मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 28, 2026 Tuesday

घण्टाघर र छायाँ

घण्टाघर र छायाँ

149
Shares
149
Shares

लघुकथा:

राजधानीको केन्द्रमा घण्टाघर उभिरहेको थियो। उसले हर प्रहर घडी घुमाइरहन्थ्यो तर समय बताउनै सकेन ।
कलेजबाट फर्किएको विद्यार्थीले घण्टाघरलाई हेर्दै भन्यो-“अब त सही समय आउँछ।” घण्टाघरमुनि हिँडिरहेको पैदल यात्रीले भन्यो-“अह ! त्यस्तो समय आउने लक्षणै छैन।”

घडीको छायाँमा सार्वजनिक सवारी चलाइरहेको चालकले भन्यो -“आयो आयो यही हो, उचित समय फटाफट चढ्नुस्।” घण्टाघरको छायाँ तन्किएर भन्यो-“म त प्रकाशको अभाव हुँ। मलाई नै समय ठान्ने र म भित्र समय खोज्नेहरू सावधान ! मैले घुमाएको सियोको पछाडि किन व्यर्थै घुमिरहेका छौ ?”

समयको विरोधमा सडकका भित्ताभरि नारा कोरिए
विद्रोह पोतिएको अनुहार सडकले देखाउन सकेन । घण्टाघरको घडी मौन रह्यो । गल्लीहरूमा ऐनाजस्तै शब्दहरू टाँसिए—प्रतिज्ञा, सुधार, स्थिरता ।
ऐना अगाडि अनुहार फरक तर प्रतिबिम्ब उस्तै थियो ।
गल्ली गल्लीमा शङ्काकाे खोला बग्यो। एउटा मानिसले भुसमा आगो रोप्यो । आगोले सहरभरि डर फूलायो । हजारौँ फूलहरूबाट एउटा मात्र बिजुलो फल्यो।
केही दिनमा, छायाँ चिरेर बिजुलाेकाे सानो अंकुर निस्कियो । घडी उस्तै गतिमा घुम्न थाल्यो। समय सरेन, तर- मानिसहरूको दृष्टि सरेको थियो।
अंकुर बढ्दै गयो। कसैले त्यसलाई आफ्नो भने, कसैले उखेल्न खोजे। तर जरा गहिरो थियो । माटोमा होइन,- प्रतीक्षामा।
आज पनि घण्टाघरले घडी घुमाइरहेको छ। छायाँ उस्तै छ। शङ्काको खोला र भुसमा आगो उस्तै छ। तर अब सबैले जान्दछन् । समय चिनिएको छ । सही समय बताइरहेको छ घण्टाघरले होइन-चेतनाले !!!

  • प्रतिक्रिया दिनुहोस

    गोपीराम भण्डारी का अरू रचना

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend