बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

चेतना

चेतना

188
Shares
188
Shares

कविता
सृष्टि अनेक छन
प्राण उस्तै उस्तै
मेरो श्वास प्रश्वासको पद्धतिलाई
उसले पनि गिज्याइ रहन्छ
दुख्दा ऐय्या भन्छ
खुशीमा मुस्कुराउँछ
पिडाले छट्पटिन्छ म जस्तै
सायद मष्तिष्कले यही सिकाउछ

कहिले आफूलाई खोज्छ
अनेक सृष्टिमा एक हुन्छ
आफै भित्रको अस्तित्व खोजिरहन्छ
कहिले साधु भएर
कहिले सन्यासी भएर
अनि कहिले एक्लो मान्छे भएर
चेतनाले उसलाई यही भन्छ
तिमी भित्रको असली रूप खोज
तर पनि,
मान्छे अस्तित्व खोज्दै मन्दिर धाउँछ
पुर्खाले कुॅदेका मानव मूर्तिको पुजा गर्छ
अरूको भोको पेटमा आफु अघाउछ
नाङ्गो पनमा रमाउँछ
दर्शक भएर अन्धो हुन्छ
उफ, मान्छे खोई त तिम्रो चेतनाको रूप?
आफै प्रश्न गर्छ अनि झस्किन्छ
अत्तालिन्छ अनि त्यही मन्दिरको पुजारी बन्छ

पिताम्बर वस्त्र लगाउँछ
जता ततै स्वर्ण वस्तु देख्छ
लाग्छ उसलाई साँच्चै जीवनको अस्तित्व पाइरहेछ
बिडम्बना,
थाहा छैन उसलाई
त्यहाँ दरिद्रता सल्बलाई रहेको छ
महत्वकांक्षले जीवनको महल सजाईरहेछ
आस्थाको दियो निभिरहेछ
पुण्यको कर्महरू रोइरहेछन्
हारको घण्टी बजिरहेछ
पुनर्जन्मको शंखध्वनि गुञ्जिरहेछ
सायद घण्टी र शंखध्वनिको तरङ्गले
उ पुन ब्यूँझन्छ , अत्तालिन्छ
अनि पुजाकोठाबाट बाहिर निस्किन्छ
उसले भिन्न संसार अवलोकन गर्छ
त्यहाँ त कयौ मानिसको चिचायाहट सुन्छ।

कोही भोको पेटको लागि
कतै प्यास मेटाउन दौडिरहेछन
कतै लासको मलामीहरू
जसले मृत्यु संगै कुनै अनुभूत गर्न सकोस
थाहा छैन त्यो हजारौको भिड
किन लासको पछि दौडिरहेछन ?
किन आशुले नुहाई रहेछन?
आखिर मृत्यु त एक्लो छ
उ एक्लै आउँछ अनि जान्छ एक्लै
तर कहाँ?
उ फेरि झस्कन्छ
आफैमा हराउँछ
बिस्तारै आफूलाई सोध्न थाल्छ
म को हुॅ?
म भित्रको अस्तित्व के छ?
म अरू भन्दा भिन्न कसरी बन्न सक्छु?
क्रमश उत्तर आउँछ
म चेतना हुँ
जहाँ चिन्तन गर्न सक्छु
म भित्र मानवता छ
जहाँ विभेदको महल छैन
ईर्ष्य र दरिद्रताले म संग खेल्न सक्दैन
तर
म ज्ञान हुँ
जहाँ सज्जनहरू रमाउँछन्
म भक्ति हुँ
जहाँ प्रेमले ईश्वर र मानवको पुजा हुन्छ
अनि म वैराग्य हुँ
जहाँ अध्यात्मले चेतनालाई शून्य दिलाउँछ
र त कालान्तरसम्म म बाँचिरहनेछु
जीवन मुक्तिको मार्गमा

  • प्रतिक्रिया दिनुहोस

    हरि उप्रेती का अरू रचना

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend