सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

सुप्रभातको सुनौलो किरणसँगै

सुप्रभातको सुनौलो किरणसँगै

187
Shares
187
Shares

हरेक आँगनमा
मंगलध्वनि बगिरहोस्—
भगवानका गीतहरू
हृदय–हृदयमा गुन्जिरहुन्।

तर विडम्बना…
ती पवित्र स्वरहरू
चार दिवारका निस्पन्द पत्थरमै ठोक्किन्छन्,
पत्थर त मानौँ जागेका छन्—

तर यो चेतन काया
अझै निद्रामै अल्झिएको छ।
कहिले खुल्ने हो
यो अन्तरको आँखा?

कहिले चिरिने हो
यो मोहको बाक्लो बादल?
भव–सागरका पुराना संस्कारहरूबाट
कहिले उड्ने हो

यो आत्मा स्वच्छ आकाशतिर?
समय त छ—
असीम, अविरल…
तर एक क्षण

आफ्नै श्वासको स्पन्दन सुन्न
फुर्सद किन मिल्दैन?
जब समय हातमा हुन्छ,
हामी अल्झन्छौँ तुच्छतामा;

जब समयले कठोर पाठ सिकाउँछ,
मन फेरि पनि अटेर गर्छ।
जीवनका उकालो–ओरालोमा
कामनाका जन्जालले बाँधिएका छौँ,

व्यापार र मोहका तरंगले
मन डगमगाइरहेछ।
उद्धच्च र कुक्कुच्चको भुमरीमा
यो जीवन
नाचिरहेको छ—
अस्थिर, अधैर्य, अशान्त।

अब…
विचिकिच्छाको अँध्यारो छोडेर
विश्वासको उज्यालो बाटो समाऔँ।
यो सुन्दर काया–रूपी घटलाई
श्रद्धाका कोमल फूलले सजाऔँ,
वीर्यको दृढताले
अधिष्ठानलाई पूर्ण बनाऔँ।

सतीको निर्मल उज्यालोमा
ज्ञानको दीप बालौँ,
समाधिका शान्त सोपानहरूलाई
मनमै फुल्न दिऔँ।

अनित्यताको स्पर्श महसुस गरौँ,
दुःखको सत्यलाई स्विकारौँ,
अनात्मको गहिरो रहस्यलाई
आफ्नै अनुभूतिमा उजागर गरौँ।

त्यसपछि—
शान्त हुनेछ यो मन,
निर्मल हुनेछ यो यात्रा,
र जीवन आफैँ
एक मधुर ध्यान बनेर बग्नेछ…

बकैता -09 मकवानपुर

  • प्रतिक्रिया दिनुहोस

    शालिकराम घले का अरू रचना

    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend