वाशिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र न्युयोर्कका नवनिर्वाचित मेयर जोहरन ममदानीबीच शुक्रबार ह्वाइट हाउसमा भएको भेटवार्ताले विगतको कटुता पन्छाउँदै सहयोग र संवादको नयाँ संकेत दिएको छ ।
पहिलेदेखि एक–अर्कामाथि कडा टिप्पणी गर्दै आएका यी दुईबीचको पहिलो औपचारिक भेटमै ट्रम्पले ममदानीप्रति अपेक्षाकृत सकारात्मक धारणा व्यक्त गरे । ट्रम्पले ममदानीलाई पहिले “१०० प्रतिशत कम्युनिस्ट लुनाटिक” तथा “पागल” भनेका थिए भने, ममदानीले ट्रम्पलाई “सत्तावादी शासक” र आफूलाई “ट्रम्पको सबैभन्दा ठूलो दुःस्वप्न” भन्दै आलोचना गर्दै आएका थिए ।
तर भेटमा यस्तो कठोरता देखिएन । दुवैले आवासको पहुँच, महँगी, किराना सामानको बढ्दो मुल्यदेखि युटिलिटी बिलसम्मका मुद्दामा विस्तृत छलफल गरेका छन् । यी विषय ममदानीको चुनावी अभियानका मुख्य एजेन्डा थिए, जुन मुद्रास्फीतिको असरसँग जुधिरहेको अमेरिकी राजनीतिमा ट्रम्पका लागि पनि निर्णायक विषय बनेका थिए ।
भेटका बेला पत्रकारले ममदानीले ट्रम्पलाई ‘फासिस्ट’ भनेको पुरानो टिप्पणीबारे प्रश्न गर्दा ममदानी उत्तर दिन खोज्दै थिए— तर ट्रम्पले तत्कालै बीचमा हस्तक्षेप गर्दै भने, “ठीकै छ, त्यो उनले भन्न पाउँछन् ।”
भेटपछि पत्रकारहरूले सोधे, “ममदानीको नेतृत्वमा रहेको न्यूयोर्कमा बस्न तपाईं सहज महसुस गर्नुहुन्छ?”
ट्रम्पले हाँस्दै जवाफ दिए, “सत्य भन्नुपर्छ भने— हो, विशेष गरी आजको भेटपछि त झन् धेरै ।”

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend