मेरिल्यान्ड (अमेरिका)। अमेरिकाको मेरिल्यान्ड राज्यको डिस्ट्रिक्ट ७–ए अन्तर्गत हाउस अफ डेलिगेट्सका लागि भएको डेमोक्रेटिक पार्टीको प्राइमरी निर्वाचनमा नेपाली मूलका युवा सतीश चापागाईं विजयी भएका छन्।
जुन २३ मा सम्पन्न प्राइमरी निर्वाचनको ९९ प्रतिशत मतगणना सकिँदासम्म चापागाईंले १० हजार ४०२ मतमध्ये २ हजार ७१८ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका हुन्। यससँगै उनले आगामी नोभेम्बरमा हुने मुख्य निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवारसँग प्रतिस्पर्धा गर्ने बाटो खुलाएका छन्।
चापागाईंले आफ्नो चुनावी अभियानमा ‘अफोर्डेबल मेरिल्यान्ड’, ‘सेफ कम्युनिटिज’ र ‘स्ट्रङ बिजनेस’लाई प्रमुख एजेन्डाका रूपमा अघि सारेका छन्। महँगी नियन्त्रण, सुरक्षित समुदाय निर्माण तथा स्थानीय व्यवसायको प्रवर्द्धनलाई उनले प्राथमिकतामा राखेका छन्।
उनी हाल डेमोक्रेटिक पार्टीको मेरिल्यान्ड राज्य कमिटीका निर्वाचित सदस्यसमेत हुन्। राजनीतिक सक्रियतासँगै उनी सामाजिक, शैक्षिक तथा व्यावसायिक क्षेत्रमा पनि सक्रिय छन्। साना व्यवसायीका रूपमा परिचित चापागाईं बाल्टिमोर काउन्टी पब्लिक स्कुलमा दोभासेका रूपमा कार्यरत छन् भने विभिन्न सामाजिक तथा सामुदायिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।
चापागाईंले श्रमिक परिवार, कमजोर वर्ग र समुदायका आवाजलाई प्राथमिकतामा राख्दै सामाजिक न्याय, सार्वजनिक सहभागिता र व्यवहारिक समाधानका पक्षमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
राजनीतिसँगै उनी साहित्यिक क्षेत्रमा पनि सक्रिय छन्। उनी सम्पादक, कवि तथा गीतकारका रूपमा परिचित छन्। साथै, गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकामा दुई कार्यकाल मिडिया कोअर्डिनेटरको जिम्मेवारी सम्हालिसकेका चापागाईं हाल संस्थाका सल्लाहकारका रूपमा आबद्ध छन्।
अमेरिकाको स्थानीय राजनीतिमा नेपाली मूलका व्यक्तिहरूको सहभागिता बढ्दै गएको अवस्थामा चापागाईंको सफलता नेपाली समुदायका लागि अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यसले नेपाली समुदायको प्रतिनिधित्व र राजनीतिक सहभागितालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend