सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

मलामीमा पनि सेल्फी: हाम्रो संस्कारको चिता कहाँ बल्दैछ ?

मलामीमा पनि सेल्फी: हाम्रो संस्कारको चिता कहाँ बल्दैछ ?

44
Shares
44
Shares

मृत्यु जीवनको अन्तिम सत्य हो। यस सत्यबाट न राजा भाग्न सक्छ, न सडकको भिखारी । जन्म र मृत्युका बिच मानिसले जतिसुकै अग्ला महल बनाए पनि अन्ततः उसलाई चार काँधकै आवश्यकता पर्छ।हाम्रा पुर्खाले यही सत्यलाई बुझेका थिए। त्यसैले हाम्रो समाजमा कसैको घरमा मृत्यु हुनु केवल एउटा परिवारको निजी दुःख थिएन। गाउँको एउटा घरमा चुलो निभ्दा त्यसको धुवाँ छिमेकीको भान्सासम्म पुग्थ्यो। दुःख साझा हुन्थ्यो, आँसु साझा हुन्थ्यो र जिम्मेवारी पनि साझा हुन्थ्यो। त्यही सामूहिक संवेदनाको नाम थियो,मलामी।हिजोआज मलामीको संख्या बढिरहेको छ, तर के मलामीको मन घटिरहेको छैन ?

दाउरा बोकेर जाने समाज हिजोको गाउँघर सम्झौँ त एक पटक।कसैको घरमा मृत्यु भयो भने खबर फैलिन धेरै समय लाग्दैनथ्यो। फोन थिएन, इन्टरनेट थिएन, सामाजिक सञ्जाल थिएन; तर दुःखको खबर गाउँभरि पुग्थ्यो। मानिसहरू आफ्ना काम छोडेर आउँथे। कसैले दाउरा बोकेर आउँथ्यो, कसैले शव बोक्न काँध थाप्थ्यो, कसैले शोकाकुल परिवारलाई सम्हाल्थ्यो।दाहसंस्कार गर्ने ठाउँ टाढा भए बाटोमा चौतारीमा शव बिसाइन्थ्यो। मलामीहरू पनि त्यहीँ केही बेर थकाइ मार्थे। त्यो चौतारी काठ र ढुङ्गाले बनेको संरचना मात्र थिएन; त्यो मानवीय सम्बन्धको विश्रामस्थल थियो। आज हाम्रा चौतारीहरू हराए। बाटाहरू फराकिला भए। गाडी आए, शवदाह गृह बने, विद्युत् र प्रविधिले सुविधा थपे। सँगसँगै एउटा अनौठो कुरा पनि आयो। मानिससँग समय हरायो। हिजो मानिससँग सुविधा थिएन, तर छिमेकीका लागि समय थियो । आज सुविधा छ, तर छिमेकीको दुःखका लागि समय छैन।कहिलेकाहीँ आफैँलाई सोध्ने गर्छु,मलामी मृतकको यात्रा हो कि जीवितको पाठशाला?पुरानो मलामी जाने शैली केवल शव बोक्ने यात्रा थिएन। त्यो जीवित मानिसका लागि जीवनको एउटा पाठशाला थियो, सायद।एकोहोरो शङ्ख बज्थ्यो। मनमा चिसो पस्थ्यो। आङ नै सिरिङ्ग हुन्थ्यो। मानिसहरू गम्भीर भएर हिँड्थे। अनावश्यक हाँसो, ठट्टा र प्रदर्शनको त्यहाँ कुनै स्थान हुँदैनथ्यो।शव अघि बढिरहन्थ्यो र मानिसको मनभित्र एउटा प्रश्न पनि सँगसँगै अघि बढिरहन्थ्यो,हिजो यो मानिस थियो, आज छैन; भोलि म? शवयात्रामा हिँड्दा मानिसले केही बेर आफ्नो अहङ्कार बिसाउँथ्यो। दाहसंस्कार सकेर फर्किँदा बाटोमै खाजा खुवाउने चलन थियो। त्यो भोज थिएन, न त केवल थकाइ मेटाउने उपाय।

त्यो सामाजिक सम्बन्धलाई फेरि गाँस्ने एउटा संस्कार थियो। त्यहाँ मृतकका राम्रा पक्ष सम्झिइन्थे। परिवारको दुःखबारे कुरा हुन्थ्यो। एक अर्कालाई सहयोग गर्ने योजना बन्थ्यो। मलामीबाट फर्किँदा मानिस केवल लुरुलुरु घर फर्किँदैनथ्यो; ऊ जीवनको अर्थबारे केही सोचेर फर्किन्थ्यो।मानो चामलमा लुकेको समाजवाद हाम्रो गाउँघरमा मृत्यु संस्कारमा मानोचामल लिएर जाने चलन थियो।कसैसँग धेरै हुँदैनथ्यो, तर थोरै भए पनि केही बोकेर जान्थे। त्यो चामलको तौल सानो हुन्थ्यो, तर भावनाको तौल साँच्चै ठुलो हुन्थ्यो।आज मानो चामलको चलन धेरै ठाउँमा हराउँदै गएको छ। यसको ठाउँमा पैसा आयो, औपचारिकता आयो र अन्ततः सामाजिक सञ्जालको एउटा टिप्पणी आयो,“हार्दिक श्रद्धाञ्जली। भावपूर्ण समवेदना। ॐ शान्ति।” तीन शब्द लेख्न हामीसँग पाँच सेकेन्ड छ, तर दुःखमा परेको परिवारको छेउमा पाँच मिनेट बस्न समय छैन।यही हो हाम्रो प्रगतिले दिएको नयाँ सुविधा!हामीले संवेदनालाई पनि कपी पेस्ट गर्न सिकेका छौँ।मलामी जानु कुनै विवाह समारोहमा जानुजस्तो पक्कै होइन। त्यहाँ कसले कस्तो लुगा लगायो भनेर मूल्याङ्कन गर्ने उद्देश्य पनि होइन। तर हरेक ठाउँ र अवसरको आफ्नै मर्यादा हुन्छ।आज कसैलाई सभ्य पहिरनमा मलामी जानुपर्छ भन्ने कुरा पुरानो सोच लाग्न सक्छ। ठिकै छ। तर चप्पल पड्काउँदै,हाफप्यान्टमा, हातमा मोबाइल र मुखमा गुट्खा चपाउँदै शवदाह गृहसम्म पुग्दा एउटा प्रश्न उठ्छ नै हामीलाई अवसरको गम्भीरता बुझ्न पनि अब नोटिफिकेसन चाहिने हो?कपडा नै संस्कार होइन, तर व्यवहार संस्कार हो। कपडाको लम्बाइभन्दा संवेदनाको गहिराइ महत्त्वपूर्ण हुन्छ। चुरोट, गुट्खा र मृत्युसँगै हाम्रो हास्यास्पद आधुनिकता। मृत्युको घरमा पुगेको मानिसको हातमा चुरोट देखिनु, मुखमा पान वा गुट्खा हुनु आफैँमा एउटा सांस्कृतिक प्रश्न हो।कसैलाई लाग्न सक्छ।

यसले के फरक पार्छ ? फरक पार्छ, हजुर ! किनकि संस्कार भनेको ठुलो धार्मिक प्रवचन होइन। संस्कार भनेको कुन ठाउँमा के गर्नु उचित हुन्छ भन्ने चेतना हो। मन्दिरमा जुत्ता फुकाल्छौँ । विद्यालयमा अनुशासन मान्छौँ। अदालतमा मर्यादा राख्छौ तर शवको अगाडि आफ्नो बानीलाई नियन्त्रण गर्न सक्दैनौँ भने हाम्रो आत्म अनुशासन कहाँ छ ? चिता बलिरहँदा क्यामेरा किन ठड्याउनु? सबैभन्दा पीडादायी दृश्य अहिले मोबाइलको हो।शवदाह गृहमा मानिसहरू उपस्थित छन् । परिवार शोकमा छ । वातावरण गम्भीर छ तर केही मानिसका औँला मोबाइलको स्क्रिनमा दौडिरहेका छन्।कसैले फोटो खिच्छ, कसैले भिडियो बनाउँछ, अनि कसैले सेल्फी लिन्छ।कसैले तुरुन्त सामाजिक सञ्जालमा लेख्छ, “आज अत्यन्त दुःखद क्षणमा सहभागी हुने अवसर मिल्यो…” दुःखद क्षणमा सहभागी भएको प्रमाणपत्र पनि अब फोटो चाहिने भयो? मृतकको अन्तिम यात्रा पनि हाम्रो ‘कन्टेन्ट’ बन्नुपर्ने हो ? कहिलेकाहीँ लाग्छ, आधुनिक मानिस मृत्युबाट पनि एउटा पोस्ट बनाउन चाहन्छ। चिताको आगो निभिसकेको हुँदैन, हाम्रो पोस्टमा प्रतिक्रिया आउन थाल्छ । मृतकको परिवारको आँसु सुकिसकेको हुँदैन, हाम्रो मोबाइलको ग्यालरी भरिइसकेको हुन्छ। यो केवल खराब बानी होइन;यो संवेदनाको व्यापारीकरण हो ।

शङ्खको ठाउँमा रिङटोन
हिजो शवयात्रामा शङ्खको ध्वनि सुनिन्थ्यो। आज मोबाइलको रिङटोन सुनिन्छ। हिजो मानिसहरू मौन हुन्थे। आज फोनमा कुरा गर्छन्। हिजो मृतकको अनुहार अन्तिम पटक हेर्थे। आज क्यामेराको स्क्रिन हेर्छन्।हिजो मलामीमा मानिसको उपस्थिति महत्त्वपूर्ण थियो; आज उपस्थितिको डिजिटल प्रमाण महत्त्वपूर्ण भएको छ ।

के यो परिवर्तनलाई आधुनिकता भनेर मात्र स्वीकार गर्न सकिन्छ? आधुनिकता भनेको पुरानो सबै कुरा फ्याँक्नु होइन।आधुनिकता भनेको समयसँगै हिँड्दै मानवीय संवेदना जोगाउनु हो। मोबाइल हाम्रो हातमा आएको हो, मुटुबाट संवेदना निकाल्न होइन। प्रविधि बदलियो भन्दैमा संस्कार बदलिनुपर्छ भन्ने छैन। बाटो फराकिलो हुन सक्छ तर मन साँघुरो हुनु हुँदैन। शवदाह गृह आधुनिक हुन सक्छ तर त्यहाँ उपस्थित मानिसको संवेदना पुरानोभन्दा पनि गहिरो हुनुपर्छ किनकि अन्ततः चितामा जल्ने शरीर मात्र होइन, हामीले जोगाउन नसके हाम्रो संस्कार पनि त्यहीँ जल्नेछ र त्यस दिन प्रश्न केवल यति हुनेछैन ।

“मृत्यु कसको भयो ?”
प्रश्न अझ भयावह हुनेछ, “मानवता कहिले मर्‍यो ?”

मलामीमा पनि सेल्फी : हाम्रो संस्कारको चिता कहाँ बल्दैछ ?
आधुनिकता भनेको उपयोगी कुरालाई ग्रहण गर्दै मानवताका कुरा जोगाउनु हो ।
हामी विद्युत् शवदाह गृह स्वीकार गरौँ, तर संवेदनाको स्विच अफ नगरौँ। हातमा मोबाइल बोकौँ, तर शवगृहभित्र पुगेपछि त्यसलाई मौन राख्न सिकौँ ।
हामीमाझ एउटा प्रश्न उठ्न सक्छ,
‘विदेश आयौँ, संस्कृति पनि यतै छोड्यौँ ?’
विदेशमा बस्ने नेपाली समुदायले धेरै कुरा परिवर्तन गर्नुपरेको छ। यहाँ खुला आकाशमुनि चिता बनाउने ठाउँ नहुन सक्छ। व्यवस्थित शवदाह गृह हुन्छ। विद्युत् वा आधुनिक प्रविधिबाट दाहसंस्कार गरिन्छ। कानुनी प्रक्रिया हुन्छ, समयको सीमा हुन्छ। यी सबैलाई स्वीकार गर्नु स्वाभाविक हो।
संस्कृति प्रविधिसँग लडेर बाँच्दैन ।
संस्कृति आफ्नो आत्मा जोगाउँदै बदलिँदै बाँच्नुपर्छ ।

विदेशमा बस्दा हामीले विदेशी समाजका राम्रा कुरा सिकौँ,समयको मूल्य, सरसफाइ, कानुनी अनुशासन र व्यवस्थापन तर लास राखिएको ठाउँअगाडि मोबाइल चलाउने, शोकसभामा कानेखुसी गर्ने वा दुःखलाई केवल औपचारिक कार्यक्रममा सीमित गर्ने प्रवृत्ति भने सिक्नुपर्ने कुरा होइन ।

हामीले देश छोडेका हुन सक्छौँ, संस्कार छोड्नुपर्ने कुनै कारण छैन ।
हामी धर्मको कुरा धेरै गर्छौँ। मन्त्र जप्छौँ, पुजा गर्छौँ, श्लोक उच्चारण गर्छौँ । तर धर्मको मुल मर्म मानिसप्रतिको करुणा र जिम्मेवारीमा हुन्छ ।
शवगृहमा पुगेर मन्त्र पढ्नु राम्रो हो, तर शोकाकुल आमाको छेउमा चुपचाप बस्नु पनि धर्म हो। आवश्यक पर्दा आर्थिक सहयोग गर्नु धर्म हो । अन्तिम संस्कारमा मर्यादा कायम राख्नु पनि धर्म हो ।

मलाई लाग्छ, धर्मको सबैभन्दा ठुलो परीक्षा मन्दिर जानु मात्र होइन; मानिसको दुःखमा मलम लगाउन सक्नु हो ।

कतिपयलाई शङ्खको आवाज कमजोर लाग्न सक्छ, धूपको सुगन्ध हराएको जस्तो लाग्न सक्छ, पुराना संस्कार बोझिला लाग्न सक्छन्। तर जबसम्म मानवीय संवेदना जीवित हुन्छ, संस्कृति पनि जीवित रहन्छ ।

मोबाइल आधुनिक भयो, तर यदि मानिसको मन साँघुरियो भने हामीले भवन आधुनिक बनायौँ, सभ्यता भने उस्तै राख्यौँ। मलामीमा जाने मानिसले आफूलाई एउटा प्रश्न सोधोस्, ‘जब अर्को पटक म मलामी जान्छु, म उसलाई बिदा गर्न आएको हुँ कि आफूलाई सम्झाउन ?’

मलामी मृतकका लागि जति हो, जीवितका लागि त्योभन्दा ठुलो ऐना हो। त्यहाँ उभिँदा हामीले आफ्नो जीवन देख्नुपर्छ ।

धनको अन्तिम सीमा,अहंकारको अन्तिम बिन्दु र शरीरको नश्वरता देख्नुपर्छ। बुझ्नुपर्छ, आज ऊ हो, भोलि म पनि हुन सक्छु।आज उसको काँध अरूले बोकेका छन्, भोलि मेरो काँध पनि कसैले बोक्नेछ । आज उसको घरमा मलामीको भीड छ, भोलि मेरो घरमा पनि हुन सक्छ । त्यसैले प्रश्न मृतकको मृत्युमा मात्र छैन, प्रश्न हाम्रो जीवनको गुणस्तरमा पनि छ ।

हामी भन्ने गर्छौँ,‘हाम्रो संस्कृति हराउँदैछ’ तर संस्कृति आफैँ हराउँदैन।हामीले बिर्सिएपछि हराउँछ। हामीले आफ्नो व्यवहारमा ठाउँ नदिएपछि हराउँछ।हामीले आफ्ना सन्तानलाई यसको अर्थ नसिकाएपछि हराउँछ र मृत्यु संस्कारलाई समेत केवल औपचारिकता बनाएपछि हराउँछ।कतै हाम्रो संस्कार खरानीमा परिणत हुँदै गएको त छैन?कतै मलामीको भीड बढ्दै जाँदा मलामीभित्रको मान्छे घट्दै गएको त छैन? यदि हामीले शवगृहमा सेल्फीभन्दा श्रद्धालाई ठुलो बनाउन सकेनौँ भने चिता मृतकको मात्र बल्ने छैन,हाम्रो संस्कृति पनि बिस्तारै जल्नेछ।त्यसैले, अर्को पटक मलामी जाँदा मोबाइल खल्तीमै राखौँ। आफ्नो आवाजभन्दा मौनतालाई ठुलो बनाऔँ।आफ्नो तस्बिरभन्दा मृतकको सम्मानलाई ठुलो बनाऔँ।औपचारिक समवेदनाभन्दा वास्तविक सहयोगलाई महत्त्व दिऔँ र सम्झौँ,मलामीमा जाँदा हामी कसैलाई अन्तिम बिदाइ गर्न मात्र जाँदैनौँ;हामी आफ्नो मानवीयता अझै जीवित छ कि छैन भनेर जाँच्न पनि जान्छौँ। मृत्युको अगाडि मानिसको सबैभन्दा ठुलो परिचय उसको पद हुँदैन।उसको पैसा हुँदैन।उसको पहिरन पनि हुँदैन।हुन्छ त केवल, ‘उसको मानवता ।’

  • प्रतिक्रिया दिनुहोस

    यो लेखकका कुनै समाचार भेटिएनन्।

    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend