शहर निदाएको छैन,
केवल उसका झ्यालहरू
आफ्ना आँखाहरू बन्द गरेर
बाँचिरहेको अभिनय गरिरहेका छन्।
म एउटा यस्तो बाटो हुँ
जहाँ पुगेर
सबै गन्तव्यहरू
आफ्नो अर्थ बिर्सन्छन्।
आज आकाशबाट
एउटा तारा झर्यो—
मैले टिप्न खोज्दा
त्यो मेरो हातमा
पुरानो मौनता बनेर बस्यो।
कसैले सोध्यो—
“तिमी को हौ?”
मैले आफ्नो नाम सम्झिन खोजेँ,
तर नामभन्दा पहिले
एउटा लामो अँध्यारो आयो।
त्यसपछि
मौनले मलाई चिन्यो।
कागजमाथि
केही शब्दहरू जन्मिए,
केही मरे,
र केही
जन्मनुअघि नै
आफ्नो चिहान खोज्न गए।
म उभिएको ठाउँमा
छायासमेत थिएन।
सायद घामले पनि
मलाई आफ्नो मान्न छोडिसकेको थियो।
टाढा कतै
एउटा ढोका खुल्यो—
भित्र कोही थिएन।
म पसेँ।
त्यहाँ एउटा ऐना थियो।
ऐनामा
म थिएँ।
तर अनुहार थिएन।
त्यस दिनदेखि
म आफ्नै नाम बोकेर हिँडिरहेको छु—
नामभित्र मान्छे छैन,
मान्छेभित्र आवाज छैन,
आवाजभित्र
केवल एउटा अन्तहीन रात छ।
र त्यो रातको अन्तिम कुनामा
कसैले बिस्तारै लेखिरहेको छ—
युवराज मैनाली
अझै हराइसकेका छैनन्,
किनकि हराउनका लागि पनि
पहिले आफूलाई भेट्नुपर्छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend