बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

हामी सबै उस्तै उस्तै कथा हौँ

हामी सबै उस्तै उस्तै कथा हौँ

101
Shares
101
Shares

हामीहरू अरूका कथा पढ्छौ, रमाउँछौँ, आफूमा हराउँछौ पनि । अरूका कथा पनि बन्छौँ तर आफै चाँहि कथा बन्न चाहँदैनौँ । कथाको दुःखी पात्रबाट समानुुभूतिमा पुगेर दुखी आनन्द लिन्छौ तर आफै दुःखमा पुग्न चाहँदैनौँ । मानवमनोविज्ञानले हामी आफ्ना कथाभूूमिमा मनभित्र र मनबाहिर छुट्टै बन्दै आएको छौँ । कथामा त्यो दुरी मेट्न पाए हुन्थ्यो भन्ने एउटा सोचले पिरोल्यो ।

मानिसहरू आफ्ना कुरा अरूसम्म पुर्‍याउन कथा लेख्दा रहेछन् । आन्तरिक अनुभूति, सपना, विचार फिँजाउन कथा लेखिएको पाइन्छ । दुखलाई निकास दिँदा मन शान्त हुन्छ, घटनालाई स्मृतिमा तान्दा मानिस घटनामै साक्षात्कार भएर आफूलाई विगतमा विचरण गर्न पुग्छ, सपनामा रमाएर आनन्द पिउन चाहन्छ, सङ्घर्ष उठाएर साहसको उचाइमा हौसिन्छ र कहिले काँहि आफू, परिवेश, र घटनाका माध्यमबाट विचारको उदात्त प्रकाशन गरेर अरूलाई सन्देश दिन चाहन्छ । जीवनबाट उठाइएका कथाहरू यी परिसीमा पर पुग्नै सक्दैनन् ।

हो, अरूको कथा पढेर, सुनेर, हेरेर, देखेर रमाउने मन कहिलेकाहीँ आफ्नै कथामा आइपुग्छ । मेरो कथा ‘आमासँग कुरा गर्ने धोको’ पढेर कुनै पाठकले यो त मेरी आमाको कथा हो भनेर मलाई लामो प्रतिक्रिया लेखेथे । मैले यति मात्र भनेँ, यो हामी धेरै अकालमा आमा गुमाउने टुहुराहरूको आमाको कथा हो । कथा सबैका उस्तै हुन्छन्, मिल्दाजुल्दा हुन्छन् । केही फरक भए पनि संवेदना उस्तै हुन्छ । मेरा कथाहरूलाई यही सेरोफेरोमा बुझिदिनु हुनेछ । यी कथाहरू यहाँहरूकै हुन् ।

कथालाई पाठक जसरी बुझ्छन्, विवेचक–समालोचक त्यसरी बुझ्दैनन् । पाठकहरू सादा मनले विना आग्रह कथा पढ्छन् । समालोचक–विवेचक मूल्य–आग्रहमा कथा हेर्छन् । परिभाषा र अर्थ, सिद्धान्त र सुत्रमा कथा खोज्न थाल्दा अनुभूति बाहिरिन्छ र जीवनबाट टाढा पुग्छ । बाँधिएर लेखिएको कथा लेखकीय आत्माबाट छुटिन्छ । बिजेका कुरा, घटेका घटना, भोगेका अनुभूति, सुखानुभूति भएका आफै वरिपरिका विषयलाई मैले कथा बनाएको छु । कथाहरू स्मृतिपरक छन्, कार्यपरक छन्, नियात्रापरक छन्, सम्बन्धपरक छन् तर आफ्नै वरिपरिका घटना र पात्रलाई कथा बनाएको छु । कथाहरू हाम्रै समाज, समय, स्वभाव, भूगोल र भावनाबाट कत्ति पनि पर छैनन् । कथालाई आफ्नै मन र मानसपटलबाट उठाएको छु । कथामार्फत म आफै पाठकसम्म पुगेको छु । म र यहाँहरूबिच कथा सम्बन्ध सेतु हो । यहाँभन्दा बढी मेरा कथालाई म केही भन्दिन ।

संवेदना भएका सबै हामी कथा हौँ । प्रत्येकका कथा फरक हुन्छन्, किनकि संवेदनाबोध र कथा पृष्ठहरू प्रत्येकका फरक हुन्छन् । सबै नियतिबाट लतारिएका छन्, समयले लखेटेको छ, त्यसैले सपनाहरू विशृङ्खलित छन्, बिपना असुरक्षित छ । मनभित्र बाँचेको मानिस र मनबाट बाहिरिएको मानिसबिच फराकिलो दूरी छ । यो दूरी घटाउन सक्नेहरू साहसिला र नसक्नेहरू असुरक्षित–विशृङ्खलित छौँ । यही कथा गर्भमा पोखिएको छु । यो प्रयोग होइन, जीवन हो । समाजको सादा चित्र हो । कथाहरू रहर होइनन्, खास अवस्थामा पोखिएका भुल्का हुन् ।

मैनाली निवास
क्षितिज मार्ग, शङ्खमूल

  • प्रतिक्रिया दिनुहोस

    गोपी मैनाली का अरू रचना

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend