मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 28, 2026 Tuesday

अरोरास्थित ICE केन्द्र बाहिर प्रदर्शनकारीमाथि गोली, कर्मचारी पक्राउ

अरोरास्थित ICE केन्द्र बाहिर प्रदर्शनकारीमाथि गोली, कर्मचारी पक्राउ

36
Shares
36
Shares

कोलोराडो । अरोरास्थित आप्रवासन तथा भन्सार प्रवर्तन (ICE) प्रोसेसिङ सेन्टर बाहिर भएको प्रदर्शनका क्रममा एक कर्मचारीले प्रदर्शनकारी महिलामाथि गोली चलाएको आरोपमा पक्राउ परेका छन् ।

अरोरा प्रहरीका अनुसार बिहीबार साँझ करिब ७:३० बजे नर्थ नोम स्ट्रिट क्षेत्रमा गोली चलेको सुचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। त्यहाँ एक महिलाको तल्लो शरीरमा गोली लागेको अवस्थामा फेला परेको थियो भने अर्की महिला सकुशल थिइन्। घाइते महिलाको अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले ४२ वर्षीय ब्रान्डन बुथलाई घटनास्थलबाट केही टाढा उनको गाडीसहित नियन्त्रणमा लिएको थियो । गाडीबाट प्रयोग भएको पेस्तोल पनि बरामद गरिएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार बुथ GEO Group का कर्मचारी हुन्। उनी अन्य कर्मचारीसँग आफ्नो ड्युटी सुरु गर्न ICE केन्द्र प्रवेश गर्ने प्रतीक्षामा रहेका बेला प्रदर्शनका कारण बाटो अवरुद्ध भएको थियो। त्यस क्रममा दुई महिला प्रदर्शनकारी र कर्मचारीबिच भनाभन भएको तथा महिलाहरूले गाडीको तस्बिर खिचेपछि बुथले आफ्नै पेस्तोल निकालेर उनीहरूको दिशामा एक राउन्ड गोली चलाएको प्रहरीले जनाएको छ ।

बुथमाथि दोस्रो दर्जाको हत्या प्रयास, पहिलो दर्जाको आक्रमण, पहिलो दर्जाको आक्रमण प्रयास, गम्भीर धम्की र लुकाएर हतियार बोकेको लगायतका अभियोगमा अनुसन्धान भइरहेको छ ।

अरोरा प्रहरी प्रमुख टड चेम्बरले घटनालाई दुःखद भन्दै हिंसालाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताए। उनले घटनाको निष्पक्ष, पारदर्शी र विस्तृत अनुसन्धान गरिने प्रतिबद्धता व्यक्त गरे ।

उता GEO Group ले घटनामा संलग्न कर्मचारीलाई बिना तलब प्रशासनिक बिदामा राखिएको र अनुसन्धानमा पुर्ण सहयोग गर्ने जनाएको छ । प्रहरीले घटनासम्बन्धी थप जानकारी वा भिडियो भए उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend