रोशी !
म जन्मेँ तिम्रै काखमा
म हुर्केँ तिम्रै माया- ममतामा
मैले स्नेह भेटेँ
तिम्रै आत्मीय अँगालोमा !
वयको पयो बाट्तै
समयले निकै नेटो काटे पनि
जीवनका अनेकौँ
भङ्गालाहरू फाटे पनि
पाइलाहरू दूर- सुदूर
जता पुगे पनि
सधैँ सधैँ सपनामा
तिमी नै उदाउँछ्यौ
बिपनामा मनभरि
तिमी नै तिमीमात्र देखिन्छ्यौ !
चुम्बकले फलामलाई ताने झैँ
मलाई बारम्बार आफैँतिर तानिरहने
कस्तो अदृश्य आत्मीय
चुम्बकीय शक्ति छ है तिमीमा !
तिम्रो स्नेहपूर्ण काख
आमाको गर्विलो वात्सल्ययुक्त काख
कसरी भुल्न सकिन्छ र !
तिमीले उब्जाएका प्राणाधार अन्नदाना
आमाले तुल्याएका तिनैका मीठा परिकार
मेरा मुटुका पनि मुटु हुन्
भूगोलको अलि परको किनारामा
एक्लिँदै/ झोक्रिँदै / झस्किँदै
आत्मीय त्यो अतीत सम्झिएर
भावुक बन्दै म पग्लिरहेको हुन्छु !
स्मृतिमा अझै ताजा छन्
सम्झिरहेको छु
चारसय फाँटमा झुलेका धानका बालाहरू
सम्झिरहेको छु
गोरे दाइको घुमिरहेको घट्ट
सम्झिरहेको छु
भैँसीहरू उघ्राउँदै
आनन्दले बसिरहेका आहालहरू
सम्झिरहेको छु
अग्लो ढुङ्गाबाट तालमा हाम्फाल्दै
नाङ्गै भुतुङ्गै डुबुल्की मार्दै खेलेको पौडी
र
ढुङ्गामा पसारिँदै
तापेको न्यानो घाम
अनि सम्झिरहेको छु
उखुम गर्मीमा
धुलपुरेको चौतारामा
तापेको आनन्दको शीतल !
मेरी मुटु !
मेरी मुटुकी धड्कन !
स्नेहकी खानी !
आँखाकी नानी !
प्रिय रोशी !
म तिम्रै हुँ
तिमी मेरै हौ
प्रिय रोशी !
मेरो मन
मेरो तन
तिमी नै हौ !
रोशी !
तिमी निरन्तर सङ्लो
अमृतधारा बोकेर बगिरहू
कामना छ
लाखौँ वर्ष बिताइसकेकी तिमीले
प्रतिकूल/ अनुकूल
अनेकौँ समय पचाइसकेकी तिमीले
अझै करोडौँ करोड वर्ष
आफ्नो यौवन यथावत् साँचेर बग्नुपर्छ
नरोकी आफ्नो अविरल अविराम यात्रा
यी सुन्दर, शान्त र विशाल
हिमालहरूका शिव सन्देश
दूत बनेर
मेरी रोशी तिमीले
ती विशाल सागरहरूसम्म लानुपर्छ
सगरको उचाइमात्र होइन तिमीले
सागरहरूको गहिराइ पनि नाप्नुपर्छ !
———————————
धुमबाराही , काठमाडौँ- ४
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend