बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

बडादसैँको हार्दिक मंगलमय शुभकामना

बडादसैँको हार्दिक मंगलमय शुभकामना

378
Shares
378
Shares

नेपालीहरूको महान् पर्व बडादसैँले सबैको घर आँगनमा खुसी र उमङ्ग लिएर आएको छ । हाल महानवमी पर्व मनाइँदै गर्दा, भोली विजयादशमीको रौनकले सबैलाई छोइसकेको छ । केही दिनअघि मात्रै सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले भव्यताका साथ फुलपाती बढाइँ गरेर दसैँको उल्लास थपेको थियो । यो समयमा देश तथा विदेशमा रहेका सम्पुर्ण नेपालीहरू आ-आफ्नो थातथलोमा फर्किरहेका छन् भने जो आउन सम्भव छैन, उनीहरूले पनि परदेशमै दसैँ मनाइरहेका छन् ।

दसैँ केवल एक सांस्कृतिक पर्व मात्र नभई नेपालको अर्थतन्त्रलाई चलायमान बनाउने एक महत्त्वपुर्ण अवसर पनि हो । यस बेला लत्ताकपडा, खाद्यान्न, सुनचादि, मरमसलादेखि सवारी साधनसम्म अरबौंको कारोबार हुन्छ, जसले बजारमा नयाँ ऊर्जा थप्छ । यातायात व्यवसायीहरूका लागि पनि यो कमाइ गर्ने मुख्य सिजन हो ।

यो पर्वलाई दशहरा, नौरथा जस्ता विभिन्न नामले पनि चिनिन्छ । हिन्दु धर्मावलम्बीहरूले असोज शुक्ल प्रतिपदाको घटस्थापनादेखि नवमीसम्म शक्तिकी अधिष्ठात्री देवी नवदुर्गाको आराधना गर्दछन् । प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्ड, स्कन्द माता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धि दात्रीको पुजा गरी दशौँ दिन अर्थात् विजयादशमीमा मान्यजनको हातबाट टीका र जमरा ग्रहण गरेर आशीर्वाद लिने परम्परा छ । यो टीका लगाउने क्रम कोजाग्रत पुर्णिमासम्म चल्दछ ।

दसैँमा टीका थाप्दा मान्यजनहरूले दिने आशीर्वादको विशेष महत्त्व छ। पुरुषहरूलाई दिइने आशीर्वादमा द्रोण पुत्र अश्वत्थामाको जस्तो लामो आयु, राजा दशरथको जस्तो ऐश्वर्य, भगवान् रामको जस्तो शत्रु नाश गर्ने क्षमता, हनुमानको जस्तो गतिशीलता, कर्णको जस्तो दानवीरता, बलरामको जस्तो बल, युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति प्राप्त होस् भन्ने कामना गरिन्छ ।

आयु द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दु-योधने ।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

त्यसै गरी, महिलाहरूलाई जयन्ती, मंगला, काली, भद्रकाली, दुर्गा, क्षमा जस्ता देवीहरूको स्वरूप मानी उनीहरूको सधैँ जय होस् र समस्त दुःख हरण होस् भनी आशीर्वाद दिइन्छ।

जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवधात्री स्वाहा स्वधा नमोस्तुते ।
जयत्वं देवी चामुण्डे जय भुतार्तिहारिणि

विजयादशमीलाई असत्यमाथि सत्य र दानवी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा लिइन्छ । पौराणिक कथाअनुसार, देवी दुर्गाले महिषासुर नामक राक्षसको अन्त्य गरी देवता र मानव लोकलाई त्राण दिएकी थिइन् भने यही समयमा भगवान् रामले रावणमाथि विजय हासिल गरेका थिए । यही विजयको उत्सव स्वरूप टीका र जमरा लगाएर खुशीयाली मनाउने चलन छ ।

यो पर्वले हामीलाई काम, क्रोध, लोभ, मोह, अहंकार जस्ता नकारात्मक गुणहरू त्यागेर सत्य र सत्कर्मको बाटोमा हिँड्न प्रेरणा दिन्छ । यसले आपसी सद्भाव, भाइचारा र पारिवारिक मेलमिलापलाई अझ बलियो बनाउँछ ।

अन्तमा, यो बडादसैँले सम्पुर्ण नेपालीहरूको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस् । सबै दानवी प्रवृत्तिहरूको अन्त्य होस्। सम्पुर्ण देश तथा बिदेशमा बस्ने नेपालीहरूमा विजयादशमीको हार्दिक मंगलमय शुभकामना !

तस्बिरमा लेखक आफ्नी धर्मपत्नीका साथ।

  • सम्बन्धित विषय:
    प्रतिक्रिया दिनुहोस

    शैलेश पोखरेल का अरू रचना

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend