मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 28, 2026 Tuesday

जमैका नेपाली समाजको वनभोज भव्य सम्पन्न

जमैका नेपाली समाजको वनभोज भव्य सम्पन्न

विभिन्न कक्षाबाट ग्र्याजुएट विद्यार्थीलाई शैक्षिक सम्मान, जमैका नेपाली समाज न्यूयोर्कबाट संस्थापक अध्यक्ष कृष्ण आचार्य सम्मानित

78
Shares
78
Shares

न्यु योर्क ।  जमैका नेपाली समाजद्वारा आयोजित समर वनभोज कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। न्यूयोर्कको जमैका क्षेत्रमा बसोबास गर्दै आएका नेपाली समुदायको उल्लेखनीय सहभागितामा वनभोज गरिएको थियो । आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई सुदृढ बनाउने उद्देश्यले विविध, मनोरञ्जनात्मक, खेलकुद तथा शैक्षिक कार्यक्रम सम्पन्न गरियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका न्यूयोर्कस्थित नेपाली महावाणिज्य दुतावासका वाणिज्यदुत दधिराम भण्डारीले विभिन्न कक्षाबाट ग्र्याजुएट गरेका बिद्दार्थीलाई सम्मान गरेका थिए । वाणिज्यदुत भण्डारीको उपस्थितिले यस्ता किसिमका कार्यक्रमहरू गर्न थप हौसला मिलेको आयोजकले जनाएको छ

कार्यक्रममा भर्खरै मात्र पिएचडी उपाधि प्राप्त गर्न सफल जमैका निवासी डा. सुर्य लम्साललाई विशेष सम्मान गरिएको थियो। उहाँको उच्च शैक्षिक उपलब्धिको कदर गर्दै सम्मान पत्र प्रदान गरिएको हो । साथै विभिन्न विद्यालय, कलेज तथा विश्वविद्यालयबाट ग्र्याजुएसन सम्पन्न गरेका विद्यार्थीलाई पनि सम्मान गरिएको थियो। विद्यार्थीहरूको मेहनत, लगन र सफलताको कदर गर्दै प्रदान गरिएको यस सम्मानले नयाँ पुस्तालाई शिक्षाको क्षेत्रमा अझ अगाडि बढ्न प्रेरणा गर्ने समाजका अध्यक्ष पुष्कर खनालले बताए ।

त्यसै गरी, कार्यक्रममा आयोजित हाजिरी जवाफ प्रतियोगिता (क्विज कन्टेस्ट )मा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतियोगीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । यसका साथै बालबालिका तथा युवाहरूका लागि विभिन्न खेलकुद, सांस्कृतिक प्रस्तुति र मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गरिएका थिए ।

कार्यक्रममा सहभागी अतिथिहरूले जमैका नेपाली समाजले नेपाली भाषा, संस्कृति, शिक्षा र सामुदायिक एकतालाई प्रवर्द्धन गर्न खेलेको भूमिकाको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले नयाँ पुस्तालाई नेपाली समुदायसँग जोड्न महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरे ।

समाजले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने प्रमुख अतिथि दधिराम भण्डारी लगायत सम्पूर्ण अतिथिहरू, स्वयंसेवक, प्रायोजक, कलाकार, सहभागीहरू तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गरेको छ।

साथै आगामी दिनमा पनि नेपाली समुदायबिच एकता, सद्भाव, शिक्षा र सामाजिक सहकार्यलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिइने समाजका सदस्य दीपकराज घिमिरेले जानकारी दिए ।

कार्यक्रममा जमैका नेपाली समाजका संस्थापक अध्यक्ष कृष्ण आचार्यलाई विशेष सम्मान गरिएको थियो । स्थापनाकालदेखि नै संस्थालाई सुदृढ बनाउन उनले गरेको मेहनत र योगदानको उच्च मूल्याङ्कन गर्दै यो सम्मान गरिएको हो । वनभोज कार्यक्रम सफल बनाउनका लागि सहयोग गर्ने विभिन्न स्पन्सर दाताहरूलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

समाजद्वारा आयोजना गरिएको चिट्ठा (लट्री) कार्यक्रमका विजेतालाई पनि पुरस्कार वितरण गरिएको थियो। प्रथम पुरस्कार बुद्ध पौडेलले प्राप्त गरेका थिए भने द्वितीय, तृतीय र सान्त्वना पुरस्कार चिट्ठा कार्यक्रममा सहभागीहरूले प्राप्त गरेका थिए । वनभोजको एक आकर्षणको रूपमा रहेको चिट्ठा कार्यक्रम समाजका सल्लाहकार कृष्णप्रसाद लामिछानेले संचालन गरेका थिए ।

लट्री कार्यक्रमले सहभागीहरूमा थप उत्साह र मनोरञ्जन प्रदान गर्नुका साथै समाजका गतिविधिहरू संचालन गर्न महत्वपुर्ण भुमिका खेलेको थियो।

जमैकामा लामो समयदेखि बसोबास गरिरहेका एक ज्येष्ठ नागरिक वृद्धा नमकला खनाललाई सम्मान गरिएको थियो । ८५ बर्सिया खनाल सन् २००६ देखि अमेरिकामा बस्दै आएकी थिइन् ।

उक्त सम्मान कार्यक्रममा विभिन्न संघ–संस्थाका विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो। सबैको उत्साहजनक सहभागिताले कार्यक्रम सव्य र भव्य भएको आयोजकले जनाएको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend