हो, युवाहरू
गर्यौ तिमीहरूले प्रयास
नेपाल आमालाई हँसाउन,
तर सम्झ ! युवाहरू हो
उजाडिए कति आमाका काखहरू?
बनायौ अश्रुपूर्ण तिमीहरूले
ती आमाहरूका आँखाहरू,
भिजे रगतको आहालमा लुछुप्पै
ती आमाहरुदेखेका स्वर्णिम सपनाहरू ।
खै ! के प्राप्ति होला र !
जन्म दिने आमाहरूका गहहरूबाट
निर्ममतासाथ रगतको आँसु बगाएर ?
के बाध्यता थियो होला र !
आमाका न्यानो काखहरू
रित्तो बनाई उजाड्न बाध्य गराएर ?
तड्पिई रहेछन् विह्वल बनेर
मातृत्व शोकमा हर क्षण, हरपल
ती निरीहआमाहरु
लुटिनु लुटिए कठै !
ती हँसिला मुहारहरूका
तेजस्वी आभाहरू ।
ओकल्नु हुन्न क्षणिक आवेशमा
कसैले नि,रिसा वेग अनि रोष
सफल हुन्न आवेगमा उब्जिएको
कसैको पनि जाँगर र जोस
पसे होलान् ती नरभक्षीहरू
तिमीहरूको नामको
नक्कली टिको लगाई
गरे सर्वनाश देशको अमुल्य
सम्पत्तिमा क्षति पुर्याई ,
टाँसियो कि!त्यो स्वच्छ निधारमा
कलंकको दोष
नछोड्नु धैर्यता र संयमता
अनि नपोख्नु आक्रोशित बनेर
आक्रोश र रोष ।
ढिला नगर युवाहरू अब
देशभक्त मथिंगलहरु रोज्न
पछि नपर देशको स्वरूप फेर्ने
सही व्यक्तित्वहरू खोज्न,
पर्खी रहेकी छिन् नेपाल आमा
तिमीहरूको उत्साह,उमङ्ग अङ्गाल्न
नचुक, नअल्मल अब
राज्यको यो विह्वल अवस्था सँगाल्न
गर्छु बिन्ती दुई कर जोडी
नहोस् नेपाल नामको
देशको अवसान ।
रचना -भाद्र २६ /२०२५