कविता
आकाशबाट उल्का पिण्ड आएर भन्यो- ‘ए मुला !’
मलाई हो जस्तै लाग्यो –
किनकि, मान्छेहरूले सिङ्गै पनि खान सक्छन्, काटेर पनि
पकाएर खान सक्छन्, काँचै पनि
मिसाएर खान सक्छन्, बेग्लै पनि
कुटेर धुलो पार्न सक्छन् ,माझैमा दुलो पार्न सक्छन्
जसले, जहिले, जसरी पनि
कहिल्यै नेता, कहिले हाकिम, कहिले जनता बनेर
पटक पटक हरेक प्रहर , हरेक तरहले
खान सक्छन् ,फ्याँक्न सक्छन्
सायद म मुला हुँ !
कहिले सलाद बनाउँछन्, कहिले जल्लाद
कहिले गुन्द्रुक बनाउँछ, कहिले घान्द्रुक पुर्याउँछन्
कहिले अचानोमा काट्छन्, कहिले लिङ्गोमा झुन्ड्याउँछन्
हो त्यो निलो लुगा जिउमा परेदेखि
म मुला भएको छु ,यो समाजको
सोच्छु -आश्चर्य लाग्छ
आकाशभरि चम्कने ताराहरूसँग संवाद गर्छु
शीतसँग मित लगाउँछु
कसैले नसुनेको, नबुझेको, विरहको गीत गाउँछु
विरहमा टोलाइरहन्छु
विरह भङ्ग गर्दै आकाश गंगाले भन्छ-‘ए आलु !’
मलाई हो जस्तै लाग्छ-
किनकि मान्छेहरू मलाई तरह तरहले खान्छन् ।
कसैले तरकारीमा, कसैले समोसामा
कसैले अचारमा, कसैले बेकारमा
कसैले पोल बनाउँछ, कसैले झोल
जतासुकै जहिले पनि फिट हुनैपर्ने
जसलाई जे चाहियो त्यही बनिदिनुपर्ने
सबैका इच्छा पूरा गर्न पर्ने
सबैलाई नभई नहुने तर खासै मन नपर्ने
सबैको गर्जो टार्ने तालु
कहिले रातो आलु, कहिले सेतो आलु।
बिलखाबन्द परि सोच्दै थिएँ
चन्द्रमाले भन्यो-‘तँ त पानी होस्
मलाई होइन जस्तो लाग्छ-
उसले भन्छ तँ पानी नै होस्
समाजको जिन्दगानी होस्
मर्दा पनि खोज्छन् तँलाई, मार्दा पनि तँलाई
तैँले आगो निभाउनुपर्छ, आफैलाई जलाई
बाढी, पहिरो, भूकम्प, द्वन्द्व यस्तै यस्तै विपत्तिमा पनि
तँ जानुपर्छ बचाउन भगवान् बनी
दुःख परुन्जेल प्रयोग गर्छन्
जब तँलाई दुःख पर्छ, झनै दुःख दिन्छन्
नाङ्गै हुँदा तँ तेरो छाला खिची लिन्छन्
हाे-चोरी, डाका, हत्या, अपराध सबै रोक्नुपर्छ
जसलाई रिस उठे पनि तैँ लाई ठोक्नुपर्छ
भोक लागोस् या प्यास, तैँले मेट्नुपर्छ
जसलाई जे चाहियो त्यही कुनामा तँलाई नै भेट्नुपर्छ
तैँले नै गर्नुपर्छ सबै, गर्न नपर्ने कामै छैन
कहिले गार्ड बनेर, कहिले ढाल बनेर
कहिले मास्टर, कहिले मलामी
हरेकको दास, सबैलाई सलामी
जहिले थाप्नुपर्छ जीवनको बाजी
सबै हुँदा राजी, तँ बन्दछस् पाजी
सबैलाई चाहिन्छस् तँ, सबैले पिउनुपर्छ
पानी बनेर समाजभरि तैँले जिउनु पर्छ
तँ बिनाको समाज हुन्न, तर तेरो कोही हुन्न
तँ यस्तो पिलर होस् –
तँ बिना समाज अडिन्न, तँलाई कसैले छुन्न, तेरो कोही हुन्न
त्यसैले त भगवान् शब्दको पुछारमा आउने न होस्
निलो बर्दि लगाउने
घृणित भग वान होस्
जो कहिले कसैको हुन सकेनस
त्यसैले त तँ न त आलु होस्, न त मुला होस्।
तँ त केवल पानी होस्
जसको चिस्यानले समाज ओभानो बन्छ ।
यति धेरै सुनेपछि सम्झिएँ-
परिवार, घर अनि समाज
अनि झस्किएर सोधे आफैलाई-
के म यही समाजको हुँ र ?
धरती काप्यो, आकाश हल्लियो
बतास गह्रौँ भएर भुईँमा थचारियो, मस्तिष्क फुङ्ग उड्यो ?
उल्का पिण्डले भनेको हुँ कि ? आकाश गङ्गाले
चन्द्रमाले भनेको हुँ कि ? म केही होइन –
मनमा एउटै प्रश्नले निरन्तर थिचिरह्यो
साँच्चै म को हुँ ? निलो पोसाक लगाउने, म के हुँ !!!
सिरहा
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend