कलकल बग्ने खोला आज, उर्लिएर भेल भयो,
एकैछिनमा वर्षौँको सपना, पखाल्ने खेल भयो।
हिजोसम्म हाँस्ने–खेल्ने, मेरो प्यारो सानो गाउँ,
आज गेग्रान, पहिरो, माटो—बन्यो केवल घाउ।
कति आमाका काख रित्तिए, कति सिउँदो पुछियो,
छोराछोरी खोज्दै रुने, आवाज कहाँ थुनियो?
कोही पुरिए माटोमुनि, कोही बगे छालसँगै,
कति भए बेपत्ता आज, आफ्नै घरको हालसँगै।
बाढीले लग्यो ओढ्ने छानो, लग्यो छाकको अन्न,
टोलाएका ती आँखाहरू, खोजिरहेछन् आफ्नै जन।
कतै छैनन् प्रिय मान्छे, कतै छैन नाम–निसान,
आँसुको भेलमा डुबेको छ, आज नेपाल आमाको प्राण।
हे ईश्वर! कति सहनु, अझै कति पीडा–दर्द?
कहिलेसम्म सहिरहने, यो नियतिको कठोर प्रहार?
छाडेर गयो सम्झनामा, आँसु, पीडा अनि घाउ।
कलकल बग्ने छाँगा–खोला, फेरि शान्त होलान् कि?
उजाडिएका ती आँगनमा, फेरि फूल फुल्लान् कि?
हराएका ती प्यारा मान्छे, फर्केर आउलान् कि अब?
खोलाको किनारमा आँसु बगाउँदै, पर्खिरहेछ गाउँ सब।
आज रित्तियो मेरो गाउँ, रित्तियो धेरैको मन,
बाढीले मात्रै बगाएन—बगायो जीवनको धन।
तर एक दिन यही माटोमा, फेरि उज्यालो छाओस्,
रुँदै गरेको यो गाउँ फेरि, हाँस्दै गरेको देख्न पाऊँ।
शालिकराम घले
बकैया -09
मकवानपुर
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend