सामाजिक कविता ‘सृजनापुञ्ज’ (२०८३) उनको पछिल्लो कृति हो । यो उनको पन्ध्रौँ कृति हो । पन्ध्रौँ कृतिमा आइपुग्दा विचार, प्रस्तुति, दृष्टिकोण, शैली सबै आयामममा परिपक्वता आइसकेको छ । कवितामा सामाजिक भावनाका अभिव्यक्ति गुन्जेका छन् । आचार्य आरस्तुले भने जस्तै कविता वास्तवमा सद्भाव र सिकाइहरूको लागि कल्पनाको प्राकृतिक रूप (मिमेसिया) हो । मिमेसियालाई आचार्य आरस्तुले मानव मनोविज्ञान, भावना र वास्तविकता बुझ्ने रचनात्मक उपकरणमा लिएका थिए र केन्द्र विन्दुमा सकारात्मकतालाई राखेका थिए ।
कवि जतिखेर पनि सौन्दर्यको खोजीमा रहन्छ, कल्पनामा होस्, स्वच्छन्दतामा होस् वा यथार्थता चित्रणमा होस् । यो उसको संसारलाई सुन्दर बनाउने अभिष्ट हो । कवि विष्णु पन्तको सिर्जनापुञ्ज पनि भावनामा होस्, शिक्षा र सन्देशमा होस् जतिखेर पनि जीवनलाई सुन्दर बनाउने अभियानमा छन् । जीवनका भोगे, सोचे र कल्पना गरेका अनुभूतिका तरङ्गहरु सर्वसाधारण उठाउन सक्दैनन्, कविसँग त्यसो गर्ने सामर्थ्य रहन्छ । मानवीय भावनालाई कविले इमानदार भएर रेखाचित्रहरूमा परिणत गर्न सक्छ । कविबाट मुखरित भए पनि ती साझा भावना हुन्, कविले भनेका कुरा, गरेको सङ्घर्ष, पाएको उपलब्धि मानिसहरूका साझा परिणति हुन् । यो विश्वव्यापी हुन्छ । त्यसैले कवितालाई जीवनको दर्शन भनिएको हो ।
कविता र जीवनको यति मीठो सम्बन्ध छ कि यसले समाजको चित्र, मानव मनको भावनाको चित्रलाई सजिलै उठाइ दिन्छ । कविका कविता सुन्दरता खोजिएका लागि भावनाको संवेग र प्रकाशन हो, विरेचन र विचरण हो । कवि जीवन सापेक्ष कलाकार हो, जीवनभन्दा पर गएर उसलाई हेर्न सकिँदैन । कविताका बोलीहरू जीवनका अर्थवान् आवाज हुन् । खुसी व्यक्त गर्न, दुःख बताउन र सौन्दर्यको उपासनाका लागि ऊर्जा हुन् । विजयोत्सव, क्रान्ति, प्रेम, हर्षोल्लास जहाँ पनि कवि शक्तिशाली अभिव्यक्तिमा अघि लाग्छ । कविताको शक्ति अनौठो र अनन्त छ ।
कविले गर्ने काम जीवनको उदात्तीकरण हो, आत्माभिब्यञ्जना हो । क्रान्तिकारीहरू क्रान्तिको धुन् बजाउलान्, स्वच्छन्दतावादीहरू भावनाको बयेलीमा उड्लान्, आदर्शवादी कविले भने जीवनको आदर्श खोजी गर्छ । विष्णु पन्त सामाजिक कवि भएकाले सामाजिक आदर्शको खोजी उनका कविताको मर्म हो । कविको व्यक्तित्व, विचार र विश्वास, संक्षिप्तमा कवि स्वयम् पसेपछि कविता बन्छ भन्ने समालोचक इन्द्रबहादुर राईको भनाइसँग पन्तका कविताहरू ठ्याक्कै मेल खान्छन् । कविता मार्फत कवि आफ्नै आदर्शको विस्तार गर्छन् । सिर्जनापुञ्जको प्रेरणात्मक दृष्टि (इन्स्पाइरिङ इन्साइट) फराकिलो छ र तिनलाई भाषामा खेलाउने शैली पनि बोधगम्य छ । यो सामाजिक कविको विशेष स्वभाव पनि हो । कवि भिमनिधि तिवारी जसरी कवि विष्णु पन्त सामाजिक आदर्शको स्वर गुन्जाउँछन्, त्यस्तै लयसन्धानमा र त्यस्तै आदर्श भावमा ।
सिर्जनापुञ्ज नैतिक अभिष्ट स्थापना गर्न केन्द्रित छ । उनका अन्य कृतिहरू मनोभाव, सम्झनाको भुल्कामा, सम्झनाका सुसेली, मनको साइनो, बोध, हिँड्दाहिँड्दै, फूलको सुगन्धहरूमा रहेको केन्द्रीय भाव नैतिक सन्देश हो । नैतिक सन्देश दिन कविहरूमा कर्म नै सफलताको जग हो भन्ने मान्यता राख्दछन्, सामाजिक मूल्य मानक प्रवद्र्धन गर्न खोज्छन्, सामाजिक विश्वासमा मात्र विश्व पूर्ण देख्छन् । कवि ठाकुर शर्मा भण्डारी र कवि हरिभक्त सिग्देल महेशका कविताका केन्द्रीय भाव पनि यही सामाजिक आदर्श हो, त्यहाँबाट पनि कवि पन्त प्रभावित देखिन्छन् । सिर्जनापुञ्ज यही सोचसमझमा छ । नेपाली कवितामा नैतिक आदर्श दिने शिखर व्यक्तित्व कविशिरोमणि लेखनाथ पौड्याल हुन् । उनले भनेका थिएः
‘कसैको लोकमा छैन एकैनास समुन्नति
अरू को के कुरा हो र सन्ध्यामा सूर्यको गति ।’
विष्णु पन्तका कविता पनि लेखनाथीय शैली सारमा छन् । सामाजिक आदर्शका लागि नैतिक शिक्षा र आचरण आवश्यक हो भन्ने मान्यता कविमा रहेका छ । कवि भन्छन्ः
‘लक्ष्यमा पुग्नका लागि अगाडी हेर्नुपर्दछ
राम्ररी हिँड्नका लागि नजिकै हेर्नुपर्दछ
उत्पत्ति केन्द्रको तर्फ आकर्षित सबै हुने
आखिरीमा सबैको नै विलय त्यही नै हुने ।’ (लक्ष्यको खोजी)
उनका कविताले आत्मिक खोज र स्वान्त खुसीको चाहना (सम्बन्ध) राखेका छन् । सन्तोष, सकारात्मकता र प्रशंसाले असल पथ खोल्छ भन्ने मान्तामा अडिग छन् (निर्माणमा अघि बढौँ) । सत्य जे हो त्यो लुक्दैन तर मान्छे सत्य लुकाउनमा उद्यत रहन्छ (दृष्टिकोण) भनी मानवीय प्रवृत्तिको चित्र उतारेका छन् । अन्य कवितामा पनि यसैखाले भाव पाइन्छ । जस्तो कि कवि अवसरको बिर्को लगाउन हुँदैन तर तृष्णामा जल्न हुँदैन (सुख दुःखको भाव, मानवीय प्रवृत्ति) भन्ने सन्देश दिन्छन् । अज्ञानीले मात्र बाहिरी सुख खोज्छ, ज्ञानी आत्मानन्दमा छ (एकत्व भाव), सामाजिक सम्बन्ध र प्रेम सौदा र स्वार्थमा हुनुहुन्न, प्रेम विश्वासमा हुनुपर्छ, प्रेमले उत्सर्ग र त्यागमा अर्थ खोज्छ (प्रेम र विश्वास), अवसरको चयन, समय र गतिको पहिचानले मानिस सफल हुन्छ (भ्रमित जीवन), विनम्रता मानवीय गुण हो, यसैले खुसी ल्याउँछ (बिझ्ने बोली नबोलौँ), मानिस कर्ममा समर्पित हुनुपर्छ (कर्तव्य), असल पात्रले अर्को असल पात्रलाई चिन्दछ (पात्रता) जस्ता आग्रहले सामाजिक मर्यादा र मान कर्मको खोजी गरिरहेका छन् ।
उनका कविताले एकल भाव राख्दछन्, त्यो हो मानवीय आचरणको परिस्करण । असल सोच, असल बुझाइ र असल गराइले मानिस सभ्य बन्छ । त्यो एकल भाव यसरी देखिन्छः
‘पवित्र सोचका साथ कर्ममा जुट्नु पर्दछ
छरिएका सबै ज्ञान जुटाइ राख्नु पर्दछ । (मन सागर)
× × × ×
प्रकृतिसँगको साथ सधैँ नै सुख मिल्दछ
विना मूल्य मिलेकै छ सबैमा सम सादर
सबैको लागि हो धर्ती समान अधिकार छ
सबै मिलेर बस्नाले सम्भावना अपार छ ।’ (सम्भावना अपार छ)
समाज स्वार्थ र दम्भमा छ । शिक्षाले संस्कार र चैतन्य दिएको छैन । भौतिक प्रगतिको लिप्सा र स्वार्थको स्पर्धाले मानव समाज नै निमानवीकृत हुने तर्फ लक्षित छ । सामाजिक कविका नाताले यसखाले प्रवृत्ति परिवर्तन गरी संस्कार, चैतन्य र विवेकको आग्रह पन्तका खास अभिष्ठ हो । उनी भन्छन् ः
‘फलको आशले मात्र वृक्ष हेर्ने गयो भने
नभेट्दा फलको झुप्पा मनमा अग्नि दन्कने ।’ (मानवीय प्रवृत्ति)
सामाजिक आदर्शवादी स्रष्टाहरू मानवीय उद्वेगलाई भन्दा सामाजिक सौहार्द्यता मार्फत मानवसत्ता समृद्ध भएको देख्न चाहन्छन्, त्यसै प्रकारको आग्रह गर्दछन् । उनीहरूमा स्वच्छन्दतावादीको जस्तो आत्मिक उडान हुँदैन, न रौँ जुर्मुराउने क्रान्ति राग वा जिम्मेवारीलाई बोझ सम्झने अस्त्वित्वबादी चरम निराशा नै हुन्छ । जीवन मूल्यवान छ, जे प्राप्ति छ त्यो कर्मको परिणति हो र अरू प्राप्तिका लागि अरू कर्म र समर्पण चाहिन्छ भन्ने साझा स्वर उनीहरूमा रहन्छ ।

नैतिक आदर्शको क्षेत्र व्यापक छ र यसका उपायहरू पनि विषय क्षेत्रपिच्छे फरक रहन्छन् । समयले मानवीय आचरण र मानकलाई परिमार्जित लयमा खोज्ने गर्दछ । शेक्सपीयरले नैतिकतालाई प्रेम उत्सर्गका पवित्र अनुभूति, मानवीय त्रुटिमा क्षमादान गरेर व्यक्त गरे । उनका नाटकका पात्रहरुले यही निष्कर्षमा साहसिला अभिनय (चरित्रकार्य) गर्दथे । उनका पात्रहरूको चरित्र कार्य आवेगभन्दा विवेक, अरूको दुखलाई आफू भएर सोच्ने समभावीता, सम्मान र कमजोरीको प्रायश्चितमा केन्द्रित थिए । महाकवि कालिदासल अरूको आँखामा सफलता देखेर आफू खोक्रो हुनुहुन्न भन्ने आत्मिक चेत राख्थे । तुलसीदासले अध्यात्म चिन्तन मार्फत र सुरदासले भक्तिभाव मार्फत मानवीय नैतिकता सिकाएका छन् । लक्ष्मीप्रसाद देवकोटा, रवीन्द्रनाथ ठाकुर, इमिली डिकिन्सन, जोन मिल्टन मानवीय आवेगलाई सौन्दर्यसाथ अभिव्यञ्जना गरेर आदर्शलाई पछ्याउँछन् । कविहरूको बाटो फरक भए पनि अभिष्ट समान छ, त्यो हो मानवतावाद । नैतिक आचरणका पनि धेरै स्वरूपहरू छन्, कवि विष्णु पन्त सामाजिक आदर्शको लागि नैतिक आग्रहमा छन् । यो सीमितता नभै विशिष्टता हो । उनको सिर्जनापुञ्जका कविताको साझा स्वर छ ः नैतिक चेतनामा सब नै जाग्नुपर्दछ । मानवीय चैतन्य वेगकरको न स्वतन्त्रता छ नु सुख नै ।
‘हाँसेर बाँच्न चाहेमा खुसीमै दिन बित्दछन्
सक्दैन हाँस्न जो व्यक्ति रुनमा उनी बाध्य छन् ।
सन्तुष्टि कसरी मिल्छ त्यसैमा लाग्नुपर्दछ
सबैको सुखका लागि सर्वदा जाग्नुपर्दछ ।’ (सब नै जाग्नुपर्दछ)
–मैनाली निवास, क्षितिज मार्ग शङ्खमूल ।
भाद्र १, २०८३
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend