ओहायो — अमेरिकाको ओहायो राज्यको गालियन सहरमा “विश्वशान्ति ज्ञान महायज्ञ” भव्यताका साथ सुरु भएको छ। यो आयोजना ओम सेन्टर दिव्यधाममा जुलाई २३ सम्म चल्नेछ।
१० फिट अग्लो तामाको कलश (घडा) नेपालबाट ल्याएर स्थापना गरिएको छ । अमेरिका, नेपाल, भारत, भुटान, क्यानडा, अस्ट्रेलिया लगायतका देशबाट हजारौं भक्तजन आएका छन् । प्रतिदिन हवन, भजन, योग, ध्यान, शंखनाद, भागवत पाठ जस्ता धार्मिक कार्यक्रम हुनेछन् । भूटानबाट आएका शरणार्थीहरूले आफ्नो संस्कृति र धर्म बचाएर राखेको गर्व गर्दै यस यज्ञमा सहभागीता जनाएका छन्।
यो महायज्ञ विश्व भुटानी हिन्दू संगठन (जीवीएचओ) का अध्यक्ष कमल धिमालको नेतृत्वमा आयोजना भएको हो। उनले ओहायोमा १५० एकर जमिन किनेर यसलाई धार्मिक केन्द्रको रूपमा विकास गरिरहेका छन्।
अन्य मुख्य कार्यक्रमहरूमा भजन-कीर्तन, योग, प्रवचन, विभिन्न देशका विद्वानहरूको धार्मिक चर्चा, युवाहरूले सनातन धर्म अमेरिकामा कसरी बचाउने भन्ने बिषयमा छलफल र लाइभ प्रसारण मार्फत विश्वभरका भक्तजनले यसलाई हेर्न सक्नेछन् ।
धेरै भूटानी शरणार्थीहरूले आफ्नो मातृभूमि छोडेर विदेशमा बसे पनि आफ्नो धर्म र संस्कृति बचाएर राख्न सफल भएका छन्। यहाँ उनीहरूले नेपालमा बिताएका दिनहरूलाई सम्झने गरी छाप्रो (क्याम्प) बनाएका छन् । यो महायज्ञ सकिएपछि पनि ओम सेन्टर दिव्यधाममा नियमित पूजा, योग कक्षा, संस्कृत शिक्षा लगायतका कार्यक्रम चलिरहनेछन् ।
यो केवल धार्मिक आयोजना मात्र होइन, तर हिन्दू धर्म अमेरिकामा कसरी फैलिरहेको छ भन्ने एउटा ज्वलन्त उदाहरण हो। यहाँ आएका भक्तजनहरूले “जहाँ श्रद्धा छ, त्यहीँ गंगा छ” भन्ने भावना अनुभव गरिरहेका छन् । यो महायज्ञले विश्वभर छरिएका हिन्दूहरूलाई एकताबद्ध गर्दै शान्ति, ज्ञान र एकताको सन्देश दिँदैछ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend