डेनभर (कोलोराडो) – कोलोराडोमा क्रियाशील सामाजिक संस्था दिदीबहिनी समूहले हरितालिका तीजको अवसरमा आगामी अगस्ट ८, शनिवार परम्परागत तीज दर कार्यक्रम आयोजना गर्ने भएको छ। अमेरिकामा बसोबास गर्ने नेपाली महिलाहरूलाई एकै स्थानमा भेला गराई तीजको सांस्कृतिक महत्वलाई जगेर्ना गर्दै दर खुवाउने आफ्नो वार्षिक परम्परालाई यस वर्ष पनि निरन्तरता दिन लागिएको समूहले जनाएको छ।
समूहका अनुसार विदेशमा माइतीबाट टाढा रहेका चेलीबेटीलाई आत्मीय पारिवारिक वातावरणको अनुभूति गराउने तथा नेपाली समुदायबिच आपसी सद्भाव, भेटघाट र सांस्कृतिक एकतालाई अझ सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
युएस नेपाल टुडे डट कमसगंको कुराकानीमा दिदीबहिनी समूहकी अध्यक्ष शान्ति भुषालले कार्यक्रम मुख्य रूपमा महिला दिदीबहिनीहरूका लागि लक्षित भए पनि सहभागी हुन चाहने दाजुभाइहरूलाई पनि हार्दिक स्वागत गरिने बताउनुभयो ।

उहाँका अनुसार तीजको अवसरमा आमा, दिदीबहिनी, बालबालिका तथा दाजुभाइहरू एकै स्थानमा भेला भई स्वादिष्ट दरको स्वाद लिनुका साथै शुभकामना आदानप्रदान, नाचगान र रमाइलोका माध्यमबाट खुसी साटासाट गर्ने अवसर प्राप्त हुनेछ। यसले दैनिक व्यस्तता र तनावबाट केही समय राहत दिलाउँदै समुदायबिचको आत्मीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको व्यवस्थापन प्रभावकारी बनाउन इच्छुक सहभागीहरूलाई दिदीबहिनी समूहले तयार पारेको डिजिटल इभेन्ट दर्ता प्रणाली मार्फत अग्रिम नाम दर्ता गर्न आग्रह गरेको छ।
त्यसै गरी, कोलोराडोमा रहेका सम्पूर्ण नेपाली संघ–संस्था तथा समुदायका सदस्यहरूलाई कार्यक्रममा सहभागी भई सहकार्य गर्न खुला निमन्त्रणा गरिएको छ। कार्यक्रमलाई प्रायोजन गर्न इच्छुक व्यक्ति वा संस्थाले दिदीबहिनी समूहका पदाधिकारीहरूसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने अध्यक्ष भुषालले जानकारी दिनुभयो।
दिदीबहिनी समूहले सम्पूर्ण नेपाली समुदायमा हरितालिका तीजको अग्रिम शुभकामना व्यक्त गर्दै सबैलाई कार्यक्रममा सहभागी भई भव्य र सफल बनाउन सहयोग गर्न हार्दिक अनुरोध गरेको छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend