सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

म, खेलकुद र विश्वकप फुटबल २०२६

म, खेलकुद र विश्वकप फुटबल २०२६

102
Shares
102
Shares

मानिसको जीवनमा खेलकुदको महत्त्व जीवनभर कुनै न कुनै रूपमा रहिरहने रहेछ । फरक यत्ति हो कि यसको स्वरूप समय र उमेरअनुसार परिवर्तन हुँदै जान्छ । मेरो बाल्यकालमा भने खेल्नु वा खेलका लागि समय छुट्याउनु भनेको जीवनलाई अनुपयोगी दिशातर्फ डो¥याउनु, आफ्नो लक्ष्यबाट विमुख हुनु अथवा बहुमूल्य समयको सदुपयोग नगर्नु हो भन्ने बुझाइ थियो । त्यति बेला गाउँघरमा खेल्ने साधन नै कति थिए र ! डन्डी बियो, गुच्चा र मौसमअनुसार चङ्गा उडाउनुबाहेक मेरो सम्झनामा अन्य कुनै खेल आउँदैन । समथर जमिन भएका ठाउँका केटाकेटीहरूले बाँसको भाटाबाट साइकलको पाङ्ग्रा बनाएर कुदाएको दृश्य भने अझै सम्झनामा ताजै छ ।

तैपनि, मानिसको मन घरको काम वा पढाइभन्दा खेल्न, घुम्न वा यताउता डुल्नतिर नै बढी आकर्षित हुने रहेछ । अवसर मिल्नासाथ खुट्टाहरू स्वतः त्यतैतिर दौडिन्थे । त्यसका कारण आमाको हातबाट धेरै पटक पिटाइ पनि खाइयो तर शुरूको रिसबाट उम्किन सफल भइयो भने केही बेरमै आमाको मन पनि शान्त भइसकेको हुन्थ्यो । “खेलेर पनि खान पाइन्छ र ?” भन्ने गालीजस्तो वाक्य त्यति बेलाका अधिकांश अभिभावकको मुखबाट सुनिन्थ्यो । त्यस बेलाको समाज र पारिवारिक परिवेशले मलाई पनि त्यही सोच र संस्कारमा हुर्कायो, बढायो । त्यसैले बितेको समयप्रति मेरो कुनै गुनासो छैन ।

खेलकुदले मानिसलाई लामो, स्वस्थ र निरोगी जीवन प्रदान गर्छ । यसले तनाव र मानसिक चाप कम गर्छ, दीर्घ रोगको जोखिम घटाउँछ र शरीरमा जम्मा भएको अनावश्यक बोसो हटाउन मद्दत गर्छ । खेलकुदले अनुशासित जीवन बिताउन सिकाउनुका साथै हार र जित दुवैलाई सहज रूपमा स्वीकार गर्ने क्षमता विकास गराउँछ । समयको सदुपयोग कसरी गर्ने भन्ने बानी पनि यसैले सिकाउँछ । यी सबै कुरा अहिले आएर मेरो मनमा गहिरोसँग बसेका छन् तर यति बुझ्दासम्म समय भने धेरै अघि बढिसकेको रहेछ ।

हाईस्कूलमा पढ्दाताका एक जना शिक्षकको विशेष आग्रहका कारण केही समय भलिबल खेल्ने अवसर मिलेको थियो । त्यस क्रममा खेलका सामान्य नियमहरू बुझ्ने मौका त पाएँ तर त्यसपछि न कहिल्यै नियमित रूपमा खेल्न पाएँ, न त खेल्ने अवसरको खोजी नै गरेँ । फुटबलका नियमसमेत अरूले खेलेको हेर्दाहेर्दै मात्र थाहा पाएको हुँ । त्यसबाहेक खेलमैदानमा भकुन्डो मेरो खुट्टामा परेको घटना भने जम्मा एक पटक मात्र सम्झनामा छ ।

त्यो घटना दाङ जिल्लाको सदरमुकाम तुलसीपुरको एउटा खुला चौरमा भएको थियो । मैले बारम्बार “मलाई फुटबल खेल्न आउँदैन” भन्दा पनि एघार जना खेलाडी नपुगेपछि मलाई जबर्जस्ती मैदानमा उभ्याइयो । खेल चलिरहेका बेला कसैले हानेको भकुन्डो गुड्दै गुड्दै मेरो अगाडि आइपुग्यो । त्यो क्षण मलाई लाग्यो, मानौँ भकुन्डोले नै ‘ताकत छ भने ल, एक पटक हानेर त हेर !’ भन्दै मलाई जिस्काइरहेको हो । खेलाडीको खुट्टामा आएको बल नहान्नु पनि ठिक नहोला भन्ने लाग्यो । मनमनै सम्झिएँ—शायद यो भकुन्डो मेरै लात खोज्दै यहाँसम्म आइपुगेको होला ।

तर भकुन्डो कसरी हान्ने भन्ने सामान्य सीप पनि मसँग रहेनछ । मैले सोझै जोडले लात हानेँ । भकुन्डो कहाँ पुग्यो, त्यसको त मलाई आजसम्म पनि थाहा छैन यद्यपि मेरो दाहिने खुट्टाको बुढी औँला भने जुत्ताबाट बाहिर निस्किएजस्तो महसुस भयो । असह्य पीडाले म त्यत्तिकै मैदानमै थचक्क बसेँ । साथीहरू सबै अत्तालिए—“के भयो यसलाई ?” भनेर दौडिए । संयोगले नजिकै औषधि पसल रहेछ । उनीहरूले मलाई बोकेर त्यहाँ पु¥याए । जुत्ता खोल्दा औँला आफ्नो ठाउँबाट सरिसकेको रहेछ । त्यसलाई मिलाएर ब्यान्डेज बाँधियो । त्यसपछि दुई दिनसम्म राम्ररी हिँड्नै सकिनँ ।

फुटबल खेल्न नजाने पनि हेर्न भने मलाई सधैँ रहर लाग्छ । समय मिलेसम्म प्रतियोगिताहरू हेर्ने गर्छु । रङ्गशालासम्म पुग्न नसके टेलिभिजनमै आँखा गाडेर खेल हेर्छु । यो आलेख लेख्दै गर्दा एउटा सानो फुटबल प्रतियोगिता हेर्न गएको घटना झल्झली सम्झनामा आयो ।

शायद २०३३/३४ सालतिरको कुरा हो । त्यो प्रतियोगिता नेपाल अधिराज्यभरका क्याम्पसहरूको थियो वा उपत्यकाभित्रका क्याम्पसहरूको मात्र, अहिले ठ्याक्कै सम्झना छैन । त्रिभुवन विश्वविद्यालयको रङ्गशालामा क्याम्पस स्तरीय फुटबल प्रतियोगिता भइरहेको थियो । एउटा टोली पाटन संयुक्त क्याम्पसको थियो भने अर्को पब्लिक युथ क्याम्पसको जस्तो सम्झना छ, यद्यपि त्यसमा म पूर्ण निश्चित छैन । म पाटन संयुक्त क्याम्पसको समर्थकका रूपमा आफ्नो टोलीलाई हौसला दिन त्यहाँ पुगेको थिएँ । दुवै टोलीका समर्थकहरू आआफ्नो पक्षतर्फ बसेर खेल हेरिरहेका थिए ।

खेल निकै प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहेको थियो । बल खोसाखोस गर्नु, हल्का छिर्की हान्नु, शरीरले धक्का दिनु वा विपक्षीको जर्सी तान्नुजस्ता गतिविधि फुटबल खेलका सामान्य पक्ष नै हुन् । पहिलो हाफपछि गोल गर्ने दबाब बढेका कारण हो वा खेलाडीहरू थाकेका कारण, यस्ता झडपहरू झन् बढ्न थाले । खेलाडीहरूबिच तानातान हुँदा रेफ्री बिचमा पसेर दुवै पक्षलाई सम्झाउँथे र खेल फेरि सामान्य रूपमा अघि बढ्थ्यो । तथापि कहिलेकाहीँ समर्थकहरू पनि मैदानभित्र पस्थे, जुन खेलको नियम विपरीत थियो । कहिले एक टोलीका समर्थक उत्रन्थे, कहिले अर्को टोलीका । शुरूमा त्यो दृश्य केही हदसम्म रमाइलो लागे पनि क्रमशः त्यसले जोखिमपूर्ण रूप लिन थाल्यो । हेर्दाहेर्दै यस्तो लाग्न थाल्यो, मानौँ अब त्यहाँ फुटबलभन्दा महाभारत नै शुरू हुनेवाला छ ।

तीन–चार पटक यस्तै अवस्था दोहोरिएपछि कसैले जानाजान वातावरण बिगार्न खोजेको हो कि भन्ने शङ्का लाग्यो । एकातिरका मानिस अर्कोतिर पस्ने, अर्कातिरका मानिस यतातिर आउने क्रम बढ्दै गयो । अन्तिम पटक खेलाडीहरूबिच भएको सामान्य झडप रेफरीले मिलाइसकेका थिए । खेलाडीहरू पनि आआफ्नो स्थानमा फर्किसकेका थिए तर किन हो कुन्नि, विपक्षी टोलीका केही समर्थक फेरि मैदानमा पसे । त्यसै बेला हाम्रो पक्षबाट कसैले एउटा इटा वा ढुङ्गाको टुक्रा फ्याँक्यो । त्यो आकाश चिर्दै गएर उनीहरूको भिडबिच खस्यो र कसैको टाउको फुटिहाल्यो ।

त्यसपछि त अवस्था एकाएक नियन्त्रणबाहिर गयो । उताबाट इँटा र ढुङ्गाको वर्षा हुन थाल्यो, यताबाट पनि त्यसैको जवाफ फर्कियो । केही क्षणमै दुवैतर्फ मानिसहरूको टाउको फुट्न थाले । कसैको हात रगतले लतपतिएको देखिन्थ्यो, कसैको अनुहार । रगत देखिएसँगै भीड झन् उत्तेजित हुँदै गयो । त्यति बेला आजजस्तो रङ्गशालामा बाक्लो प्रहरी सुरक्षा हुँदैनथ्यो । शायद त्यो विश्वास र इमानदारीको समय थियो तर त्यस दिन भने परिस्थिति क्षणभरमै नियन्त्रणभन्दा बाहिर पुग्यो ।

म त केवल खेलको दर्शक थिएँ । आफ्नो टोलीको उत्साह, साहस र जोश बढाउन पुगेको थिए; कुनै झडप वा महाभारतको हिस्सा बन्न होइन । त्यसपछि मेरो एउटै लक्ष्य रह्यो—आफ्नो ज्यान जोगाउनु । आकाशबाट बर्सिरहेका इँटा र ढुङ्गाबाट जोगिँदै म बिस्तारै भीडबाट बाहिर निस्कन थालेँ । जब ती ढुङ्गाहरूको पहुँचभन्दा टाढा पुगेँ, तब एक पटक पनि पछाडि नफर्की रङ्गशालाबाट निकै तलको मुख्य सडकसम्म सासै फेर्न नभ्याई दौडिएँ जस्तो आज पनि लाग्छ । त्यसपछि मात्र केही सम्हालिएर घरतिर लागेँ । त्यस घटनामा कति जना घाइते भए, अन्ततः कसले जित्यो वा कसले हार्‍यो भन्ने कुरा मैले कहिल्यै सोधखोज पनि गरिन ।

अमेरिकामा फादर्स डे हरेक वर्ष जुन महिनाको तेस्रो आइतबार मनाउने चलन छ । सन् २०२६ मा यो दिन जुन २१ मा परेको थियो । त्यही समय वर्षको सबैभन्दा लामो दिन पनि पर्ने भएकाले त्यसको छुट्टै रौनक हुन्थ्यो । हाम्रो नाति राजाको जन्मदिन भने जुन २३ मा पर्छ त्यसैले प्रायः हामी उसको जन्मदिनको आसपासमा उसैसँग हुने प्रयास गर्छौँ । त्यस वर्ष पनि जुन १९ मै हामी नेब्रास्का राज्यको बेलभ्यु शहर पुगिसकेका थियौँ ।

त्यसैबिच सन् २०२६ को फिफा विश्वकप फुटबल प्रतियोगिता अमेरिका, क्यानडा र मेक्सिकोमा शुरू भइसकेको थियो । न्यूयोर्क र न्युजर्सीमा पनि केही खेलहरू सञ्चालन भइरहेका थिए । ती खेल प्रत्यक्ष रूपमा हेर्ने ठुलो इच्छा भए पनि टिकट सहजै पाउनु लगभग असम्भवजस्तै थियो । अनलाइनमा सबैभन्दा सस्तो टिकट पनि करिब एघार सय अमेरिकी डलरभन्दा कम थिएन । त्यति धेरै रकम खर्च गरेर पनि रङ्गशालाको सबैभन्दा माथिल्लो भागमा बस्नुपर्ने, जहाँबाट खेलाडीहरू साना कमिलाजस्ता मात्र देखिन्थे । बरु टेलिभिजनको क्यामेराले त खेलाडीको अनुहारको सानोभन्दा सानो हाउभाउसमेत स्पष्ट देखाइदिन्थ्यो । अर्को जोखिम पनि उत्तिकै थियो—अनलाइन कारोबारमा पर्याप्त सावधानी अपनाइएन भने त्यही महँगो रकम पनि ठगहरूको हातमा पर्न सक्थ्यो । यस्ता चेतावनी र समाचारहरू व्यापक रूपमा आइरहेका थिए । त्यसैले प्रत्यक्ष खेल हेर्ने चाहना मनमै सीमित रह्यो र फोन वा टेलिभिजनबाटै विश्वकपको रोमाञ्च अनुभव गर्ने सोच बनायौँ ।

फादर्स डे २०२६ को उपहार
कहिलेकाहीँ आफ्ना इच्छा र रहर परिवारका सदस्य तथा छोराछोरीसँग पनि बाँड्नुपर्दो रहेछ । त्यसो गर्दा उनीहरूले हाम्रो मनको कुरा अझ राम्रोसँग बुझ्न सक्छन् भन्ने अनुभव पछि आएर भयो ।

विश्वकप फुटबलप्रतिको मेरो आकर्षण सन् १९७४ मा जर्मनीको म्युनिखमा सम्पन्न प्रतियोगितादेखि नै शुरू भएको हो । त्यस बेला पश्चिम जर्मनीले दोस्रो पटक विश्वकपको उपाधि जितेको थियो । त्यसयता विश्वकपका समाचार, विश्लेषण र रोमाञ्चक कथाहरू म चासोका साथ पढ्ने र सुन्ने गर्थेँ । पछि टेलिभिजनको पहुँच भएपछि विश्वकपका खेलहरू टेलिभिजनअगाडि बसेर हेर्ने बानी बस्यो ।

सन् १९९४ को विश्वकपका बेला तिब्बतको ल्हासास्थित, समुद्री सतहदेखि करिब १२ हजार फिटको उचाइमा रहेको कार्यालयमा कार्यरत साथीहरूसँग बसेर खाना खाँदै, खेलको नतिजामा बाजी लगाउँदै रमाइलो गर्ने अवसर पनि मिलेको थियो । फुटबलप्रति यति धेरै रुचि हुँदाहुँदै पनि किन हो कुन्नि, जीवनमा एक पटक जसरी पनि विश्वकपको खेल रङ्गशालामै पुगेर हेर्नुपर्छ भन्ने तीव्र चाहना भने कहिल्यै जागेन । त्यसका लागि आर्थिक अभाव पनि थिएन । त्यति बेला टिकट बिक्री–वितरणको प्रक्रिया कस्तो थियो भन्ने जानकारी मलाई थिएन र आजजस्तो अनलाइन प्रणाली पनि विकसित भइसकेको थिएन तर एउटा कुरा भने निश्चित थियो—टेलिभिजनमा फुटबल खेल देख्ने बित्तिकै मेरा आँखा स्वतः त्यतैतिर तानिन्थे । मेरो यही स्वभाव र फुटबलप्रतिको मोह हाम्रो जेठो छोराले चुपचाप नियालिरहेको रहेछ ।

शनिवार दिउँसो करिब तीन बजेतिर ठुलो छोराले अचानक सोध्यो, “ड्याडी, तपाईँले कहिल्यै सानो विमान चढ्नुभएको छ ?”
मैले सहजै उत्तर दिएँ, “छैन ।”

उसले कुरालाई अलि विस्तार गर्दै फेरि सोध्यो, “नेपालतिर त साना–साना विमान धेरै उड्छन् नि ! चार सिट जतिको सानो विमान चढ्न डर लाग्दैन ?”
मैले मुस्कुराउँदै भनेँ, “नेपालमा चार सिटको विमान मैले न देखेको छु, न चढेको नै । व्यापारिक उडानका लागि प्रयोग हुने विमानहरू प्रायः चार सिटभन्दा ठुला नै हुन्छन् जस्तो लाग्छ । नेपालको सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमै छ । मुस्ताङ, लुक्ला वा सगरमाथा आधार शिविरतर्फ उड्ने विमानहरू भने तुलनात्मक रूपमा साना हुन्छन् तर ती पनि पन्ध्र–बिस सिट क्षमताका नै हुन्छन् भन्ने मेरो बुझाइ छ । हेलिकोप्टर भने मैले चढेको छु । डरचाहिँ कुनैमा पनि लागेको छैन ।”

“एऽ !” भन्दै उसले कुराकानी टुङ्ग्यायो र आफ्नै कामतिर लाग्यो । म भने नातिसँग सकर (फुटबल) खेल्न चौरतिर निस्किएँ ।

आइतबार फादर्स डे थियो । बिहान चिया पिउँदै गर्दा छोराले सहजै भन्यो, “आज दिउँसो दुई बजेतिर ड्याडी र म विश्वकपको खेल हेर्न कान्सास सिटी जानुपर्छ ।”

उसको कुरा सुन्नासाथ म अचम्ममा परेँ । केही महिनाअघि यसै विषयमा कुरा हुँदा टिकट पाउन नसकिएको बताएको थियो । आज एकाएक टिकट कसरी मिल्यो ? म तीनछक परेँ । मनमा उमङ्गको सीमा नै रहेन । विश्वकपका खेल कुन–कुन शहरमा भइरहेका थिए भन्ने पूर्ण जानकारी मलाई थिएन । न्युजर्सीको मेटलाइफ स्टेडियममा पनि खेल हुँदैछ भन्नेचाहिँ थाहा थियो ।

बेलभ्युबाट कान्सास सिटी सडक मार्ग हुँदै जाँदा करिब दुईदेखि अढाई घण्टाको दूरीमा पर्छ । खेल भने साँझ करिब छ–सात बजेतिर शुरू हुने रहेछ । उसले योजनाबारे थप बतायो, “पहिले हामी यहाँबाट मेरो साथीको ह्याङ्गरसम्म जान्छौँ । त्यहाँ पुग्न करिब बिस मिनेट लाग्छ । त्यसपछि सानो विमानबाट उड्छौँ । उडान करिब एक घण्टाको हुनेछ । कान्सास सिटी विमानस्थलबाट उबर लिएर सीधै रङ्गशाला पुग्ने हो । पाँचदेखि छ बजेसम्ममा हामी रङ्गशालामा पुगिसक्नेछौँ ।”

उसको योजना सुन्दै जाँदा मैले कल्पनासमेत नगरेको खुसी एकै पटक मेरो सामु उभियो । एकातिर पहिलो पटक सानो विमान चढ्ने अवसर, अर्कोतिर जीवनभर टेलिभिजनमा मात्र हेर्दै आएको विश्वकप फुटबल प्रत्यक्ष रूपमा विशाल रङ्गशालामा बसेर हेर्ने सौभाग्य । एउटै दिनमा यी दुवै सपना पूरा हुनेछन् भन्ने मैले कहिल्यै सोचेको थिइनँ । त्यो क्षण मेरो लागि फादर्स डे मात्र थिएन, जीवनकै अविस्मरणीय उपहार बनेर आएको दिन थियो ।

दिउँसो दुई बजेतिर हामी बेलभ्युबाट निस्कियौँ । करिब पच्चिस मिनेटपछि ह्याङ्गर रहेको ठाउँमा पुग्यौँ । मैले त एयरपोर्ट भनेपछि ठूल्ठूला भवन, मानिसहरूको चहलपहल र रनवेमा जहाजहरूको आवतजावत हुने कल्पना गरेको थिएँ तर यहाँको दृश्य बिल्कुलै फरक रहेछ ।

गाउँबाट केही पर, पातलो जङ्गलको बिचमा सानो एयरपोर्ट रहेछ । चारैतिर काँडे तारको बारले घेरिएको थियो । बारभित्र मानिसहरूको आवतजावत त परै जाओस्, कुनै किसिमको चहलपहलसमेत देखिँदैनथ्यो । त्यो दृश्य देख्दा मलाई न्युयोर्कको उडसाइडमा रहेको एउटा जेलको सम्झना आयो । त्यहाँ पनि अग्लो पर्खालमाथि गोलो पारेर काँडे तार बेरेको छ । रातिको समयमा त्यस काँडे तारमा बिजुली प्रवाह गराइन्छ भन्ने कुरा सुनेको थिएँ । बाहिरी स्वरूप हेर्दा यो एयरपोर्ट पनि झन्डै त्यही जेलजस्तै लाग्यो ।

बारको देब्रेतिर साधारण ग्राभेल बिछ्याइएको एउटा सडक अर्को छेउसम्म पुगेको थियो । त्यसको अन्त्यमा करिब तीस–चालीस वटा गाडी अट्ने पार्किङ लट रहेछ । हामी त्यहीँ पुग्यौँ । पार्किङमा चारवटा मात्र गाडी थिए । छोराले आफ्नो गाडी एउटा पहेँलो रङ्गको गाडीको छेउमा रोकेपछि हामी दुवै बाहिर निस्कियौँ र त्यसैमा बस्यौँ ।

छोराले गाडीभित्र बसिरहेका आफ्ना साथी डेभसँग मेरो परिचय गरायो । उनी पेशाले इन्जिनियर रहेछन् तर विमान उडाउनु उनको विशेष रुचि रहेछ । त्यसैले पाइलटको तालिम लिएर लाइसेन्ससमेत प्राप्त गरेका रहेछन् र आफ्नै सानो विमान पनि किनेका रहेछन् ।

कुराकानी गर्दै हामी फेरि आएको बाटोतर्फ फर्कियौँ । काँडे तारको बारमा बिचबिचमा ढोकाहरू थिए । तीमध्ये एउटातर्फ गाडी मोडियो । मैले त त्यो रिमोटबाट खुल्ने ढोका होला भन्ने सोचेको थिएँ तर डेभले साँचो निकालेर ताल्चामा मिलाएपछि मात्र ढोका खुल्यो । गाडी भित्र पस्नेबित्तिकै ढोका आफैँ बन्द भयो ।

केही पर पुगेर गाडी फेरि दाहिनेतिर मोडियो । अलि अगाडि एउटा सानो विमान तयार अवस्थामा उभिएको थियो । त्यसको छेउमै गाडी रोकियो । हामीलाई बाहिर निस्कन भनियो भने डेभ आफ्नो गाडी लिएर ह्याङ्गर नम्बर १९ तर्फ लागे । ह्याङ्गरको ढोका बिस्तारै खुल्यो । उनले गाडी ह्याङ्गर भित्र पार्क गरे । बाहिर आए र ढोका बन्द गरे ।

त्यसपछि उनी सिधै विमानतिर लागे । उडानअघि पाइलटले गर्ने नियमित जाँच शुरू भयो । उनले विमानको वरिपरि घुम्दै प्रत्येक भाग हातले छामे, ध्यानपुर्वक निरीक्षण गरे । सबै कुरा ठिक भएको सुनिश्चित गरेपछि मात्र यात्रुतर्फ फर्किए ।

उनले दाहिनेतिरको ढोका खोलेर हामी बाबुछोरामध्ये को अगाडि बस्ने र को पछाडि भन्ने सोधे । छोराले तुरुन्तै भन्यो, “जाँदा ड्याडी अगाडि बस्नुहुन्छ, म पछाडि बस्छु । फर्कँदा म अगाडि बस्छु, ड्याडी पछाडि बस्नुहुन्छ ।” उसैले दुवै उडानको सिट व्यवस्थाको टुङ्गो लगाइदियो । वास्तवमा मलाई पनि त्यसै गर्न मन लागेको थियो ।

चार सिट मात्र भएको सानो विमान भएकाले पछाडिको सिटमा बस्न अगाडिको सिट अलि अगाडि सार्नुपर्दो रहेछ । यस्ता विमानमा चढ्न भ¥याङ पनि चाहिँदैन रहेछ । पखेटामुनि एउटा सानो पाइला राख्न मिल्ने ठाउँ राखिएको थियो । पहिले एउटा खुट्टा त्यसमाथि राख्ने, त्यसपछि पखेटाको कुनामा बनाइएको विशेष स्ट्रिपमा अर्को खुट्टा टेक्ने । त्यहाँभन्दा माथि समाउन मिल्ने सानो ह्यान्डल थियो । त्यसलाई समातेर तेस्रो पाइला चाल्दै विमानभित्र पस्नुपर्ने रहेछ ।

हामी दुवै विमानभित्र प्रवेश गर्‍यौँ । मेरो मनमा भने नयाँ अनुभूतिको उत्साह र बालकलाई जस्तै कौतूहल एकसाथ जागिरहेको थियो ।
झ्याल बन्द गरियो । पाइलटले झ्याल कसरी लक गर्ने भन्ने पनि सिकाइदिए । त्यसपछि उनले विमानको इन्जिन स्टार्ट गरे । केही क्षणमै हामी दुवैलाई कानमा लगाउने एभिएसन हेडसेट दिइयो । त्यसको काम इन्जिनको ठुलो आवाज कम गर्नुका साथै एयर ट्राफिक कन्ट्रोल टावरसँग सम्पर्क गराउनु रहेछ । पाइलट र कन्ट्रोल टावर बिच हुने सम्पूर्ण संवाद हामीले पनि स्पष्टसँग सुन्न सक्ने रहेछौँ । पाइलटले हामीसँग गरेका कुराकानीसमेत टावरले सुन्ने व्यवस्था रहेछ ।

उडानअघि डेभले विमानका केही विशेषताबारे जानकारी दिन थाले । यो सानो विमान एघार हजार फिटभन्दा माथि नउड्ने रहेछ । त्यसमा आपत्कालीन अवस्थाका लागि प्यारासुटसमेत जडान गरिएको रहेछ । यदि उडानका क्रममा पाइलट अचानक बिरामी परे, बेहोस भए वा कुनै कारणले विमान सञ्चालन गर्न नसक्ने अवस्थामा पुगे भने, उनको छेउमा बस्ने सहपाइलट वा यात्रुले आफ्नो टाउकामाथि रहेको एउटा ह्यान्डल तान्नुपर्ने रहेछ । त्यसो गरेपछि प्यारासुट स्वतः खुल्ने रहेछ । त्यसपछि देब्रे हाततिर रहेको रातो लेभर अगाडि सार्नुपर्ने रहेछ । त्यसले इन्जिनमा जाने इन्धन बन्द गरिदिने भएकाले विमानमा आगलागी हुने सम्भावना पनि न्यून हुने रहेछ ।

यति विस्तृत जानकारी सुनेपछि मनमा रहेको सामान्य डर पनि हराएर गयो । सिटमुनि लाइफ ज्याकेट पनि राखिएको छ भनेर उनले जानकारी दिए, यद्यपि मैले त्यसलाई निकालेर हेर्ने आवश्यकता महसुस गरिनँ । डेभ पेशाले इन्जिनियर र रुचिले पाइलट भए पनि उनको व्यवहार अत्यन्त जिम्मेवार र अनुशासित थियो । त्यसैले मेरो मनमा कुनै किसिमको त्रास वा असुरक्षाको भावना जागेन ।

सबै तयारी पूरा भएपछि विमान बिस्तारै ह्याङ्गरबाट निस्केर रनवेतर्फ लाग्यो । केही बेरमै डेभले एयर ट्राफिक कन्ट्रोलरसँग उडानको अनुमति मागे । रनवे करिब एक माइलभन्दा पनि छोटो थियो । हामीभन्दा अघि उभिएको अर्को विमान उडिसकेको थियो । त्यसैले कन्ट्रोल टावरबाट तुरुन्तै उडानको अनुमति आयो ।

एउटा कुरा भने मेरो लागि रहस्यमै रह्यो । वरिपरि कतै पनि कन्ट्रोल टावर देखिँदैनथ्यो । अनुमति कुन टावरबाट आइरहेको थियो, त्यो कुरा बुझ्नै सकिनँ । पछि डेभसँग सोधुँला भन्ने सोचेको थिएँ तर रात परिसकेपछि त्यो जिज्ञासा नै बिर्सिएँ ।

केही क्षणमै विमानले रनवे छोड्यो । सानो कम्पनसँगै त्यसले आकाशको बाटो समात्यो । तल पार्कजस्तै देखिने पातलो जङ्गल, छरिएर बसेका गाउँ बस्ती र साना शहरहरू बिस्तारै पछाडि छुट्दै गए । न धेरै माथि, न धेरै तल—धर्तीका रूपरङ्ग स्पष्ट देखिने उचाइमा पुग्दै हामी करिब एघार हजार फिटसम्म उक्लियौँ ।

माथिबाट देखिने दृश्य भने अद्भुत थियो । लामा–लामा सडकहरू कतै नागबेलीझैँ बाङ्गिएका, कतै एक आपसमा गाँसिएका देखिन्थे । विशाल जमिनलाई चिटिक्क पारेर वर्गाकार खण्डमा बाँडिएको थियो । ती प्रायः सबै खेतमा केही न केही बाली लगाइएको जस्तो देखिन्थ्यो । चारैतिर हरियाली नै हरियाली थियो । माथिबाट पृथ्वीलाई हेर्दा मानिसले प्रकृतिलाई आफ्नो आवश्यकताअनुसार कति व्यवस्थित ढङ्गले रूपान्तरण गरेको रहेछ भन्ने अनुभूति भइरहेथ्यो ।

यिनै दृश्यहरूमा हराउँदै, मनमा अनेक कल्पना खेलाउँदै बसेकै बेला डेभले हामी कान्सास सिटीको विमानस्थल नजिक पुगिसकेको जानकारी दिए । उनले औँलाले अगाडितिर देखाउँदै केही सङ्केत गरे तर मैले भने विमानस्थल छुट्याउन सकिनँ । उनले अब करिब बिस मिनेटभित्र अवतरण गर्ने बताए ।

ठुला विमानको ककपिटबाट अगाडिको दृश्य कस्तो देखिन्छ, त्यो त मलाई थाहा छैन तर यो सानो विमानमा भने अगाडि हेरेर केही देखिँदैन रहेछ । झ्यालमुनिको सम्पूर्ण भाग विभिन्न उपकरण र स्क्रिनहरूले ढाकेको थियो । त्यसमाथि विमानको इन्जिन पनि अगाडि तिरै रहेकाले सीधै अगाडिको दृश्य देख्ने सम्भावना नै रहेनछ ।

कान्सास सिटीको विमानस्थल नजिकै एउटा नदी रहेछ । त्यसकै किनारमा रनवे फैलिएको थियो । यहाँ ठुला अन्तर्राष्ट्रिय विमानस्थलजस्तो चाप देखिएन । साना विमानहरू सुव्यवस्थित रूपमा लामबद्ध पार्क गरिएका थिए । हाम्रो विमान अवतरण गरेपछि एयरपोर्टका एक कर्मचारीले हातको सङ्केत गर्दै पार्किङ गर्ने स्थान देखाइदिए । विमान पार्क गरिसकेपछि उनले फर्कने समय पनि सोधे ।

त्यसपछि हामी एउटा छुट्टै प्रवेशद्वार हुँदै कार्यालयतिर गयौँ । फ्रन्ट डेस्कमा एक जना महिला कर्मचारी थिइन् । डेभले आवश्यक प्रक्रिया केही बाँकी छ कि भनेर सोधे । उनले एउटा फाराममा हस्ताक्षर गर्न लगाइन् । औपचारिकता पूरा भएपछि हामी बाहिर निस्कियौँ ।

त्यतिन्जेल उबर चालक एयरपोर्ट आइपुगेको सूचना मोबाइलमा आइसकेको रहेछ । हामी गाडी खोज्दै बाहिर निस्कन लागेका थियौँ, उबर आफैँ हाम्रो अगाडि आइपुग्यो । चालक एक जना अश्वेत महिला रहिछिन् । उनी अगाडिको सिटलाई झन्डै पूरै आफ्नो कार्यक्षेत्रजस्तै बनाएर निर्धक्कसँग गाडी चलाइरहेकी थिइन् ।

रङ्गशालानजिक पुग्ने बित्तिकै लामो ट्राफिक जाममा परियो । यदि त्यहाँ पैदल हिँड्न मिल्ने सडक भएको भए, शायद हामी हिँडेरै पुग्ने प्रयास गर्ने थियौँ तर हाइवे भएकाले धैर्यतापूर्वक गाडीमै बस्नुको विकल्प थिएन । सौभाग्यवश, हामीसँग समय प्रशस्तै थियो । त्यसैले छोरा र उसका साथी पनि कुनै हतार नगरी आनन्दपुर्वक कुराकानी गर्दै बसेका थिए ।

हामी जाने रङ्गशालाको नाम आरोहेड स्टेडियम (ब्चचयधजभबम क्तबमष्गm) रहेछ । त्यसकै छेउमा कफम्यान स्टेडियम (प्बगााmबल क्तबमष्गm) पनि रहेछ । खेलकुदकै लागि समर्पित त्यो विशाल क्षेत्रलाई ट्रुमन स्पोट्र्स कम्प्लेक्स (त्चगmबल क्उयचतक ऋयmउभिह) भनिँदो रहेछ । एउटै परिसरमा रहे पनि दुवै रङ्गशालाको व्यवस्थापन फरक–फरक खेल संस्थाले गर्दा रहेछन् । आरोहेड स्टेडियम अमेरिकी फुटबल टोली कान्सास सिटी चिप्सको गृह मैदान रहेछ भने कफम्यान स्टेडियम कान्सास सिटी रोयल्स बेसबल टोलीको । एउटा अमेरिकी फुटबलका लागि प्रसिद्ध, अर्को बेसबलका लागि ।

लामो प्रतीक्षापछि हामी प्रवेशद्वारनजिक पुग्यौँ । भित्र पस्न चारवटा अलग–अलग लेन बनाइएका रहेछन् । ती लेन हुँदै गाडीहरू पार्किङ क्षेत्रमा प्रवेश गर्थे र त्यहाँबाट दर्शकहरू रङ्गशालातर्फ जान्थे । हाम्रो गाडी उबर भएको थाहा पाएपछि प्रवेशद्वारमा खटिएका कर्मचारीले चालकलाई सोधे— “कहाँ जाने ?”

चालकले उत्तर दिइन्, “यात्रीलाई झार्न आएकी हुँ । झारेर तुरुन्तै फर्किन्छु ।”
उनले तुरुन्तै अर्को बाटो देखाउँदै भने, “त्यसो भए यो लेन होइन, उता गएर यात्रु झार्नुस् अनि फर्किनुस् ।”

त्यो गेट पार गरेपछि मैले छोरालाई भनेँ, “समय त अझै बाँकी छ । रङ्गशाला पनि यति नजिकै रहेछ । हामी बिस्तारै हिँड्दै जाऔँ न । उबरलाई यहीँबाट बिदा गरिदिऔँ ।”

मेरो प्रस्ताव दुवै केटाले तुरुन्तै स्वीकारे । त्यसपछि हामी उबरबाट ओर्लियौँ र विशाल रङ्गशालतर्फ पैदल यात्रा शुरू गर्‍यौँ ।

टन्टलापुर घाममा हामी तीनै जना ट्रुमन स्पोट्र्स कम्प्लेक्स त्चगmबल कउयचतक अयmउभिह तर्फ बिस्तारै हिँड्न थाल्यौँ । सडकभरि र कम्प्लेक्स वरिपरि मानिसहरूको बाक्लो भीड थियो । तर त्यो भीडमा एउटा कुरा भने निकै रोचक लाग्यो । झन्डै नब्बे प्रतिशत मानिसले पहेँलो टी–सर्ट लगाएका थिए । त्यो दृश्य देख्दा मलाई फुलेको तोरीवारिको बिचमा हिँडिरहेको अनुभूति भयो । जता हे¥यो, उतै पहेँलै पहेँलो ।

वरिपरि पहेँलो टी–सर्ट बेच्ने अस्थायी पसलहरू पनि प्रशस्तै थिए । एउटा टी–सर्टको मूल्य करिब तीस अमेरिकी डलर रहेछ । मानिसहरू उत्साहका साथ ती टी–सर्ट किनिरहेका थिए । त्यो पहेँलो रङको मोह देख्दा त एक छिनका लागि यहाँ इक्वेडोरका समर्थकहरू मात्रै आएका हुन् कि जस्तो पनि लाग्यो ।

त्यसको ठिक विपरीत, नीलो जर्सी लगाएका क्युरासाओ (ऋगचबअबय) का समर्थकहरू भने एउटा कुनामा सानो समूह बनाएर बसेका देखिए । उनीहरू भीडमा लगभग हराएजस्तै लाग्थे । संसारका झन्डै दुई सय देशका नाम सुनेको र पढेको भए पनि ‘क्युरासाओ’ भन्ने देशको नाम मैले यसअघि कहिल्यै सुनेको थिइनँ । पछि थाहा भयो, क्यारिबियन सागरमा रहेको त्यो सानो टापु राष्ट्र सन् २०१० मा नेदरल्यान्ड्सको राज्य संरचनाभित्र स्वायत्त देशको रूपमा स्थापित भएको रहेछ । त्यसैले होला, त्यस दिन सडकभरि उनीहरूका समर्थकहरू बिरलै मात्र देखिन्थे ।

गर्मी निकै चर्को थियो । त्यसैले सडकभरि र ट्रुमन स्पोट्र्स कम्प्लेक्सभित्र पानी बेच्नेहरू प्रशस्तै देखिन्थे । तर बाहिरबाट ल्याएको पानी वा कुनै पनि पेय पदार्थ स्टेडियमभित्र लैजान पाइँदैन रहेछ । सबै कुरा भित्रै किन्नुपर्ने व्यवस्था रहेछ । पानी, कोक वा अन्य पेय पदार्थ किन्दा पनि उनीहरूले बोतलको बिर्को खोलेर मात्र हातमा दिन्थे । बिर्को भने आफैँसँग राख्थे । सुरक्षाका दृष्टिले यस्तो व्यवस्था गरिएको रहेछ ।

आरोहेड स्टेडियममा करिब ७६ हजार ४ सय दर्शक अट्ने क्षमता रहेछ । त्यस दिन भने ६८ हजार ७ सय ९५ जना दर्शक उपस्थित रहेको घोषणा माइकबाट बारम्बार गर्वका साथ सुनाइँदै थियो । यति ठुलो सङ्ख्यामा मानिस उपस्थित हुँदा पनि कतै असहज भिडभाड भएको अनुभूति भएन । जहाँ पनि लाइन थिए, तर छोटा छोटा । दुई–चार मिनेटभन्दा बढी कतै कुर्नुपरेन ।

त्यो व्यवस्थापन देखेर म साँच्चै प्रभावित भएँ । प्रवेशद्वारहरू पनि कति थिए, ठ्याक्कै गनिनँ, तर बिस–तीसभन्दा कम त थिएनन् । एक पटक त पूरै स्टेडियम वरिपरि घुमेको थिएँ, तर ढोकाहरू गन्ने फुर्सद वा जाँगर दुवै भएन ।

प्यारा पिट र खेलमैदान मात्र होइन, रङ्गशालाभित्र पसिसकेपछि त त्यहाँ एउटा सानो शहर नै बसेजस्तो अनुभूति हुन्थ्यो । खानेकुराका पसल, स्मारिका वा उपहार बेच्ने स्टल, विश्राम गर्ने ठाउँ, सूचना केन्द्र, शौचालय, सेवा–सुविधा—सबै कुरा यति व्यवस्थित रूपमा मिलाइएका थिए कि खेल हेर्न आएको दर्शकलाई कुनै असुविधाको अनुभव नै नहोस् भन्ने सोच स्पष्ट देखिन्थ्यो ।

फिफाको तामझाम
फिफाका सबै खेलको शुरूआत यस्तै भव्य ढङ्गले हुन्छ कि पहिलो चरणका खेलहरूमा मात्र यस्तो विशेष तयारी गरिन्छ, त्यो भने मलाई थाहा भएन । तर मैले देखेको दृश्य अविस्मरणीय थियो ।

त्यति बेलासम्म स्टेडियममा करिब ६८ हजार दर्शक भरिइसकेका थिए । दुवै टोलीका खेलाडीहरू मैदानमा अन्तिम अभ्यासमा व्यस्त थिए । त्यसैबिच फिफाका कर्मचारीहरूको लामो लस्कर खेलमैदानको दाहिनेतर्फको गोललाइनबाट काँधमा कार्पेटको रोलजस्तै देखिने वस्तु बोकेर मैदानमा प्रवेश गर्‍यो । अगाडिको कर्मचारी निर्धारित स्थानमा पुगेपछि सबै केही क्षण उभिए र त्यसपछि एकैसाथ टुक्रुक्क बसे ।

लगत्तै अर्को समूह मैदानको देब्रेतर्फको गोललाइनबाट उही शैलीमा अघि बढ्यो । उनीहरू पनि आफ्नो स्थानमा पुगेर उभिए र त्यसपछि बसे । त्यसपछि अघिल्ला दुई समूहभन्दा सानो अर्को टोली मैदानको बिच भागबाट सेन्टर लाइन हुँदै आयो र निर्धारित स्थानमा उभिएर बस्यो ।
केही क्षणपछि कसैको सङ्केत हुनासाथ बिचमा रहेको समूहले आफूहरूले बोकेर ल्याएको रोललाई एकै पटक फररर… गर्दै दुवैतर्फ फैलायो । त्यसपछि सबै कर्मचारी फुर्तीका साथ आआफ्नो स्थानमा फर्किए । मैले शुरूमा कार्पेट ठानेको त्यो वस्तु वास्तवमा फिफाको विशाल झन्डा रहेछ । त्यसमा विश्वको मानचित्रसहित फिफाको गोलाकार लोगो अङ्कित थियो ।

त्यसपछि दायाँ र बायाँ लाइनमा बसेका कर्मचारीहरूले पनि एकैसाथ आफ्ना रोलहरू खोल्न थाले । केही क्षणमै फिफाको विशाल लोगोलाई दुवैतर्फबाट घेरेझैँ गरी इक्वेडर र क्युरासीओका राष्ट्रिय झन्डाहरू मैदानभर फैलिए ।

त्यसपछि पालैपालो इक्वेडर र क्युरासीओको राष्ट्रिय गान बज्यो । स्टेडियममा उपस्थित करिब ६८ हजार दर्शक एकैसाथ उठेर सम्मानपूर्वक उभिए । त्यो दृश्यले खेल केवल प्रतिस्पर्धा मात्र होइन, राष्ट्र, सम्मान र खेल भावनाको साझा उत्सव पनि रहेछ भन्ने अनुभूति गरायो । सम्भवतः यही फिफाको अन्तर्राष्ट्रिय शिष्टाचार हो ।

राष्ट्रिय गान समाप्त हुने बित्तिकै सबै झन्डा व्यवस्थित रूपमा समेटिए र केही क्षणपछि रेफ्रीको सिट्ठीसँगै खेल शुरू भयो ।

खेलको रस्साकसी
खेल र खेलाडीको भाग्य कहिले कसको चम्किन्छ, कहिले कसको । सधैँ एउटै खेलाडी अपराजित वा सर्वश्रेष्ठ भइरहन सक्दैन । आखिर खेल मान्छेले खेल्ने हो, त्यसैले उतारचढाव स्वाभाविक हुन्छ । फुटबल इतिहासका महान् खेलाडी डिएगो म्याराडोना, लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो वा किलियन एम्बाप्पेले समेत निर्णायक पेनाल्टी किक चुकाएका उदाहरण हाम्रै सामु प्रशस्त छन् । त्यसैले फुटबलको सबैभन्दा ठूलो आकर्षण नै यसको अनिश्चिततामा रहेछ ।

खेलको वास्तविक रोमाञ्च भने भकुन्डो गोलपोस्टनजिक पुग्नेबित्तिकै शुरू हुँदोरहेछ । बल आक्रमणकारी टोलीको नियन्त्रणमा पुगेर गोल गर्ने सम्भावना देखिनेबित्तिकै हजारौँ दर्शक एकैसाथ आफ्नो सिटबाट जुरुक्क उठ्छन् । तर उनीहरू पूरै उठ्न नपाउँदै खेलाडीले बल अर्को दिशातिर फर्काइसकेका हुन्छन् । केही क्षणमै खेलको गति फेरि अर्को गोलपोस्टतर्फ मोडिन्छ, अनि दर्शकहरू फेरि उठ्न बाध्य हुन्छन् ।

अगाडिका दर्शक उभिएपछि पछाडिका दर्शक उठ्न बाध्य हुने रहेछ । अझ उमेर ढल्किएका दर्शकका लागि त त्यो झन् असहज हुँदोरहेछ । आफू मात्रै बसिरहूँ भने त्यही क्षण गोल भइहाल्ला कि भन्ने डर । त्यसैले उठ्ने, बस्ने र फेरि उठ्ने क्रम खेलभरि चलिरह्यो । नब्बे मिनेटको खेलमा साठी मिनेटभन्दा बढी समय मैले उभिएरै खेल हेरेँ । शायद प्रत्यक्ष रूपमा फुटबल हेर्नुको रोमाञ्च यही नै रहेछ ।

कहिले लाग्थ्यो, अब यहीँ गोल हुन्छ तर त्यत्तिकैमा बल अर्को गोलपोस्टतर्फ पुगिसकेको हुन्थ्यो । आक्रमण र प्रतिआक्रमणको यही रस्साकसीले खेलको रोमाञ्च अन्तिम मिनेटसम्म जीवित राख्यो । अन्ततः इक्वेडर र क्युरासीओबीचको खेल बराबरीमा टुङ्गियो । कुनै टोलीले जित हात पार्न सकेन तथापि दर्शकले भने विश्वकप फुटबलको वास्तविक रोमाञ्च भरपुर रूपमा अनुभव गरे । कुनैपनि समर्थकले निराश हुनु परेन ।

सत्तरी हजार निस्कँदा
करीब सत्तरी हजार दर्शक एकैपटक बाहिर निस्कने भीडसँग जुध्न नपरोस् भनेर हामी खेल सकिनुभन्दा करीब दुई मिनेटअघि नै स्टेडियमबाट बाहिरियौँ । हामीलाई लागेको थियो, सबैभन्दा पहिले बाहिरिने हामी नै हौँ तर त्यही सोच्ने हामी मात्र रहेनछौँ । बाहिर निस्कँदा हामीभन्दा अघि नै सयौँ दर्शक मैदानबाहिरका ठूला स्क्रिनतिर आँखा लगाउँदै पार्किङ क्षेत्रतर्फ लागिसकेका रहेछन् ।

उबर कहाँ बोलाउने भन्ने कुरा हामीलाई थाहा थिएन । सोधपुछ गर्दै करीब दस मिनेटपछि तोकिएको स्थानमा पुग्यौँ । त्यहाँ पुग्दा हजारौँ गाडीहरूको भीड जम्मा भइसकेको थियो । विशाल खुला चौरलाई छ–सात वटा लेनमा विभाजन गरी छुट्टाछुट्टै निस्कने व्यवस्था मिलाइएको रहेछ तर खेल सकिएपछि सबैलाई सकेसम्म छिटो घर पुग्ने हतार । अस्थायी ट्राफिक व्यवस्थाबारे सबैलाई समान जानकारी नहुने । रातको समय भएकाले नियम पालना गराउन पनि सहज नहुने । त्यसैले केहीबेर त्यहाँ सामान्य अव्यवस्था देखिन्थ्यो ।

यसैबिच हाम्रो पाइलट साथी डेभले बोलाएको उबर पनि त्यही खुला क्षेत्रमा आइपुगेको रहेछ तर अन्धकार र गाडीहरूको भीडका कारण हामी एकअर्कालाई भेट्न सकिरहेका थिएनौँ । अन्ततः मोबाइलमा कुरा गर्दै हामी तीनै जना गाडीहरूको बीचबाटै उसको खोजीमा अघि बढ्यौँ । यदि बिच बाटोमै भेटियो भने उसलाई पनि सजिलो, हामीलाई पनि सजिलो हुने सोच थियो ।

रातको अँध्यारोमा सयौँ गाडीहरूको बीच हुँदै त्यसरी हिँड्नु पूर्ण रूपमा सुरक्षित त थिएन तर अर्को विकल्प पनि देखिएन । केटाहरू अघि बढेपछि म पनि उनीहरूको पछि लागेँ । करीब दस मिनेटजति हिँडेपछि अन्ततः चालकसँग हाम्रो भेट भयो । त्यसपछि उसलाई पनि राहत मिल्यो, हामीलाई पनि ।

बाहिरको गर्मी झन्डै नब्बे डिग्री फरेनहाइटको थियो । उबरको चिसोभित्र बसेपछि बल्ल शरीरले राहतको सास फे¥यो । अब चालकले भीडबाट बाहिरिने बाटो समाउन मात्र बाँकी थियो । कुशलतापूर्वक गाडी चलाउँदै उनले तीन–चार मिनेटमै हामीलाई त्यो विशाल भीडबाट बाहिर निकाले र सिधै एयरपोर्टतर्फ लागे ।

सुनसान एयरपोर्ट
फर्कने बेला बाटोमा खासै ट्राफिकको समस्या भएन । करीब साढे दस बजेतिर हामी एयरपोर्ट पुग्यौँ । दिनभर चहलपहल देखिएको त्यो सानो एयरपोर्ट अहिले मधुरो बत्तीको उज्यालोमा एकदमै सुनसान र चकमन्न थियो । वरिपरि एक जना मानिस पनि देखिएन । दिउँसो यही ठाउँमा दुईवटा ठूला जहाज पनि देखेको थिएँ । अहिले भने हामी चढ्ने सानो विमान र त्यो भन्दा केही ठूलो अर्को एउटा विमान मात्र बाँकी थिए ।

त्यो दृश्य देखेर मनमा एउटा जिज्ञासा उठ्यो । यतिबेला रनवेको बत्ती, सङ्केत वा अन्य उडानसम्बन्धी व्यवस्थापन कसले गर्ला ? कार्यालयभित्र भने अझै बत्ती बलिरहेको देखिन्थ्यो ।

हामी ढोकासम्म पुग्यौँ । ढोका धकेल्यौं । खुलेन । त्यही बेला भित्रतिर एउटा पाइलट आफ्नो झोला अगाडि राखेर उडानको तयारीमा उभिएको देखियो । उक्त दृष्यले भित्र अन्य कर्मचारी पनि अवश्य होलान् भन्ने अनुमान गर्न सजिलो भयो ।

हाम्रो पाइलट डेभले कतै फोन गरे । केहीबेर कुराकानी गरेपछि हामीतिर फर्केर भने, “ढोका खोल्न मानिस आउँदै छन् ।”

साँच्चै, केही मिनेटमै चार–पाँच जनाको एउटा सानो समूह त्यही प्रवेशद्वारमा आइपुग्यो । उनीहरू आपसमा स्पेनीस भाषामा कुराकानी गरिरहेका थिए । तीमध्ये दुई जना सत्तरी वर्ष नाघेका, अनुभवी व्यवसायीजस्ता देखिन्थे । बाँकी तीन जना पच्चीस–तीस वर्ष उमेरका युवा थिए । सबैको पहिरन निकै भद्र र सम्पन्न व्यक्तिको जस्तो थियो । उनीहरू पनि विश्वकपको खेल हेरेर फर्किएका हुन् कि भन्ने मलाई लाग्यो । यद्यपि त्यो मेरो अनुमान मात्र थियो ।

कर्मचारी आएर ढोका खोलिदिएपछि हामी सबै भित्र पस्यौँ । भित्र पानी, चिया, जुस लगायतका पेयपदार्थ राखिएका मेसिनहरू रहेछन् । यो सुविधा सामान्य यात्रुका लागि नभएर निजी विमान प्रयोग गर्नेहरूका लागि मात्र रहेछ जस्तो लाग्यो, किनकि सबै निःशुल्क थियो । हामीले चिसो पानी लियौँ र फेरि बाहिर निस्कियौँ । कतै नाम लेख्न, दर्ता गर्न वा हस्ताक्षर गर्नुपर्ने कुनै झन्झट रहेन ।

भित्र प्रवेश गरेपछि मात्र वास्तविकता थाहा भयो । केही मिनेट अघि कार्यालयभित्र देखिएको पाइलट उनीहरुकै रहेछन् । बाहिर पार्क गरिएको ठूलो विमान पनि उनीहरूकै रहेछ । त्यसपछि मात्र मैले बुझ्न सकेँ—त्यो सुनसान देखिने एयरपोर्टमा पनि रातको आफ्नै गति र गतिविधि बाँकी रहेछ ।
त्यसपछि हामी सिधै विमानतिर लाग्यौँ । डेभ रहरले पाइलट बनेका भए पनि आफ्नो जिम्मेवारीप्रति अत्यन्त गम्भीर रहेछन् । विमानमा चढ्नुअघि उनले सबैभन्दा पहिले आफ्नोतर्फको ढोका खोले, टर्च लिएर बाहिर निस्किए र विमानको सूक्ष्म निरीक्षण गर्न थाले । पखेटा, चक्का, झ्यालदेखि हातले छुन सकिने प्रत्येक भागमा टर्चको उज्यालो पार्दै उनले आँखाले हेरे र हातले समेत छामे । पखेटाको एउटा भागमा इन्जिनको तेल जाँच्ने सानो ढकनी रहेछ । त्यसलाई खोलेर उनले अलिकति तेल पनि थपे । सबै कुरा ठीक रहेको सुनिश्चित गरेपछि मात्र हामीलाई विमानभित्र पस्न सङ्केत गरे ।
हामी बाबुछोरा पालैपालो विमानभित्र पस्यौँ र आआफ्नो सिटमा बस्यौँ । डेभ भने दिउँसोदेखि नै मौसमप्रति सजग रहेछन् । दिउँसो खाना खाने क्रममा अनन्तले भने एउटा सङ्केत दिएका थिए—“घर फर्किन अलि ढिलो हुन सक्छ, त्यसैले राम्ररी खाएर जाऔँ ।”

हामीले एभिएसन हेडसेट कानमा लगाइसकेपछि डेभले मौसमबारे विस्तारसँग जानकारी दिए ।

“हामी फर्कने बाटोमा ठूलो वर्षा, चट्याङ, हुरी र आँधी आउने सम्भावना देखिएको रहेछ । आगाडिको स्क्रिनमा मौसमको भाग अरेन्ज र रेड जोन देखिएका छन् । कतिपय पाइलटहरू अरेन्ज जोन हुँदै पनि उड्छन् तर मैले ती दुवै क्षेत्रबाट करीब बीस माइल टाढा हुँदै ओमाहातर्फ जाने योजना बनाएको छु । त्यसैले फर्कंदा आउँदाको भन्दा झन्डै दोब्बर समय लाग्न सक्छ । कतैकतै टर्बुलेन्स पनि हुन सक्छ तर आत्तिनु पर्दैन ।”
उनको कुरा शान्त र आत्मविश्वासपूर्ण थियो । त्यसैले मौसमको यस्तो चेतावनी सुनेर पनि मेरो मनमा कुनै डर पैदा भएन । बरु उनीप्रतिको विश्वास अझ बढ्यो ।

घनघोर वर्षा र रातको अन्धकारमा सानो विमानको सफर
विमानको इन्जिन स्टार्ट हुनासाथ पाइलटको एयर ट्राफिक कन्ट्रोल टावरसँग कुराकानी शुरू भयो । अगाडिको स्क्रिनमा अरेन्ज र रेड जोन स्पष्ट देखिन्थ्यो । मैले त्यसतर्फ खासै ध्यान दिइनँ । डेभ अत्यन्त आत्मविश्वासी देखिन्थे, र मौसमको अवस्थाअनुसार आवश्यक सबै सावधानी अपनाइसकेका थिए ।

केहीबेरमै विमानले सानो फन्को मारेर रनवे छोड्यो । उडानको शुरूका करीब पन्ध्रबीस मिनेटसम्म तलका बस्ती, सडक र घरका बत्तीहरू स्पष्ट देखिन्थे । तर विस्तारै अन्धकार बाक्लिँदै गयो । केही समयपछि त विमानका पँखेटासमेत देखिन छाडे । पखेटाको टुप्पामा झिमिकझिमिक बलिरहने बत्ती पनि आँखाबाट हरायो ।

दाहिनेतर्फ निकै परपरसम्म बिजुली चम्किरहेको देखिन्थ्यो । त्यहाँ भीषण वर्षा भइरहेको आभास हुन्थ्यो । डेभका अनुसार हामी त्यो खराब मौसमबाट कम्तीमा पनि बीस माइल टाढा थियौँ । त्यसैले बाहिरको दृश्य डरलाग्दो देखिए पनि उनको आत्मविश्वासले हामीलाई ढुक्क बनाइरहेको थियो ।

टर्बुलेन्सको सम्भावना मनमा कल्पना गर्दै हामी त्यही घना अन्धकार र भीषण वर्षाको किनारैकिनार करीब पैँतालीस मिनेट उड्यौँ । त्यसपछि डेभले हामी बाबुछोरालाई एउटा–एउटा कागजी थैली दिँदै भने,

“अब केहीबेर टर्बुलेन्स हुन सक्छ । मोसन सिक भएर बान्ता आउन पनि सक्छ । त्यसैले सरसफाइका लागि यो हातमै लिई राख्नुहोस् ।”

आजसम्म मलाई त्यस्तो समस्या कहिल्यै परेको थिएन । तैपनि उनले दिएपछि हामीले थैली हातमै समातेर सम्भावित टर्बुलेन्सको प्रतीक्षा गरिरह्यौँ ।
करीब बीस मिनेटपछि फेरि तलका घर र बत्तीहरू देखिन थाले । विमानका पँखेटा पनि देखिए, पँखेटाको टुप्पामा झिमिकझिमिक बल्ने बत्ती पनि फेरि देखाप¥यो । मेरो मनले भन्यो, अब जोखिमको भाग सकियो जस्तो छ । केही क्षणपछि डेभले पनि त्यही कुरा पुष्टि गर्दै भने,
“अब करीब बीस मिनेटमा हामी एयरपोर्ट पुग्छौँ ।”

उनले अगाडितिर एयरपोर्ट पनि देखाइरहेका थिए तर दिउँसै स्पष्ट नदेखिएको एयरपोर्ट रातको घना अन्धकारमा मैले कसरी देख्नु ? त्यसैले हेर्ने प्रयास नै गरिनँ । मेरो मनमा एउटै सन्तोष थियो—हामी सुरक्षित रूपमा घर फर्किरहेका थियौँ ।

अब सानो एयरपोर्टमा, वरिपरि मानिस वा चहलपहलको कुनै सङ्केत नदेखिँदा पनि विमान कसरी अवतरण होला भन्ने जिज्ञासा र आशङ्का दुवै हराइसकेका थिए । डेभप्रतिको विश्वासले ती सबै डरलाई धेरैअघि नै विस्थापित गरिसकेको थियो ।

अवतरण पनि आश्चर्यजनक रूपमा सहज भयो । सानो विमान भएकाले होला, जमिन छोएको अनुभूति नै मुस्किलले भयो । ठूला विमानमा जस्तै अगाडितिर हुत्तिने वा चक्काले रनवे छोएको क्षणमा ठुलो झट्का लाग्ने अनुभव यहाँ भएन । विमान बिस्तारै, अत्यन्त कोमल ढङ्गले रनवेमा ओर्लियो, मानौँ आकाशबाट धर्तीले आफ्नै काखमा सम्हालेर राखिदियो ।

बाहिर निस्कदासम्म ठूलो वर्षा परेर रोकिइसकेको रहेछ । सडकभरि पानीको भेल बगिरहेको थियो । विमानलाई ह्याङ्गरभित्र राख्ने क्रममा हामी बाबुछोराले पनि सकेजति हातेमालो ग¥यौँ । सबै काम सकिएपछि डेभले फेरि हामीलाई पार्किङ लटसम्म पुर्‍याइदिए । त्यहीँ हामीसँग बिदा हुँदै उनले हात हल्लाए । मैले मनैदेखि उनलाई धेरै–धेरै धन्यवाद दिएँ ।

म त नातिको जन्मदिनमा उसलाई एउटा अविस्मरणीय सरप्राइज दिन ओमाहा आएको थिएँ तर संयोगले सरप्राइज त मैले नै पाएँ । फादर्स डेका दिन सानो विमान चढ्ने अवसर, विश्वकप फुटबल प्रत्यक्ष रङ्गशालामा बसेर हेर्ने सौभाग्य, अनि फर्कंदा घनघोर वर्षा र रातको अन्धकार चिर्दै सुरक्षित घर आइपुगेको अविस्मरणीय अनुभव—यी सबै एकै दिनमा जीवनले मलाई उपहारका रूपमा दियो ।

ओमाहाबाट कान्सास सिटीसम्मको यो यात्रा केवल फुटबल प्रतियोगिता हेर्न गएको यात्रा मात्र रहेन । यसले मलाई नयाँ अनुभूति, नयाँ विश्वास र जीवनभर सम्झिरहने एउटा मधुर स्मृति दिएर फर्कायो ।

यसबन्दा ठुलो उपहार मानिसले जीवनबाट अरू के नै अपेक्षा गर्न सक्छ र ?

  • प्रतिक्रिया दिनुहोस

    यो लेखकका कुनै समाचार भेटिएनन्।

    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend