बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

दक्षिणी क्यालिफोर्नियामा ‘होम फर द हलिडेज’ मानव तस्करी कारबाहीमा १९ जनाको उद्धार

दक्षिणी क्यालिफोर्नियामा ‘होम फर द हलिडेज’ मानव तस्करी कारबाहीमा १९ जनाको उद्धार

79
Shares
79
Shares

सान डिएगो — दक्षिणी क्यालिफोर्नियाको सान डिएगो काउन्टीमा यसै महिनाको सुरुवातमा सञ्चालन गरिएको बहु एजेन्सी मानव तस्करीविरुद्धको कारबाहीबाट तीन दिनमै १९ जना पीडितको उद्धार गरिएको छ। जिल्ला सरकारी वकिल (डिस्ट्रिक्ट एटर्नी) कार्यालयका अनुसार उक्त कारबाही ‘होम फर द हलिडेज’ (Home for the Holidays) अभियानअन्तर्गत गरिएको हो ।

जिल्ला सरकारी वकिल समर स्टेफनले गत साता डिसेम्बर १० देखि १२ तारिखसम्म चुला भिस्टा (Chula Vista), नेशनल सिटी र सान डिएगोका विभिन्न मोटेलहरूमा सञ्चालन गरिएको वार्षिक मानव तस्करी टास्क फोर्स अपरेसनको नतिजा सार्वजनिक गरेकी हुन् । उद्धार गरिएका सबै १९ जनालाई शोषणबाट बाहिर निकाल्न र पुनः स्थापनाको प्रक्रिया सुरु गर्न आवश्यक सेवा तथा सहयोग प्रस्ताव गरिएको छ।

उक्त कारबाहीका क्रममा चार जना वयस्क पुरुष पक्राउ परेका छन्, जसमा एक जना दर्ता भएका यौन अपराधी पनि छन्। उनीहरूविरुद्ध दलाली (पिम्पिङ), वेश्यावृत्ति प्रोत्साहन (प्यान्डरिङ) र सुरक्षात्मक आदेश उल्लंघनलगायतका अभियोग लगाइएको छ। साथै, यौन सेवा खरिद गर्न खोजेको आरोपमा छ जनालाई सामान्य कसुर (मिसडिमिनर) अन्तर्गत चालान गरिएको छ ।

जिल्ला सरकारी वकिल स्टेफनले भनिन्, “कडुवा सत्य के हो भने यौन तस्करी अझै पनि मागका कारण फस्टाइरहेको आपराधिक उद्योग हो, जसले सान डिएगो काउन्टीमा मात्रै वार्षिक ८१० मिलियन डलरभन्दा बढी आम्दानी गर्छ ।” उनले कानुन कार्यान्वयन निकाय र पीडित सहायता समूहको सहकार्यको प्रशंसा गर्दै १२ वर्ष जति कम उमेरका बालबालिकासमेत उद्धार गरिएको र तस्कर तथा ग्राहकहरूलाई जबाफदेही बनाइएको बताइन्। “कमजोर पीडितलाई पिज्जाको टुक्राजस्तै किनबेच गरिने यो आधुनिक दासत्व हामी सहन गर्नेछैनौँ,” उनले थपिन् ।

‘होम फर द हलिडेज’ अपरेसन हरेक वर्ष सञ्चालन गरिने बहु–क्षेत्राधिकारयुक्त प्रयासको हिस्सा हो, जसको उद्देश्य मानव तस्करीका पीडित पहिचान गर्नु, सहयोगी सेवासँग जोड्नु, तस्करहरूलाई पक्राउ गर्नु र व्यावसायिक यौन सेवाको माग घटाउनु हो । कारबाहीका क्रममा प्रहरी अधिकारीहरूले ग्राहकको भेषमा गोप्य रूपमा काम गर्दै अनलाइन विज्ञापनमार्फत पीडित र शोषक दुवैको पहिचान गरेका थिए ।

क्यालिफोर्नियाका महान्यायाधिवक्ता रोब बोन्टाले यस अपरेसनलाई चाडपर्वका बेला मात्र नभई वर्षभर समुदायलाई सुरक्षित राख्न महत्वपुर्ण कदम भएको बताए। “हामी सँगै मिलेर मानव तस्करीका सञ्जालहरू विघटन गर्दै कमजोर क्यालिफोर्नियालीहरूको जीवन उकास्ने अर्थपुर्ण परिणाम हासिल गर्न निरन्तर लागिरहनेछौँ,” उनले भने।

कानुन कार्यान्वयन अधिकारीहरूले राज्य कानुनमा आउन लागेका परिवर्तनहरू पनि उल्लेख गरेका छन्। आगामी जनवरी १ देखि लागु हुने एसेम्ब्ली बिल ३७९ अनुसार नाबालिगसँग यौन सेवा खरिद गर्नु गम्भीर अपराध (फेलोनी) हुनेछ। साथै, वेश्यावृत्तिका लागि घुमफिर गर्ने ग्राहकहरूलाई पुनः आपराधिक सजाय लाग्ने, पीडित सहायता कोष स्थापना हुने र तस्करीसम्बन्धी केही उल्लंघनमा व्यवसायहरूलाई कडा जरिवाना लगाइने व्यवस्था गरिएको छ।

होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन्स सान डिएगोका कार्यवाहक विशेष एजेन्ट–इन–चार्ज केभिन मर्फीले पीडित–केन्द्रित दृष्टिकोणलाई जोड दिए। “हाम्रो संयुक्त प्रयासले समुदायबाट खतरनाक अपराधीहरू हटाउन र उद्धार गरिएका १९ जनालाई आवश्यक सहयोग तथा सेवा सुनिश्चित गर्न मद्दत गरेको छ,” उनले भने।

पक्राउ परेकाहरूलाई डिसेम्बर १९ र २२ तारिखमा अदालतमा पेस गरिएको छ। दोषी ठहर भएमा उनीहरूलाई ६ देखि २० वर्षसम्म कैद सजाय हुन सक्ने अधिकारीहरूले जनाएका छन्।

मानव तस्करी टास्क फोर्सको नेतृत्व क्यालिफोर्निया न्याय विभागले गरेको हो, जसमा सान डिएगो काउन्टीभरिका स्थानीय, राज्य र संघीय निकायहरू सहभागी छन्। अधिकारीहरूका अनुसार यस्ता अपरेसनहरू वर्षभर सञ्चालन भइरहन्छन्।

पछिल्ला चार वर्षमा ‘होम फर द हलिडेज’ अपरेसनबाट २३ जनाको पक्राउ, दुई नाबालिगसहित ६५ जना पीडितको उद्धार तथा तीन वटा हतियार बरामद गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालयका अनुसार सन् २०२४ मा ४७ जना नाबालिग र सन् २०२५ मा हालसम्म ६२ जना नाबालिग उद्धार गरिएको छ।

आफु वा चिनजानको कोही मानव तस्करीको शिकार भएको आशंका लागेमा राष्ट्रिय मानव तस्करी हटलाइन १–८८८–३७३–७८८८ मा फोन गरेर सहयोग र जानकारी लिन सकिने अधिकारीहरूले बताएका छन्। तत्काल खतरा भए ९११ मा सम्पर्क गर्न आग्रह गरिएको छ। Photo: AI

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend