मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 28, 2026 Tuesday

मगर संघ अमेरिकाको १०औँ वार्षिक साधारण सभा बोस्टनमा, अमेरिकी मगरहरूको बृहत् जमघट हुने

मगर संघ अमेरिकाको १०औँ वार्षिक साधारण सभा बोस्टनमा, अमेरिकी मगरहरूको बृहत् जमघट हुने

18
Shares
18
Shares

बोस्टन, “अमेरिकाको मूल प्रवाहमा मगरहरूको उपस्थिति र सहभागिता उदाउँदो मगर पुस्तालाई मगर भाषा, संस्कार, संस्कृति पुस्तान्तरण आजको आवश्यकता’’ भन्ने मूल नाराको साथ मगर संघ अमेरिका केन्द्रीय समितिको १०औँ वार्षिक साधारण सभा अगस्ट ०८, २०२६ मा म्यासाचुसेट्स राज्यको बोस्टन सहरमा हुने भएको छ ।साधारण सभाको अन्तिम तयारीमा रहेको अध्यक्ष दीप सागर बुढा मगरले बताउनु भयो ।

मगर संघ अमेरिका केन्द्रीय समितिको आयोजना र मगर संघ अमेरिका म्यासाचुसेट्स च्याप्टरको मुख्य व्यवस्थापनमा हुन लागेको साधारण सभामा प्रमुख अतिथिको रूपमा बिश्वप्रसिद्व पर्वतारोही तथा प्रेरक वक्ता (Motivational Speaker) हरि बुढा मगर बेलायतबाट आउने भएका छन् । अफगानिस्तानको युद्वभूमिमा भएको विस्फोटनमा दुवै खुट्टा गुमाएका बुढा मगर कृत्रिम खुट्टा (प्रोस्थेटिक) को सहायताले विश्वका सातै महाद्वीपका अग्ला हिमाल आरोहण पूरा गर्ने पहिलो ‘डबल एभब नि’ (दुवै खुट्टा घुँडा माथिबाट काटिएको अवस्था) आरोहीका रूपमा कीर्तिमान कायम गरेका व्यक्ति हुन् । रोल्पाको विकट गाउँदेखि ब्रिटिस गोर्खा सैनिक बन्ने सपना, त्यसपछि युद्धमा भोगेको चोट, अनि अन्ततः सातै महादेशका सर्वोच्च शिखरमा पुगेर संसारलाई देखाइएको साहस—हरिको जीवन कथा भावी पुस्ता, विशेष गरी अपांगता भएकाहरूका लागि थप प्रेरणा दिने एउटा जीवित पाठशाला हो ।

नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासंघका अध्यक्ष मान बहादुर राना मगर अलबानीबाट आदिवासी समुदायको अधिकार र अन्तर्राष्ट्रिय महासंघका सवाल बारे विशेष सम्बोधन गर्न , अन्तर्राष्ट्रिय मगर महासंघका महासचिव बिरभान घर्ती मगर बेल्जियमबाट अन्तर्राष्ट्रिय मगर महासंघको आवश्यकता र महत्त्व बारे प्रकाश पार्न र त्रिभुवन विश्वविद्यालयका प्रोफेसर झकेन्द्र घर्ती मगर नेपालबाट “मगरात सभ्यता, मगर जातिको इतिहास र पहिचान” बारे कार्यपत्र प्रस्तुत गर्न र कार्यक्रमको सफलताको शुभकामना दिन विशिष्ट अतिथिको रूपमा आउँदै हुनुहुन्छ । मगर संघ अमेरिका केन्द्रीय समितिका पुर्व अध्यक्ष महेन्द्र थापा मगर, रुद्र आले मगर, कुलदिप राना मगर र निवर्तमान अध्यक्ष याम पुन मगरको विशेष उपस्थिति रहनेछ ।

संस्थाको इतिहासमै पहिलो पटक बोस्टन सहरबाट “बोस्टन घोषणा पत्र २०२६” पारित हुने र मगर संघ अमेरिका, अमेरिका भर फैलिएको, अमेरिका भर रहेका मगरहरूको एकताको सन्देश दिने अध्यक्ष दीप सागर बुढा मगरले बताउनु भयो । अध्यक्ष बुढा मगरको अनुसार कार्यक्रमलाई “मगर सांस्कृतिक परेड (Magar Cultural Parade) 2026” , “समुद्घाटन समारोह” , “बन्द सत्र” र “शुभकामना सांस्कृतिक साँझ 2026” गरी चार चरणमा विभाजन गरिएको छ । करिब दुई माइलको लामो मगर सांस्कृतिक झाँकी सहितको “मगर सांस्कृतिक परेड (Magar Cultural Parade) 2026” पदयात्रा गरिनेछ । प्रमुख अतिथि बुढा मगरलाई विशेष अभिनन्दन गरिने छ र विविध विधामा संस्थाका धरोहरहरूलाई सम्मान गरिनेछ । “मगर छात्रवृत्ति २०२६” अमेरिकामा अध्ययनरत १० जना उत्कृष्ट बिधार्थीहरुलाई प्रदान गरिनेछ । संस्थाका नयाँ आजीवन सदस्यहरूलाई सदस्यता प्रदान गरिनेछ। बन्द सत्रको समापन पछि “शुभकामना सांस्कृतिक साँझ 2026” मा चर्चित कलाकारहरूको साथमा विभिन्न च्याप्टरहरूको बेजोड सांगेतिक प्रस्तुति रहनेछ ।

यसै गरी सभाको मुख्य व्यवस्थापनको हैसियतले म्यसचुसेट्स च्याप्टरले विभिन्न उप-समितिहरू गठन गरेर कार्यक्रमलाई चुस्त बनाउन लागि परेको म्यसचुसेट्स च्याप्टरका अध्यक्ष देवराज पुन मगरले बताउनु भयो ।

अमेरिका भर छरिएर रहेका नेपाली र नेपाली मुलका सम्पुर्ण मगरहरूलाई मगर संघ अमेरिकाको एउटै छाता मुनी गोल्बद्व गरेर आपसी भेटघाट सहयोग आदानप्रदान लगायत विविधतामा एकता रहेका हामी मगरहरूको भाषा, भेष, संस्कार संस्कृति र रीतिरिवाज तथा परम्पराहरूलाई अमेरिकामा संरक्षण र संवर्द्धन गर्दै अमेरिका मै रहेका अन्य नेपाली समुदायहरू सँग समन्वय र सहकार्य गर्ने उद्देश्यका साथ मगर संघ अमेरिकाको स्थापना सन २००४ मार्च २८ को दिन न्युयोर्कमा गरिएको हो ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend