कविता अभ्यास
छन्द: पञ्चचामर
समस्या:- नयाँ छ वर्ष आउँदै वसन्त मध्य काल छ ।
फुलेर फूल झर्दछन् नवीन पालुवा लिई
मनुष्य आज बढ्दछन् सुरम्य मार्ग पक्रिई
नयाँ नयाँ छ थालनी खुसी हुने सवाल छ
नयाँ छ वर्ष आउँदै वसन्त मध्य काल छ ।१।
चुलिन्छ आज कामना फलोस् फुलोस् नि जिन्दगी
नहोस् अनिष्ट देशमा हटोस् समग्र जगजगी
गुराँस फुल्छ लेकमा समीपमा हिमाल छ
नयाँ छ वर्ष आउँदै वसन्त मध्य काल छ।२।
फलेर झुक्छ वृक्ष त्यो मनुष्य मान खोज्दछ
मिलेछ ज्ञान चेतना भने कुकर्म रोक्दछ
बितेछ साल चैतमा खुसी कतै बहाल छ
नयाँ छ वर्ष आउँदै वसन्त मध्य काल छ ।३।
© नवराज न्यौपाने ‘मौन’
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend