मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 28, 2026 Tuesday

धुर्मुस–सुन्तली ग्रीनकार्ड लिएर छोरीको उपचारका लागि अमेरिकामा

धुर्मुस–सुन्तली ग्रीनकार्ड लिएर छोरीको उपचारका लागि अमेरिकामा

2.2K
Shares
2.2K
Shares

काठमाडौँ — सामाजिक अभियन्ता तथा कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ ले बहुप्रतिक्षित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला विवादबारे आफ्ना पीडा, तथ्य र पाँच वर्षदेखिको सङ्घर्षलाई फेसबुकमार्फत विस्तृत रूपमा सार्वजनिक गरेका छन् । रङ्गशाला निर्माणका क्रममा उत्पन्न १८ करोड ४३ लाख रुपैयाँ बराबरको आर्थिक दायित्वले आफु र फाउन्डेसन अझै पनि दबिएको उल्लेख गर्दै उनले “राज्यले सम्पत्ति स्विकार्ने तर दायित्व नसकार्ने” अवस्थाको कडा प्रश्न उठाएका छन् ।

धुर्मुसका अनुसार २०७२ सालको भुकम्पपछि अमेरिका छाडेर नेपाल फर्केर निरन्तर सामाजिक काममा समर्पित हुँदा पनि पछिल्लो पाँच वर्षमा उनलाई–दुर्घटनापूर्वक आरोप, अफवाह र चरित्र हत्या अभियानको सामना गर्नुपरेको थियो। उनका शब्दमा, “हामीले गरेको कामका बारेमा आधा दर्जन पटक छानबिन भयो, एक रुपैयाँ पनि हिनामिना भेटिएन। तर अझै पनि ‘ठग’ को उपमा दिन छाडिएन।”

रंगशालाको निर्माण र आर्थिक दायित्व
धुर्मुस–सुन्तली फाउन्डेसनले करिब ६० करोड ९० लाख रुपैयाँ बराबरको संरचना भरतपुर महानगरलाई बुझाइसकेको दाबी गरेका छन्। साथै २ करोडभन्दा बढी मुल्यका स्टक सामग्री पनि हस्तान्तरण गरिएको बताए। तर, महानगरले १८ करोड ४३ लाख रुपैयाँ बराबरको उधारो सामग्रीको भुक्तानी आजसम्म नगरेको आरोप उनले लगाए ।

धुर्मुसका अनुसार, बक्यौता उनीहरूको व्यक्तिगत उद्देश्यका कारण नभई उधारोमा झारिएका निर्माण सामग्रीकै कारण सिर्जना भएको हो। “राज्यले संरचना स्विकार्छ तर दायित्व स्विकार्दैन, यही नै विडम्बना हो,” उनले लेखे।

मन्त्रीपरिषदबाट दुई पटक निर्णय भए पनि रकम निकासा नआएको दाबी
२०७९ चैत २० गते मन्त्रीपरिषद्ले फाउन्डेसनलाई १२ करोड उपलब्ध गराउने निर्णय गरे पनि खेलकुद परिषद्ले आफुहरूसँग सम्झौता नभएकाले रकम दिन नमिल्ने बताएको दाबी धुर्मुसले गरेका छन्।

पछि २०८० असार १२ गते फेरि दोस्रो पटक निर्णय हुँदा अर्थ मन्त्रालयले रकम भरतपुर महानगरको खातामा निकासा गरिदियो। तर महानगरले “चिठीको भाषा नमिलेको” भन्दै रकम बुझ्न अस्वीकार गरेको धुर्मुसको आरोप छ । आर्थिक वर्ष सकिँदै रकम फ्रिज भएर फिर्ता जाने परिस्थितिबाट आफु ‘डुबान’मा परेको धुर्मुसले उल्लेख गरेका छन् ।

छोरीको उपचार र हाम्रो वर्तमान परिस्थितिबारे प्रष्टीकरण
म सिंहदरबार र रङ्गशाला निर्माणको दौडधुपमा रहँदा मेरी छोरीको स्वास्थ्य अवस्था दिनानुदिन जटिल बन्दै गएको थियो। जन्मेको १६ दिनदेखि नै म्यानेन्जाईटिस जस्तो प्राणघातक रोगको शिकार भएकी उनको घुँडाको हड्डीमा संक्रमण भई कीटाणुले कुर्कुरे हड्डी समेत खाइदिएको थियो। १२ वर्षअघि पाटन अस्पतालमा एक महिनाको उपचारपछि हामी उनलाई घर त ल्याएका थियौँ, तर डाक्टरको सल्लाहअनुसार उनको उचाइ बढुन्जेल निरन्तर निगरानीमा राख्नुपर्ने थियो।

अहिले छोरी १३ वर्ष पुग्नै लाग्दा उनको दाहिने खुट्टा देब्रेभन्दा ७ सेन्टिमिटर छोटो भएको छ। ४ वर्षको उमेरमा खुट्टा बाङ्गो नहोस् भनेर हालिएको स्टिल निकाल्न र छोटो हड्डी तन्काउने उपचार गर्न हामीबाट ३-४ वर्ष ढिला भइसकेको छ। अहिले उनलाई हिँड्न निकै समस्या छ र उठ्दा-बस्दा हिपको जोर्नी दुख्न थालेको छ। यो उपचार प्रक्रिया निकै लामो र कष्टकर छ।

हामी किन अमेरिका आयौँ ?
आफ्नो सन्तान अरू बालबालिका जस्तो सामान्य रूपमा खेल्न र कुद्न नसकेको देख्दा बाबुआमाको मन कति विचलित हुन्छ, त्यो शब्दमा व्यक्त गर्न सकिँदैन। हामीले नेपाल र भारतका धेरै अस्पताल पुर्यायौं, तर सबैले यसको अत्याधुनिक र सुरक्षित उपचारका लागि अमेरिका लैजान सुझाव दिनुभयो। हाम्रो आर्थिक अवस्थाले त्यो सहज थिएन।

एकातिर छोरीको उपचारको चिन्ता, अर्कोतिर नेपालमा कलाकारिता गरेर बाँच्न सक्ने आधार समेत नभेटिएपछि हामीले तीन वर्षअघि ‘एक्स्ट्रा अर्डिनरी एबिलिटी’ (EB-1) विधामा ग्रीनकार्डका लागि आवेदन दिएका थियौँ। यो कार्ड प्राप्त भएपछि न्यून आम्दानी भएका अभिभावकका बालबालिकाले ‘मेडिकेड’ मार्फत निःशुल्क उपचार पाउने सुविधा हुने रहेछ।

बाध्यताको निर्णय
विगतमा मानसिक तनाव (Stress) का कारण हामीले एउटा सन्तान गुमाइसकेका थियौँ। त्यसैले, भएकी एउटै सन्तानको हकमा कुनै जोखिम लिन चाहेनौँ। आवेदन दिएको दुई वर्षपछि भिसा त पायौँ, तर त्यो दिन हामी खुसीले होइन, रोयौँ। किनकि यो हाम्रो रहर होइन, परिस्थितिले थुपारेको बाध्यता थियो। यहाँ आउने खर्च जुटाउन कुञ्जनाले आफ्ना सबै गहना बेचिन्।

रङ्गशाला र हाम्रो प्रतिबद्धता
हामी रंगशालाको ‘दलदल’ बाट बाहिर निस्किएर मात्र छोरीको उपचारमा लाग्न चाहन्थ्यौँ। भरतपुर महानगर र संघीय सरकारसँग पटक-पटक यो भारीबाट मुक्ति दिलाइदिन आग्रह गर्‍यौँ, तर आश्वासनबाहेक केही पाएनौ। अन्ततः छोरीको स्वास्थ्य थप जोखिममा नपरोस् भनेर यो कठिन निर्णय लिनु पर्‍यो।

हामी भागेका होइनौँ। छोरीको उपचार सम्पन्न भएपछि हामी नेपाल फर्केर पुनः कलाकारितामै रमाउन चाहन्छौँ। हाम्रो एक मात्र चाहना रंगशालाको समस्या समाधान होस् ताकि हामी ढुक्कसँग स्वदेशमा काम गरेर बाँच्न सकौँ।

अन्त्यमा, हाम्रो अमेरिका बसाइलाई लिएर विभिन्न भ्रामक हल्ला र नकारात्मक टीकाटिप्पणी सुरु भइसकेका छन्। हामी यहाँ कुनै व्यापार वा लगानी गर्न आएका होइनौँ, केवल छोरीको उपचारमा केन्द्रित छौँ। उपचारको प्रक्रिया सुरु भइसकेको छ र हामी समय-समयमा जानकारी गराउने नै छौँ । कृपया, यथार्थ नबुझी फैलाइएका भ्रामक प्रचारको पछि नलाग्न सबैमा विनम्र अनुरोध गर्दछौँ ।

Sitaram Kattel’s Facebook Status 12/11/2025

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend