फेसबुकको वाल हेर्दै थिएँ। बौद्ध भिक्षुहरू एउटा कुकुरसँग लाइन लागेर हिँड्दै थिए। के रहेछ भनेर पुरै भिडियो हेरे । भिडियो सानो थियो। त्यसको लिङ्क युट्युबमा राखिएको रहेछ। युट्युब हेरे। सो कुकुरको विषयमा धेरै थाहा भयो। बौद्ध भिक्षुहरूसँग हिँड्ने सो कुकुरको नाम अलोका रहेछ। खैरो र सेतो मिसिएको शरीर। निधारमा सेतो प्रेमको चिन्ह। हेर्दै कुकुर अनौठो लाग्यो। कता कता भित्र कस्तो कस्तो भाव आयो। हेर्दै गए….। अलोकाले फिजाएको शान्तिका सन्देशहरू…, करुणाका बीजहरु.. हेर्दै गए, सुन्दै गए, कता कता आँखाबाट आँसु पनि झर्यो। खुसीको आँसु हो कि..? प्रेमको आँसु हो..? करुणाको आँसु हो कि..? एउटा कुकुरले विश्वमा फिजाएको शान्तिको सन्देश हो कि..? बग्न दिए बगिरह्यो….अविरल….
त्यसकै सेरोफेरोमा अलोकालाई सम्झिँदै यो लेख तयार पारेकी छु ।
अलोका भारतको सडकमा जन्मिएको एक साधारण आवारा कुकुर हो। तर आज ऊ शान्तिको दूत बनेर संसारका हजारौँ हृदय छुने कथा बनेको छ ।
भारतमा नाङ्गो खुट्टा शान्तिको पदयात्रामा निस्किएका बौद्ध भिक्षुहरूसँग भेटिएपछि, अलोका मौन रूपमा उनीहरूलाई पछ्याउन थाल्यो । न बोल्यो, न माग्यो,तर साथ छोडेन ।
भारतभरि ३,००० किलोमिटरभन्दा बढी दुरी पार गर्दा ऊ घाम, वर्षा, सडक र पीडासँग जुध्यो। एकपटक घाइते भएर गाडीमा राखिँदा पनि ऊ फेरि हाम फालेर यात्रामै फर्कियो। सय दिनभन्दा बढी समयसम्म ऊ भिक्षुहरूसँगै हिँडिरह्यो। त्यस निष्ठाले भिक्षुहरूको मन जित्यो र उनीहरूले उसलाई ‘अलोका’ नाम दिए। अलोका’को अर्थ हो- “दिव्य प्रकाश”
भारतको यात्रा सकेपछि भिक्षुहरूले अलोका छोड्न सकेनन् । लामो प्रक्रिया पार गर्दै उनलाई अमेरिकामा ल्याइयो। भिक्षुहरूले जनवरी २०२६ को पहिलो हप्ताबाट दक्षिण कोरोलिनामा प्रवेश गरे ।
दक्षिण कोरोलिनाको इतिहास जातीय विविधता बोकेको भुमि हो । यही कारण कोलम्बियामा हजारौँ मानिस स्वतः सामेल भए। जर्भाइस स्ट्रिट बृज (Gervais Street Bridge) शान्तिको प्रतीक बन्यो।स्टेट हाउस( State House) अगाडि मौन मन्त्र उच्चारण भयो। विभिन्न धर्म, जाति, संस्कृति एकै ठाउँ उभिए।यो दृश्यले धेरैलाई सम्झायो-शान्ति भाषणले होइन, मौन उपस्थितिले फैलिन्छ ।
यो पदयात्रा टेक्सासको फोर्ट वर्थबाट सुरु भई वासिङ्टन डिसी.सम्म लगभग २,३०० माइल (लगभग ३,७०० किलोमिटर) दूरी तय गर्दैछ । जसमा लगभग १२० दिनसम्म भिक्षुहरू पैदल हिँडछन् । यस यात्राको उद्देश्य शान्ति, करुणा, सौहार्द र मानवीय एकताका सन्देशलाई फैलाउनु हो ।
टेक्सासको फोर्ट वर्थबाट सुरु भएको यो यात्रा राजधानी वासिङ्टन डिसीसम्म पुग्नेछ। यस शान्ति यात्रामा सहभागी १९ जना बौद्ध भिक्षुहरूको उमेर २१ वर्षदेखि ७० वर्षसम्म छ, जहाँ युवाको उत्साह र वृद्धको गहिरो साधना एकै पाइलामा छ ।
बौद्ध भिक्षुहरूको यो पदयात्राले शान्ति, माइंडफुलनेस (मनस्थितिको सचेतता) र करुणाको सन्देश दिनु हो। यस यात्रामा उनीहरूले धेरै ठाउँमा मानिसहरूसँग भेटघाट गर्छन् र मानिसहरूलाई शान्त मन र मैत्रीपूर्ण व्यवहार तर्फ प्रेरित गर्छन्। यो राजनीतिक विरोध/प्रदर्शन होइन, बरु आध्यात्मिक सन्देश फैलाउने उद्देश्य हो ।
यो पदयात्राले मानिसहरूलाई शान्ति र सहिष्णुताको महत्त्व बुझाउन, मनलाई शान्त राख्न र माया-दया बढाउन, धर्म वा संस्कृति भिन्नता भए पनि मानवीय एकता अरूलाई महसुस गराउन प्रेरणा दिन्छ ।
यो पदयात्रालाई नाम दिइएको छ- ‘शान्तिका लागि पैदलयात्रा’। तर वास्तवमा, यो त हिँड्दै गरिने ध्यान हो, जहाँ प्रत्येक पाइला शान्ति, अहिंसा र मानवताको सन्देश बनेर फैलिँदैछ। यो पदयात्रा एउटा महान आध्यात्मिक अभियान हो। यो हुवोङ डावो विपस्यना भाबना सेन्टरद्वारा आयोजित शान्ति-सचेतना पदयात्रा हो, जसले अमेरिकाका १० वटा राज्यहरू पार गर्छ ।
यात्रा अधिकांश समय पैदल छ, भिक्षुहरू बिहान प्रायः बिहान ४ बजे उठेर हिँड्न सुरु गर्छन्। मौन, ध्यान, मन्त्र जप र करुणा भावना, नाङ्गो खुट्टा वा हल्का जुत्तामा मौन पदयात्रा दिनेले दिएको सादा भोजन (दान),साँझ पुनः मौन ध्यान र विश्राम, उनीहरू फोन, सामाजिक सञ्जाल, राजनीतिक नारा केही पनि प्रयोग गर्दैनन् ।
यो यात्रा कुनै प्रदर्शन, आन्दोलन वा धार्मिक प्रचार होइन।यो चलिरहेको ध्यान (Walking Meditation) हो। बौद्ध परम्परामा“शान्ति खोज्ने होइन, शान्ति भएर हिँड्ने” भन्ने धारणा छ। यही अभ्यासलाई भिक्षुहरूले सडक, सहर र समाजमा उतारेका छन् ।
यी भिक्षुहरू हिँडिरहेका बाटोहरूमा मानिसहरू स्वतः भेला हुन्छन् र फूल अर्पण गर्छन्, पानी र सादा भोजन दिन्छन्, मनको श्रद्धा र करुणा पोख्छन। साना केटाकेटीदेखि वृद्ध–वृद्धासम्म सबैले भिक्षुहरूप्रति अपार माया र सद्भाव प्रकट गरिरहेका छन् ।
“यो यात्रा” एउटा महान आध्यात्मिक अभियान हो। यो हुवोङ डावो विपस्यना भाबना सेन्टर द्वारा आयोजित शान्ति–सचेतना पदयात्रा हो, जसले अमेरिकाका १० वटा राज्यहरू पार गर्छ ।
यस पदयात्राको मुख्य उद्देश्य शान्ति, समृद्धि र करुणाको सन्देश जन–जनमा पुर्याउनु हो। मौन, अनुशासन र ध्यानसहित गरिने यो यात्रा शब्दभन्दा बढी उपस्थिति, आचरण र करुणामय जीवनमार्फत शान्तिको सन्देश दिन्छ ।
भिक्षुहरूसँग हिँडिरहेको कुकुर “अलोका” धेरैका लागि करुणाको जीवित रूप बनेको छ । ऊ न बोल्छ, न नारा लगाउँछ।तर जहाँ पुग्छ, त्यहाँ मान्छेको मुटु खुल्छ । भिक्षुहरू भन्छन्:“अलोका हामीलाई सम्झाउँछ कि निर्दोषता नै शान्तिको मूल हो। शान्ति कुनै गन्तव्य होइन, अभ्यास हो।“
आज अलोका सामाजिक सञ्जालमा लाखौँले माया गरेको नाम हो। तर ऊ कुनै प्रसिद्धि खोज्दैन।ऊ केवल सम्झाइरहन्छ-शान्ति शब्दबाट होइन, उपस्थितिबाट फैलिन्छ। करुणा बोल्दैन, हिँड्छ ।
अलोका अब केवल एउटा कुकुर होइन। ऊ विश्वशान्ति यात्राका एक मौन यात्रु बनेको छ। विश्वभरका धेरै मानिसहरूको नजर आज त्यसैमा अडिएको छ। यात्राका क्रममा अमेरिकी बच्चाहरूले अलोकालाई छुन्छन्, माया गर्छन्, सम्मान प्रकट गर्छन्। कतिपय अमेरिकीहरू सात-आठ घण्टा टाढाबाट गाडी चलाएर ती भिक्षुहरूलाई एक झलक देख्न आइरहेका छन्। अमेरिकाभरि बौद्ध भिक्षुहरूसँगै गरिएको “शान्तिका लागि पदयात्रा (Walk for Peace)” मा सहभागी भएपछि “अलोका द पिस डग” नामले व्यापक रूपमा परिचित भएको छ ।
उनको निधारमा रहेको हृदय–आकारको विशेष चिन्ह ले पनि धेरैको ध्यान तानेको छ, र सामाजिक सञ्जालमा उनले ठुलो संख्यामा अनुयायीहरू कमाएको छ । जनवरी २०२६ को सुरुवातमा, दक्षिण कोरोलिना हुँदै यात्रा गरिरहेका बेला अलोका खुट्टाको चोटबाट पीडित भएको पत्ता लाग्यो। शान्ति यात्राको आधिकारिक फेसबुक पेजमार्फत जनवरी १२ मा उनको पशु-चिकित्सकीय शल्यक्रिया हुने जानकारी दिइयो ।
चिकित्सकहरूका अनुसार, उनको घुँडामा रहेको समस्या र भारतमा रहँदा देखिएको दायाँ पछाडिको खुट्टासँग सम्बन्धित पुरानो चोटका कारण शल्यक्रिया आवश्यक परेको थियो। जनवरी १२, २०२६ मा करिब एक घण्टा लामो शल्यक्रिया गरियो ।
अलोका पुनः भिक्षुहरूसँगै शान्ति पदयात्रामा सहभागी भयो, तर सुरुका दिनहरूमा एक पटकमा १० मिनेटभन्दा बढी नहिँड्ने दिनमा अधिकतम ६ पटक मात्र हिँड्ने जस्ता सीमिततासहित बिस्तारै गतिविधि बढाइयो ।
अलोकाको अस्थायी विश्राम अवधि कोलम्बिया, दक्षिण कोरोलिनामा भिक्षुहरूले स्टेट हाउसका सिँढीमा आयोजना गरेको सार्वजनिक शान्ति संवाद सँगै परेको थियो, जहाँ उनी पूर्ण रूपमा सहभागी हुन सकेनन् ।
अलोका आज केवल एउटा कुकुर मात्र होइन,उनी करुणा, सहनशीलता र मौन शान्तिको जीवित प्रतीक बनेका छन्,जसले शब्दबिनै संसारलाई शान्तिको सन्देश दिइरहेका छन् ।
अलोका पहिलोपटक भिक्षुहरूसँग कोलकाताको एउटा विमानस्थल नजिक उनीहरू पदयात्रा गरिरहेका बेला जोडिए। उनीहरूसँग धेरै कुकुरहरू बाटोमा केही समयसम्म पछ्याउने गर्थे, तर सधैं सँगै रहने भने अलोका मात्रै बने ।
भिक्षु पन्नाकाराले द टाइम्स अफ इन्डियालाई भनेका छन्-“हामी हिँड्दा धेरै कुकुरहरू पछ्याउँछन्, तर प्रायः उनीहरू बीचमै छुट्छन्… तर ऊ अलोका बारम्बार फर्केर आइरह्यो।”त्यस निरन्तर साथले भिक्षुहरूको मन छोयो। अन्ततः उनीहरूले त्यस आवारा कुकुरलाई आफ्नै यात्राको स्थायी सहयात्री बनाए। भिक्षु पन्नाकाराले उसलाई ‘अलोका’ नाम दिए। संस्कृतमा ‘अलोका’ को अर्थ हुन्छ ‘दिव्य प्रकाश’ वा ‘आन्तरिक स्पष्टता’। यसरी, एक आवारा कुकुर शान्तिको यात्रामा प्रकाश बनेर हिँड्न थाल्यो ।
‘अलोका द पीस डग’ नामक फेसबुक पेजमा लेखिएको छ- “उसको यात्रा साँच्चै अद्वितीय छ। भारतका सडकमा भौँतारिँदै हिँड्ने एउटा आवारा कुकुर, जसले आदरणीय भिक्षुहरूलाई पछ्याउन थाल्यो ।
भिक्षुहरूसँग भेटिनुअघि अलोका कस्तो जीवनमा थियो भन्ने कुरा धेरैलाई थाहा छैन। तर ६ लाखभन्दा बढी अनुयायी रहेको ‘आलोका द पिस डग”पेजका अनुसार, अलोका सम्भवतः भारतीय पेरिया कुकुर हो ।
पोस्टमा भनिएको छ-“धेरैले अलोका कुन जातको हो भनेर सोध्छन् । हामी पुर्ण रूपमा निश्चित छैनौँ, तर अनुमानमा ऊ करिब ४ वर्षको छ र भारतीय पेरिया कुकुर हुनसक्छ ।”
भारतीय पेरिया कुकुर साधारण कुकुर होइन। इन्डियन एक्सप्रेसको रिपोर्टअनुसार, यो संसारकै सबैभन्दा पुराना भू–जाती मध्ये एक मानिन्छ। यो कुकुर करिब १५ हजार वर्षदेखि भारतीय उपमहाद्वीपमा अस्तित्वमा रहेको विश्वास गरिन्छ। आनुवंशिक अध्ययनहरूका अनुसार, पेरिया कुकुर सहनशील, बुद्धिमान र उष्णकटिबन्धीय मौसममा अत्यन्त अनुकुल हुन्छ।
सामाजिक सञ्जालमा भिक्षुहरूले लेखेका छन्-“अलोका हाम्रो यात्रामा सधैं उपस्थित रहने साथी हो, मार्गको साँचो शिष्य हो, र सबै प्राणी शान्तितर्फै हिँडिरहेका छन् भन्ने जीवन्त स्मरण हो।”
भिक्षुहरूसँगै शान्ति पदयात्रामा देखिन थालेपछि अलोकाका तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिन थाले। धेरै मानिसहरूले उनको यात्रालाई “अत्यन्त प्रेरणादायी” भन्दै भावुक प्रतिक्रिया दिए।आज अलोका एक विशाल डिजिटल परिवारका सदस्य बनेका छन्।
आजको विभाजित र अशान्त संसारमा,अलोका साँच्चै नै हामीलाई चाहिएको शान्तिको दूत र प्रेरणादायी ‘इन्फ्लुएन्सर’ बनेका छन्।
अलोकाले प्रमाणित गरिदिएको छ कि हामी प्राणीहरू पनि मानिसभन्दा कम छैनौँ। यस्तो समयमा, जब समाजमा कुकुरहरूप्रति घृणा र हिंसा बढिरहेको छ, अलोकाको मासुम अनुहारले संसारलाई शान्त स्वरमा भन्छ-हामीलाई पनि बाँच्ने अधिकार छ,हामीलाई पनि शान्तिमा बाँच्न देऊ।
अलोकालाई देख्दा आँखा रसाए । कति मासुम हुन्छन्-यी बेजुबान प्राणीहरू । आज उसले आदर, प्रेम, सम्मान र पहिचान पाइरहेको छ । उसले बौद्ध भिक्षुहरूको साथ रोज्यो । तर मनमा एउटा पीडा पनि छ।मेरो देशका ती लाखौँ बेजुबानहरूको भविष्य के हुन्छ, जसको जीवन केही कागजी आदेशले तय गरिन्छ? एउटा निर्णयले उनीहरूमाथि अझै अत्याचार बढ्छ,मारिन्छन्,खुवाउनेलाई पनि पिटिन्छ।
यस विश्वका हरेक प्राणीभित्र कुनै न कुनै पारलौकिक चेतना सास फेरिरहेकै हुन्छ।उनीहरू बोल्न सक्दैनन्,तर हाम्रो अन्तरात्माको गहिराइ चिन्न सक्छन् त्यो हो- शान्ति । आलोका त्यसको जीवित उदाहरण हो ।
शान्ति, करुणा र मानवताको सरल सन्देश यही हो, जहाँ भिक्षुहरु र एक कुकुरसँगै हिँडेर संसारलाई सम्झाइरहेका छन्-“साँचो दयाको कुनै सिमाना हुँदैन । “न नारा, न आक्रोश,केवल प्रेम, धैर्य र करुणा । आलोकालाई हृदयदेखि असीम माया, सम्मान र कृतज्ञता ! ! !
यदी लेखी सक्दा मनमा एउटै प्रश्न बारम्बार आइरहेछ-यदि एउटा कुकुरले शान्तिको बाटो चिन्न सक्छ भने,हामी मानव किन हृदय खोल्न सक्दैनौ.. ?
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend