बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

भेनेजुएलाबाट अमेरिकालाई ५ करोड ब्यारेल तेल आपुर्ति हुने ट्रम्पको दाबी

भेनेजुएलाबाट अमेरिकालाई ५ करोड ब्यारेल तेल आपुर्ति हुने ट्रम्पको दाबी

49
Shares
49
Shares

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाले अमेरिकालाई ३ देखि ५ करोड ब्यारेल उच्च गुणस्तरको तेल उपलब्ध गराउने घोषणा गर्नुभएको छ। उहाँले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत उक्त तेल बजार मुल्यमा बिक्री गरिने र त्यसबाट प्राप्त हुने रकम आफ्नै नियन्त्रणमा रहने जानकारी दिनुभयो । ट्रम्पका अनुसार उक्त रकम भेनेजुएला र अमेरिका दुवै देशका नागरिकको हितमा प्रयोग गरिनेछ ।

ट्रम्पले आगामी १८ महिनाभित्र भेनेजुएलामा अमेरिकी तेल उद्योग पुर्ण रूपमा सक्रिय हुने र ठुलो मात्रामा अमेरिकी लगानी भित्रिने अपेक्षा पनि व्यक्त गर्नुभएको छ। उहाँका अनुसार यसले दुवै देशबिच ऊर्जा क्षेत्रमा सहकार्य विस्तार हुने विश्वास गरिएको छ।

ट्रुथ सोसलमा मंगलबार लेख्दै ट्रम्पले भन्नुभयो, “भेनेजुएलाको अन्तरिम प्रशासनले अमेरिकालाई ३ देखि ५ करोड ब्यारेल तेल हस्तान्तरण गर्ने निर्णय गरेको जानकारी दिन पाउँदा म खुसी छु। यो तेल बजार भाउमा बिक्री हुनेछ र त्यसबाट प्राप्त रकम अमेरिकी राष्ट्रपतिको हैसियतमा मेरो नियन्त्रणमा रहनेछ ।”

यो अभिव्यक्ति भेनेजुएलाकी पुर्व उपराष्ट्रपति डेल्सी रोड्रिग्वेज अन्तरिम राष्ट्रपतिको रूपमा शपथ लिएको भोलिपल्ट आएको हो । यसैबिच, भेनेजुएलाका पुर्व राष्ट्रपति निकोलस मादुरोलाई लागु औषध तस्करी तथा हतियारसम्बन्धी आरोपमा कारबाहीका लागि अमेरिका ल्याइएको बताइएको छ ।

यद्यपि ट्रम्पको घोषणालाई लिएर विज्ञहरूले केही चुनौती र आशङ्का औँल्याएका छन्। विश्लेषकहरूका अनुसार भेनेजुएलाको तेल उत्पादन पुरानै स्तरमा फर्काउन अरबौँ डलर लगानी आवश्यक पर्न सक्छ र यसका लागि करिब एक दशकसम्म लाग्न सक्छ। साथै, विश्वव्यापी तेल आपूर्ति र मूल्यमा तत्कालै ठुलो प्रभाव पर्ने विषयमा पनि उनीहरू आशंकित छन्। स्थिर सरकार र स्पष्ट नीतिगत वातावरण सुनिश्चित नभएसम्म अन्तर्राष्ट्रिय तेल कम्पनीहरू लगानी गर्न हिचकिचाउने उनीहरूको धारणा छ।

यसअघि ट्रम्पले एनबीसी न्युजसँगको अन्तर्वार्तामा भेनेजुएलामा तेल उत्पादन बढ्नु अमेरिकाका लागि लाभदायक हुने र यसले अन्तर्राष्ट्रिय बजारमा तेलको मुल्य घटाउन सहयोग पुग्ने बताउनुभएको थियो ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend