नारा जुलुस सडकमा थियो दिनैभरि
कतिपय यादहरू आउँछ घरीघरी।
राता थिए सडक पेटी रातै थियो खोला
आँखाभरि आँसु भयो मुटुभरि गोला।
थाहा छैन कता जान्छ राजनीति मियो
अँध्यारो छ सबै घर निभेको छ दियो।
स्कुलको पोसाक माथि गोली चलाउने
कता भागे संरचना ध्वस्त बनाउने।
राष्ट्रलाई जोगाउने आर्मीको नि पारा
बल्ल चिने जनताले रोएका छन् सारा।
धेरैजसो बाबाहरू विदेशतिर गए
ठुलो सोच मरिसके पलायन भए।
विदेशमा बाबा रुनी घरमा आमा रुनी
भन्ने गर्थ्यो सधैँ छोरो म मात्रै त छुनी।
छोराछोरी गुमाएर एक्लै हुनुपर्यो
लोकतन्त्रको नाममा आज व्यापार गर्नुपर्यो।
आमाभन्दा प्यारो मान्थे आफ्नो देशलाई
जोगाउँछौँ संस्कृति र भाषा भेषलाई।
भनेकाथ्यौ छोरा तिमी नयाँ युग फेर्छौ
मर्नै परे मर्छौ आमा इतिहास कोर्छौं।
पिर नगरी बस बाबु आकाशबाट हेरी
भताभुङ्ग भएको छ देश आज फेरि।
दिलोज्यानले लागौँ अब सबै जुटाउन
चारैतिर विकासका मुल फुटाउन।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend