जागौँ अब दिदीबहिनी बोल्नुपर्छ साथीले
उठाउनु पर्छ आवाज नारी जातिले ।
आफ्नो खुट्टा उभिनु है भनेर नै सिकाए
अघि बढ्नुपर्छ भनी बाटो देखाए ।
झिलिमिली पार्नुपर्छ घर टोल छिमेक
तिमी अघि बढ्नुपर्छ पुर्याऊ विवेक
सम्झाउँदै भन्थ्यौ आमा हुन्न छल ढाँटले
आफैँ केही गरी खानु पर्छ आँटले ।
मेरो मन मुटु मैले कर्म घर सारेर
बसेको छु बिहे पछि माया मारेर ।
घरको धन्दा छिन्नै पर्छ छिटो छिटो गरेर
छोराछोरी हाँस्ने गर्छन् घर भरेर ।
घर नजिकै बगैँचाथ्यो लटरम्म फलेको
अँध्यारोमा चारैतिर बत्ती बलेको ।
नाँच्नसके दुनियाँले ताली लाउँछ परर
नसकेमा झर्ने गर्छन् आँसु बरर ।
देखाउनु छ खुबी मैले धर्ती माता झैँ गरी
नजानेमा पोखिनेछ फेरि भुईँभरि ।
हिँड्ने गर्छु अचेल आमा सहकारी भेलामा
साथी सङ्गी भएर नै बेला बेलामा ।
बाँडीचुडी खानुपर्छ हिँड्नुपर्छ समाजमा
काम गरी देखाउनुछ भन्ने आवाजमा।
धेरै थरी जनजाति भेषभुषा भए’नि
सबै सँगै हुने गर्छौँ जता गए’नि ।
वरिपरि सफा सुग्घर बनाउँछौँ हाम्रो टोल
सधैँ यस्तै भइदियोस् आनन्दको गोल ।
अघि बढ्दा तगारो नआओस् है कसैको
उज्ज्वल बनोस् भविष्य हामी सबैको ।
पोखरा-८, सिमलचौर
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend