जीवन केवल समयको बहाव होइन,
यो चेतनाको यात्रा हो !
जहाँ बेसुर अस्तित्वबाट
सुरको शाश्वत लयतर्फ
मनले आफ्नो मार्ग खोज्छ।
सहकता केवल सम्बन्ध होइन,
यो आत्माहरूको मौन संवाद हो !!
जहाँ ‘म’ हराउँदै जान्छ
र ‘हामी’ जन्मिन थाल्छ।
प्रेम कुनै भावना मात्र होइन,
यो अस्तित्वकै मूल तत्त्व हो—
जसले श्वासलाई अर्थ दिन्छ,
र
क्षणभंगुर काया भित्र
अनन्तताको आभास जगाउँछ।
नर हुनु प्रारम्भ मात्र हो,
नारायण हुनु सम्भावना हो !
यो यात्रा बाहिर होइन,
आफ्नै अन्तरमनको गहिराइमा छ।
अज्ञानको आवरण च्यातेर,
बुद्धूबाट बुद्धत्वतर्फ बढ्नु !
त्यो कुनै लक्ष्य होइन,
एक निरन्तर जागरण हो।
२०८२ का साधनाहरू
केवल बीउ हुन्,
२०८३ त्यो बीउले
चेतनाको वृक्ष बन्ने समय हो।
नयाँ ऊर्जा, नयाँ उमंग भन्नु
वास्तवमा नयाँ दृष्टि हो !!
जहाँ हरेक क्षण
पहिलो पल जस्तै पवित्र हुन्छ।
यो काया क्षणिक छ,
तर सत्यको मार्ग शाश्वत छ !!
त्यसैले मुक्तिको खोज
कतै टाढा होइन,
यही स्वासको बिचमा लुकेको छ।
बकैया -०९
मकवानपुर
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend