बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

यात्राका विधानहरू

यात्राका विधानहरू

233
Shares
233
Shares

काँडा छन् डाँठमा किन्तु फूल फुल्छन् उचालिँदै
कहाँ पर्दा भयो आँसु ? हेर आँखा जताततै !
छेक्यो परिश्रमी कस्को केले ऊर्जा र उन्नति
एक्लो मान्छेभरि जन्मे सन्तति कति सम्पति ! १।

आलस्य मनले मात्र देख्छ अग्लो छ टाकुरा
उद्यमीहरूले मान्छन् पाइलामुनिका कुरा
ग्रीष्म वा शिशिरै आओस् तपस्वी ध्यान गर्दछ
शिखामा शिर तन्काई रातमै दीप बल्दछ ।२।

असम्भव छँदै छैन कर्मीको शब्दकोशमा
लम्कने पाइला हुन्छन् नित्य नवीन वासमा
कलाकार कला बोल्छ भाषा मानव मात्रको
फूलको रङ्ग सौन्दर्य न हो जाति र धर्मको ।३।

कतै विज्ञापनै छैन तारा, चन्द्र र सूर्यको
आलोक पथभित्रै छन् कहाँ लेश छ दम्भको !
पसिना कर्मको बाटो चोखो हुन्छ जहाँसुकै
लुटेर पसिना खाने सक्दैनन् जग उठ्न नै ।४।

कोइली शिल्पकी रानी गुणले नै छ उन्नत
ऋतुकी पारखी कस्ती गणित कति निश्चित !
निद्राका दुनियाँलाई प्राप्त अनर्थका हुनन्
यात्राका झरनालाई धिक्कारीकन लत्रिनन् !५ ।

सय वर्ष मिलोस् आयु तर सत्कर्मका विना
बिते जीवन के सार पछि को गर्छ सम्झना ?
सृष्टि विविधताभित्र रूप-रङ्ग अनेक छन्
काँडा वा फुल के बन्ने चुन्नेकै मनभित्र छन् ।६।

गोरखा, लप्सीबोट; हाल: काठमाडौँ-६, सरस्वतीनगर

  • प्रतिक्रिया दिनुहोस

    तीर्थराज अधिकारी का अरू रचना

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend