कोलोराडो, अमेरिका – प्रवासमा रहेर पनि आफ्नो धर्म, संस्कृति र परम्परालाई कसरी जीवित र जीवन्त राख्न सकिन्छ भन्ने कुराको एक उत्कृष्ट उदाहरण कोलोराडोमा सबिना श्रेष्ठ प्रधानले प्रस्तुत गर्नु भएको छ । उहाँले यहाँ बसोबास गर्ने नेपालीहरूसँग सामुहिक रूपमा हनुमान चालिसा कीर्तनको थालनी गर्नु भएको छ, जसको पृष्ठभुमि र संघर्षको कथा निकै प्रेरणादायी छ । युएस नेपाल टुडेका कार्यकारी सम्पादक शैलेश पोखरेलले सबिना श्रेष्ठ प्रधानसँग गरेको कुराकानीका केही अंश ।
मार्च ९, २००५: जीवनको अप्रत्याशित मोड
सन् २००५, मार्च ९ को बिहान । अमेरिकाको अरोरा, कोलोराडोस्थित स्मोकी हिल हाई स्कुलमा आफ्ना छोरालाई आईबी प्रोग्राम (IB Program) मा भर्ना गरेको जम्मा नौ दिन मात्र भएको थियो । सिटी ग्रुपमा कार्यरत साबिनाजी बिहान ६ बजे अफिस सुरु गर्न घरबाट निस्कँदै हुनुहुन्थ्यो ।
बिहान साढे ५ बजे अपार्टमेन्टको तल उत्रिने बित्तिकै उहाँको जीवनमा अप्रत्याशित घटना घट्यो । दुई जना केटाहरूले बन्दुक देखाएर उहाँलाई अपहरण (Kidnap) गर्ने प्रयास गरे । रेलिङ समातेर चिच्याउनुको विकल्प थिएन । जाडोको बेला हीटिङ सिस्टमको आवाज र झ्याल–ढोका बन्द भएको कारणले परिवारले केही सुन्न सकेनन् । तर छिमेकीले भने परिवारमा हिंसा भइरहेको ठानेर हस्तक्षेप गरेनन्। अपहरणकारीहरूले अन्ततः उहाँको पर्स (Purse) लुटेर भागे ।
“मेरो मनमा आयो कि, यिनीहरूले लग्यो भने मलाई मार्छ, बरु यहीँ मार्यो भने एटलिस्ट मेरो फेमिलीले त खोज्नु पर्दैन…।”
यो घटनापछि प्रहरी आयो, अनुसन्धान भयो । १९ वर्षका ती केटा आठ वटा केसमा संलग्न रहेछन्, जो अहिले ४७ वर्षको जेल सजाय काटिरहेका छ । नौ महिनापछि अदालतमा जाँदा, साबिनाजीले एफ्रो कपाल (Afro hairstyles) बाँधेको देखेर सही मान्छे चिन्न सकिनन् र निर्दोष मान्छेलाई फसाउन मन नलाग्ने भन्दै पछि हट्नुभयो । अन्ततः, डेढ वर्षपछि न्याय प्राप्त भयो र उहाँको पर्स पनि फेला पर्यो ।
अँध्यारो कालखण्ड: चिन्ता (Anxiety) र उदासीनता (Depression)
अपहरण प्रयासको त्यो घटनाले साबिनाजीको जीवनमा गहिरो मनोवैज्ञानिक असर पारेको थियो । उहाँ गम्भीर चिन्ता (Severe Anxiety) र उदासीनता (Depression) को सिकार हुनुभयो ।
घरबाट निस्कन नसक्ने अवस्थामा उहाँ ओछ्यानमै बसिरहनुहुन्थ्यो, केही पनि गर्न नसक्नेजस्तै निराश र थकित। स्थिति यति कठिन भयो कि अन्ततः उहाँले सिटी ग्रुपको आफ्नो जागिरसमेत छोड्नुपर्यो। छोराछोरीले हसाइदिँदा पनि हाँस्न बिर्सिएको अनुभूति उहाँ बारम्बार सुनाउनुहुन्थ्यो। हरपल केही न केही अनिष्ट हुनेभयले मन कठोर रूपमा च्यापिरहन्थ्यो, जसले उहाँलाई अझै कमजोर र असहाय महसूस गराइरहन्थ्यो।
यो चार वर्षको समय उहाँको जीवनको साधना काल (Sadhana Period) बन्यो । बुवा रामप्रसाद श्रेष्ठले सल्लाह दिएअनुसार उहाँले हनुमान चालिसा (Hanuman Chalisa) सुन्न थाल्नुभयो । लगातार सुन्दै जाँदा, बुवाको प्रेरणाले उहाँले पाठ गर्न पनि सुरु गर्नुभयो र बिस्तारै-बिस्तारै त्यसलाई कण्ठ (Memorize) गर्न सफल हुनुभयो ।
हनुमान चालिसा र सङ्कल्पको शक्ति
एक जना बहिनीको घरमा १०८ चोटि हनुमान चालिसा पाठ (108 Times Hanuman Chalisa Recitation) गर्ने संकल्प कार्यक्रममा जाँदा साबिनाजीलाई यो पाठ कण्ठ भइसकेको थियो । हतार-हतार गर्दा पनि साढे सात घण्टा लगाएर उहाँले संकल्प पुरा गर्नुभयो ।
पछि एक पटक भक्तहरूले ड्रम छाडेर गएपछि, उहाँले आफ्नो लयमा ड्रम बजाएर गाउन थाल्नुभयो । त्यो लय यति मनमोहक भयो कि अन्य सबै भक्तहरूले उहाँलाई पछ्याउन थाले । यसरी उहाँले लक्ष्मी मन्दिर Crestone, CO मा बाह्र विभिन्न शैली (12 Different Ways) मा हनुमान चालिसा गाउन सिक्नुभयो ।
चमत्कारपुर्ण अनुभव (Miraculous Experience)
एक पटक ब्राइटन मन्दिर (Brighton Temple) मा उहाँले २१ चोटि (साढे चार घण्टा) हनुमान चालिसाको पाठ गरिरहँदा एउटा अविस्मरणीय घटना भयो:
मन्दिरका पुजारीले कीर्तन सुरु गर्नु अघि उहालाई क्यान्सरका कारण दुई महिनादेखि कोलोराडोको एक अस्पतालमा कोमामा रहेकी हरिमाया (नाम परिवर्तन) बारे जानकारी दिनुभएको थियो । कीर्तन शुरु हुनासाथै ती आन्टी त्यही उपस्थित भएको जस्तै उहालाइ अनुभुति भयो। पहिलो पाठ सुरु गरेसँगै साबिनाजीले आँखा अगाडि नै आन्टीको मुहार देखिएको महसुस गर्नुभयो । दोस्रो पाठअघि उहाँले सबैलाई हरिमाया (नाम परिवर्तन गरिएको) आन्टीका लागि एकदमै बलियो ऊर्जा (Strong Energy) पठाउन आह्वान गर्नुभयो ।
साढे चार घण्टाको पाठ सकिएपछि, आन्टीकी छोरीले उहाँलाई अँगालो हालेर रोइन् र यो ऊर्जा आमालाई लगाउन अस्पताल जान अनुरोध गरिन् ।
भोलिपल्ट बिहान ६ बजे जया पाण्डे बहिनिको फोन आयो, म्यारेकल भयो भन्दै फोन गरेर राति आन्टीको आँखा खुलेको समाचार दिइन !
यस घटनाले उहाँको मनमा अटल विश्वास (Unwavering Faith) जगायो, “मनले गर्यो भने हुने रहेछ ।” यसपछि उहाँको समुहलाई हनुमान चालिसा भजनका लागि शिर्डी टेम्पल (Shirdi Temple) र अस्पतालहरूमा पनि बोलाउन थालियो । म र मेरा श्रीमान अजय प्रधान हामी कहिले त भिडियो कलबाट पनि बिरामीहरुलाइ हनुमान चालिसा सुनाउथौ ।
बिरामी आन्टीको सम्धिनीले पछि साबिनाजीलाई भेटेर “तिम्रो हनुमान चालिसाले मेरी सम्धिनीलाई बचाएको” भन्दा उहाँ आफुलाई केवल एक माध्यम (An Instrument) मात्र भएको बताउनुहुन्छ ।
योग र साधनाको गहिराइ
सन् २००९ को अन्त्यतिर, डिसेम्बरमा नेपाल जाँदा एक साथीको सल्लाहमा उहाँले आर्ट अफ लिभिङ (Art of Living) को कोर्स गर्नुभयो । नेपालमा साधनाका दिनहरूमा साबिनाजी छ महिना यतै बसेर आर्ट अफ लिभिङका संस्थापक श्री श्री रविशंकरको कोर्समा समाहित हुनुभयो । गुरुको निर्देशनअनुसार तीन महिनासम्म उहाँ बिहान ब्रह्ममुहूर्तमा, अर्थात् ठीक ४ बजे उठेर र बेलुका सुर्यास्तअघि प्राणायाम र ध्यानको नियमित अभ्यासमा लिनुहुन्थ्यो । ती दिनहरूमा शरीर र मन दुबैलाई अनुशासनमा बाँध्दै उहाँले आफुभित्र चलिरहेको अशान्तिलाई विस्तारै सहज बनाउन थाल्नुभयो, मानौं प्रत्येक श्वाससँगै बोझ हलुका हुँदै गइरहेका हों ।
जसलाई बाथरुम जाँदा पनि साथी चाहिन्थ्यो, तीन महिनापछि उहाँ एक्लै प्लेन चढेर अमेरिका फर्किनुभयो । आर्ट अफ लिभिङको अभ्यासले उहाँलाई हीलिङ (Healing) गर्न धेरै मद्दत गर्यो ।
सन् २०१६ मा उहाँले विपश्यना (Vipassana) ध्यान गर्नुभयो र त्यसपछि २०१७ मा दोस्रो पटक । यसले उहाँको जीवनमा थप स्पष्टता (Clarity) ल्यायो । “केही पनि होइन रहेछ यो, एङ्जाइटी भनेको त एक प्रकारको ऊर्जा (Energy) मात्रै रहेछ ।”
योग थेरापिस्टको नयाँ पहिचान
अहिले साबिनाजीको यात्रा नयाँ मोडमा पुगेको छ। उहाँले योगलाई केवल आसन नभई एक आध्यात्मिक मार्ग (Spiritual Path) को रूपमा बुझाउँदै हुनुहुन्छ ।
MYT बाट २०० घन्टाको शिक्षक प्रशिक्षण लिएर शिक्षण सुरु गरेको थिए । आफुलाई अझ उन्नत र सक्षम शिक्षक बनाउनुपर्ने महसुस भएपछि विश्वकै पहिलो योग संस्थान ‘दि योगा इन्स्टिट्यूट अफ इन्डिया’ (Yoga Institute of India) बाट ९०० घण्टे एडभान्स योगा टिचर ट्रेनिङ पुरा गर्नुभयो, जसले उहाँलाई योगको गहिरो आधार र प्रगतिशील अभ्यासमा अझ दक्ष बनायो । अहिले भने उहाँ विश्वकै नम्बर एक मानिने योग कार्यक्रम S-VYASA University, बेंगलुरुमा योग थेरापीमा मास्टर गर्दै हुनुहुन्छ, जहाँ उहाँले शारीरिक, मानसिक र ऊर्जात्मक उपचारका उन्नत विधिहरू सिकिरहनुभएको छ ।
नौसय घण्टे एडभान्स योगा टिचर ट्रेनिङ पुरा गरेपछि उक्त इन्स्टिच्युटले उहाँलाई नै नियुक्त गर्यो । उहाँ पछिल्ला ३ वर्षदेखि त्यहीँ प्रशिक्षण प्रदान गर्दै हुनुहुन्छ । योगा सिकाएर पाउनु हुने पारिश्रमिकलाई भने संस्थाले प्रत्येक हप्ता मुम्बईका बेघरहरू (होमेलेस) लाई भोजन वितरण गर्न प्रयोग गर्ने भएकाले, उहाँले आफ्नो तलब त्यही सामाजिक कार्यका लागि दिनु भएको छ । तर उहाँको व्यक्तिगत Sound Healing र Yoga Classes बाट आउने आम्दानी भने Shree Animal Rescue Nepal र Haidakhand Ashram, Crestone, Colorado मा सहयोग स्वरूप पठाउने गर्नु भएको छ, जसले उहाँको अभ्यासलाई केवल पेशा होइन, सेवाको भावना पनि जोड्छ ।
हालै उहाँले Perimenopausal र Menopausal Hormone Imbalance भएका महिलाहरूलाई योगको माध्यमबाट सहयोग गर्न विशेष कक्षा सुरु गर्नुभएको छ, जहाँ उहाँले श्वासप्रश्वास, आसन र माइन्डफुलनेसका अभ्यासमार्फत उनीहरूको जीवनगुणस्तर सुधार गर्न केन्द्रित हुनुहुन्छ।
यसबाहेक, उहाँ Sound Healer को रूपमा पनि चिनिनुहुन्छ, जहाँ Sound Vibration मार्फत Cellular Level सम्म पुग्ने Healing को अभ्यास गर्नुभयो, र यसले मानिसभित्रको सूक्ष्म तनाव र अवरोधहरूलाई कोमल रूपमा मुक्त गर्न मद्दत गर्छ ।

करिब २० वर्षको यस यात्रामा उहाँले हरेक महिनाको दोस्रो शनिवारमा हनुमान चालिसा पाठ गर्ने आफ्नो तालिकालाई आजसम्म निरन्तरता दिनुभएको छ र अहिले २०२६ को डिसेम्बरसम्मका लागि उहाँको समय तालिका बुक भइसकेको छ ।
सुरुवाती दिनहरूमा सीमित परिवार र साथीभाइहरू जम्मा भएर भगवान हनुमानको स्तुति गाउने, हनुमान चालीसा पाठ गर्ने र भजन कीर्तन गर्ने निधो गरियो । कुनै ठूलो मन्दिर वा भवन नभए पनि भक्तहरूको श्रद्धा र समर्पणले यसलाई एक नियमित र व्यवस्थित कार्यक्रमको रूप दियो । यस कीर्तनको मुख्य उद्देश्य केवल पुजापाठ गर्नु मात्र नभई, विदेशमा हुर्किरहेका नयाँ पुस्तालाई आफ्नो सनातन धर्म, भाषा र संस्कार सिकाउनु, तथा समुदायमा एकता र भाइचाराको भावना विकास गर्नु रहेको युएस नेपाल टुडेसंगको कुरामा सबिना बताउनु हुन्छ ।
यो यात्रा सहज थिएन, तर निरन्तरता र सामुहिक प्रयासले यसलाई सफल बनाएको छ। अहिले यो हनुमान चालीसा कीर्तन कोलोराडोका नेपालीहरूको लागि एक आध्यात्मिक केन्द्रबिन्दु बनेको छ, जहाँ उनीहरूले आफ्नो सुख, दुःख र श्रद्धा साटासाट गर्ने अवसर पाएका छन् । यो अभियानले विदेशमा रहेका अन्य नेपाली समुदायहरूलाई पनि आफ्नो संस्कृति संरक्षणमा एकजुट हुन प्रेरित गरेको छ ।
सुरुमा उहाँलाई हनुमान चालिसा कीर्तनमा सहयोग गर्ने उहाँका श्रीमान् अजय प्रधान, ममि उत्तरा श्रेष्ठ, बुवा रामप्रसाद श्रेष्ठ, बहिनी बबिना श्रेष्ठ महाजन, राजु थापा, रिता थापा, निशा उपाध्याय, पुजा कार्कि आदि हुनुहुन्थ्यो । पछि गएर शिला मल्ल, मेरिना अर्याल, राजश्री श्रेष्ठ, प्रजना रन्जित साथै अन्य केही समर्पित भक्तजनहरू पनि जोडिँदै गए, जसले कीर्तनलाई अझै सुगठित र ऊर्जाशील बनाइदिए । उनीहरूको सामुहिक सहयोग र भक्ति यस साधनालाई निरन्तरता र आत्मीयता दिने आधार बनेको छ ।
निष्कर्ष:
साबिनाजीको कथा विश्वास, लगन र साधना (Faith, Perseverance, and Practice) को ज्वलन्त उदाहरण हो । जीवनले दिएको कठोर चुनौतीलाई उहाँले आफ्नो आध्यात्मिक उत्थान (Spiritual Upliftment) को माध्यम बनाउनुभयो । यो कथाले हामी सबैलाई सम्झाउँछ कि गहिरो सङ्कटको समयमा पनि, साँचो आत्मबल र ईश्वरमाथिको भरोसाले मानिसलाई केवल बचाउँदैन, बरु उसलाई अरूको सेवा गर्ने एक शक्तिशाली माध्यममा रूपान्तरण गर्न सक्छ ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend