कोलोराडो । कोलोराडोको थर्नटन सहरमा भएको भीषण आगलागीपछि एक परिवार आफ्नो घर गुमाएर विस्थापित भएको छ । सिबिएस न्युजका अनुसार आगलागीका क्रममा घरभित्र रहेका केही सदस्यले ज्यान जोगाउन दोस्रो तलाको झ्यालबाट हाम फाल्नुपरेको थियो ।
६४ बर्सिया जोसी डाल्टनका अनुसार सोमबार बिहान करिब ९ बजे उनी, उनका दुई सन्तान र तीन नातिनातिना घरमै सुतिरहेका बेला एक अपरिचित व्यक्तिले ढोका जोडले ढकढक्याउँदै घरको पछाडिबाट आगो लागेको जानकारी दिएका थिए ।
आगो र बाक्लो कालो धुवाँले घरभरि फैलिसकेकाले बाहिर निस्कन निकै कठिन भएको डाल्टनले बताइन् । उनले धुवाँका कारण सास फेर्न नसक्ने अवस्था सिर्जना भएको र दिशा नै थाहा नपाउने गरी अन्योलमा परेको स्मरण गरिन् । उनीसँगै सुतिरहेकी १५ बर्सिया नातिनीले झ्याल खोलेपछि दुवैले दोस्रो तलाबाट हाम फालेर ज्यान जोगाएका थिए ।
परिवारका अन्य सदस्यहरू पनि सुरक्षित रूपमा बाहिर निस्किए । तर आगलागीमा दुई नातिनातिना घाइते भएका थिए । १४ बर्सिया नातिनीलाई कार्बन मोनोअक्साइडको असर हुनुका साथै घाँटी र औँलामा पोलेको चोट लागेकाले अस्पतालमा भर्ना गरिएको थियो । उपचारपछि उनी डिस्चार्ज भएकी छन्। १५ बर्सिया अर्की नातिनीलाई पनि अस्पताल लगिएको भए पनि सोही दिन घर फर्काइएको थियो । घटनापछि उनी गम्भीर मानसिक तनाव र त्रासमा रहेको परिवारले जनाएको छ ।

डाल्टनका अनुसार समयमै अपरिचित व्यक्तिले ढोका नढकढक्याएको भए परिवारका सबै सदस्यको ज्यान जान सक्थ्यो। विशेष गरी उनकी छोरी बेसमेन्टमा फसेर बाहिर निस्कन नसक्ने अवस्था आउन सक्ने उनले बताइन् । आगलागीको कारणबारे दमकल विभागले अनुसन्धान जारी राखेको छ। यसैबिच, घर पुर्ण रूपमा नष्ट भएपछि परिवार अहिले होटेल तथा अस्थायी बसोबासमा आश्रय लिएर बस्न बाध्य भएको छ।
स्थानीय समुदायले परिवारलाई पुनः स्थापित हुन सहयोग गर्न आर्थिक सहयोग संकलन अभियान पनि सुरु गरेको छ । सबै सम्पत्ति र जीवनभरका सम्झनाहरू आगोले खरानी बनाए पनि आफूहरू सबै सकुशल बाँच्न सफल भएकोमा कृतज्ञ रहेको डाल्टनले बताइन् । उनले जीवन अनिश्चित हुने भएकाले आफुले पाएको हरेक क्षण र आफ्ना प्रियजनको कदर गर्न सबैलाई आग्रह गरेकी छन् ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend