कोलोराडो । टेस्लाका मालिक एलन मस्क विगत धेरै वर्षदेखि विश्वका धनी व्यक्तिहरूको सूचीमा अग्रस्थानमा छन्, र भर्खरै उनको सम्पत्ति आकाश छोएको छ, किनकि उनी पहिलो व्यक्ति बने जसको कुल सम्पत्ति आधा ट्रिलियन डलर पुगेको छ। यसका बाबजुद, मस्क भन्छन् कि उनी सादगीपुर्ण जीवन बिताउँछन्। सन् २०२१ मा उनले टेक्सासमा करिब ५० हजार डलरको घरमा बस्ने बताएका थिए ।
मस्कका दुई सन्तानकी आमा र उनकी पुर्व प्रेमिका ग्राइम्सले सन् २०२२ मा ‘भ्यानिटी फेयर’ पत्रिकालाई बताएकी थिइन् कि मानिसहरूले सोचेजस्तो मस्क विलासी जीवन बिताउँदैनन् । उनले भनिन्, “उनी अरबपति जस्तो जीवन बिताउँदैनन्। कतिपय अवस्थामा त उनी गरिबीको रेखामुनि रहेजस्तो अवस्थामा हुन्छन् ।” ग्राइम्सका अनुसार, एक पटक उनले नयाँ गद्दा किन्न पनि अस्वीकार गरेका थिए, जबकि उनको गद्दाको एउटा भाग च्यातिएको थियो ।
मानिसहरूले मानेजस्तो मस्कको दैनिक जीवन र रहनसहन धेरै भव्य छैन, तर उनलाई अनोखा कारहरूको शौख छ। यीमध्ये एउटा कार यस्तो छ जुन पनडुब्बीमा बदल्न सकिन्छ। उनका करोडौँ डलर मूल्यका निजी विमानहरूको सङ्ग्रह पनि छ । र, त्यसपछि सन् २०२२ मा उनले गरेको ठुलो खरिद… जब उनले ४४ अर्ब डलरमा ट्विटर (अहिले एक्स) किनेका थिए ।
एक समय मस्कसँग रियल इस्टेटमा धेरै शानदार सम्पत्तिहरू थिए। वाल स्ट्रिट जर्नलका अनुसार, उनले सन् २०१९ सम्म करिब १० करोड डलरमा सात वटा घरहरू किनेका थिए, जसमध्ये अधिकांश क्यालिफोर्नियाको बेल-एयर क्षेत्रमा एक अर्काको नजिक थिए । यी सम्पत्तिहरूमा स्विमिङ पुल, टेनिस कोर्ट, वाइन सेलर, निजी पुस्तकालय र बलरूम जस्ता सुविधाहरू थिए। यीमध्ये एउटा घर प्रसिद्ध अभिनेता जिन वाइल्डरको पुरानो र्यान्च हाउस थियो ।
तर सन् २०२० मा मस्कको हृदय परिवर्तन भयो। उनले ट्विट गरे कि उनी “आफ्नो लगभग सबै सम्पत्तिहरू बेचिरहेका छन् र अब उनीसँग कुनै घर हुनेछैन।” उनले लेखे, “मलाई पैसाको आवश्यकता छैन। अब आफूलाई मङ्गल ग्रह र पृथ्वीलाई समर्पित गर्दैछु। सम्पत्ति त केवल बोझ बन्छ।” उनले यो पनि भनेका थिए कि जिन वाइल्डरको घरलाई “तोड्न वा यसको आत्मालाई नष्ट गर्न मनाही छ।”
मस्कले यो तीन कोठा भएको घर वाइल्डरका भतिजा जोर्डन वाकर-पर्लम्यानलाई बेचे, जसका लागि उनले आफैँले लाखौँ डलरको ऋण पनि दिए। तर जुन २०२५ मा, कथित रूपमा खरिदकर्ताले ऋणको किस्ता तिर्न नसकेपछि मस्कले फेरि त्यो घर आफ्नो नाममा गरे । सन् २०२१ मा मस्कले भनेका थिए कि उनको “मुख्य घर” टेक्ससको दक्षिणी किनारमा रहेको एउटा सानो प्रिफ्याब्रिकेटेड घर हो, जसको मूल्य करिब ५० हजार डलर छ। यहीँ उनको कम्पनी स्पेसएक्सको सञ्चालन हुन्छ। यस ठाउँलाई अहिले स्टार बेस भनिन्छ।
उनले लेखेका थिए, “यो निकै शानदार छ।” अर्को वर्ष मस्कले आफुसँग कुनै घर नभएको बताए। यसले देखाउँछ कि अथाह सम्पत्ति भए पनि उनी यसको कति कम प्रयोग गर्छन्। र, उनी जहाँ पनि जान्छन्, साथीहरूको घरमा बस्छन् । उनले मिडिया संस्था टीईडीका प्रमुख कृश एन्डरसनलाई भने, “म जहाँ जान्छु, वास्तवमा मेरा साथीहरूको घरमा बस्छु। यदि म बे-एरिया जान्छु, जहाँ टेस्लाको धेरैजसो निर्माण कार्य हुन्छ, तब म साथीहरूको खाली कोठाहरूमा घुम्दै बस्छु।”
यो कुरा नयाँ होइन। सन् २०१५ मा गुगलका तत्कालीन सिइओ ल्यारी पेजले मस्कलाई “केही-केही घरबारविहीन जस्तो” भनेका थिए । उनले भनेका थिए, “उनी इमेल गरेर सोध्छन्। मलाई थाहा छैन आज कहाँ बस्नु? के म आउन सक्छु ?” मस्क घरहरूमा धेरै खर्च नगरे पनि, कारहरूको मामिलामा उनी सौखिन छन्। टेस्लाको मालिकको रूपमा उनीसँग धेरै अनौठा र ऐतिहासिक कारहरू छन् । फोर्ड मोडल-टी: यो कार २० औँ शताब्दीमा आम मानिसका लागि बनाइएको थियो र मोटर उद्योगको लागि एउटा क्रान्ति थियो ।
सन् १९६७ को जगुआर ई-टाइप रोडस्टर: भनिन्छ कि यो कार मस्कलाई बाल्यकालदेखि नै मन पर्थ्यो । सन् १९९७ को म्याक्लारेन एफ-१: यो कार एक पटक मस्कसँग क्र्यास भएको थियो। उनले यसको मर्मतमा ठुलो खर्च गरे र पछि बेचिदिए । मस्कले हवाईजहाजमा खर्च गरेको स्वीकार गरेका छन्, तर यसको पछाडिको कारण उनको काम हो। उनले सन् २०२२ मा टीईडीको अन्तर्वार्तामा भनेका थिए, “यदि मैले प्लेनको प्रयोग नगरे भने, मेरो काम गर्ने समयको नोक्सान हुन्छ ।”
उनीसँग करोडौँ डलर मूल्यका धेरै गल्फस्ट्रीम मोडलका निजी जेटहरू छन्। उनी यिनको प्रयोग अमेरिकामा स्पेसएक्स र टेस्लाको साइटहरू बिच यात्रा गर्न र अन्य देशहरूको यात्रामा गर्छन्। अमेरिकी नियामकहरूको दस्ताबेज अनुसार, मस्कले अरबौँ डलरको शेयर दान गरेका छन् र अन्य कामको लागि करोडौँ डलर दान दिएका छन्। यद्यपि, परोपकारको उनको यो तरिकाको आलोचना पनि हुँदै आएको छ । न्युयोर्क टाइम्सले लेखेको थियो कि उनको दान “जथाभाबी र आफ्नै फाइदा हेरेर हुन्छ, जसले गर्दा उनलाई करमा भारी छुट मिल्छ र उनको कारोबारलाई मद्दत पुग्छ।”
उनको च्यारिटी संस्था ‘मस्क फाउन्डेसन’ भन्छ कि संस्था “मानवताको विकासको लागि वैज्ञानिक अनुसन्धान, प्राविधिक खोज र महत्वाकांक्षी प्रयासहरूलाई बढावा दिन समर्पित छ ।” मस्कले परोपकारको बारेमा सोध्दा भनेका थिए कि उनी परम्परागत “दान” को अवधारणालाई लिएर अन्योलमा छन् । उनी विश्वास गर्छन् कि उनको कारोबार आफैँमा परोपकार हो। उनले भने, “यदि परोपकारको अर्थ मानवताप्रतिको प्रेम हो भने, यी सबै (कारोबार) परोपकार हुन्।” उनका अनुसार, टेस्ला “दिगो ऊर्जालाई बढावा दिइरहेको छ”, स्पेसएक्स “मानव जातिको दीर्घकालीन अस्तित्व बचाउने प्रयास गरिरहेको छ”, र ‘न्युरालिंक’ “मस्तिष्कको चोटहरू र एआईको कारणले मानिसको अस्तित्वलाई हुन सक्ने खतरालाई कम गर्न काम गरिरहेको छ।”
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend