समयको चाल सँधै सिधै हुँदैन, कहिले त्यो बक्ररेखामा हिड्छ त कहिलेकाही त आफै अल्मलिएर निस्सासिएको अनुभूति पनि हुन्छ । समयको चक्रभित्र, यहि अल्मलाइमा निस्सासिएको मानिस नै त्यही यात्राको आवाज टिप्दै आशाको सानो दियो बाल्छ । अवरुद्ध आवाज यही सानो बत्तीको उज्यालो हो, जहाँ अँध्यारोले जितेझै देखिए पनि भोलिका लागि आशा बाँकी छन् । यही सन्देश लघकथासङ्ग्रहले दिएको छ । कथाकार गोपीराम भण्डारी जहिले पनि आशाको उज्यालो पछ्याउँछन् ।
युवाकथाकार गोपीराम भण्डारीको कथा क्षेत्रमा प्रवेशको इतिहास त्यति लामो छैन । २०८० मा दृष्टिपथ उपन्यास लिएर पहिलो पटक आख्यान कृतिमा प्रकाशित उनी त्यसको तीन बर्षमै यो ‘अवरुद्ध आवाज’ (लघुकथा) लिएर नेपाली बाङ्मयमा आएका छन् । दुवै कृति आख्यान हुन् । आख्यान साहित्यको सर्वाधिक रुचाइएको विधा हो भने लघुकथा लोकप्रिय बन्दै गरेका आख्यानको प्रविधा हो ।
लेखकको आफ्नै संसार हुन्छ, त्यही संसारमा रहेर गहिरिने, अन्तरबस्तु केलाउने काम स्रष्टाहरु गर्दछन् । व्यक्तिको बुझाई, भोगाइ, समाजसंगको सम्बन्ध र अभिशिक्षाले जे जति विधामा हात हाले पनि स्रष्टाको केन्द्रीय भाव एकै हुने गर्दछ । गोपीराम त्यसका अपवाद होइनन । दृष्टिपथ समाजमा दृष्टि (अन्तरचेत) को खोजी गर्छ । नेत्रदान पाएको व्यक्तिले दृश्यचेतमात्र होइन, चेतनाको अन्तरदृष्टि खोजी गर्छ । अवरुद्ध आवाज समाजमा थिग्रिएका विस्थापनयोग्य रितिथिति र बुझाइ–व्यहवारलाई टिप्छ र चेतनाको दियो बाल्न चाहन्छ । यसो गर्न कथाकारले समाजका ससाना घटनालाई सामान्य आख्यानीकरण गरेका छन् । लघुकथा भएकाले कथाको सानो आवृत्तिमा ठूलो अर्थबत्ता, त्यो पनि व्यङ्ग्यात्मक रुपमा दिनु अवरुद्ध आवाजको आवाजाको धर्म हो । विषयबोध, प्रतिबोध, दृष्टि अन्तरदृष्टि, स्वर प्रतिश्वर दिएर हाम्रा जनजीवनका सामान्य घटनालई लघुकथाका रुपमा उतारिएका छन् । ती स्वाभाविक छन्, मीठा छन्, छरिता छन् र सामान्य छन् । तर कथा पढिसकेपछि पाठकमा एउटा रहस्य छाड्ने, खुल्दुली दिने चड्कन यसभित्रका कथाहरुले दिएका छन् । ती चड्कन कोही निकै चोटिला छन्, तिरिमिरीझ्याई पार्छन, केही सामान्य छन्, सुमसुम्याएर शान्त पार्ने भर्नौ सुषुप्त चेतनालाई जगाउने खालका छन् ।
लघुकथा छोटो हुने, एउटा सानो घटनावृत्तिमा रहने, एक चड्कन दिएर जाने र कथा पढिसकेपछि प्रक्रियाको शुरुवात गर्न दिमागी रन्थनाइ दिने सामथ्र्य राख्ने भएकोले यसले पठाकलाई न्याय गर्छ, समय र समाजलाई न्याय गर्छ । स्वयम् कथाकारलाई पनि विषयबोध र अन्तरचेतको गहिराईमा पुग्न बाध्य गराउने भएकाले उसलाई पनि न्याय गर्छ । अवरुद्ध आवाज यस्तै सामाजिक चेतना र त्यसमाथिको उज्यालो प्रकाश दिने व्यङ्ग्यविम्ब हुन् । कथाकारका पात्रहरु यही समय र समाजका कर्ता हुन्, शायद उनीहरुलाई पनि कथाले चड्कन हानिरहेको छ, जसले उनीहरुलाई उज्यालातर्फ उद्यत गराउन बल पुगेको छ ।
स्रष्टाहरु एउटा समय र त्यसको प्रवाहमा गतिवान हुन्छन् । गोपीराम भण्डराीले पनि सामाजिक वियवस्तुमाथि नियाल्ने, खोतल्ने र त्यहीबाट एउटा सानो उज्यालो खोज्ने दृष्टिचेतलाई समातेका छन् । यसो गर्न उनको पेशाले पनि सघाएको छ । उनी राष्ट्रसेवक प्रहरी हुन्, सबैखाले मानिस बुझ्ने, व्यवहार गर्ने र तिनलाई अन्तरवोध गर्ने अवसर पेशाभित्र छ । उनले बुझेका छन्; अहिलेको समाज निस्सासिएको छ । मानिसहरुहरु भागदौड, छिनाझम्टी र स्वार्थसौदामा छन् । उ देखासेखी गर्छ, रमाउन खोज्छ, बाध्यतामा छ, साथीसङ्गाति र परिवारले थिचेको छ, धोखा दिन्छ, षड्यन्त्र गर्छ; तर सँधै नराम्रो गर्दैन । मुक्ति उसको मार्ग हो । जतासुकैबाट चेप्टिएको, मनभित्रै गुम्सिएको, थेच्रिएको, समयको पदचाप समाउन र आफैलाई बुझ्न नसेकको अवचेततहदेखिनै बाध्यातामा परेको छ । त्यसैले निस्सासिएको छ । चाहना चाँही मुक्त वा मोक्ष हो । अस्तित्व र आत्मिक आनन्द हो । यही खोजमा अवरुद्ध आवाज यात्रा गर्छ । लाग्छ समय नै निस्सासिएको छ । समय निस्सासिएको होइन, समाज निस्सासिएको, समाजलाई चलायमान बनाउने मानिस निस्सासिएको हो । पात्र वा मानिस नभए समयबोध नै हुँदैन। समय मानिस हिड्ने अमूर्त चेतनापथ हो । मानिस निस्सासिएपछि त्यो पथनै धुमिल हुने नै भयो । त्यसैलाई उज्यालो पार्ने अभिष्ट यो अवरुद्ध आवाजले राखेको छ । अवरुद्ध आवाज त्यस प्रकारको उत्तर खोज्ने यात्रा हो जसले आफ्नै स्वरुप र समयलाई ऐनामा हेर्ने साहस गर्दछ । कुनै परिवारका घटनामार्फत, कुनै साथी मार्फत, कुनै नेता मार्फत, त केही सामान्य प्रतिक्रियामा व्यक्त भएका कुरा मार्फत । त्यसैले अवरुद्ध आवाज नेपाली समाजको मौन आवाज हो, थुनिएको बोली र चेपिएको अस्तित्व हो । थुनिएको समय हो । दविएको चाह हो ।
लघुकथा कस्तो हुनुपर्छ भन्ने खुल्दुली छ तर यसमा ठ्याम्मै मत्यैक्यता पाउन सकिदैन । सामाजिक विषयविधामा मत्यैकता हम्मेसी पाइदैन पनि । लघुकथा त साहित्य भएकोले स्रष्टा–समालोचक समान बुझाइ राख्दैनन् । पाठकलाई संक्षिप्त, स्वादिला र सरल कथा पढ्न पाए भैहाल्यो । पाठकको स्वाद र स्रष्टाको प्रयोगबीचको सन्तुलनले समालोचकहरु लघुकथाका गुण चरित्रहरु निर्धारण गर्न खोज्छन् । पहिला प्रयोग त्यसपछि अर्थ र परिभाषा हुने गर्दछ । प्रयोगलाई चाँही स्रष्टाको सामाजिकता र समयिकताले प्रभाव पर्दछ । स्रष्टा कहिल्ये पनि समाज र समय निरपेक्ष हुँदैन । त्यसैले विधाहरु समयको क्रममा फेरिने, फराकिने, खुम्चिने र फैलिने गर्दछन् । समाज, समय र पाठक प्रति न्याय गरेर स्रष्टाहरु कालजयी बन्दछन् । यस दृष्टिमा लघुकथा छोटो भैकन सघन हुनुपर्छ । शब्द र घटनाका दृष्टिले लघुकथा सानो आयतनमा तर भाव र अर्थमा गहिरा, गहकिला हुनुपर्दछ । कम शब्दमा धेरै बताउने हुनुपर्दछ । पाठकको यही स्वादचाहका कारण लघुकथा जन्मेको हो । यसमा तिखो व्यङ्ग्य र चोटिलो अन्त्य हुनै पर्छ । पढिसकेपछि केही सोच्न पाठकलाई बाध्य पार्नैपर्छ । अझ यसरी हिर्काउनु पर्छ कि पाठकले नसोचेको मोड वा ट्वीष्ट अन्त्यले दिनुपर्दछ । अनि न उसको मथिङ्गलमा आँधी आँछ । अर्को चरित्र एकल घटनामा केन्द्रित हुनुपर्छ । कथाजस्तो धेरै लामा घटनाबृत्तिको माला यो बन्दैन, यो एउटा थुँगा मात्र हो, जीवनको एउटा सानो आयतन, एक क्षणको घटना हुनुपर्दछ, तर घटनाको तरङ्ग भने परसम्म पुग्नुपर्छ । अर्को चरित्र थोरै पात्र र छरितो संवाद हो । पात्र निकै कम र उनिहरुको कार्यव्यापार निकै संक्षिप्त तर व्यापकताको प्रतिनिधि हुनुपर्दछ । त्यसैले आख्यानकै एउटा उपविधा भएर पनि लघुकथा उपन्यास वा कथा भन्दा भिन्न सन्धान, स्वाद, स्वरुपमा हुने गर्दछ । संक्षेपमा भन्दा आख्यानीकरण छोटो, मिठो, तिखो र चोटिलो हुनु लघुकथा हो ।
निस्सासिएको आवाजका आवाजहरु थोरै सुनौ । सङ्ग्रहमा एकसयएक लघुकथा छन् । सबै कथा सामाजिक परिवेशलाइ बोक्छन् र सामाजिक मूल्य मानकहरु प्रति सुधारका लागि छेडखानी गर्दछन् । अर्को दुनिया समाजल नदेखेको, न सुनेको दुनियाको उदन्याई हो । अनौठौ दृश्य मानिस नै ईश्वर हो, मानवता नै धर्म हो भन्ने लक्षणमा छ । अतीत जीवनको नियति, अतीतको याद र जीवनको सामान्य चित्रलाई त्रिकोणमा राख्दछ । अभिशाप सामाजिक व्यङ्ग्य गर्दै किसानको श्रम र इमानलाई कदर नगरिए समाज कसरी उकासिन्छ भन्ने प्रश्न छाड्छ । अभ्यास प्रयोगशाला बनेको देश र राजनीतिले प्रयोगशाला बन्दै गएको विद्यालयको चित्र हो । अष्ठमीपूजा संभावित खतरा टार्न कुुकूर जस्तो पशुले पनि कसरी सहयोग गर्न सक्दो रहेछ भनी मानिसलाई सांकेतिक रुपमा द¥हो व्यङ्ग्य गर्छ । उपहार इमान्दार बन्दा सजायको उपहार पाइने व्यङ्ग्य शिक्षा गर्छ । ऐठन समाजले सहिद बनाएकी महिला र अवोध बालिकाको संवादले समाज र देशलाई ऐठन गर्दछ । कर्के भाका जति जोगी आएपनि कानै चिरेका उखान कार्यालय प्रमुखको विम्बमा छ । कसले गर्छ भर्ना हाकिमको आशय बुझेर काम गर्नुपर्ने तर हाकिम राम्ररी सञ्चार नसक्ने कार्यालयको हविगत हो । कालो मान्छे पश्चाताप र अपराधबोधको कथा हो । कालो पोशाकमा केही कालो हुँदैन न सुकिला पोशाकमा हुँइकिनेहरु भनिएजस्ता सुकिला छन् भन्ने व्यङ्ग्यचेत दिन्छ । किसको मत बताना माग्ने बहानामा हिप्नोटाइज्ड गरी ठग्ने र ठगिएकाहरु पछुताउनेको कथा हो । खोजी वैदेशिक रोजगारीमा रोजगारीको मात्र खोजी छैन, वैदेशिक रोजगारीमा गएपछि हराएका परिवार, भरोसा, विश्वास, प्रेम, मौलिकता, आस्था, उमेर सबैको एकमुष्ट खोजी गर्नुपर्ने नेपाली समाजको चित्र उतार्छ । खुसी इमानको खुसी सबैभन्दा ठूलो खुसी भन्दै आफैलेल्याएको गहना जिम्माल्नीले भेट्ने ठाउमा राखेर पहिला आफ्नी श्रीमतीको इच्छा पूरा गर्दाभन्दा पछि जिम्माल्नीले हराएको बस्तु पाउदा उनी खुसी भएको देख्दाको खुसीबाट अनन्दित हुन्छ । गोरखा दक्षिणबाहु भ्रम, कत्र्तव्य र पुरस्कारप्रतिको तिखो व्यङ्ग्य हो जुन नेपालको प्रशासनमा देखिएको छ । छोरा जस्तै भने छोरो हुन नसकेको छोरो र छोरो नभइकन कर्मममा छोरो बनेको बालकको कथा हो । यो नेपाली समाजको अहिलेको अवस्थाको चित्र हो । छुचुन्द्राको हठ दम्भ, अहङ्कारमा निथु्रुक्क भिजेको नेपाली समाजको अहिलेको चित्र हो । जडताको झिल्को अप्राकृतिक मानिस हो, मानवीय विवेकहीनताले प्राकृतिकपनलाई विथोलेको छ भन्दै समाजलाई गिज्याउन पुग्छ । जन्ते बाख्रो परम्परा, लोभ र मायाको त्रिकोणीय किस्सा हो । नेपाल बन्द स्वातन्त्रता प्राकृतिक हो र बन्दले यसलाई कुनै अर्थ राख्दैन भन्ने जोगीको अभिव्यक्तिले नेपालका राजनीतिक दल र व्यवसायीहरुलाई परोक्ष स्वत्नत्रता विरोधी भनिरहेको छ ।

कथाकार साहित्यको अहिलेको अवस्थाप्रति पनि व्यङ्ग्य गर्छन् । विडम्वना लेख होइन पैसा छापिएको साहित्यय नियति हो । भाइरल प्रतिक्रियाले भाइरल हुने स्रष्टाको प्रवृत्ति र सूचना प्रवृधिको प्रयोगगत विकृतिलाई चित्रण गर्दछ । सती र द्रोपति समाज दुर्जनका कारण विकृत भएको नभई सज्जनहरुको निकम्मा भएर विग्रेको देखाउछ । सरप्राइज श्रीमतीलाई सरप्राइज दिन हाकिमलाई झुट बोल्दै घर गएको कर्मचारी श्रीमतीकै सरप्राइज पाएर फर्किएको छ । यो प्रवृत्ति आम बन्दै गएको छ । सपना बालमनोविज्ञानको कथा हो सौराह सफारी मध्यमवर्गीय परिवारको पीडा हो, जहाँ एककोणमा परिवार र बालवच्चाको खुसी र अर्कोकोणमा कत्र्तव्यले थिचेको जिम्मेवारी छ । त्रासको सास, अठोट, मिथ्या, झिल्को र चोक, बुझाइ, छोड, सौभाग्य, अह्रोट, अफिम, विश्वास लगायत सबै कथाहरु निस्सासिएको समाजका स्वर हुन् । सबै कथाहरुमा एकखाले छटपटी, निस्सास र थारै आशाहरु सँगालिएका छन् ।
गोपीराम भण्डारीका लघुकथाहरुमा समयसँगै विकसित लघुकथा प्रवृत्ति भेटिन्छ । उनका सबैजसो कथाहरु संक्षिप्त र साङ्केतिक छन् । लघुकथाको सूत्रात्मकता भने सबै कथामा भेटिदैन । सबै कथाहरु आत्मवोधको सूक्ष अभिव्यक्तिमा छन् । लेखकीय अन्तरवोध भएपछि सिर्जनाले स्वाभाविकता पाउछ भन्ने देखिएको छ । व्यङ्ग्यचेत लघुकथाको मुख्य मूल्य हो, सबैकथाहरु व्यङ्ग्य विरोध मार्फत समाजलाई विचरण गर्दछन् । सामाजिक व्यङ्ग्य उनका लघुकथाका विषय हुन् । अचनात्कताको महशुस गराउने शक्तिमा कथा उम्दा छन्, तर सबै कथा एकै रुप र घनत्वमा त्यो झड्का दिने सामथ्र्य राख्दैनन् । केही कथाहरु सामाजिक सन्देश आफै दिन बेर पछि परेका छैनन् । परिवर्तनको आग्रह छ, संरचनागत विविधता छ । उनका लघुकथा गल्प होइनन्, लघुकथा नै हुन्, फ्ल्यास फिक्सन वा माइक्रो स्टोरी पनि होइनन्; लघुकथा नै हुन् । लघुकथा आत्मवोधको सूक्ष्म अभिव्यक्ति हो । आख्यानमूलक सिर्जनाको साझा धर्म आत्मबोध हो । आत्मबोध नभएको वा आत्म स्वीकृति सहितको विषयबोध नभएको रचना हुँदैन । लघुकथा स्नापसट हो, त्यसैले यो सूक्ष्म आत्मबोधको अभिव्यक्ति हो । संक्षिप्त भैकन पूर्ण हुनुपर्ने विशेषताका कारण सूक्ष्म विषयको गहन आत्मबोध हो । यी विशेषताहरुमा गोपीराम खारिदै गएका छन् । नेपाली लघुकथा विस्तारको चरण पार गर्दै गुणस्तरको चरणमा पुग्दैछ, गोपीराम भण्डारी यस चरणका सशक्त हस्ताक्षर बन्ने क्रममा छन् ।
सामान्यतः युवाकथाकारहरु प्रेम र परिवार, समसामयिक सामाजिक यथार्थ, भावनात्मक विश्लेषण, सहरिया जीवन, रोजगारी, प्रविधि र सम्बन्धमा कथा लेख्न मन पराउछन् । उनीहरु यसैबाट प्रभावित र यसैमा जिभजेका हुन्छन् । कथाकार गोपीराम भण्डारी यी विषयका अतिरिक्त पेशा, दायित्वका अनुभूतिमा रहेर कथा गर्छन् । उनका कथाका विषयभूमि फराकिला छन् । सबै कथामा आशाको अन्वेषण गर्छन्, विकृतिप्रति व्यङ्ग्य गर्छन् । मसिना घटनालाई उल्लेख गर्दै आयामिक सन्दर्भ तान्ने र गहन विचारचेत दिने उनको विशिष्ठ क्षमता छ ।
– मैनाली निवास, क्षितिज मार्ग, शङ्खमूल ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend