बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

एक पाठकको नजरमा उपन्यास “खुसीको गाउँ” चाहार्दा

एक पाठकको नजरमा उपन्यास “खुसीको गाउँ” चाहार्दा

359
Shares
359
Shares

उपन्यास खुसीको गाउँ पूर्वकै बहु प्रतिभाशाली लेखिका,संचारकर्मी तथा छन्द कविता वाचन र लेखनमा दक्ष खगिन्द्रा खुसीको पहिलो उपन्यास हो। सौभाग्यवश यो उपन्यासको विमोचन कार्यक्रममा उपन्यासकार स्वयंले हामीलाई पनि निमन्त्रणा गर्नु भएकोले हामीले पनि उक्त विमोचनमा झापाको खुदुनाबारी परिसर (पहिला भुटानी शरणार्थी क्याम्प )बसेको ठाउँमा सम्पन्न भएको थियो । त्यहाँ सरिक हुने अवसर पायौं।

अहिले उक्त शिविर बसेको ठाउँमा सुन्दर पार्क बनिएको रहेछ । चारैतिर हरिया जङ्गलबिच उक्त पार्कभित्र कार्यक्रम गर्ने हल पनि बनिएको रहेछ । सोही हलमा खुसीको गाउँको लोकार्पणको साथै चर्चा परिचर्चा पनि भएको थियो ।

खचाखच भिडभित्र “खुसीको गाउँको” चर्चा सुन्न गाउँका मानिसहरूदेखि लिएर झापाका कलमकर्मीहरू,पत्रकारहरू सबैको उपस्थिति रहेको थियो। हामी गजलकार /पत्रकार केशव आचार्य दाजु (बिर्तामोड) कोशी प्रदेश प्राज्ञ लेखिका बहिनी सुमित्रा चेली र कवि केशव आचार्यज्यु (दमक )हामी पनि बडो उत्साहकोसाथ खगिन्द्रा खुसीको “खुसीको गाउँ “भित्र हराउन,रमाउन पुग्यौँ। कार्यक्रम स्थलमा दमकका पनि निक्कै साहित्यकारहरूको उपस्थिति थियो ।

उक्त उपन्यासको चर्चा /परिचर्चा गर्न दुई तिन जना झापातिरकै बौद्धिक वर्गको उपस्थिति थियो जो जो मेरा लागी अल्पपरिचित थिए। कार्यक्रम प्रारम्भ राष्ट्रिय गानबाट भयो । अनि हुन थाल्यो चर्चाकारहरूको आफ्नो कर्तव्य “खुसीको गाउँको” चर्चा परिचर्चा ।

सबैले आ-आफैले बुझे र पढेसम्म चर्चा ,प्रशंसा वा उपन्यासभित्रकोमुख्य गुदी खोतलेर श्रोतासामु उजागर गर्नु भयो ।

उक्त कार्यक्रम समीक्षा,समालोचना नभएर मात्र चर्चा,परिचर्चा भएकोले उक्त किताबको भित्री गुदी वा उपन्यासको मुख्य सार भुटानिज शिविरका भुटानी नेपालीहरूको त्यो समयको अवस्था र उक्त शिविरभित्रको उनीहरूको जीवनशैली, उनीहरूको बाध्यता र भुटान देखी शिविरसम्म उनीहरूले भोग्नु परेको प्रारब्धको कथा,व्यथा मात्र उनीहरू बारे चर्चा भयो त्यो समयमा । समीक्षात्मक टिप्पणी भने भएन । पहिला नै हल्ला थियो कि,उक्त उपन्यासको मुख्य कथासार अर्थात् उपन्यासको विषय बस्तु वा मुख्य आकर्षण भुटानिज शरणार्थी शिविरभित्रका भुटानी शरणार्थी नेपालीहरूको कथा,व्यथाको प्रस्तुति हो भनेर । त्यसैले म पनि भुटानी नेपाली शरणार्थीहरूको विगतदेखि नै सामीप्यता पाएर मलाई पनि उनीहरूबिच थोरबहुत जानकारी थियो । त्यति मात्र नभएर अमेरिका पुगेर पनि कोलोराडोमा उनीहरूको नजिक हुने मौका मिलेको थियो त्यसैले पनि म “खुसीको गाउँ” डुल्न उत्साहित थिएँ र मलाई उपन्यास विधाप्रती निक्कै चासो बढेकोले म “खुसीको गाउँ” उपन्यास अध्ययन गरेर केही सिक्न लालायित थिएँ ।

खुसीको गाउँको चर्चा,परिचर्चा भई रहेको थियो । प्राय सबैले उपन्यासभित्रका केही अंशहरू मात्र पढेर त्यसैका खण्डन गरिरहेका थिए । उक्त खण्डनभित्र उपन्यासकार खगिन्द्रा खुसीप्रतिको सद्भाव,प्रेरणा र प्रशंसा पनि कसैबाट छुटेका थिएनन् । हुन पनि झापाकी उपन्यासकारको रूपमा युवा लेखिका खगिन्द्रा खुसी नै हाम्रोलागि पहिली हुन् सायद । नेपथ्यमा बसेर लेखिएका अन्य उपन्यासहरू पनि होलान् नारी लेखिकाका रूपमा तर मेरो नजरमा यो उपन्यास नै पहिलो हो त्यसैले पनि म यो उपन्यास हात पार्न प्रेरित थिएँ ।

अब उपन्यासभित्र मैले पाएको अनुभतिहरुमा उपन्यासकी मुख्य पात्र राधिका उक्त गाउँकी साधारण पढेलेखेकी र निक्कै ज्ञानगुन भएकी गाउँकै सानो सहकारीकी जागिरे। उक्त गाउँ पनि त्यति विकसित त होइन तर भुट्निजहरुको आगमन र उनीहरूको शिविरको चहलपहलले निक्कै खचाखच भिड नै देखिने रहेछ । घनघोर जङ्गल लाई फाँडेर बसाइएको शिविर (खुदुनाबारी कैदले ) मा छाप्रो बसाएर राखिएका ती भुट्निजहरुको कथा,व्यथा र जीवनशैलीलाई उपन्यासकारले यो “खुसीको गाउँ”नामकरण गरेर साँच्चै नै खुसीकै गाउँ बनाई दिएकी छिन् । हुन पनि यथार्थमा उक्त गाउँ खुसीको पनि गाउँ हो जहाँ उनी जन्मिइन्,हुर्किइन् र आफ्नो बाल मस्तिष्कबाट वयस्कमा उक्लिइन् र ती भुट्निजहरुको शाश्वत बँचाइको प्रत्यक्षदर्शी भएर यस्तो मार्मिक उपन्यास लेख्न उद्वेलित बनिन् ।

मैले उपन्यास सरसरती पढ्दै गएँ । मनमा कौतुहलता जागृत हुँदै गयो । लेखिकाका हरेक लेखाइका वाक्यका हरफहरूले मनमा उमङ्ग,उत्सुकता बढ्दै गयो । हरेक वाक्यहरूमा मिठो शब्द संयोजन र मिठा भावहरू छरेर उपन्यासलाई अति उत्कृष्ट लेखनको हकदार बनाएको अनुभूत भयो। सरसरती पढ्दै जाँदा म उपन्यासका पात्रहरूको संवादका हरेक वाक्य,वाक्यमा मोहित बन्दै गएँ । लाग्यो खगिन्द्रा खुसीको साहित्य लेखन साँच्चै यस्तै उस्तै लेखकको तुलनामा अब्बल लाग्यो । जे होस् आख्यान विधा लेख्न सक्ने क्षमता भएको खगिन्द्रा खुसीको कलमलाई मानें मैले ।

यति मात्र नभएर उनले यो उपन्यासकी पात्र राधाद्वारा यौनका कुराहरू पनि पोख्न लगाएकी छिन् त्यसैले यो उपन्यासमा यौनका कुरा पनि उपन्यासकारले निर्धक्क पोखेर उपन्यासलाई अझ रसिलो बनाएकी महसुस हुन्छ। नारी लेखिकाले यौनका कुरा लेख्न सक्नु यो पनि एक साहसिक कुरा हो जुन यो उपन्यासको एक सबल पक्ष पनि मान्न सकिन्छ।खुसीको गाउँ त्यति बेला रमणीय र सुन्दर लाग्छ जति बेला भुट्निजहरुका कटेराहरुको बाक्लो बस्ती थिए । त्यो बेला त्यहाँ निक्कै चहलपहल थियो। शुन्सान बस्ती,जंगलै जंगलले घेरिएको कैदले गाउँ शरणार्थीहरूको शरण स्थल भएको भए पनि ज्यादै रमणीय र आकर्षक भने उपन्यासमा वर्णन भेटिन्छ ।

जब भुट्निजहरु नेपालका ठाउँ,ठाउँमा ल्याएर राखिए उक्त ठाउँको ब्यापार,व्यवशायहरु पनि तिब्र रुपले बढेको थियो । मानिसहरुको चहपहल बढेर उक्त ठाउँहरु साधरण व्यापारिक स्थल पनि बनेको सत्य हो । अन्तर्राष्ट्रिय संघ,संस्थाहरु लुथ्रन,आईओएमहरु खोलिएर ती ठाउँहरुको शान नै बढेका थिए। धेरै युवा,युवतीहरुले पनि काम गर्ने मौका पाएका थिए । विदेशीहरुको आवागमन पनि निक्कै बढ्न थालेको थियो । तर जतिसुकै उक्त ठाउँहरुको शान बढे पनि,महङ्गाई पनि बढ्दै गएको थियो । घरभाडामा निक्कै वृद्धि भएका थिए । उक्त ठाउँहरुको त प्रगति,उन्नति भएकै थियो तर त्यो छाप्रोहरूमा बस्ने शरणार्थीहरुको मनको पीडा,देश छाड्नुको विरक्ति,अरुले खटन गरेर दिएका अन्नपानी खानु उनीहरुलाई सकश नै थियो । आखिर मान्छे पनि त पखेटाहिन प्राणी नै हुन् जो आफू स्वतन्त्र बाँच्न चाहन्छन् ।आफ्नो स्वयं कमाईमा अघाउँन चाहन्छन्। तर उनीहरुले कसैले अड्कलेर दिएको खानाले पेट भर्नु पर्ने,नअघाए पनि सन्तुष्टिको डकार डकार्नु पर्ने ।

युवा,जवानहरु त यो दुनियाँमा रमाए झैं पनि लाग्थ्यो । तर वृद्धवृद्धा भने सधैं निराश देखिन्थे । जुग बिताएर कपाल फुली सकेका बुढाबुढीहरु भने रातदिन आफ्नै घर,आँगन,र ठाउँ सम्झेर आँखा भिजाई रहन्थे । उनीहरुलाई कहिल्यै चैनको सास फेरेको अनुभूत हुँदैनथ्यो । भनौं उनीहरु एकप्रकारको बन्देजमा पनि थिए । शिविर छाडेर कतै जान अनुमति थिएन । बुढा,बुढीहरुको त भुटानबाट लखेटिएपछि त्यहीं जंगलमा नै कतिको जीवन बित्यो ।

तर त्यहाँ पनि उनीहरुको जीवन आ-आफ्नै प्रकारका थिए । जो भुटानमा अलिक सम्भ्रान्त परिवारका र पढेलेखेका थिए । उनीहरु भने बाहिर स्कुलहरुमा काम गरेर ,कोही कोही त बाहिर कलेजमा पढेर आफ्नो जीवनस्तर उकासी रहेका पनि थिए । कोही युवाहरु अनपढ भए पनि बाहिर निस्किएर लेबर कामहरु गरेर पनि अरु आम्दानीको श्रोत बढाउँन सफल थिए । यो दृश्य र अनुभव त मैले पनि दमक (बेलडाँगी),पथरी शिविरकाहरुसँगको सामिप्यता पाएर अनुभूत गरेकी थिएँ । कतिपय युवाहरु पढे,लेखेका प्रतिभावानहरु कोही गीत,संगीत कोही साहित्यमा पनि जुटेका थिए जुन कुरा म उनीहरुको क्रियाकलापसँग जोडिन पुगेकीले भन्न सक्छु । पहिला पहिला निक्कै प्रतिबन्ध भए पनि पछि पछि केही सहज परिस्थिति पनि हुन थालेको थियो ।

तर जतिसुकै जे भए पनि मान्छेलाई आफ्नै गाउँ,देश,घर मन पर्छ ।चराहरुलाई आफ्नै गुँड मन परे झैं । हो “खुशीको गाउँको” यहि कथासार हो । भुट्निज शिविरका कथा,ब्यथा कहाँ हाम्रो एकै बसाईको लेखाईमा अन्त्य हुन्छ र ?यो कथा,व्यथा त अथाह समस्या,संघर्ष र पीडाको सागर हो त्यसैले खुशीको गाउँमा पनि यो कथाका मूल मर्महरु छुटेका हुन् कि जस्तो लाग्यो । आखिर मानिस जो जहाँ रहे पनि जन्मिए पनि मान्छेका गुणहरु एउटै हुन्छन् । जस्लाई पनि आफ्नो जिजीबिषाले पछ्याई रहेको हुन्छ । चाहना र आवश्यकता एउटै हुन्छन् । माया,प्रेमको तिर्खाले जस्लाई पनि पिरोल्छ आखिर । यो उपन्यासका पात्र एक भुट्निज युवा राजेन्द्र पनि त्यस्तै प्रेमको बन्धनमा फँस्छन् । गाउँकै युवतीसँग । ऊ प्रेमको आवेगमा अन्धो झैं बन्छ । जबकी गाउँमा भुट्निज शरणार्थीहरुलाई हेरी दृष्टिकोण भिन्नै हुन्छ । शरणार्थीहरुलाई गाउँका स्थाई बासिन्दाहरुले साँच्चै हेय दृष्टिले हेर्छन् । हो यस्तै असह्य पीडाको शिकार राजेन्द्र पनि भएका छन् । उन्ले स्थाई बासिन्दा राधीकालाई प्रेम गर्न थाल्छ । राधिकाले पनि राजेन्द्रलाई उत्तिकै माया गर्न थाल्छिन् ।

उनीहरुको प्रेममा शरणार्थी उपनाम बाधक बन्छ तर पनि राधिका र राजेन्द्र गहिरो प्रेममा पर्छिन्। उनीहरु यति गहिरो प्रेममा पर्छन् कि एकार्काबिना बाँच्न कठिन हुने स्थितिमा पुग्छन् । दुवै परिवारबाट उनीहरुको प्रेम सम्बन्ध स्वीकार हुन्न किनकी मानिसहरुको सोंचमा भुटानिज शरणार्थी भनेपछि अत्ति नीच सम्झिन्छन् । मानौं उनीहरु नेपाली नै होईनन् । भुटानबाट लखेटिएर शरणमा आएका हुन् त्यो ठाउँमा । यसरी नै उनीहरुको प्रेम समस्या,संघर्ष,निराशामा चली रहेको हुन्छ। तर पनि उनीहरु एकार्काबाट टाढिने कल्पनासम्म गर्न सक्दैनन् ।
राधीकाले आफ्नो प्रेमी भेट्नलाई पनि जङ्गल गएर दाउरा खोज्ने,बेच्ने काम गर्छिन् जुन काम गर्न बाउआमाको स्वीकृति नै थिएन तर पनि दाउरा खोज्न जाने निहुँमा राधिकाले राजेन्द्रलाई भेट्ने मौका पाउँथिन्।

जे होस् यो पेशाले पनि राधिकाले केही आर्जन गर्न थालेकीले बुवाआमाबाट पनि पछिबाट त्यस्तो बन्देज हुन सकेन।

राधिका एक गरिब परिवारकी छोरी नै भए पनि उनी स्वावलम्बी पनि थिईन्। उनले गाउँकै सहकारीमा पनि जागिर खान्थिन् त्यसैले पनि गाउँमा उन्को राम्रै परिचय थियो। बा -आमा केही समयसम्म त राधिका भुट्निज परिवारका युवकसँग प्रेममा फँसेको कुरामा अनभिज्ञ थिए। त्यो गाउँमा कोही पनि भुट्निजहरुलाई कुटुम्ब बनाउँन चाहँदैन थिए।
राधिका र राजेन्द्रको प्रेम अघी बढी नै रहेको थियो। तर अफ्सोच!त्यो प्रेमको हल्ला त गाउँभरी फैलिएछ। राधिकाका आमाले पनि थाहा पाईछिन्। पहिला पहिला राधिकाकी आमाले भुट्निजहरुलाई असाध्यै माया गर्थिन्। उनीहरुको कथा,व्यथा सुनेर आँसु झार्थिन् तर जब त्यो हल्ला उन्को कानमा पर्यो राधिकाकी आमाले शिविरका भुट्निजहरुलाई तथानाम गाली गबनिन् र्न थालिन्। हुन पनि भुटानबाट लखेटिएकाहरु शरणार्थी बाहेक यिनीहरुको कुनै अस्तित्व छैन भन्ने सोंच थियो त्यो गाउँ,घर परिवेशमा। त्यो सब अशिक्षा र अन्जान्पनको नतिजा नै थियो। अब राधिकालाई आफ्नो प्रेममा बाधा हुने डर भयो तर पनि उन्ले आमालाई सम्झाईन्,बिश्वस्त गराईन्। आमाले राधिकालाई छिट्टै बिवाह गर्दिने धम्कि पनि दिनु भयो। तर राधिका आफ्नो सच्चा प्रेम शरणार्थीसँग अटल हुनेछ भन्ने कुरामा अडिग थिईन् र एकदिन शरणार्थीसँग विवाह गर्नु गलत होईन भन्ने कुरा प्रमाणित गरेर देखाउँने प्रतिज्ञामा विश्वस्त बनिन्।

तर सोंचे जस्तो कहाँ हुन्छ र कसैलाई ? राधिकाकोलागी आफ्नो प्रेमीसँग भेट्न निक्कै बन्देज लाग्न थालेको थियो ।

स्वतन्त्रसँग भेट्ने राजेन्द्रलाई अब भने उस्को रखवाली गर्न बैनीलाई ऊसँगै आमाले जहाँ पनि पठाउँन थालिन् । राधिका शिविर जान थाले पनि उस्लाई स्वत्रन्त्रसँग राजेन्द्रलाई भेट्ने मौका कम हुन थाल्यो । यसरी पातलिंदै गए उनीहरुको मिलनको पल । यता राजेन्द्रकी आमाले पनि सुँईको पाईन् राधिका र राजेन्द्रको हिमखिमबारे ।
छोराले आमाले सम्झाउँन थालिन् । तर राजेन्द्रले आमालाई विश्वस्त पार्न खोज्दा पनि आमाले प्त्याईनन् र सम्झाउँने कोशिस गरिन् । -“हेर छोरा राधिका जे भए पनि आफ्नो थातथलो भएकी,आफ्नो देशकी नागरिक तर हामी त आफ्नो माटोकै टुङ्गो नभएका,हामी देशहिन अनागरिक। अरुले दिएको थापेर खाने,न आफ्नो घर,न केही यस्तो छाप्रोमा जीवन कटाउँन ऊ कसरी आउँछे?गाउँघरले उस्लाई पनि बहिष्कार गर्छन् । शरणार्थीहरुसँग नाता,सम्बन्ध जोड्न यी देश भएकाहरु कहाँ राजी हुन्छन् ?”आमाका यस्तै कुराहरुले पिरोले पनि सत्य भनाई भए पनि राजेन्द्र पनि उनीहरुको अटल प्रेम सफल हुन्छ भन्ने कुरामा बिश्वस्त थिए । तर शिविरेहरुसँग विवाह गर्नु भनेको त्यो गाउँका केटीहरु अभिभावककालागी मरे सरह मानेर किरिया समेत गर्न गर्न पछी परेका थिएनन् गाउँलेहरु ।

यस्तो जटिल परिस्थितिमा पनि राजेन्द्र र राधिकाको प्रेम लैला/मजनु,हिर/राँझा,मुना/मदनकै जस्तो सच्चा थियो । तर राजेन्द्रले बाँचेको समाज,जीवन र राधिकाले बाँचेकी जस्तो समाज,जीवन जमिन आकाशको फरक थियो ।यो चाहेर पनि उनिहरुकोलागी असम्भव थियो । यस्तै बाध्यताहरुकोबीच पनि राजेन्द्रले राधिकालाई पढ्न हौशला दिने गर्थ्यो । ऊ भन्ने गर्थ्यो राधिकालाई पढाई नै सबैभन्दा हाम्रो जीवनको सफलताको औजार हो । तिमीले पढ्नु पर्छ । हाम्रो प्रेम सफल पार्नलाई । हामीले आ-आफ्नो तर्फबाट संघर्ष गर्नु पर्छ भनेर हिम्मत पनि दिन्थ्यो । यस्ता कुराहरु राजेन्द्रको सुन्दा राधिकालाई पनि एक प्रकारको हौशलारुपी जाँगर चलेर आएको थियो ।
नत्र राधिका पढ्न त्यति मन गर्ने केटी होईन र आफ्नो घरको व्यवहारिक जिम्मेवारीको भारले पनि थिचेको थियो । उस्ले दाउरा बेचेर पनि घरको आवश्यकता टार्ने गर्थी ।

समग्रमा उपन्यासको सुन्दर पक्ष के छ भने एउटा प्रेमी जस्ले आफ्नी प्रेमिकालाई पढ्न,अघि बढ्न पनि प्रोत्साहन दिई रहेको छ । उनीहरु सुन्दर भविष्यको कल्पनामा जीवन कसरि सक्षम र सफल हुन्छ ?भन्ने कुरामा सजग भएर अगाडि बढ्ने सम्भावना खोजी रहेका छन् नत्र भने कतिपय प्रेमिल जोडीहरु यौनको प्यास मेट्न र झुटो आश्वासनमा आफ्नो प्रेमलाई झुटको पर्दाले छोपेर अघि बढी रहेका हुन्छन् तर राजेन्द्रमा त्यस्तो कुनै छलकपट र स्वार्थ छैन नत राधिकाले नै आफ्नो प्रेमीको धन,सम्पतिमा लोभिएर प्रेममा समर्पित भएकी छ ।
त्यसैले यो उपन्यास यो समयको एउटा प्रेमको दर्बिलो उदाहरण हो तर मात्र, देश खोसिएको शरणार्थी जीवनसँगको दुखद पाटोले यो उपन्यास वियोगान्त बनेर मझदारमा अल्झेको छ । शरणार्थी हुनुको प्रारब्धले नै राजेन्द्रले आफ्नो जीवनलाई उज्यालो किरण दिन उक्त क्याम्प छाडेर पढ्न भद्रपुरतिर जान्छन् । त्यो समय उनीहरुको बिछोड हुँदा
राधिकालाई हरेक पल काट्न गाह्रो हुन्छ तर पनि ऊ भविष्यको सुनौलो कल्पना गरेर दिन कटाई रहेकी हुन्छे ।

उसलाई शिविरतिर दाउरा लिएर जान पनि जाँगर चल्दैन तर पनि उसको त्यति परिश्रमले घरको भार केही हलुको भएको छ । भाइ,बहिनी पढाउने जिम्मेवारी वहन गर्न केही हल्का भएको छ त्यसैले पनि ऊ आफ्नो कर्तव्य वहन गर्न दाउरा लिन जान्छे ।

यसरी प्रेम वियोगमा राधिका तड्पिई रहेकी हुन्छे उसो त राजेन्द्र पनि उस्तै हालतमा हुन्छन् । मान्छेको चरित्र र व्यवहार राम्रो भए पनि राजेन्द्रको शरणार्थी जीवनको धब्बाले उनीहरुको प्रेममा प्रश्नचिन्ह खडा हुन्छ । हुन पनि जुन व्यक्तिको साथ रोज्दा आफ्नी छोरीको भविष्यको सुरक्षाको कुनै ग्यारेण्टी हुन्न भने कुन आमाबुवाले त्यस्ता असुरक्षित परिवारमा आफ्नो सन्तान होम्मिन पठाउँछन् र ?आखिर यस्तै कथा,ब्यथा हो यो उपन्यासको मूल मर्म पनि ।

अन्त्यमा ती त्यो प्रेमिल जोडीको प्रेममा तगारो लागेरै छाड्यो । राधीकाले आफ्नो अभिभावकलाई अब उसो प्रेमको भिख माँग्न छाडी । ऊ बलीमा चढाउँन पर्सिएको बोका झैं समर्पित बनी आमाबुवाको वचनको अगाडि र विवाहलाई उस्ले नकार्न सकिन।

राधिका विवाह बन्धनमा बाँधिएपछी राजेन्द्रले पनि विवाह गर्न कर लाग्यो किनकी उनीहरुको तेस्रो मुलुकको जाने तयारी भई सकेको थियो । मनलाई बाँधेर उस्ले पनि आफ्नै शिविरकी धनमायालाई विवाह गरेर अमेरिकातर्फ लाग्यो । उनीहरुको प्रेमको बिराशत साँच्चै नराम्रोसँग ढल्यो ता पनि दुवैतर्फबाट जीवन चलाउँनै थियो । प्रेमको अवशान भए पनि उनीहरु मनमुटुबाट मात्र होईन । भौगोलिक दुरीबाट नै टाडिए तर माया र सम्झना त दुवैमा गाडिएर बसेकै थियो ।

राजेन्द्रसँगको प्रेमालापले हो वा केले हो ?राधिकाले आफ्नो वैवाहिक जीवनलाई पनि सफल पार्न सकिन । उस्लाई राजेन्द्रकै प्रेमले रन्थनाई रह्यो र अन्त्यमा ऊ माईतमै आएर बस्न थाली । उभित्र बैराग्यता छाई सकेको थियो । उस्ले फेरि त्यहि गाउँमै आएर सहकारीमा काम गर्न थाली । बुवाआमालाई पनि छोरीलाई जबर्जस्ति विवाह गरिदिएर घरजम नबसेकोमा पछुतो भयो नै जहाँ छोरी खुशी हुन सकिन र उक्त घरमा पनि उस्को जीवनको कुनै सुरक्षाको आधार नभेटेपछी आमाबुवा पनि मौन बने । राजेन्द्र पनि अमेरिकामा उसरी छट्पटिएर नै जीवन व्यतित गरी रहेका थिए । उनी पनि दुईवटा सन्तानका बाबु बनी सकेका थिए ।

अचानक राजेन्द्रले कुनै माध्यमबाट राधिकाबारे सबै जानकारी पाएपछि राजेन्द्र फेरि छाडी सकेको बस्तीमा झुल्किए । उसलाई राधिकाप्रतिको मायाले छाडेकै थिएन । उनी आए त्यही गाउँ जहाँ उनले आफ्नो प्रेम,बास त्यागेर अमेरिका गएका थिए । उसलाई राधिकाको माया डोर्‍यायो र उनी आए। राधिकासँग अप्रत्याशित भेट् भयो । फेरि उन्लाई आफ्नो खुसी फर्किए झैँ आभास भयो । उन्को आगमनमा राधिकाको आमा,बुवामा पनि पुराना कुरालाई बिर्सिएर सकारात्मक बने । राजेन्द्र दुईचार उनीहरूकै घरमा पनि बसे । जे होस् उनीहरूको क्षणिक पुनर्मिलन भए पनि सुन्दर बन्यो । राधिकाले पनि गुमाएको माया फेरि पाउँदा क्षणिक यथार्थ भुलेर केही पल रमाई । यसरी एक स्वच्छ प्रेमको टुटेको बस्तीमा फेरि हरियाली छाए झैँ भयो । वियोगान्त प्रेमको कथामा अनायास पुनर्मिलनको उज्यालो किरण छायो तर यो कति दिनको खुसी पो थियो र ? एक दिन त छुट्टिनै थियो किनकि राजेन्द्रको जीवनमा कसैको अधिकार जमी सकेको थियो र सन्तानको जिम्मेवारी पनि थियो। उनीहरु फेरि छुट्टिए पनि किनकि राजेन्द्रको आफ्नै बाध्यता थियो र ऊ विवाहित थियो । केही समयको मिलनपश्चात् उनीहरू फेरि नदिको दुई किनार भए जो हुनु नै थियो ।

यो त भयो उपन्यासको वियोगान्त पक्ष हुँदै फेरि संयोगान्तसम्म कथा लेखिएर फेरि आ-आफ्नै परिस्थिति,बाध्यताको कारणले छुट्टिनै पर्ने नियति । जो कथा हृदयस्पर्शी,कारुणिक,प्रेम,बिछोड,वियोग,खुसीले रङ्गाएर एउटा सबल उपन्यासमा परिभाषित भएको छ । कथाका पात्रहरू सब कर्तव्यनिष्ठ,सहयोगी,अन्जानपनमा बाँचेका र ज्यादा जसो अन्धविश्वासमा फँसेकाहरु छन् र गाउँका सबैजसोका दिल दिमागमा शरणार्थीप्रति हेर्ने हेय दृष्टिकोणले पनि यो उपन्यासलाई जन्माउन सफल भएकी छिन् उपन्यासकार ।

अब मैले एक पाठकको दृष्टिले हेर्दा वा पढ्दा यो उपन्यासभित्र खट्किएको विषय पनि छुटाउन मन लागेन त्यसैले त मैले यहाँ (चर्चा/परिचर्चाभन्दा पनि समीक्षात्मक टिप्पणी वा म समालोचना भन्न रुचाउँछु ।) हुन त म त्यस्तो दिग्गज समीक्षक र समालोचक हुँइनँ । मात्र मैले मास्टर्ससम्मको अध्ययन गर्दा केही ज्ञान सिके अनुसार कुनै पनि कृती,लेख,रचनाको समीक्षा वा समालोचना गर्न उक्त विषयको राम्रो पक्ष र कमजोर पक्ष दुवै पक्षलाई उजागर गरेर लेख्दा समीक्षकले आफ्नो उत्तरदायित्व पुरा गरेको ठहरिन्छ । कृतिकार र सर्जकलाई पनि न्याय दिएको अनुभूत हुन्छ ।

त्यसैले सर्जकलाई झुटो स्याबासी र झुटो प्रशंसाको धापले धाप दिनुभन्दा आफूलाई लागेको सही विचारको चाबुकले हान्दा कृतिकारले यदि सहजता लिएमा यो समीक्षा पनि उपन्यासकारकोनिम्ति पाठ नै होला भन्ने भाव लिँदै मलाई यो “खुसीको गाउँ”भित्र रहेका केही घटनाहरू जस्तै जब अमेरिका गएर फर्किएपछि समाजको हेर्ने ऐना सर्लक्क फेरिएर राधिकाको आमाबुवाले पनि विवाहित राजेन्द्रसँग खुलेआम छोरीलाई फेरि बोल्ने छुट् दिनु ।पहिला शरणार्थीको उपनामले घृणा गरेका मनहरूले फेरि स्वीकार गर्नु । राजेन्द्रकी श्रीमतीले आफ्नो श्रीमानलाई आफ्नो भूतपूर्व प्रेमिका भेट्नलाई अमेरिकाबाट पठाउनु किनकि कुनै पनि नारीले जब विवाह हुन्छ आफ्नो श्रीमानलाई अरूप्रति समर्पित भएको शायदै सहलान् तर यो उपन्यासमा एउटी पत्नीले आफ्नो श्रीमानलाई यति बिश्वासकोसाथमा छाडी दिन्छिन् कि आफूभन्दा पहिलो प्राथमिकता चाहिँ श्रीमानकी प्रेमिका नै हो भनेर ।

यस्तै अर्को पक्ष के छ भने पहिला स्वच्छ प्रेममा लिप्त भएकी प्रेमिका जसले चोखो मायालाई कहिल्यै कलङ्क लगाउन दिइन तर जब आफ्नो भूतपूर्व प्रेमी विवाहित भएर भेट्न आए त्यो समयमा आफ्नो नारीत्व नै सुम्पिएर समर्पित भएको पढ्दा त्यति धैर्यवान्,शालीन राधिकाले अर्की नारीमाथि अन्याय गरिनन् ?र कसरी मन मान्यो एक विवाहित पुरुषलाई आफ्नो सर्वस्व सुम्पिन ?प्रेम पो अजर,अमर हुन सक्थ्यो तर यति हदसम्म नगरेको भए कथा अझ कारुणिक बन्ने थियो कि ?भन्ने मेरो सोच मात्र । अनि अर्को पक्ष यो उपन्यास “खुसीको गाउँ” यसमा भुट्निज समुदायको पीडा,छटपटी र उनीहरूले भोग्नु परेको नाजुक अवस्था जो यो पाठकको अगाडि पनि छर्लङ्ग थियो । त्यही पोखिएको पढ्न पाइएला भन्ने मेरो अनुमान थियो र यो उपन्यासमा उनीहरूले भोगे अनुसार नै वृत्तान्त सबैको भोगाई छरपस्ट छरिएको अनुभव बटुल्न पाइने छ भनेर । तर यहाँ त मात्र राजेन्द्र (एक पात्रको )प्रेमलाई मात्र शरणार्थीको पीडामा परिभाषित गरिएको र देशविहीनहरू र आफ्नो देशभित्रै बस्ने नागरिकको दर्जा पाउँनेहरुमा थोरै अन्तरको द्वन्द्व मात्र पोखिए झैँ लाग्यो । हुन त पाठकको आ – आफ्नो मनन गर्न सक्ने क्षमता अनुसारको बुझाई हो मनन गर्न सक्ने क्षमता अनुसार ।

मैले निष्पक्ष भएर भन्नु पर्दा यो उपन्यासको अर्को महत्वपूर्ण पक्ष चाहिँ पाठकको मनलाई जति पढ्दै गयो उति उति अब के होला ?के होला ? भन्ने कौतुहलता जगाएर उपन्यास पढ्न छाड्नै मन लाग्दैन । म त बेला,बेला यो पनि सोंच्न बाध्य भएँ कि उपन्यासकार खगिन्द्रा खुसीले कुन हिम्मतले आफ्नै यौनका कुराहरू पनि लेख्न सकेकी हुन् ?म घरी घरी सोंच्थें
उपन्यासकारको कौशलता चाहिँ मान्नै पर्छ । पाठकलाई रनभुल्लमा पारेर यो उपन्यासलाई अन्त्यमा बिट मार्दा कस्तो दृश्य देखिएला ?भन्ने उत्सुकता मनमा जागी रहन्छ तर उनले बडो चातुर्यताकोसाथमा पहिला आफ्नै जीवनको कथा लेखे झैँ गरेर अन्त्यमा अरू कसैकोलाई उपन्यासको मुख्य पात्र बनाएर आफू पत्रकारकोरुपमा गएर कुनै एक नारीको आत्मकथा लखेको झल्काएर आफू मात्र स्वच्छ लेखिकाको रूपमा उभिन सफल छिन् । बहिनी खगिन्द्रा खुसी । जसका छन्द कविताहरू, वाचनकला र आवाजको म प्रशंसक हुँ । खगिन्द्रा बहिनीको यो उपन्यास लेख्ने साहसलाई नमन । अब अर्को उपन्यास पढ्न पाउने अभिलाषाको प्रतीक्षामा छु ।

  • प्रतिक्रिया दिनुहोस

    आचार्य प्रभा का अरू रचना

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend