बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

गोवास्थित नाइट क्लबमा भीषण आगो– २३ जनाको ज्यान गयो, सिलिन्डर विस्फोटको आशंका

गोवास्थित नाइट क्लबमा भीषण आगो– २३ जनाको ज्यान गयो, सिलिन्डर विस्फोटको आशंका

65
Shares
65
Shares

गोवा । शनिबार राति गोवाको अर्पोरास्थित एक नाइट क्लबमा लागेको भीषण आगलागीमा कम्तीमा २३ जनाको मृत्यु भएको छ। प्रहरीले आगलागी ग्यास सिलिन्डर विस्फोटका कारण भएको प्रारम्भिक आशंका व्यक्त गरेको छ।

उत्तरी गोवाको अर्पोरा क्षेत्रमा रहेको उक्त नाइट क्लबमा मृत्यु हुनेमध्ये केही पर्यटकसमेत रहेको बताइएको छ। पीडितमध्ये धेरैजसो क्लबका कर्मचारी रहेको प्रहरीले जनाएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकमध्ये धेरैजसो नाइट क्लबको किचनमा कार्यरत कर्मचारी भएको उल्लेख गरेका छन्। मृतकमध्ये तीन जना महिला पनि परेका छन्।

प्रधानमन्त्री मोदी, गृहमन्त्री अमित शाह तथा राष्ट्रपति द्रौपदी मुर्मुहरूले घटनाप्रति दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री मोदीले एक्समा संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। साथै उनले मुख्यमन्त्री सावन्तसँग घटनाबारे कुराकानी भएको तथा राज्य सरकारले आवश्यक सहयोग गर्दै आएको बताएका छन्।

प्रधानमन्त्री कार्यालयले मृतकका परिवारलाई २–२ लाख रूपैयाँ र घाइतेलाई ५०–५० हजार रूपैयाँ सहयोग उपलब्ध गराइने घोषणा गरेको छ।

आधी रातको घटना
गोवाका डीजीपी आलोक कुमारका अनुसार राति १२ बजेर ४ मिनेटमा पुलिस कन्ट्रोल रुममा आगलागीको खबर आएको थियो। फायर ब्रिगेड र एम्बुलेन्स तुरुन्तै घटनास्थल पुगेका थिए। अधिकांश शव किचन क्षेत्रमा फेला परेको र आगलागीको कारणबारे विस्तृत अनुसन्धान हुने उनले बताए।

घटनाका प्रत्यक्षदर्शी सुरक्षागार्डहरूका अनुसार राति ११ देखि १२ बजेको बीचमा अचानक ठूलो आवाजसहित आग लागेको थियो। नजिकैको एक रेस्टुरेन्टमा कार्यरत सुरक्षागार्डले एएनआईलाई बताए अनुसार आवाज गाडीको टायर फुटेजस्तो थियो, पछि थाहा भयो कि सिलिन्डर विस्फोटका कारण आगलागी भएको रहेछ।

डीजीपी कुमारका अनुसार अधिकांश मृतक क्लब रेस्टुरेन्टका कर्मचारी थिए, भने केही पर्यटक पनि परेका हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

मुख्यमन्त्री सावन्तले नाइट क्लबले आवश्यक अग्नि सुरक्षाका मापदण्ड पूरा नगरेको प्रारम्भिक तथ्याङ्कले देखाएको बताए। उनका अनुसार २३ मृतकमध्ये तीन महिला र तीन–चार जना विदेशी पर्यटक थिए। तीन जनाको मृत्यु आगोले पोल्दा र बाँकीको दम घुटेर भएको जनाइएको छ।

बीजेपी विधायक माइकल लोबोले पनि २३ मध्ये तीन महिला र २० पुरुष रहेको तथा केही पर्यटकपरिचय खुलेको बताए। उनका अनुसार अधिकांश स्थानीय कर्मचारी थिए, जो बेसमेन्टमा काम गरिरहेका थिए।

अधिकारीहरूले घटना बारे विस्तृत छानबिन सुरु गरिसकेका छन्। घाइते र पीडितका परिवारलाई आर्थिक तथा चिकित्सा सहायताका काम जारी छन्।

अग्नि सुरक्षा मापदण्डबारे प्रश्न
घटनापछि गोवाका अन्य क्लबहरूको फायर सेफ्टीबारे प्रश्न उठ्न थालेका छन्। बीजेपी विधायक लोबोले सबै क्लबको सेफ्टी अडिट अनिवार्य गरिनुपर्ने बताएका छन्। उनका अनुसार गोवामा पर्यटकहरूको सुरक्षा अत्यन्त महत्त्वपूर्ण भएकाले यस्ता घटनाहरू दोहोरिन नदिने उपाय तत्काल लागू हुनुपर्छ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend