सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

आत्म-बोधको यात्रा: विपश्यना

आत्म-बोधको यात्रा: विपश्यना

204
Shares
204
Shares

प्रथम दिवस (सजगताको आरम्भ)
आउने जाने श्वासको गन्ती, साक्षी बनी नियाल्दा,
चञ्चल यो चित्त एकाग्र बनोस्, शून्यतामा पग्लिँदा।
मलिनता हटी अन्तस्करणको, यो मन निर्मल होस्,
सहज भावमा बग्दा बग्दै, मुक्ति पथ ओर्लियोस्।।

​दिवस दुई (निरन्तरता र कर्म-मुक्ति)
प्रश्वास-श्वासको यो चक्रमा, होस् अखण्ड चेतना,
परम ध्यानमा लीन भई, मेटियोस् सब तिर्सना।
संस्कारका लामा साङ्लाहरू, आजै यहीँ चुँडियोस्,
कर्मको बन्धन खरानी बन्दै, महाकल्याण जुरियोस्।।

​दिवस तीन (त्रिविध कर्मको शुद्धि)
कायाका कर्म सुधार्नु छ अब, बोलीमा शील होस्,
मनका गुप्त विचारहरूमा, धर्मको वास होस्।
मन, वचन र कर्मको शुद्धि, आत्म-रूपान्तरण,
यही नै हो है सनातन धर्मको, वास्तविक दर्शन।।

​दिवस चार (आन्तरिक शूरवीर)
काया र वाणी वशमा राख्नु, संन्यासीको भेष हो,
तर आफ्नै मनलाई जित्नु, साधनाको विशेष हो।
बाहिरी युद्ध जित्ने त धेरै, संसारमा भेटिन्छन्,
मन जित्ने ती धीर वीर नै, बुद्धत्वमा मेटिन्छन्।।

​दिवस पाँच (त्रिवेणी संगम र निर्वाण)
शील, समाधि र प्रज्ञा नै हुन्, भित्री गङ्गा-जमुना,
सरस्वतीको गुप्त धारा झैँ, जाग्छ आत्म-चेतना।
जहाँ निरन्तर मिल्छन् आएर, यी तीन पवित्र धार,
त्यहीँ खुल्छ है अमर पदको, महा-निर्वाणको द्वार।।

​दिवस छ (तपस्याको अग्नि)
तप रे तप ए मानव तिमी, साधनाको रापमा,
पगाली विकार फालौ सबै, अहङ्कारको तापमा।
सुवर्ण जसरी भट्टीमा पग्लिएर, कुन्दन (सच्चा सुन) बन्दछ,
तपेर नै यो मरणशील देह, बुद्ध जस्तै चम्कन्छ।।

​दिवस आठ (राग-द्वेषको चक्रव्यूह)
जति नै गहिरो आसक्ति हुन्छ, उति नै द्वेष जाग्छ,
जति नै बढी घृणा र ईर्ष्या, उति नै क्लेश लाग्छ।
चाहना र घृणाको यो भुमरी, दुःखको चक्र हो,
यसलाई तोडी अघि बढ्नु नै, मुक्तिको मन्त्र हो।।

​दिवस नौ (मानव चोलाको सार्थकता)
संसारकै दुर्लभ मानव चोला, अनमोल धर्म पायौ,
तर अझै तिमी भ्रमको निद्रामा, कता कता हरायौ?
अब त जाग, पुरुषार्थ गर, श्रद्धाको दियो बाल,
मनका पुराना जटिल गाँठाहरू, प्रयत्नले फुकाल।।

​दिवस दश (परम मङ्गल र सद्भाव)
द्वेष, घृणा र दुर्भावनाको, नामनिशान मेटियोस्,
संसारका सबै प्राणीहरूमा, बुद्धत्व भेटियोस्।
स्नेह, करुणा र सद्भावले, यो तन-मन भरियोस्,
हृदयको गहिरो कुना-कुनाबाट, करूणारस बगियोस्।।

​साधनाको सार (अनित्यता र समताभाव)
शरीरमा उठ्ने सूक्ष्म संवेदना, सुखद् होस् वा दुखद्,
आउँछन्, जान्छन्, रहँदैनन् सधैँ, ती हुन् अनित्य र नश्वर।
राग र द्वेषको प्रतिक्रिया त्यागी, द्रष्टा मात्र बनौँ,
हरेक लहरमा विचलित नभई, ‘समताभाव’मा बाँचौँ।।

​दिवस एघार (पुण्यको भण्डार र विसर्जन)
मैले कमाएका साधनाका पुण्य, ब्रह्माण्डमा फिँजियोस्,
दुःखी र पीडित आत्माहरूले, शान्तिको श्वास फेरुन्।
यो मङ्गलमय धर्मको प्रकाश, सारा सृष्टिमा छाओस्,
संसारका सबै प्राणीहरूले, मुक्ति र आनन्द पाऊन्।।

बकैया -०९ मकवानपुर

  • प्रतिक्रिया दिनुहोस

    शालिकराम घले का अरू रचना

    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend