भर्जिनिया । अन्तर्राष्ट्रिय पत्रकार महासंघ–अमेरिका शाखाको केन्द्रीय कार्य समितिको बैठक नोभेम्बर २८, २०२५ मा अनलाइन माध्यमबाट सम्पन्न भयो। अध्यक्ष रामप्रसाद खनालको अध्यक्षता र महासचिव टंक दाहालको सञ्चालनमा बसेको बैठकले विश्वभर छरिएर रहेका नेपाली पत्रकारलाई समेट्ने उद्देश्यसहित १९ बुँदे महत्वपूर्ण निर्णय पारित गर्यो। संस्थागत विकास, विश्वसनीय पत्रकारिता, शाखा विस्तार, पत्रकार सुरक्षा, क्षमता अभिवृद्धि, आर्थिक सुदृढीकरण तथा अन्तर्राष्ट्रिय समन्वयजस्ता विषयमा विस्तृत योजना प्रस्तुत गरिएको बैठकले जानकारी गरायो।
बैठकले सदस्यता संरचना पुनःव्यवस्थित गर्दै नेपालबाहिर रहेका पत्रकारका लागि आजीवन सदस्यता शुल्क १०० अमेरिकी डलर र नेपालमा बसोबास गर्ने पत्रकारका लागि ५,००० रुपैयाँ तोक्ने निर्णय गर्यो। विश्वभरका विभिन्न मुलुकमा कार्यरत नेपाली पत्रकारले भोग्दै आएका चुनौती, मनोवैज्ञानिक दवाब र पेशागत आचारसंहिता सम्बन्धी प्रश्नहरूलाई गम्भीरतापूर्वक समीक्षा गर्दै सबैलाई मुल्य, मान्यता र विश्वसनीयताप्रति प्रतिबद्ध रहन आग्रह गरिएको छ। महासचिव टंक दाहालसहित केही पत्रकारमाथि गरिएको आधारहीन आरोप र दवाबप्रति बैठकले कडा शब्दमा आपत्ति जनाएको छ।
अमेरिका, बेलायत, चीन, युरोप, अस्ट्रेलिया, क्यानडा, नेपाल तथा इजरायल, गाजा, अफगानिस्तान, पाकिस्तान र सिरियासहितका संवेदनशील क्षेत्रका पत्रकारमाथि भइरहेका आक्रमण, हत्या, धम्की र दुर्व्यवहारप्रति महासंघले गम्भीर चिन्ता जनाउँदै पत्रकार सुरक्षाको सुनिश्चितताका लागि सम्बद्ध सरकारहरूसँग औपचारिक अपिल गर्ने निर्णय गर्यो। यसैक्रममा नेपाल, जापान, पोल्याण्ड र साउदी अरेबियामा गठन भएका शाखालाई औपचारिक मान्यता प्रदान गरिएको छ।
शाखा विस्तार तथा संस्थागत सुदृढीकरणका लागि सल्लाहकार, पदाधिकारी र बोर्ड अफ डिरेक्टरहरूलाई सक्रिय भूमिका निर्वाह गर्न अनुरोध गर्ने निर्णय पनि पारित भयो। नेपालबाहिर तथा अमेरिकाभर रहेका पत्रकारहरूको नामावली संकलनका लागि उपाध्यक्ष सतीश चापागाईं, बोर्ड सदस्य कृष्णराज खनाल र दिनेश कार्की सहित तीन सदस्यीय उपसमिति गठन गरिएको छ। दीर्घकालीन आर्थिक स्रोत पहिचान तथा व्यवस्थापनका लागि महासचिव टंक दाहाल, कोषाध्यक्ष अर्जुन दाहाल र सचिव अनिल अधिकारी रहेको अर्को समिति बनाइएको छ।
नेपाल शाखाको आयोजनामा चाँडै विशेष कार्यक्रम र कार्यशाला सञ्चालन गर्ने निर्णय गर्दै तयारी र कार्यान्वयनको जिम्मेवारी उपाध्यक्ष तथा बोर्ड सदस्यहरूलाई तोकिएको छ। कार्यपत्र निर्माण सल्लाहकार पुरुषोत्तम दाहाल र डा. बालकृष्ण चापागाईंले गर्नेछन्। नेपाल शाखालाई सक्रिय बनाउन उपाध्यक्ष जिवराम भण्डारी, टंक पन्त, अखण्ड भण्डारी र केदार कोईरालालाई विशेष जिम्मेवारी दिइएको छ। क्यानडामा शाखा स्थापना र अस्ट्रेलियामा शाखा विस्तारका लागि क्रमशः अनिल थापा र सुरेन्द्र सापकोटालाई जिम्मा तोकिएको छ।
विश्वका विभिन्न देशमा रहेका पत्रकारिता संस्थालाई महासंघसँग संस्थागत रूपमा जोड्ने सम्भावनाको अध्ययन गर्ने दायित्व युवा राज विद्रोहीलाई प्रदान गरिएको छ। महासंघको वेबसाइट निर्माण र अपडेटमा निरन्तर सहयोग गर्दै आएका ई. कुमार श्रेष्ठप्रति बैठकले धन्यवाद ज्ञापन गर्दै निरन्तर सहकार्यको अपेक्षा व्यक्त गर्यो। महिला पत्रकारको नेतृत्व, क्षमता र सहभागिता सम्बन्धी अध्ययन प्रतिवेदन तयार पार्ने जिम्मेवारी कृष्णा पौडेल, नवराज कुँवर र कमला विश्वकर्मालाई दिइएको छ।
अमेरिकास्तरीय पत्रकार भेलाको सम्भाव्यता, समय, स्थान तथा कार्ययोजना तयार पार्न सल्लाहकार विजय घिमिरे, बोर्ड सदस्य कृष्णराज खनाल, सुमन दाहाल र विश्वराज थापालाई जिम्मा दिइएको छ। साथै, शाखाहरूले केन्द्रको पुर्वस्वीकृतिमा आफ्नै कोष स्थापना गर्न सक्ने व्यवस्था अनुमोदन गरियो। विश्वभरका पत्रकारसँग समन्वय गरी क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि भयो।
वाशिंगटन डी.सी.मा अमेरिकाभरका नेपाली पत्रकार सहभागी हुने विशेष कार्यक्रमको संयोजन सल्लाहकार पुरु घिमिरेले गर्नेछन्। महासंघको बैठक प्रत्येक महिना बस्ने र पारित निर्णयहरूको कार्यान्वयनमा अध्यक्ष तथा महासचिवले आवश्यक समन्वय गर्ने निर्णय पनि गरियो। अन्त्यमा, सबै निर्णयहरू अध्यक्ष रामप्रसाद खनाल र महासचिव टंक दाहालले संयुक्त हस्ताक्षरसहित प्रमाणित गरे।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend