मानिसहरु आफू जन्मेको स्थानको सम्झनाबाट कहिल्यै अलग हुन सक्तैनन् । जन्म स्थान, जन्म दिने आमा र कख पढेको विद्यालयसँग भावनाको सम्बन्ध हुन्छ, त्यो जीवन पर्यन्त अन्वन्याश्रित रहन्छ । जन्म स्थानले दिन्छ मात्र केही माग्दैन, जन्मदिने आमा दिनेमात्र गर्छिन, विद्यालयले चेतनाको दियो बालिदिइएर जीवनपर्यन्तका लागि ज्ञानको ढोका उघारिदिन्छ । समययात्रामा मसंग यी तीन कुरा मेरी आमा, मेरो गाउ र मेरो विद्यालय संगसंगै रहँदै आएका छन् ।
सबैका लागि विद्यालय व्यक्तित्व विकासको अनुष्ठान हो । हामीलाई कख पढेको जस्तो लाग्छ, तर थाहा हँुदैन, ती अक्षरहरु जीवनका मन्त्र, जीवनका मार्ग, शक्ति र साहसका सौर्य हुन पुग्छन् । कख लिपि र आकार मात्र हुँदा रहेनछन् । हाम्रा संवेग, भाव, विचार र चेतना बोक्न ती अक्षरहरु अनन्त शक्तिका साधन हुन् । संस्कृति, पहिचान, स्ववोध र अनुशसानको जग प्रारम्भिक स्कुल हो । म जे छु, जे बोध गरिरहेको छु र जे लेखिरहेको छु, त्यसको पृष्ठाधारमा कान्पुर कालापानी निम्न माध्यमिक विद्यालय फैलिएर बसेको छ, जसलाई म चाहेर पनि चेतना रहेसम्म भुल्न सक्दिन ।
आफ्ना पूर्वदीप्ति (फ्लयासब्याक) विचरण गरिहेको छु । आधा शताव्दी अघिका पूर्वदीप्ति, त्यतिखेरका घटनाहरु सम्झनामा तानेर स्मृतिमा ल्याउन असजिलो पनि छ । सबै पूर्वदीप्तिहरु उठाउन पनि सकिदैन, सकेपनि स्मरण लामो हुन्छ । त्यसैले आफूलाई त्यस समय धेरै प्रभाव छाडेका केही समय आयतन र घटनालाई, जुन सँधै मेरो मनमष्तिष्कमा ताजा छन् ती अनुभूतिहरु टिप्ने प्रयास गरिरहेको छु ।
मैले सम्झेसम्म म साढेतीन वर्ष जतिको हुँदो हुँ, दाजुहरु पढ्ने पाठशाला हेर्न गएको थिएँ, त्यो पनि घरमा झगडा गरेर । पाठशाला जानृ भनेको मीठो कुरा खान पाइने, खेल्न पाइने यस्तै ठाउ हुनुपर्छ भन्ने भावनाको विम्ब मेरो मानसपटमा थियो । मेरा दाजु उमेश मैनाली (त्यतिबेला गुरुले उहालाई खडानन्द भन्नु हुन्थ्यो) को हात समातेर पाठशाला हेर्न गएको थिएँ, भनौं रमाइलो हेर्न । कालापानी बजारको मध्यभागमा माथिल्लो तलामा गाउ पञ्चायत कार्यालय र भुईतलामा पाठशाला रहेछ । पूरा पाठशाला एक कोठा थियो, पूरै भुईको एककोठा भएकाले त्यो ठूलै थियो । पाठशालाका एकमात्र गुरु भुवनेश्व बडाल थिए, उनले जति कक्षा हुन्छ सबै एक्लैले पढाउथे । विद्यार्थीहरु वरिपरि बस्थे र टिनको कुसीमा गुरु हुन्थे । आजभोलि भए यसलाई बहुकक्षा प्रणाली भनिन्छ । गुरुलाई सहयोग गर्ने एकजना टहलुवा (सहयोगी) गिरिराज काका थिए, उनी हाम्रा नाता थिए । मलाई पठाशालाभित्र पस्न दिइएन, दैलाको ठेलाबाट मेरो बाल मनले सकेजति नियाल्यो ।
गुरुले सर्वप्रथम सरस्वती बन्दना र त्यसपछि ‘श्रीमान गम्भीर नेपाली’ बोलको राष्ट्रिय गानबाट कक्षा शुरु गर्थे र बेलुकी ‘गाउछ गीत नेपाली’ बोलको राष्ट्रिय गीतबाट कक्षा अन्त्य गराउथे । यो गीतहरु गाउदा विद्यार्थीहरुले सकेजति ठूलो स्वर निकालेको, अझ कक्षागत प्रतियोगिता गरेजसरी गाउथे । हरि काका, भीमकाका, नारायाणदाइ, माधव दाइहरुले त आफ्नै छातीमा मुक्का हान्दै जोशले गाएको देखेँ । विद्या र राष्ट्रिय भावना साथसाथै लैजानु पर्छ भन्ने आशयले यो थिति बसाएको जस्तो लाग्थ्यो । आफू शिक्षा सचिव भएपछि सम्झेँ, समाजलाई संस्कार र राष्ट्रलाई एकत्वबोध गराउने शिक्षा प्रणाली चाहिन्छ भन्ने सन्देश ती गानहरुले दिएका थिए । शिक्षाले सीप र संस्कार, चेतना र प्रज्ञा एकैसाथ दिनुपर्छ भन्ने ती बोध ती गानहरुले दिएका थिए ।
कान्पुर कालापानी पाठशाला (जुन पछि कान्पुर कालापानी निम्न माध्यमिक विद्यालयमा रुपान्तरण भयो) २००५ सालमा समाजसेवी गणेशप्रसाद मैनालीको पहलमा स्थापना भएको रहेछ । पहिला अहिले जस्तै व्यवस्थित पाठ्यक्रम, स्तरवर्गीकरण र पाठ्पुस्तक थिएन रे । चण्डी, दुर्गाकवज, व्याकरण, कौमदी आदि पढाइन्थ्यो रे । मुक्तिकान्त मैनाली, रामनाथ मैनाली, रामप्रसाद कोइराला, र्गगासाद मैनाली, रामेश्वर मनाली पहिलो व्याचका विद्यर्थाी रहेछन् । मेरा सबै दाजुहरु केशवप्रसाद मैनाली, श्यामप्रसाद मैनाली, उमेशप्रसाद मैनाली, युवराज मैनाली र भानिज दाजु प्रदीप खरेल यही पाठशालाबाट अक्षरयात्रा आरम्भ गर्नुभएको थियो । अक्षर चिन्ने भएपछि एउटा कौतुहल मनमा पैदा भयो–भवनको माथिल्लो अघिल्लो भागमा निलो पृष्ठभूमिमा कान्पुर आदर्श गाउपञ्चात लेखिएको ऐनाजस्तो टल्किने साइनवोर्ड तर त्यसै भवनमा रहेको पाठशालाको चाँही साइनबोर्ड थिएन । किन गाउ पञ्चायतलाई आदर्श भनिएको होला भन्ने कौतुहल भएपनि यसको जवाफ कसैसंग सोधिन, बुबालाई सोधेको भए पनि हुनेथियो, उहा प्रधान पञ्च हुनुहुन्थ्यो । शायद अलि उम्दा वा राम्रो काम गरेकाले आदर्श विशेषण लेखिएको हुनुपर्छ ।
घरमा नै मेरो ठूलो दाजु केशवप्रसाद मैनालीबाट अक्षराम्भ गर्दै कखरा खारेपछि कक्षा एकमा भर्ना भएँ । त्यतिबेला शायद बुबा प्रधानपञ्च पञ्च हुनुहुन्थ्यो । गुरु भने वाल्टिङ मङ्गलटार निवासी भुवनेश्वर वडाल नै थिए । विद्यालय भर्ना भएपछि किन हो कुन्नी म निकै उत्साही थिएँ । मेरो मनमा आकाङ्क्षाका उरोल थिए । किन पढ्ने, पढेर के गर्ने मेरो बालमनमा केही थाहा थिएन तर एउटा अदम्य उत्साह थियो, भावनाले स्पर्स गरेको अष्पष्ट विम्व थियो । एउटा कुरा भने मलाई दुख लाग्थ्यो, पढ्ने स्कुल कान्पुरमा थियो तर आमा रोशी (हाम्रो खेती भएको ठाउ) मा हुनुहुन्थ्यो । आमाको माया विना पढ्नु पथ्र्यो । बालबालिकाको व्यक्तित्व विकासलाई आमा र विद्यालय साथसाथै चाहिन्छ । त्यो भने हामीले पाएनौ । तैपनि कक्षा एक र दुईमा म प्रथम भएछु । मेरो खुसीको सीमा रहेन । कक्षामा प्रथम हुँदा म फुरुङ्ग हुन्थेँ ।
कक्षा दुईसम्म पाठशालामा पढेपछि हाम्रो जिल्लामा पनि नयाँ शिक्षा लागू भयो र शैक्षिक पुनसंरचनाको संक्रमणमा परेपछि एक बर्ष पढाइलाई बाधा प¥यो । म एकैचोटि चार कक्षामा भर्ना भएँ । तीन कक्षा मैले पढेको छैन । नयाँ शिक्षा अनुरुप विद्यालय शिक्षा रुपान्तरण र पाठ्यक्र पुनसंरचना भएपछि शिक्षक दरबन्दी परिवर्तन भयो, पाठशाला निम्नमाध्यमिक विद्यालय बन्यो । भुवनेश्वर गुरु शायद रिटार्ड हुनु भयो । त्यसपछि केही समय मेरा दाजुहरुले पनि पढाउनु भयो । पूर्णचन्द्र काफ्ले सर, मधु सर, हरि पोडेल सर, रोहित न्यौपाने सर र जनार्दन नेपाल सरले पढाउनुभो । जनार्दन नेपाल प्राधानाध्यापक हुनुभो । उहाँ हाम्रै घरमा दाजुसमान बस्नु भयो । विदामा रोशी पनि जानुहुन्थयो । अहिले पनि उहालाई म दाजु भन्छु । चार, पाँच, छ कक्षामा प्रथम भएँ । निबन्ध, कविता, हजिरी जवाफ प्रतियोगितामा प्रथम हुन्थे । कहिलेकांही विशेष कार्यक्रममा पुरस्कार दिने प्रमुख अतिथि बुबा हुनुहुन्थ्यो । मयूर कपि र सिसाकलम पुरस्कार पाउथे, यसले पढाइलाई अरु ऊर्जा थप्थ्यो । तर दुखको कुरा कक्षा सातको स्वीकृति हाम्रो विद्यालयले नपाएपछि मेरो पढाइले झण्डै विश्राम लिन पुगेथ्यो । मैले पढ्नका लागि आमा र बुबासंग धेरै अनुरोध गरेँ । कैयन दिन झगडा गरेर रोएँ पनि । दाजुहरु काठमडौं हुनुहुन्थ्यो, युवदाजुको एक बर्षको पढाई टुटेपछि मावल फलाँटे गएर शारदा व्यावसायिक माध्यमिक विद्यालयममा पढ्न थाल्नुभो । मेरो पनि झण्डै त्यस्तै अवस्था आउन लागेकाले पीरमा थिएँ । शैक्षिक सत्र शुरु भएको तीन महिनापछि मलाई सस्र्यूखर्क स्थित जनचेतना निम्नमाध्यमिक विद्यालयमा भर्ना गरियो । गाउबाट निकै टाढा, विहान साढेदुई घण्टा जान र बेलुका त्यतिनै समय फर्किन लाग्थ्यो । तैपनि त्यहा भर्ना भएपछि पढाइले निरन्तरता पाएकोमा भने केही खुसी थिएँ । ढिला भर्ना भएको र पढाइ निकै अघि बढेकोले त्यहा दोस्रो मात्र भएँ, साथी तुलसीप्रसाद थपलिया प्रथम हुनुभयो । पछि मैले शिक्षा मन्त्रालयको प्रशासकीय नेतृत्व संहाल्दा उनी शिक्षा विभागको महानिर्देशक र म सचिव भएर सहकार्य गर्ने मौका मिल्यो । आफ्नो सहपाठी भनेर पछि मन्त्रालयको योजना शाखाको जिम्मेवारीमा ल्याएँ ।
जनचेतना निम्न माध्यमिक विद्यालय सस्र्यूखर्क पढ्न जाँदा आउदाका दिनहरु सम्झिदा अहिले पनि आङ सिरिङ्ग हुन्छ । विहान साढे सातबजे घरबाट हिडिसक्नु पथ्र्यो । जाँदा आँउदा कान्पुर विद्यालयले मलाई हेरेर बस्थ्यो, म पनि विद्यालयलाई आँखा गाढेर हेर्थे । म सम्झिन्थे तिमीसंग कक्षा सात भएको भए यति टाढा म जानु पर्दैनथ्यो । शायद विद्यालय पनि मेरो दुखमा दुखी थियो, भन्थ्यो होला तिमीले त दुख पायौ, पायौ, अरु बालबालिकाले यस प्रकारको दुख पाउनु नपरोस् । बाटोमा खोकाखोला पार गरेपछि मेरो डर शुरु हुन्थ्यो । ढ्याङ्ग्रे ओडार पुगेपछि मन चिसो भएर काम्न थाल्थ्यो र मुटु ढुकढुक गथ्र्यो । म हस्याङफस्याङ दौडेर जान्थे । यसको कारण के थियो भने त्यस ओडारमा किरो बास बस्छ भनेर हजुरबुबाले भन्नु भएको थियो । बागलाई हजुरबुबा किरो भन्नुहुन्थ्यो । बाटोमा कोही मानिस भेटिदैनथे । कहिले काही अलि पर बटुवा देख्दा पनि खुसी हुन्थे, डर हराउथ्यो । कति पटक त म डाराउछु भनेर भाइहरु देव, नारायण, राम पनि मलाई ढ्याङ्ग्रे ओडर पार गराउन आउथे तर फर्किदा त त्यो संभावना हुँदैनथ्यो । ढ्याङ्ग्रे ओडार पार गरेपछि फुलपाति भन्ज्याङ आउथ्यो । केही घर भएकाले डर भाग्थ्यो । त्यसपछि जङ्गल र झाडी हुँदै सिधै ओरालो झर्नुपथ्र्यो । रुमाल डाँडामा अर्को जङ्गल आउथ्यो । लामपुछ«े जुरेली, चिवेहरु कराएपछि सात्तो जान्थ्यो, लाग्थ्यो चितुवा, स्याल, बनविरालो त्यहा भएकाले उनीहरु कराएका छन् । बाटोमा कोही साथी हुँदैनथे । घास काट्ने महिला, दाउरा खोज्ने युवाहरु पर देख्दा, उनीहरुले गीत गएको सुन्दा डर अलि कम हुन्थ्यो । फर्किदा एक त भोक लागेको हुन्थ्यो, विहानै हतारमा खाएको खानाले ठाउ छाडिसकेको हुन्थ्यो, अर्को फलपाती भन्ज्याङ्सम्म लगातार उकालो चढ्नुपर्ने त्यो पनि त्यही डरका साथ । खुट्टा डर र भोकले थरर्र कामेको हुज्थे । फुलपाती भन्ज्याङ आएपछि तल पारी गाउ त देखिन्थ्यो, फेरि ढ्याङ्ग्रेओडार काट्नु पर्ने डर । डरले मुटुको ढुकढुकी बढ्थ्यो । घाम डाँडा काटिसकेको हुन्थ्यो । चराफटेङ्ग्राहरु पनि आवाज निकाल्न थकिसकेका हुन्थे । कालापानी बजारमा पुग्दा साँझ पर्न लागेको हुन्थ्यो, जहा सात कक्षाको स्वीकृति नपाएर मैले पढ्न नपाएको स्कुल मलाई चकमन्न निराश भावमा हेरिबसेको हुन्थ्यो, एकपटक म पनि आँखा गाढेर हुर्थे र मनमनै भन्ने गर्थे सातको स्वीकृति भएको भए मैले यो डर नबोकी यही पढ्न पाउथेँ नि, यतिखेर खाजा खाइ गृहकार्य पनि सकिसकेको हुनेथिएँ भन्ने सम्झेर आफूलाई दुखी बनाउथेँ । म त केटा मानिस भएर यसरी टाढा टाढा गएर पनि पढ्न पाएँ, दोस्रो हुने बद्रिका दिदीको पढाई सँधैका लागि पूर्ण विराम भयो । अरु कैययनको पढाईमा सँधैका लागि तगारो लाग्यो । कति प्रतिभाहरु यत्तिकै मरे होलान् ।

हामी दाजु भाइ सबै कान्पुरमा नै पढेका हौ । प्रारम्भिक शिक्षा लिएको स्थान भएकोले हाम्रो भावना यही विद्यालयसंग गासिएको छ । हामीहरुको रोशीमा खेती भएकोले आमा रोशीमा नै बस्नुहुन्थ्यो । शुक्रबार छुट्टी भएपछि हामी रोशी झथ्र्यौ र आमाको वरिपरि बस्थ्यौं । आइतबार विहानै आमाले पकाएको खाना खाएर कान्पुर फर्किन्थ्यौं । आमाले बनाएको खाना जे भएपनि मीठो हुन्थ्यो । अनि विद्यालयको पढाइ, गृहकार्य, अतिरिक्त क्रियाकलाप, घरको कामको दैनिकीमा फर्कन्थ्यौं । यस समयमा भुवनेश्वर गुरु, दाजुहरु, नारायण मैनाली दाइ, जनार्दन नेपाल सर, मधु सर, हरि सर, रोहित सरहरुले पढाएको ताजा स्मृति छ । भुवनेश्वर गुरु स्वर्गीय भैसक्नु भयो, रोहित सर, मधु सर र हरि सरसंग भेट हुँदैन । जनार्दन दाइसंग भेट भैनै रहन्छ । दाजुहरुसंग त सँधै छु । विद्यालयमा पढ्दा दाजुहरुलाई सर भनेर संवोधन गर्न सारै असजिलो लाग्थ्यो ।
त्यतिबेला श्रीपञ्चमीमा सरस्वती पूजा गरेका स्मृतिहरु पनि ताजै छन् । माघको जाडोमा विहानै नुहाएर सरस्वती र गणेशको मन्दिर भएको स्कुलमाथिको खर्कडाडामा लाम लागेर पूजा गथ्र्यौ, सामूहिक रुपमा ‘सरस्वती मयादृष्टा…’ को बन्दना गथ्र्यौ, पूजा बन्दनापछि गुरु र टहलुवाले टिका लगाइदिनुहन्थ्यो । त्यसपछि हलुवा, पुरी र आलुको तरकारी खान्थ्र्यौ । पूजाको लाममा रहँदा पनि कतिखेर हलुवा तरकारी खान पाइने हो भन्ने लाग्थ्यो । सरस्वती पूजामा हाम्रा बुबा लगायत गाउका प्रतिष्ठित व्यक्तित्वहरु प्नि आमन्त्रण गर्ने चलन थियो । श्रीपञ्चमी हामीहरुका लागि एउटा ठूलो चाडपर्व, महोत्सव नै हुन्थ्यो । सरस्वती पूजा गरेपछि विद्या आउछ, सरस्वती विद्या र ज्ञानकी विभागीय देवी हुन भन्ने अहिले पनि लाग्छ । त्यसबेलादेखि अहिलेसम्म पनि प्रतिविहान सरस्वती बन्दना गर्ने कार्यलाई दैनिकी शुभारम्भ गर्ने क्रममा निरन्तरता दिएको छु । कितावलाई ढोग्नु देवी सरस्वतीलाई ढोग्नु हो भनेर त्यसलाई पनि निरन्तरता दिएको छु । कितावलाई खुट्टा लाग्यो भने पनि ढोग्छु ।
त्यतिखेर दिमागमा केही विम्बहरु थिए– यो स्कुल हाइ स्कुल बन्नुपर्छ, आफूले जस्तो अरुले गाउबाट पर धाएर पढ्नुपर्ने बाध्यता रहनु हुन्न । यो गाउमा पानीको सहज आपूर्ति हुनुपर्छ । पूर्व नउघ्रिदै हजुरआमा, आमा, कान्छीआमा, भाउजूहरु पातल (जङ्गल) गएर पानी ल्याउनु हुन्थ्यो । यो गाउमा मोटर बाटो आउनु पर्छ, विमारीहरु घोगैचौर अस्पताल (बनेपा) ल्याउन पनि पिठ्यूमा बोकेर लामो दूरी पार गर्नुपथ्र्यो । कम्पाउण्डर र धामीझाँक्रीमा भरपर्दा कतिको धेरैके ज्यान गएको थियो । यो गाउमा एउटा स्वास्थ्य चौकी हुनुपर्छ । यो गाउमा विजुली आउनु पर्छ, टुकी बालेर राती पढ्नपर्ने स्थितिले हामीलाई ज्ञान प्राप्तिमा अवरोध तेस्र्याएको थियो । विद्यालयमा डेस्क बेन्च हुनुपर्छ, हामीले जस्तो चकटी घरबाट लिएर जानु नपरोस् । ती अस्ष्पष्ट विम्बहरुले अहिले आकार पाएका छन् । हामीले पढेको पाठशाला अहिले कलेज बनिसक्यो, घरको खाना खाएर, आमाको मायासाथ गाउमा स्नातकसम्म पढ्न पाउने अवसर सवै भाइबहिनीमा छ । खानेपानीको सीमित सुविधा छ, विजुली र स्वास्थ्य सुविधा सीमित भएपनि छ । जसका लागि स्थानीय बासिन्दाको प्रयासमा हाम्रा दाजुहरुले होष्टेमा हैसे गर्नु भयो । विद्यालय महाविद्यालय बन्न, कान्पुर कालिका मन्दिर पर्यटन धार्मिक केन्द्र बनउन उहाहरुको योगदान रह्यो । म राष्ट्रिय योजना आयोगमा रहँदा भकुण्डे–कान्पुर–फुलपाती भन्ज्याङ–नारायणस्थान–रोशी नेपालथोक बाटोलाई रणनीतिक मार्गमा समावेश गर्न प्रयास गरेँ, बाटो कालोपत्रे त्यति नभएपनि मोटर चलिरहेको छ, स्तरीय बन्न निरन्तरता पाउने क्रममा छ । अव मोटरबाटोले काठमाडौंसँग सम्बन्ध जोडेको छ । हाम्रो आत्मा जोडिएको ठाउ, आफूहरुले अक्षरयात्रा शुरु गरेको विद्यालयले प्रगति गर्दा खुसी लाग्छ । हामीहरुले आमासँग बसेर निमावि पनि पूरा गर्न पाएनौ र अन्य गाउ, काठमार्डौ जान प¥यो । घरैमा रहेर स्नातकसम्म पढ्न, इन्टरनेटबाट संसारभरि छरिएका ज्ञान तथा सूचना दोहन गर्ने पहूँमा हाम्रो गाउ पुगेको छ । समयले ल्याएको यी सुविधा र अवसर गर्वगर्न लायक छन् । गाउको स्वच्छ प्राकृतिक वातावरणमा शहरी सुविधा लिन सकिने भएको छ । तर एउटा कुरामा के दुख लाग्छ त भने विद्यालयमा पर्याप्त विद्यार्थी छैनन्, माथिल्ला कक्षामा भर्नादर कम छ, गाउमा मानिसहरु बस्दैनन्, गाउहरु एजाडिदै छन् । खतीयोग्य जग्गा बाँझो छ । आफ्नै जन्मभूमिको संभावना कम देखिरहेका छन् । अझ अर्को दुख बाध्यतवश गाउबाट शहर र विदेश गएका विद्यालयका उत्कृष्ठ जनशक्तिले विद्यालय र गाउ भुलेका छन् ।
जे होस् हाम्रो पाठशालाले पनि जीवन जस्तै समययात्रा गर्दै आएको छ । शिक्षाको उज्यालो ज्योति केही हदमा सबै बालबच्चामा पुगेको छ । हाम्रा बुबा, हामीहरुको समय पछि थियो, किनकी त्यहा शिक्षा थिएन । ओसिलो भुईंमा बसेर पढ्नुपर्ने पाठशाला अहिले पूर्वाधार सम्पन्न क्याम्पस बनेको छ । कान्पुरको निधारमा रहेको क्याम्पस इतिहासको साछी हुँदै वर्तमानको शान बनेको छ । उच्च शिक्षा र समर्पणका शिक्षक–शिक्षिका पाएको छ । यस विद्यालयका उत्पादनले राष्ट्रिय व्यक्तित्व र अन्तराष्ट्रिय पहिचान समेत कायम गर्न सकेका छन् । मेरा काका शशिकान्त मैनाली, दाजुहरु श्यामप्रसाद मैनाली, उमेशप्रसाद मैनालीले यहीको पाठशालाबाट ज्ञान आर्जन गर्दै राष्ट्रिय प्रशासनिक नेतृत्व लिने स्थानमा पुग्नु भयो । उमेशप्रसाद मैनाली संवैधानिक निकाय लोकसेवा आयोगको अध्यक्ष हुनुभयो । युवराज मैनालीको व्यक्तित्व प्रशासकमा मात्र सीमित छैन, उहा नेपाली साहित्यमा शीर्षस्थानमा पुग्नुभो । उहाका कथा, समालोचना हास्यव्यङ्ग्यले नेपाली बाङ्मयमा अमूल्य योगदान दिइरहेका छन्, अन्तराष्ट्रिय समाजमा समेत उहाका लघुकथा सर्वोत्कृष्ठ भयो, उहाका लघुकथा यस विधाका लागि मानक बनेका छन् । गुरुप्रसाद मैनाली पछि कान्पुरवासीका हैसियतमा उहाले गर्नुभएको साहित्यिक योगदान अतुलनीय छ । म आफै पनि यही पढेर नेपाल सरकारको सचिव भएँ । यो गाउमा पढेको व्यक्ति मुलुकको समग्र शिक्षाको प्रशासनिक नेतृत्व लिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिवको जिम्मेवारीमा पनि पुगेँ । शिक्षा सचिव हुँदा जहिले पनि मलाई कोक्याइरहेन विषय सबै व्यक्तिलाई स्तरीय शिक्षाको उज्यालो घामबाट बञ्चित हुननपर्ने, कोही पनि पछि नपर्ने अवस्था कसरी सिर्जना गर्ने भन्ने विषय थियो । गरिब तथा जेहेन्दार विद्यार्थीका लागि उच्च प्राविधिक शिक्षामा छात्रवृत्ति राख्ने र विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रम सुधार, परीक्षण प्रविधि सुधारका कार्यमा संलग्न हुँदा कान्पुर जहिले पनि मेरो दिमागमा रहन्थ्यो । शिक्षा विग्रिए सबै विग्रन्छ भन्ने लागिरहन्थ्यो । मेरा निबन्ध, कथा र नियात्रा लगायतका साहित्य सिर्जनामा यही माटो र यहीबाट सिकेका अक्षरले धेरै सिकाएको छ । मेरा सिर्जनामा धेरै ठाउमा मेरो जन्मभूमि भेटिन्छ । यही विद्यालयमा पढेर हरिप्रसाद मैनाली सचिव बन्नुभयो । रमेश मैनाली, पदम मैनाली सहसचिव बन्नु भयो । मुकुन्द मैनाली सबैले चिनेका कलाकार बने । भाइ देवराज मैनाली अमेरिकी राज्य सरकारको जिम्मेवारीमा पुुगे, भाइ नारायण मैनाली उच्च प्रशासक जिम्मेवारीमा छन्, कान्छो भाइ डा.रामप्रसाद मैनाली बेलायतबाट अर्थशास्त्रमा विद्यावारिधि लिन सफल भए, उनलाई अन्तराष्ट्रिय तहमा पनि अर्थशास्त्रीय विद्वतामा लिइन्छ । उनी कान्पुरमा पढेर विद्यावारिधि गर्ने पहिलो विद्यार्थी बन्न पुगे । मैले नाम नलिएका कति व्यक्तिहरु यही विद्यालयमा पढेर देशदेशावरमा कान्पुरलाई प्रतिनिधित्व गरिरहेका छन् र भावी दिनमा यो क्रम अघिल्लोलाई उछिन्ने यात्रामा रहने निश्चित छ । यो विकासको नियम पनि हो ।
दुख लाग्छ, वृत्तिका कारण गाउमा बस्न पाइएन । गाउको सेवा गर्न पनि सोचेजति सकिएन । तर बर्षको एक दुईटक म कान्पुर आउने गर्छु । केही बर्ष अघि त सबै दाजुभाइ, दिदी बहिनी आएर विद्यालयमा विद्यार्थी भाइबहिनीसंग आफ््ना अनुभव साझा ग¥यौं । मलाई पढाउन पनि मन लाग्छ । यता आएको बेलामा गेष्ट लेक्चर गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । किनकी यो विद्यालयको यश, कीर्ति अझै फैलियोस भन्ने चाहना छ । यहाँको माटोमा विशिष्ट साधक, वैज्ञानिक जन्मनु पर्छ भन्ने लग्छ । यही विदालयलबाट दीक्षितहरु विशिष्ट कलाकार र गायक बनून भन्ने लाग्छ । यो सुन्दर रमणीय प्रकृतिमा खास विषयको पढाई होस् र त्यसले विशिष्ट मौलिक पहिचान कायम गरोस भन्ने लाग्छ । हामीलाई थाहा नभएका र संभावना भएका कैयन कुराको यो ज्ञान केन्द्र बन्न सक्छ । बोधीचित्तको अनुसन्धान केन्द्र, योग शिक्षाको केन्द्र, पर्यापर्टनको ज्ञान केन्द्र बन्न सक्छ । यो रणनीतिक महत्वको कलासंस्कृतिको प्राृकतिक हव हो । यसका लागि हामी जो जहाँ छौ मन बचन र कर्मले सहयोग गर्नुपर्छ भन्ने लाग्छ । माटो र मुटुको सम्बन्ध कसैले नभुलुन जस्तो लग्छ ।
एउटा सन्दर्भमा हामी परिवार बर्षको एकपटक यस विद्यालय र हाम्रा बुवाले स्थापना गर्नु भएको रक्तकाली प्राथमिक विद्यलयमा आउछौं । त्यहा केही सहयोग हाम्रा तर्फबाट हुँदै आएको छ । हाम्रा दाजु उमेशप्रसाद मैनालीका दुई धर्मपत्नीहरु दुईदशकको अन्तरालमा स्वर्गीय भएपछि दाजुले हाम्रा श्रद्धेय भाउजूहरु रमा मैनाली र हरिप्रिया मैनालीका नाममा उहाहरुको सम्झनामा स्थापना गर्नुभएको रमा–हरिप्रिया छात्रबृत्ति पुरस्कार वितरणमा आउछौ र हामी सबै भावुक हुन्छौ । भाउजूहरुको सम्झनालाई अमर राख्न पनि दाजुले यहीको विद्यालय र यहीका विद्यार्थी बहिनीहरु रोज्नुपछिको कारण यहाको माया हो ।
समयले पनि लामो यात्रा पार गरिसकेको छ । आधा शताव्दी भन्दा अघिका दिनहरु स्मृतिमा तानेर पूर्वदीप्तिमा रमाउनु पनि रमाइलो मनोयात्रा हो । समययात्रामा अनुभव र घटनाहरु विस्मृतिमा पर्दै जान्छन् तर तिनहरुलाई मोन्टाजका दृश्यहरुजस्तै पल्टाउदै विचरण गर्न र त्यही अवस्थामा पुग्न भुल्नु हुन्न । यसले हामी त रमाउन पुग्छौ नै हाम्रा अनुभव साझा गरेर आउने पुस्ता झनै लाभान्वीत हुन्छ । यस्ता कुराहरु इतिहासलाई जीवन्त बनाउन लाग्छन् । @mainaligopi
मैनाली निवास, क्षितिज मार्ग,
शङखमूल, काठमाडौं ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend