क्यालिफोर्निया । युनाईटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (युएनडिओ) अन्तर्राष्ट्रिय समितिले अमेरिका र नेपालका सुपरिचित व्यवसायी राजेश पाण्डेलाई युएनडिओ अमेरिकाको प्रेसिडेन्टमा मनोनीत गरेको छ । युनडिओ संस्था एनआरएनए जस्तै नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा सन् २०२४ को जनवरी ३१ तारिख दर्ता भएको सामाजिक संस्था हो । यसका प्रमुख संरक्षकमा एनआरएनएका पूर्व अध्यक्ष एवं अस्ट्रेलियाका विश्व चर्चित व्यवसायी शेष घले रहेका छन् भने अन्तर्राष्ट्रिय प्रेसिडेन्ट सोनाम लामा हुन् । प्रेसिडेन्ट लामा पनि नेपाल र अमेरिकामा सुपरिचित व्यवसायी र एनआरएनएका पूर्व उपाध्यक्ष हुन् । युएनडिओले प्रवासी नेपाली समुदायलाई सशक्त बनाउने, विश्वभरिका नेपालीहरूबिच आपसी सम्बन्ध र सहकार्यलाई प्रवर्द्धन गर्ने तथा सामूहिक प्रयास र साझा स्रोतसाधनमार्फत नेपालको विकासमा योगदान पुर्याउने आफ्नो लक्ष लिएको छ ।

को हुन् राजेश पाण्डे?
अमेरिकाको लस एन्जेल्स, क्यालिफोर्निया निवासी व्यवसायी राजेश पाण्डेको जन्मस्थल नेपालमा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका मदानपुर हो। उनकी श्रीमती, छोरा-२ र छोरी-१ छन् । व्यवसायी पाण्डेले सन् २००७ देखि अमेरिकामा बसोबास गर्दै आएका छन् भने पाण्डे ग्रुप ईंक (जेनेरल होलसेल मर्कण्डाईज) र पाण्डे ग्रुप ईन्भेस्टमेण्ट (रियल स्टेट) मार्फत मल्टी मिलियन डलर बराबरको व्यवसाय सञ्चालन गर्दछन् ।
नेपालमा व्यवसायी पाण्डेको काठमाण्डौंको पर्यटन केन्द्र ठमेलमा आफ्नै १ रोपनी १० आना जग्गामा थ्रि स्टार होटेल कैलाश कुटी सञ्चालनमा छ। झन्डै रु. डेढ अर्ब लगानी रहेको यो होटेल चार तारे मान्यता प्राप्त गर्ने क्रममा रहेको छ । त्यसै गरी, व्यवसायी पाण्डेको काठमाण्डौंकै मनमैजुमा दुई रोपनी आफ्नै जग्गामा अत्याधुनिक सुविधा सम्पन्न लोटस क्लब सञ्चालनमा छ ।
व्यवसायी पाण्डे नेपाल च्याम्बर अफ कमर्स अमेरिकाको संस्थापक सदस्य हुन् भने नेपाल तयारी पोसाक संघको विदेश विभाग संयोजक रहेका छन्। उनी अमेरिकाको क्यालिफोर्निया राज्यको नर्वाक सहरमा स्थापित श्री पशुपतिनाथ फाउन्डेसनको प्लाटिनम सदस्य पनि हुन्। फाउन्डेसनले पचास हजार डलरभन्दा बढी अनुदान दिने दाताहरूलाई प्लाटिनम सदस्यता प्रदान गर्दछ ।
युनाईटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (युएनडिओ) अन्तर्राष्ट्रिय समितिले यहीँ जुलाई १०, २०२६ मा UNDO USA लाई आफ्नो तेस्रो राष्ट्रिय संगठन (National Chapter) को रूपमा औपचारिक मान्यता प्रदान गरेको हो। सो मान्यतासँगै पाण्डेलाई प्रेसिडेन्ट मनोनीत गरिएको हो। UNDO USA ले निकट भविष्यमा अमेरिका क्षेत्रका प्रवासी नेपालीहरूको प्रतिनिधित्व गराउँदै कार्यसमितिलाई पूर्णता दिइने र संगठन विस्तारको कार्यलाई अगाडि बढाउने जानकारी गराएको छ ।

यस अघि स्पेन र मकाउमा राष्ट्रिय समितिहरू स्थापना मान्यता प्रदान गरिएको छ भने क्यानडा, युरोप, ओसियाना, एसिया र मिडिल ईस्टमा राष्ट्रिय समितिहरू निर्माण क्रममा रहेको युएनडिओ) अन्तर्राष्ट्रिय समितिका महासचिव कृष्ण सन्जेल केसीले जानकारी गराएका छन् ।
यो लेखकका कुनै समाचार भेटिएनन्।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend