्व पद होइन, दायित्व र दृष्टि हो तथा सीमाभित्र पनि पूर्णता सम्भव छ भन्ने गहिरो सन्देश बोकेको छ ।

यो कथा केवल शहर बदलिने कथा मात्र होइन,मानव चेतना उठाउने एउटा शिक्षा पनि हो।

  • प्रतिक्रिया दिनुहोस

    रमा दुलाल का अरू रचना

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend